विराटनगर– कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले करारका १० जना चालक र सहयोगी हटाएर आफ्ना मान्छे नियुक्ति गर्न दिएको निर्देशन नमान्दा सचिवको गाडी नै खोसिदिएका छन् ।
आफ्ना मान्छेलाई नियुक्त गर्न दिएको निर्देशन नमानेको भन्दै मन्त्रालयका सचिव शरणकुमार पाण्डेको गाडीको चाबी मन्त्री हाङ्गामले सोमबार मुख्यमन्त्रीको कार्यालय परिसरबाट खोसिदिएका हुन् ।
सोमबार मुख्यमन्त्रीको कार्यालयमा पुगेका पाण्डे सवार सरकारी गाडीको चावी चालकलाई बोलाएर हाङ्गामले खोसेका हुन् । उनले चाबी खोस्ने क्रममा सचिव पाण्डेलाई बोकेमा चालकहरूलाई कारबाही गर्ने चेतावनी पनि दिएका थिए । उनले करारका सबै चालकलाई बोलाएर धम्कीसमेत दिएको स्रोतले जनाएको छ ।
खासमा हाङ्गामले हाल कार्यरत १० जना चालक र सहयोगी हटाउन सचिव पाण्डेलाई दबाब दिँदै आएका थिए । त्यसैगरी आफ्नो सचिवालयका कर्मचारीका लागि गत असार महिनाको टीएडीए निकास गर्न पनि उनले सचिव पाण्डेलाई चर्को दबाब दिएको खुलेको छ।
सचिव पाण्डेले आफूले चढ्ने गरेको गाडीको चाबी खोसिएको खबरहबलाई बताए । ‘म मुख्यमन्त्रीको कार्यालयमा गएको थिएँ । गाडीको चाबी त्यहीँबाटै लगिएको रहेछ’, उनले भने, ‘मैले त कानुनले दिएको कुरा गर्ने हो । कानुनले दिएको कुरा मिलेसम्म गरेकै छु । कानुनबाहिरको कुरा त जसले भने पनि गर्न सक्दिनँ ।’
उनले मन्त्री हाङ्गामसँग व्यक्तिगत विवाद नरहेको बताउँदै रीत पुगेको कुनै पनि काम नअड्काएको पनि जानकारी दिए । ‘हाम्रा आफ्ना सीमा र दायरा छन् । म त यहाँ किसनहरूको सेवाका लागि आएको हुँ’, उनले भने, ‘गाडी नभएर के भयो त, हिँडेरै भए पनि कृषकको सेवामा जान मलाई केहीले रोक्दैन ।’
उता कोशी प्रदेशकी मुख्यसचिव चन्द्रकला पौडेलले सरकारले दिएको सुविधा कुनै व्यक्तिले निर्देशन दिँदैमा नखोसिने बताइन् ।
‘मलाई आज यस विषयमा धेरै मान्छेले फोन गर्नु भएको छ’, उनले भनिन्, ‘तर यसबारेमा मकहाँ केही खबर आएको छैन ।’
उनले सचिव पाण्डेले पनि यसबारे आफूलाई जानकारी नदिएको बताइन् । ‘तर प्रदेशको कानुनले दिएको सुविधा खोस्ने नखोस्ने कुरा हुँदैन’, उनले भनिन्, ‘कानुनले दिएको कुरा खोस्नु उचित होइन । यसबारेमा सचिवज्यूसँग पनि बुझ्दैछु ।’
यसबारेमा मन्त्री हाङ्गामसँग खबरहबले सम्पर्क प्रयास गरेको थियो । तर उनले फोन सम्पर्कमा आएर प्रतिक्रिया दिन चाहेनन् ।
मन्त्री हाङ्गाम र सचिव पाण्डेबीचको विवाद अहिलेको होइन । उक्त मन्त्रालयका कर्मचारीहरू लामो समयदेखि दुईजनाबीच मनमुटाव रहेको बताउँछन् ।
पछिल्लो पटक करारमा कार्यरत चालक र सहयोगी हटाएर आफ्ना मान्छे नियुक्ति गर्ने मन्त्रीको प्रस्तावलाई पाण्डेले अस्वीकार गरेपछि विवादले उग्र रुप लिएको हो ।
सचिव पाण्डेलाई यसअघि अन्यत्र सरूवा गरिएको थियो। तर भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले त्यहीँ थमौती गरेको छ। पहिलेबाटै सम्बन्धमा समस्या भइरहेको अवस्थामा मन्त्री हाङ्गामले सोमबार सचिव पाण्डे सवार गाडीको चाबी नै खोसेका हुन् । सचिव पाण्डेले चाबी खोसिएको घटनाबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई जानकारी गराएका छन् ।
हाङ्गाम राजनीतिमा आएदेखि यस्तै उपद्रो गर्दै आएका व्यक्ति हुन् । नेपाली कांग्रेसका नेता उनी २०७९ को चुनावमा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट विजयी भएका हुन् । तर अझै पनि गुण्डागर्दीको स्वभाव देखाउने समस्या रहेको उनीनिकटस्थहरू बताउँछन् ।
यसअघि यिनै मन्त्री हाङ्गामका समर्थक ताप्लेजुङमा एकजना वडाअध्यक्षलाई कुटपिट गरे । मन्त्री हाङ्गामले पनि पाथीभरा क्षेत्र विकास समितिका सभापतिलाई कुटपिट गरेका थिए ।
गत जेठमा बजेट निर्माणका क्रममा पनि सचिवलाई कुट्न झम्टिएका थिए । प्रमुख सचिवसँग छलफल गर्न गएको भन्दै मन्त्रीले सचिव पाण्डेसहित महाशाखा प्रमुखहरूलाई भौतिक कारबाही गर्ने धम्की दिए ।
हाङ्गामले प्रहरी अधिकारीलाईसमेत धम्की दिन भ्याएका थिए । ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख एवम् डीएसपी राजन लिम्बूसहित उनको परिवारकै ज्यान लिने धम्की पनि यी मन्त्रीले दिएका थिए ।
प्रतिक्रिया