पेशाले महेश पौडेल त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयका प्राध्यापक हुन् । यसबाहेक उनी कुशल समीक्षक, अनुवादक, कवि, कथाकार, निबन्धकार जस्ता अनेक विधामा अब्बल छन् । अंग्रेजी भाषामा प्रखर उनी नेपालीमा पनि उत्तिकै प्रभावशाली छन् ।
दशैँ अब खानपिनको मात्र चाड रहेन । बौद्धिक ज्ञान मन्थन, प्रज्ञा र चेतनाका माध्यमबाट आफूलाई साधना गर्ने अवसरका रुपमा पनि धेरैले ग्रहण गरेका छन् । पुस्तक प्रकाशन गृहहरुले पनि दशैँ लक्षित थुप्रै किताब ल्याएका छन् । कुन किताब पढ्ने, कस्ता किताब पढ्ने, नयाँपुस्ताले के पढ्ने ? यिनै विषयको गाँठो फुकाउन खबरहबले साक्षात्कार गरेको छ ।
दशैँ कसरी मनाउँदै हुनुहुन्छ ?
देश उत्सवमय छैन । हामी सबै नेपालीमा अनिश्चितता छ । जेनजी आन्दोलनमा शहीद भएको आलो घाउ छ । अर्को बाढी र पहिरोले गाउँ जाँदै गरेका नागरिकले कष्ट पाइरहेका छन् । व्यक्तिगत रुपमा भन्नुपर्दा परिवारमा जुठो परेको कारणले दशैँको टीका छैन ।
दशैँको छुट्टीमा हिमाल आरोहणको किताब पढिरहेको छु । जनरल साहित्यभन्दा केही फरक छ । शेर्पाले के सोचेर हिमाल चढ्छ ? हिमाल आरोहणको गाथा कसरी सुरु हुन्छ ? विदेशी वा गैरशेर्पाले हिमाल चढ्दाको उसको अनुभूतिहरु उल्लेखीय साहित्यमा कसरी आएको छ ? प्रेम कहानी, तिलस्मी कथा अथवा मनका भावना व्यक्त गहिरो साहित्य हुन्छन् । ऐतिहासिक साहित्यमा रुचि बढ्दै गएको छ । जेनजी आन्दोलनले पनि ऐतिहासिक चेत दिएको छ । इतिहासको टर्निङपोइन्टलाई साहित्यले कसरी हेरिरहेको छ ? यो समयमा कस्तो साहित्य लेख्ने र पढ्ने भन्नेमा मेरो उत्तर हो– इतिहास ।
राणाविरोधी आन्दोलनमा साहित्य कसरी विकसित भयो ? के–कस्ता विषय लेखियो ? प्रजातन्त्र स्थापना भएपछि उत्साहको साहित्य सिर्जना भयो । फेरि पञ्चायतमा अर्को खालको सिर्जना भयो । त्यसैले ऐतिहासिक कालखण्डमा परिवर्तित साहित्यलाई कसरी हेरिरहेको छ ? यो महत्त्वपूर्ण विषय हो ।
पाठक दशैँमा तपाईंले लेखेको किताब पढ्छन् । तपाईं के पढ्नुहुन्छ?
साहित्यकार पनि साहित्यिक किताब नै पढ्छन् । म पाठक मात्रै नभएर त्रिविको प्राध्यापक र समालोचक पनि हुँ । मेरो विद्यार्थीले सरले के पढ्नुभयो ? भनेर मात्रै सोध्दैन । सरकार नै परिवर्तन भएको बेला छ । विश्वमै नघटेको घटना घटेको छ भने यसलाई कसरी हेर्नुभएको छ ? भनेर पनि हामीलाई प्रश्न गरिन्छ । त्यसकारण रहर लागेर पनि प्रेम कहानी पढेर बस्न छुट भएन ।
यस्तो खालको आन्दोलन वा परिवर्तन नेपालबाहिर पनि भएको हुनसक्छ । त्यसको सुराकी हामीले गर्नुपर्छ । हामीले विद्यार्थीलाई जानकारी पनि गराउनुपर्छ । अर्को समालोचकलाई अतिरिक्त प्रश्न गरिन्छ । यो आन्दोलन हुनुमा के कति कारण हुन सक्छ ? यो २० वर्षमा के हुँदै आएको थियो र यो विष्फोट भयो । एकैपटक विष्फोट भएको होइन । यी विषय साहित्यले बिम्ब र प्रतिविम्बमा कसरी बोलेको थियो ? विगतमा यस्ता घटना घट्नु अगाडि र पछाडिको साहित्यमा के परिवर्तन आयो ? यस्ता प्रश्न सोधिन्छ । समालोचक अरुले बनाएर भएको होइन, आफ्नै रहरले भएको हो । यी अतिरिक्त जिम्मेवारीले पढ्नुपर्ने विषयमा सोच्ने बनाउँछ ।
दशैँको छुट्टीमा पाठकलाई कस्ता किताब पढ्न सुझाव दिनुुहुन्छ ?
पढ्ने आफ्नो रुचि अनुसार हो । कसैलाई गीत गजल कविता मन पर्छ । कसैलाई आख्यान मन पर्छ । मैले जस्तै पढ्नुपर्छ भन्ने होइन । छुदेन काविमोको ‘उरमाल’ भन्ने किताबमा चियाबारीका कथाव्यथा छन् । रमेश भुसालको छालबाटो किताबको परिकल्पना निकै फरक छ । कल्पनामा पनि निकै फरक छ ।
त्यसैगरी भुवनहरि सिग्देलको अतिरिक्त लैङ्गिकता सम्बन्धी किताब छ । वातावरण सम्बन्धी पर्याय निबन्ध गोविन्दराज भट्टराई र विजय हितानले सम्पादन गर्नुभएको छ । यी किताब पढ्न सुझाव दिन्छु ।
घोस्ट लेखकको पनि चर्चा हुन्छ । यसरी लेखिएका किताबप्रति तपाईंको आधारणा के हो ?
घोस्ट राइटिङको सिद्धान्त भन्दा फरक काम भएको हुँदा यसले निराशा जन्माएको छ । घोस्ट राइटिङ नैतिक कुरा हो । भव्य व्यक्तित्वसँग बसेर लेख्ने फुर्सद हुँदैन । लेख्नुपर्छ भन्ने लागेको बेला वृद्ध भइसकेका हुन सक्छन् । तर उनीहरुको जीवन भोगाइ नयाँ पुस्ताको लागि गोरेटो बन्न सक्छ । उनलाई लेख्न नआउन पनि सक्छ । त्यस्तो बेला घोस्ट राइटरले लेखेर किताब निकाल्न सक्छ । उसले जीवनी र विचार मात्रै लेख्ने हो ।
तर यहाँ काल्पनिक साहित्यसमेत घोस्ट राइटर राखेर लेख्ने प्रचलन बढ्यो । कथा र उपन्याससमेत घोस्ट राइटरले लेखिरहेका छन् । त्यसले गर्दा घोस्ट राइटरको बदनाम भएको छ ।
राजनीतिमा जसरी जेनजीको विरोध प्रदर्शन भयो । साहित्यले पनि त्यो पुस्तालाई न्याय गर्न नसकेको हो ?
इपी सेन्टरको रुपमा राजनीति देखा परेको छ । तर यो पुस्तालाई हरेक क्षेत्रले अन्याय गरेकै कारणले यो विद्रोह भएको हो । परिवार, कलेज, बजार, कर्पोरेट विश्व र साहित्यले वेवास्ता गरेको हो ।
जेनजी भनेको किशोर हुन् । बजारमा किशोर साहित्य कति छन् ? मै समालोचक आत्तिन सक्छु सायद दश वटा किताबको नाम भन्न सक्दिन कि ! किशोर साहित्यलाई केन्द्रमा राखेर कति अभियान चलायौ ? किशोर साहित्यकारलाई अगाडि ल्याउन के–के गर्यौ ?उनीहरुको प्रतिनिधित्व कति गर्यौ ? पुरष्कृत गर्यौ ? उत्तर छैन । पछाडि पर्यौ भनेर त्यो पुस्तालाई अनुभूति दिलाएको हामीले हो । त्यो सबै कुराको विष्फोट हो ।
यो पुस्ताको लागि कस्ता किताब लेखिनु पर्छ ?
जेन–जीमा विद्रोह गर्ने शक्ति र उत्साह हुन्छ । तर आफ्नो अधिकारको लागि लड्दै गर्दा वा संघर्ष गर्दै गर्दा संस्कारी र संयमित हुनुपर्छ । नेतृत्व अरुको हातमा हुँदा कराउन सजिलो हुन्छ । आफ्नो हातमा आएपछि कराएर मात्रै हुँदैन । संयमित कसरी हुने, ऊर्जालाई कसरी सदुपयोग गर्ने भन्ने लगायतको किताब लेखिनुपर्छ ।
महापुरुष र महाननारीका जीवनी पढ्नुपर्छ युवाले । गान्धीले आफूलाई युवाकालमै चिनेका हुन् । बीपी कोइराला, सुवास गोसले आफूलाई युवावस्थामा चिनेका थिए ।
अर्को देशको इतिहास र भूगोल पढ्नुपर्छ । विराटनगरको जेन–जीलाई कर्णालीको बारेमा थाहा हुनुपर्छ । कर्णालीकोलाई इलामको बारेमा थाहा हुनुपर्छ । राष्ट्रको मानचित्र मनमा स्थापित गर्नुपर्छ ।
नेपालमा लेखिनु पर्ने तर नलेखिएका विषय के–के छन् ?
भुइँमान्छेका कथा लेख्न बाँकी छ । मूलभूत साहित्यले अझैपनि सभ्रान्तलाई प्राथमिता दिएको छ । प्रभावमा भएको मान्छेलाई केन्द्रमा राख्ने । नायक र नायिका त्यही तप्काबाट आउने । सुसगठित शरीर भएको पुरुष र दिव्यसुन्दरी नायिका चाहिने । कुरुप भए पनि महिलाभित्र विद्वता छ भने उनी नायिका होइन ? गाडीमा काम गर्ने सहचालक नायक हुन सक्दैन ? त्यसकारण सामान्य मानिसको कथा लेखिन बाँकी छ ।
हिमालकै बारेमा अत्यन्त कम लेखिएको छ । हिमालको कुनै मान्छे नायक बनाएर लेखिएको किताब छैन । तराईलाई पनि छोडिएको छ । त्यहाँको संस्कृति लेखिएको छैन । मैले साहित्य पढ्दा मेरो अनुहार पनि त्यहाँ देखिनुपर्छ । समान अनुभुति छैन भने त्यो किताब किन पढ्ने ? सामान्य मान्छेको आवाज समेटिएको किताब लेखिनै छ बाँकी छ ।
अन्त्यमा
२०–२५ वर्षमा देशले सोच्ने पद्धति फरक हुन्छ । यो अन्तर्राष्ट्रिय अभ्यास हो । जुन देशमा स्थिर सरकार हुन्छ । ती देशमा पनि यो अन्तरालमा परिवर्तन आउछ । उथलपुथल मात्रै आएर परिवर्तन हुने भन्ने होइन ।
२० वर्ष अगाडि एक भारतीय नागरिक बैंक जाने हिम्मत गर्दैनथ्यो । आज अधिकांशले मोबाइल बैंकिङ चलाउँछन् । अटो र बसको भाडा क्युआरमार्फत तिरिरहेको छ । यसको अर्थ भारत पेपरलेस अभियानमा छ । स्थिर सरकार हुँदा पनि त परिवर्तन हुने रहेछ ।
नेपालमा भएको त्यही हो । २०६२–६३ को आन्दोलनले सामान्य मान्छेले पनि सपना देख्न सक्छ भन्ने सिकायो । देशको बागडोर सम्हाल्ने आँट दियो । आम मान्छे राष्ट्रप्रमुख बनेको देखेपछि हाम्रो समय आएको महसुस गरियो । सपनाको आन्दोलन थियो । जसमा सबै समुदाय समेटिएको थियो।
सपनाको विजारोपण गरियो तर पुरा गरिएन । फेरि प्रभावशालीकै र शक्ति सम्पन्न परिवार नै हाबी भए । भ्रष्टाचार रोकिएन । युवा पलायन दिनहुँ बढ्यो । युवाले देशमा भविष्य बनाउँछु भनेर बस्न नसक्ने परिस्थिति बनाएपछि विद्रोह हुने भयो । आफ्ना सपना हाइज्याक भएको थाहा पाएर युवा विस्फोट भएका हुन् ।
आज जेनजी ले दिएको पद्धति अर्को २० वर्षमा फेरि फरक हुन्छ । त्यो समयमा फेरि निर्णायक मोडमा उभिन्छौं । त्यो बेलाको नायक तपाईं हो । त्यसकारण २० वर्ष पछाडिको भविष्य सोचेर आज पढ्नुहोस् । देशप्रति सकारात्मक सोच दिने कुरा पढ्नुहोस् । शक्तिशाली हुनका लागि सूसुचित हुनुपर्छ ।
प्रतिक्रिया