ढाका– बङ्गलादेशका डक कामदारहरूले विदेशी कम्पनीलाई प्रमुख बन्दरगाह सञ्चालनको अनुमति दिने सरकारको योजनाको विरोधस्वरूप शनिबार देशको सबैभन्दा ठूलो चट्टोग्राम बन्दरगाहमा हडताल आरम्भ गरेका छन् ।
अन्तरिम सरकारले बन्दरगाह सञ्चालनको इजाजतपत्र विदेशी कम्पनीलाई भाडामा दिने तयारी गरिरहेको खबर सार्वजनिक भएपछि श्रमिकहरू सडकमा उत्रिएका हुन् ।
अक्टोबरमा थोरै सङ्ख्याबाट सुरु भएको वाकआउट अहिले करिब २०० जना डक कामदारमा विस्तार भइसकेको छ । यो बन्दरगाह बङ्गलादेशको मुख्य व्यापारिक प्रवेशद्वार र विश्वव्यापी गार्मेन्ट आपूर्ति शृङ्खलाको अत्यन्त महत्त्वपूर्ण केन्द्र हो ।
चट्टोग्राम पोर्ट अथोरिटीका अध्यक्ष एस.एम. मोनिरुज्जमानका अनुसार विदेशी विशेषज्ञ अपरेटरहरूले लगानी बढाउने र बन्दरगाह सञ्चालनको दक्षता सुधार गर्नेछन् ।
विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बङ्गलादेश आफ्नो अधिकांश आयात–निर्यातका लागि यही बन्दरगाहमा निर्भर रहेको छ । यसलाई पहिले ‘चटगाँव’ नामले चिनिन्थ्यो र यो रणनीतिक रूपमा बङ्गालको खाडीको किनारमा अवस्थित छ ।
संयुक्त अरब इमिरेट्स (युएइ) आधारित ‘डिपी वल्र्ड’ कम्पनीले बन्दरगाहको नयाँ मुरिङ कन्टेनर टर्मिनल सञ्चालन गर्न चासो देखाएको छ भने डेनिस शिपिङ कम्पनी ‘ए।पी। मोलर–मार्सक’ ले सहर बाहिर रहेको लाल्डिया कन्टेनर टर्मिनलमा रुचि जनाएको बङ्गलादेशको सरकारी समाचार एजेन्सी बिएसएसले जनाएको छ ।
जहाजरानी मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद युसुफका अनुसार अन्तरिम प्रशासनसँग डिसेम्बरसम्ममा सम्झौताहरूमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
गत वर्ष अगस्ट २०२४ मा व्यापक जनआन्दोलनपछि शेख हसिनाको सरकार ढलेपछि गठन भएको अन्तरिम प्रशासन आगामी फेब्रुअरीमा हुने निर्वाचनपछि प्रतिस्थापित हुनेछ ।
तर बन्दरगाहको यो कदमले श्रमिकहरूमा अनिश्चितता र आक्रोश दुवै उत्पन्न गरेको छ । हड्तालमा सहभागी ५५ वर्षीय डक कामदार नुर उद्दीनले भने, ‘नयाँ प्राधिकरणले हामीलाई काममा राख्ने हो कि पूरै प्रणाली फेरिने हो, केही थाहा छैन ।’
अर्का कामदार ५६ वर्षीय इलियास भुइयाँले प्रश्न गरे, ‘उनीहरू अन्तरिम सरकार हुन्, के उनीहरूसँग यस्ता ठूला निर्णय गर्न जनादेश छ ?’
तर समर्थनकर्ताहरूको भनाइ फरक छ । बङ्गलादेश फ्रेट फरवार्डर्स एसोसिएसन ९बाफा० का अध्यक्ष कबीर अहमदले भने, ‘बन्दरगाहको क्षमता विस्तारका लागि विश्वस्तरीय अपरेटर आवश्यक छन् । यसले कार्गो ह्यान्डलिङ, राजस्व र देशको प्रतिष्ठा तीनैलाई मजबुत बनाउनेछ ।’
यता, आलोचकहरूले भने यो कदमले राष्ट्रिय स्वामित्वमा क्षति पुर्याउने चेतावनी दिएका छन् । बङ्गलादेश ओसन गोइङ सिप ओनर्स एसोसिएसन ९बोगोआ० का अध्यक्ष आजम जे। चौधरीले भने, ‘हामीले ४० वर्षदेखि आफ्नै लगानीमा सञ्चालन गर्दै आएका टर्मिनलहरू विदेशी कम्पनीलाई भाडामा दिनु कुनै अर्थ राख्दैन ।’
अहिले चट्टोग्राम बन्दरगाहमा मालसामान ढुवानी र लोडिङ–अनलोडिङ कार्य ठप्प छ । यसले देशको व्यापारिक गतिविधिमा व्यापक असर पार्ने अनुमान गरिएको छ ।













प्रतिक्रिया