सपनाको बोझ सन्तानलाई बोकाउँदा : डिप्रेशनदेखि गम्भीर अपराधसम्म | Khabarhub Khabarhub

सपनाको बोझ सन्तानलाई बोकाउँदा : डिप्रेशनदेखि गम्भीर अपराधसम्म


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय हाम्रो समाजमा भइरहेका विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिमा मानसिक समस्या रहेको पाइन्छ। प्रहरीले गम्भीर अपराधमा संलग्न व्यक्तिहरु कुनै न कुनै मानसिक समस्याबाट गुज्रेको बताउने गरेको छ।

अझ पढेलेखेकै शिक्षित युवा यस्तो खालको मानसिक समस्याबाट पीडित भएर आफ्नै घरपरिवारलाई निसाना बनाउने गरेका छन्। जसको उदाहरण हुन् २५ वर्षीय मिलन। ५६ वर्षीय बुवा कुलप्रसाद र २२ वर्षीय भाइ प्रविण डिप्रेशनका बिरामी मिलनको निसानामा परेर एकैरातमा ज्यान गुमाउनुपर्यो।

यस्ता घटनाहरु बाक्लै घटिरहेकै छन्। बाबुआमाले छोराछोरीलाई राम्रो वातावरणमा हुर्काउन नसक्नु र अनावश्यक दबाव अर्थात आफूले पूरा गर्न नसकेका इच्छा अकांक्षा आफ्ना सन्तानले पूरा गरुन भन्ने अभिभावकको चाहनाले बालबालिकाहरु दबाबमा पर्ने र उनीहरुमा मानसिक समस्या बढ्दै गई आवेग नियन्त्रण गर्न नसकेर गम्भीर अपराधमा संलग्न हुने सम्भावना रहने विज्ञ बताउँछन्।

अपराधमा संलग्न व्यक्तिमा देखिने मानसिक समस्या कस्तो खालको समस्या हो ? के कारणले यस्तो समस्या देखिन्छ ? त्यस्ता व्यक्तिको पहिचान कसरी गर्ने ? मानसिक समस्याबाट बच्न र बचाउन के गर्ने ? यिनै विषयमा मानसिक रोग विशेषज्ञ प्राध्यापक डा. पुष्पप्रसाद शर्मासँग गरिएको कुराकानीः

पछिल्लो समय हाम्रो समाजमा भइरहेका विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिमा मानसिक समस्या रहेको पाइन्छ। प्रहरीले पनि गम्भीर अपराधमा संलग्न कुनै न कुनै मानसिक समस्याबाट गुज्रेको बताउने गरेको छ। खासमा उनीहरूमा देखिने मानसिक समस्या कस्तो खालको हो ?

अहिलेको २१ औं शताब्दीमा मान्छेहरु कार्यतालिकामा रहेर जीवन निर्वाह गरिरहेको अवस्था छ। अहिलेको पुस्ताका इच्छा आकांक्षा, भौतिक निर्माणसँगको निर्भरता, धेरै अभिलाषा, पूर्ति नहुने अवस्था, उनीहरु हुर्केको समाज, त्यहाँको वातावरणलगायत विविध विषयले मानसिक स्वास्थ्यमा असर पुर्याउँछ।

अहिले मानिसमा देखिने विभिन्न किसिमका मानसिक समस्या पारिवारिक र सामाजिक अवस्थाबाट प्रभावित हुन्छन्। तथापी अपराध गर्न पे्ररित गर्ने अवस्था भनेको मान्छेको व्यक्तिगत बिकार जसलाई पर्सनल डिसअर्डर भनिन्छ। सुरुदेखि नै उसको मानसिकता नै त्यस्तै हुन्छ। जस्तै अरुलाई हेप्ने, म ठूलो हुँ भन्ने ठान्ने, अरुलाई शोषण गर्ने खालको मानसिकता भएको, अरुको विचारको कदर नगर्ने, यस्ता विचार भनेको व्यक्तित्व बिकार हो।

त्यस्तै आवेगलाई नियन्त्रण गर्नसक्ने खुबीको कमी जस्तै रिसलाई नियन्त्रण गर्न नसक्ने, चाँडो रिसाउने, तुरुन्तै आपराधिक गतिविधिमा लाग्न आतुर हुने, आगो लगाउने, चोरी गर्ने, कसैलाई तत्काल नोक्सानी पु-याइहाल्ने खालको स्वभाव कसैको हुन्छ।

त्यस्तै अर्को भनेको मानसिक तनाव वा आघात हुन्छन्। जस्तै बाल्यकालमा कुनै तनाव, दुराचार, सामाजिक दमनको शिकार भएका व्यक्तिहरु, कुनै तनाव वा डिप्रेशन भएका व्यक्तिहरु जो पछि गएर आपराधिक क्रियाकलापमा संलग्न रहेको देखिन्छ।

त्यस्तै मादक पदार्थ लगायत विभिन्न किसिमका लागू पदार्थको प्रयोगले पनि मानसिक समस्यालाई बढावा दिएको छ। त्यस्तै मनोवैज्ञानिक समस्या, सामाजिक कारण, गरिबी बेरोजगारी, विभेद, शिक्षाको अभाव आदि हुन्। यसले मानसिक स्वास्थ्यमा असर गर्छ। अपराधसम्म गर्न बाध्य तुल्याउँछ।

मानसिक समस्यासँग वंशाणु गुणको के सम्बन्ध छ ? यसले मानसिक समस्यामा प्रभाव पार्छ ?
वंशाणुगत असर पनि केही मात्रामा हुन्छ। मान्छेको मात्रै नभई विभिन्न प्राणीको नयाँ पिँढीमा उसका गुण स्थानान्तरण हुन्छन्। तर सबै असर वंशाणुगतकै कारण हुन्छ भन्ने हुँदैन।

स्वास्थ्यमा केही मात्रामा असर गरे पनि यो मात्रै सबै कुरा हो भन्ने हुँदैन। त्यसमा परिवर्तन ल्याउन सकिन्छ। जस्तै बुवाआमामा भएको व्यक्तित्व, उसमा भएका सकारात्मक अथवा नकारात्मक भावनाहरु नयाँ आउने पिँढीमा सर्छ। तर ती सरेका कुराहरु सबै टिक्छन् र पछि गएर उनीहरुको स्वभाव पनि त्यस्तै हुन्छ भने हुँदैन। यदि राम्रो वातावरण पायो भने त्यस्ता समस्याहरु हट्दै पनि जान्छन्। तर राम्रो वातावरणमा जन्मेको बच्चाले हुर्कदा तनावपूर्ण वातावरण पायो भने उसको मानसिक अवस्था बिग्रदै जान्छ। त्यसैले यो वंशाणुगत मात्रै नभइ जन्मेको मान्छेको जिन र उसले पाएको वातावरणमा भर पर्छ।

त्यसबाहेक डिपे्रशन, एन्जाईटी, डिसअर्डर, मनोभाव जस्तै उसको सोचाइमा अत्यधिक तलमाथि भइरहने जस्ता कुराहरुले असर गर्छ। वंशाणुगत असरलाई कसरी कम गर्न सकिन्छ त भन्दा जन्मेका बच्चालाई सचेतनाका कार्यक्रम, नियमित परामर्श, स्वस्थ जीवनशैली, राम्रो वातावरणमा हुर्काइ, तनावमुक्त जीवन जिउने वातावरण दिन सकियो भने पनि वंशाणुगतबाट आएको प्रभाव कम गर्न सकिन्छ। मानसिक समस्या सुल्झाउन सकिन्छ।

युवा पुस्तामा पनि मानसिक समस्या छ। अझ, पढेलेखेकै व्यक्ति यस्तो समस्याको शिकार भएका सुनिन्छ। उनीहरुले परिवारभित्रकै व्यक्तिलाई निशाना बनाइरहेको पाइन्छ। यस्तो किन भएको होला ?
मानसिक स्वास्थ्य भन्ने कुरा एउटा यस्तो जटिल विषय बन्दै गरेको छ, जुन विकसित समाजदेखि लिएर हामीजस्तो विकासोन्मुख देशहरुमा देखिएको छ। यसले ठूलो रुप लिँदै गएको छ। जतिजति मानिस आधुनिकतातर्फ बढ्दै गइरहेका छन् , त्यति नै यी समस्याहरु आइरहेका छन्।

हिजो हाम्रा बाउ बाजेका पालामा अध्यात्म बढी थियो। मान्छेहरु बढी अध्यात्ममा विश्वास राख्थे। आफ्नै खेतीबारीमा अन्न फलाउँथे। आफ्नै बलबुँतामा जीवन निर्वाह गर्थे। अहिले त्यो परिवेश परिवर्तन भइसकेको छ। अहिले मान्छेहरु परनिर्भर भएका छन्। बढी भन्दा बढी प्रगति, बढी भन्दा बढी आर्थिक प्रगति कसरी गर्ने, कसरी नाम र नाफा कमाउन सकिन्छ भनेर त्यसका पछि दौडिने प्रवृत्तिले गर्दा मानसिक समस्या बढ्दो क्रममा छ।

शिक्षाले मात्रै मानसिक स्वास्थ्यको ग्यारेन्टी गर्दैन, जीवनका विभिन्न पक्षहरु जस्तै व्यक्तिगत पक्ष, सामाजिक पक्ष, वातावरणीय पक्ष लगायत अरु विभिन्न कारणले मानसिक स्वास्थ्यमा असर गर्ने हो। त्यस्तै अहिलेको अवस्थामा मान्छेलाई अत्यधिक दबाब छ। जस्तै एक जना वयस्क अर्थात् युवा जसको आयस्रोत कम, खर्च धेरै छ, घरपरिवारको जिम्मेवारी उसैको काँधमा हुँदा उसले दबाबमा आफ्नो जीवन निर्वाह गरिरहेको हुन्छ। त्यस्ता व्यक्तिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानसिक समस्या रहेको हुन्छ।

सफलताको अपेक्षा हामीले आजभोलि बच्चालाई साढे २ वर्षमै विद्यालय पठाउँछौं। सुरुका दिनदेखि सफल हुनुपर्छ, राम्रो पढ्नुपर्छ, डाक्टर बन्नुपर्छ भनेर भनिरहेका हुन्छौं। यो पनि एकखाले मानसिक दबाब नै हो। जसका कारण उनीहरुमा असफलताको डर हुन्छ। जसरी पनि म सफल हुनुपर्छ भन्ने हुन्छ। यो पनि एउटा मानसिक समस्याको कारण हो। जसमा अभिभावकको पनि हात हुन्छ। त्यसैले बच्चालाई ५ वर्ष पुगेपछि मात्रै विद्यालय पठाउने, दबाब नदिइकन पढाउने, खेल्दै सिक्दै स्वतन्त्र वातावरणमा पढाउने गर्नु पर्दछ। तर हाम्रो समाजमा त्यो खालको वातावरण सिर्जना हुन सकेको छैन।

शिक्षित व्यक्तिको हकमा भन्ने हो भने व्यक्तिगत अन्य समस्या पनि हुन सक्छन्। पारिवारिक विवाद, वैवाहिक जीवनमा दखल, सम्बन्ध बिच्छेद, सामाजिक तथा सांस्कृतिक प्रभाव, अस्वस्थ जीवनशैली बिहानदेखि बेलुकासम्म सफलताकै पछाडि, पैसाकै पछाडि दौडिँदै गर्दा उसले आफ्नो स्वास्थ्यलाई ध्यान दिन सकेको छैन।

शिक्षित व्यक्ति आय आर्जनमा लागेका हुन्छन्। आय आर्जनमा लागेपछि उनीहरुका विभिन्न योजनाहरु बन्दै गरेका हुन्छन्। जुन अर्थसँग सम्बन्धित हुन्छन्। बिगतका वर्षमा कोभिडका कारण विश्वभर नै आर्थिक संकट उत्पन्न भयो। जसको असर मानसिक स्वास्थ्यमा पर्न गएको छ।

मानसिक स्वास्थ्य सम्बन्धी ज्ञानको कमी पढेलेखेकै मान्छेहरु तपाईंमा मानसिक समस्या छ भन्दा मान्न तयार नै हुँदैनन्। परामर्श लिन लाज मान्ने, जस्ता प्रवृत्तिले समस्याले विकराल रुप लिन्छ र उनीहरु आपराधिक क्रियाकलापमा संलग्न हुन्छन्। त्यस्तै कसैलाई जन्मजातै कुनै समस्या हुनसक्छ जुन पछि बढेर मानसिक समस्याको कारण बन्न सक्छ।

मानसिक रोगीको पहिचान कसरी गर्ने ?
कुनैपनि व्यक्तिको भावनामा भएका परिवर्तनहरु जस्तै कसैले अत्याधिक मात्रामा दुख देखाउँछ, निरास रहन्छ, गम्भीर छ भने उसलाई मानसिक समस्या छ कि भनेर शंका गर्नुपर्छ। त्यस्तै धेरै रिसाउने, एक्लै बस्ने जस्ता व्यवहार देखाउँछ। सामान्य मानिस भन्दा केही फरक खालको आचरण छ। जस्तै आत्मविश्वासको कमी, सामाजिक गतिविधिमा सहभागी नहुने, घरभित्रै बसिरहने, कसैसँग नबोल्ने जस्ता व्यवहार यदि कसैले देखाउँछ भने मानसिक समस्या बढिरहेको छ भनेर सम्झिनुपर्छ।

त्यो बाहेक लागूऔषध, अल्कोहल लगायतको प्रयोग अत्यधिक गरिरहेको छ, सामान्य कुरामा जोसँग पनि झगडा गर्न तम्सिने, स्वभावका मानिसमा पनि मानसिक समस्या हुनसक्छ। त्यस्तै निद्रा नलाग्ने, थकाई लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, शरीरलाई असहज महसुस हुने, चिडचिडापन हुने, सही ढंगले कुनै पनि कुरा सोच्न नसक्ने, मनमा नराम्रो कुरा मात्रै धेरै खेलाउने, हरेक कुराको दोषी आफैंलाई मानेर पश्चाताप गर्ने, अझ धेरै गहिराइसम्म समस्या भयो भने आत्महत्या गर्न मन लाग्ने, जीवनप्रति नै रुचि हराउने, घरका सदस्यहरुसंग हिंसा प्रदर्शन, झैझगडा गर्ने जस्ता लक्षणहरुका आधारमा उनीहरुको पहिचान गर्न सकिन्छ।

शारीरिक रुपमा स्वस्थ देखिने मानिसको मानसिक स्वास्थ्य जाँच कति आवश्यक छ ?
मानसिक स्वास्थ्य भन्ने कुरा व्यक्ति आफैंले आफ्नो अवस्था कस्तो छ भनेर पनि बुझ्न सक्छ। जस्तै धेरै चिन्ता लाग्ने, डर लाग्ने, कुनै कुरामा आफूलाई आत्मविश्वास नहुने, कसैसँग बोल्न मन नलाग्ने, चाँडो रिस उठ्ने, जुन सामान्य व्यक्तिको भन्दा असामान्य हिसाबले आफूले व्यवहार गरिराखेको छ, कुनै पनि कुरामा मन स्थिर हुँदैन, चञ्चल भइरहन्छ, पढाइमा फोकस गर्न सकेको छैन, आफ्नो काममा फोकस गर्न सकेको छैन, घरपरिवारका मान्छेलाई राम्रो व्यवहार गर्न सकेको छैन।
त्यस्तै समाज वा कार्यस्थलबाट उसको असामान्य व्यहारबारे गुनासोहरु आइरहेको छ भने कतै मलाई मानसिक समस्या त छैन भनेर जाँच गराउन आवश्यक हुन्छ। अहिले विद्यालय, प्रहरी युनिट लगायत विभिन्न अस्पतालहरुमा मनोसामाजिक परमर्शकर्ताहरु हुन्छन्। उनीहरुसंग आवश्यक परामर्श तथा सल्लाह लिन सकिन्छ।

त्यस्तै हाम्रो गाउँ समाजमा पनि आफ्नो दैनिक जीवनयापनका क्रममा बेरोजगारी, अशिक्षा लगायतका कारणले यस्ता समस्याहरु जो कसैलाई पनि हुनसक्छ। त्यसैले आफूलाई कुनै किसिमको शंका लागेको खण्डमा मेरो मानसिक अवस्था ठिक छ, छैन भनेर जाँच गराउन आवश्यक छ।

सानै उमेरमा बालबालिकाले देखाउने उछृङ्खल गतिविधि वा असामान्य व्यवहारलाई पनि मानसिक समस्या मान्न सकिने हो ?
मानसिक समस्याको सुरुवात हुने भनेको केटाकेटीबाट नै हो। साना केटाकेटीले देखाउने व्यवहार भनेको परिवारमा उनीहरुको लालन पालन कसरी भइरहेको छ ? त्यसमा भर पर्छ। उनीहलाई खुला छोडेका छौं कि नियन्त्रणमा राखेका छौं, अनावश्यक दबाब पो दिइरहेका छौं कि ? यस्ता विविध विषयमा हामीले झन धेरै ध्यान दिनुपर्ने हुन्छ।

अहिलेका बच्चालाई अभिभावकले विभिन्न किसिमका दबाब दिने, आफूले पुरा गर्न नसकेका इच्छा आकांक्षा आफ्नो सन्तानले पूरा गरुन्, जुन कुरामा आफू कमजोर थिए, ती सबै कुरामा आफ्ना सन्तानहरु अब्बल भैदिउन् भन्ने सोचाइ हुन्छ।

जस्तै उदाहरणको लागि एक जना शिक्षक जो डाक्टर बन्न चाहान्थे तर सकेनन् शिक्षक बने पछि तिनै शिक्षकले आफ्नो सन्तानलाई डाक्टर बनाउन चाहान्छन्। त्यस्तै कसैलाई नाच्न आउँदैन, उसले आफ्नो छोरी नाच्न जानोस्, पढ्न पनि जानोस् सवै कुरामा अब्बल होस् भन्ने चाहान्छन्। यस्ता असीमित दबाबले बालबालिकाहरु सानै उमेरमा मानसिक समस्याको शिकार बनेका छन्।

चिन्ता, तनाव जस्ता समस्या बढ्दै जान्छन् र उनीहरुमा डिप्रेशन हुने, आवेग नियन्त्रण गर्न सक्ने क्षमताको कमी हुन्छ र आत्मघाती विचारहरु लिन्छन्। त्यसैले बालबालिकाको मानसिक स्वास्थ्यलाई कसरी ठिक राख्ने भन्ने कुरामा अभिभावकको ठूलो भूमिका रहन्छ। त्यसैले आमाबुवा लगायत घरपरिवारका सम्पूर्ण सदस्यहरुले बालबालिकाको मानसिक स्वास्थ्यको विषयमा सोच्न आवश्यक देखिन्छ।

बढ्दो इन्टरनेट र मोबाइल फोनको प्रयोगले मानसिक स्वास्थ्यमा कस्तो असर पार्ने गरेको छ ?
इन्टरनेटको प्रयोगले राम्रा कुराहरु सिक्ने अवसर पनि छ। अहिले विभिन्न किसिमका डाक्टरहरु, प्रोफेसर, इञ्जिनियरले इन्टरनेटको सहायताले नै धेरै काम गरिरहेका छन्। अहिलेको २१ औं शताब्दीमा आवश्यक चिज नै हो। तर इन्टरनेटको गलत प्रयोग त्यसमा पनि घण्टौंसम्म मोबाइलमा चाहिने नचाहिने चिज हेरेर समय बिताउँदा त्यसले अवश्य पनि मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ।

अझ बालबालिकाहरुले गेमहरु खेल्ने, टिकटक चलाउने, पढाइ भन्दा बाहिरका कुरा अनावश्क चिजहरु हेर्ने, अश्लिल कुराहरु हेर्ने प्रवृत्तिले अहिलेका १२-१३ वर्षका बालबालिकाको व्यवहार २०-२२ वर्षको उमेरको मान्छेको जस्तो हुन्छ।

जसका कारण पढाइमा ध्यान नजाने, चाहिनेभन्दा नचाहिने कुरामा धेरै सोच्ने, नयाँ-नयाँ कुराहरुमा ध्यान जाने, कुनै एउटा कुरामा मन एकाग्र नहुने, सामाजिक रुपमा टाढा हुने, कसैसंग घुलमिल नहुने, मोबाइल पाएपछि एउटा कुनामा गएर बस्ने, जस्ता व्यवहार देखाउन थाल्छ। जसले गर्दा मानसिक, पारिवारिक, सामाजिक लगायत विभिन्न समस्याहरु निम्त्याउँछ।

सरकारले मानसिक स्वास्थ्य प्राथमिकतामा राखेको छैन भनिन्छ। मानसिक स्वास्थ्य सम्बन्धी समस्या नियन्त्रण गर्न सरकारको के कस्तो भूमिका रहन्छ ?
सरकारको भन्दा पनि मानसिक समस्या घटाउन परिवारको ठूलो भूमिका रहन्छ। मानसिक स्वास्थ्यलाई राम्रो बनाउने, नबनाउने भन्ने आफ्नो पारिवारिक पृष्ठभूमि कस्तो छ ? अभिभावकले कस्तो संस्कार दिएका छन् ? कस्तो वातावरणमा बालबालिकालाई हुर्काएका छन् ? पहिलो नम्बरमा परिवार पर्छ भने दोस्रोमा समाज र विद्यालय पर्छ। त्यसपछि बल्ल आउँछ सरकारको कुरा। आफ्ना नागरिकलाई गाँस, बास, कपासको व्यवस्था, बिसंगति हटाउने, रोजगारी सृजना, समान सहभागिता लगायतका कुरामा सरकारले ध्यान दिनुपर्छ। यस्ता विषयमा सरकारले ध्यान दिन सक्यो भने मानसिक स्वास्थ्य सम्बन्धी समस्या कम गर्न सकिन्छ।

आपराधिक क्रियाकलापमा संलग्न मानसिक समस्या भएका व्यक्तिहरुलाई थुनामा राखेर केही समयको लागि सजाय दिएर मात्र त हुँदैन होला। उनीहरुको मानसिक स्वास्थ्यको उपचार गर्न पनि आवश्यक हुन्छ होला नि ?
आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई सुधार्न भनेर नै जेलको मानसिकता बनेको हो। जहाँ केही समय उनीहरुलाई राखेर अपराधको प्रकृति हेरेर त्यो अनुसारको सजाय दिइन्छ। जेल भनेको एउटा सुधार गृह पनि हो। एकपटक कसैले कुनै गलत काम ग-यो र जेलमा गयो अनि फेरि निस्केर उसले त्यस्तै गर्छ भन्ने हाम्रो सोचाई हुन्छ। हामी यो सोचाइबाट माथि उठ्न सक्नुपर्छ।

कुनै मान्छेले एउटा परिस्थितिमा आएर अपराध ग-यो र त्यसको सजाय त उसले भोगिसकेको हुन्छ। उसले त्यो गल्तीलाई पटक पटक नदोहो-याओस भन्नका लागि सुधार गृहमा राखिने हो। जेलभित्र नै उनीहरुलाई आवश्यक परामर्श दिने हो र उनीहरुलाई सजायभन्दा पनि उपचारात्मक शैलीबाट मनोसामाजिक परामर्श दिने हो भने उनीहरुमा पक्कै पनि सुधार आउँछ र समाजमा सजिलै स्थापित हुन सक्छन्।

मानसिक समस्याबाट बच्न र बचाउन स्वयं आफै र घरपरिवारले के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
सर्वप्रथम त हामीले मानसिक स्वास्थ्यलाई राम्रो राख्नका लागि शारीरिक रुपमा पनि स्वस्थ राख्नुप-यो। दैनिक रुपमा ध्यान गर्ने, अधिक समय साथीभाई आफन्तहरुसंग बिताउने, पारिवारिक वातावरणमा बस्ने, व्यस्त रहने, खाली दिमाग सैतानको बास भने झैं कुनै पनि समयमा खाली नबस्ने, स्वस्थ खानेकुराहरु खाने, समयमा सुत्ने, समयमा उठ्ने लगायत आफ्नो दैनिकीलाई चुस्त दुरुस्त बनाउने गर्नुपर्छ।

त्यस्तै आफूलाई कुनै मानसिक समस्या छ कि भनेर शंका लाग्यो वा कुनै शंका देखियो भने तुरुन्तै परामर्श लिने र घरपरिवारमा कसैलाई समस्या छ भने उसलाई पनि आवश्यक चेकजाँच तथा परामर्शहरु दिने लगायतका कुराहरुमा ध्यान दियौं भने मानसिक स्वास्थ्य सम्बन्धी समस्याबाट बच्न र बचाउन सकिन्छ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ८ : २० बजे

सर्वोच्च बारको अध्यक्षमा पोखरेल विजयी

काठमाडौं – सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी

निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्छः महामन्त्री थापा

गण्डकी – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचनमा

भूमिसम्बन्धी समस्या सामाधान गर्न आयोगले द्रुतगतिमा काम गर्नेछः उपप्रधानमन्त्री सिंह

रौतहट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूमिसम्बन्धी समस्या

इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला

सर्लाही – सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या

काठमाडौंले जित्यो बागमती प्रदेश लिग फुटबलको उपाधि

मकवानपुर – बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँले हात पारेको