भाइरल बनेको ‘अमला काण्ड’मा ‘पत्रकारिता’को कन्तबिजोग ! | Khabarhub Khabarhub

भाइरल बनेको ‘अमला काण्ड’मा ‘पत्रकारिता’को कन्तबिजोग !



काठमाडौं– सामाजिक सञ्जालमा यतिबेला ‘अमला काण्ड’ भाइरल छ । झापा शिवसताक्षी नगरपालिका बस्ने २१ वर्षीया अविवाहित युवतीले सन्तानको जन्म दिएपछि यो घटना सोसल मिडियामा उछालिएको हो । ती युवतीले आफ्नै छिमेकी ७९ वर्षीय वृद्धलाई बच्चाको बुवाका रुपमा खुलाएकी छिन् ।

युवती मानसिकरुपले बिरामी छिन् । उनका अभिभावकले बताएअनुसार उनलाई निरन्तर औषधी खुवाइएको छ । तर, ज्याला मजदुरी गरेर गुजारा गर्ने गरीब परिवार २४ सै घण्टा छोरीको निगरानीमा बस्न सक्दैनन् । जसको फाइदा पीडकले उठाएको परिवारजनको गुनासो छ ।

यो घटनापछि युवतीको परिवार आर्थिक र सामाजिकरुपले थप विक्षिप्त बनेको छ । अवजात छोरालाई सुधार केन्द्रमा राखिएको छ । बुबाको ठोस पहिचान नहुँदा नवजात शिशुको न्वारानसमेत हुन सकेको छैन । बच्चा जन्मिए पनि हर्षोल्सास छैन । न्वारान गर्ने–नगर्ने ? दोधार छ ।

उता युवतीले आरोप लगाएका ७९ वर्षका वृद्धले ५० वर्ष अगाडि नै ‘परिवार नियोजन’ गरिसकेकाले आफू बुबा बन्न नसक्ने दाबी गरेका छन् । नातिनी अथवा पनातिनी उमेरकी युवतीलाई आफूले नछोएको र आफू बच्चाको बुवा बन्नै नसक्ने ती पुरुषको जिकिर छ ।

तर, युवतीका बुवाले युटुब अन्तर्वार्ताहरुमा उक्त वृद्धलाई आफ्नी छोरीको कोठामा देखेको बताइरहेका छन् । अमला खाने ? कति पैसा चाहियो ? भनेर छोरीलाई सोधेको आफूले सुनेको उनको भनाइ छ । यही अभिव्यक्तिबाट यो घटनालाई सोसल ‘अमला काण्ड’ भन्दै भाइरल बनाइएको हो ।

घटनाको गर्भ वा पीडित–पीडकबीचको आरोप–प्रत्यारोप यत्ति नै हो । घटना के हो, सरोकारवाला निकायले छानविन गरेर समाधान अवश्यै निकाल्ला । तर, यो घटनालाई पत्रकारिताका नाममा जसरी उछालिएको छ, यसले भने पत्रकारिता पेशामाथिकै मर्यादामा प्रश्न उठ्ने जोखिम बढाएको छ ।

युट्युबरको ताँती

घटना सार्वजनिक भएपछि युट्युबरहरू ताँती लागेर गाउँ प्रवेश गरेका छन् । युवती, शिशु, पीडित परिवार र आरोपितका तस्बिर र भिडिओसमेत सामाजिक सञ्जालमा छरपष्ट पारिएको छ । पीडितको पहिचान लुकाउनुपर्छ भन्ने पत्रकार आचारसंहिताको धज्जी उडाइएको छ । तर, यस्तो हुँदा पनि नियमनकारी निकाय प्रेस काउन्सिल, पत्रकार महासंघ आदिले त्यस्ता युट्युबरहरुलाई ती सामग्री हटाउन भनेको छैन ।

घटनाको सत्यतथ्य खोज्न भन्दै पुगेका युट्युबरहरुले ‘शारीरिक सम्बन्ध कहाँ भयो ? बाजेले अमला दिन्थे ? बाजेसँग मात्रै हो कि अरूसँग पनि शारीरिक सम्बन्ध राख्नुभयो ? बाजे नै पक्का हुन् ? तपाईको स्वास्थ्य ठीक छ ? भोलि गएर आफ्नो बोली त परिवर्तन गर्नुहुँदैन नि ? जस्ता अप्राशंगिक एवं व्यक्तिगत प्रश्नहरु तेर्साएर पीडितलाई थप पीडित बनाइरहेका छन् ।

सामाजिक सञ्जालमा यस काण्डलाई लिएर संवेदनहीन बहस पनि भइरहेका छन् । सञ्जालमा मिम र भिडिओ बनेका छन् । अमलाको तेलको बोतलमा आरोपी वृद्धको फोटो राखेर विज्ञापन गर्ने काम भएका छन् । शिशुको अनुहार वृद्धसँग ठ्याक्कै मिलेको भन्न पनि धेरैले भ्याएका छन् ।

घटनाको छानविनपछि सत्यतथ्य फेला पर्ला । हालको अवस्था भनेको शंका मात्रै हो । तर, शंकाकै भरमा कसैलाई पनि अपराधी करार गर्न पाइँदैन ।

एकछिनलाई मानौं, तिनै वृद्धले त्यस्तो कार्य गरे रे । तर, यसको छिनोफानो युट्युबरले दिने हो र ? समाचार सम्प्रेषण गर्दा बालकको तस्बिरको प्रयोग गर्न पाइन्छ ? पीडित महिलाको गोपनीयता सञ्चार माध्यमले गर्नुपर्छ कि पर्दैन ? यी प्रश्नहरु पत्रकार÷युट्युबरतर्फ सोझिएका छन् ।

के भन्छ प्रहरी ?

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी सञ्चारमाध्यम आफ्नो आचारसंहिता अनुरुप नचल्दा यस्ता गम्भीर प्रकृतिका घटनालाई मनोरञ्जनका हिसाबले पस्किएको तर्क गर्छन् ।

एसपी केसी भन्छन्, ‘राज्यको चौथो अंगले पत्रकारितामा के–के गर्न हुन्छ र के–के गर्न हुँदैन भन्ने जानेर आउन आवश्यक छ ।’
उनी थप्छन्, ‘पत्रकारिताको नियामक निकाय प्रहरी संगठन होइन । तपाई आफै भन्नुस् । यो घटना यसरी सार्वजनिक गर्न मिल्छ ?’

केसी भन्छन्, ‘सुत्केरीलाई धरानस्थित परामर्श केन्द्रमा लगिएको छ, उनीहरुलाई घरमा के–कस्तो सहयोगको आवश्यकता छ भन्ने बुझेर आएका छौं । घटनाको छानविन भइरहेको छ । राज्यले के हेरेर बसेको छ भन्नेजस्तो गुनासो गर्ने ठाउँ छैन ।’

नाबालक र महिलाको फोटो र भिडियो बनाउने व्यक्ति तथा सञ्चारमाध्यमलाई सम्बन्धित निकायले यथाशिघ्र कारवाहीको दायरामा ल्याउनुपर्ने एसपी केसीको भनाइ छ ।

स्रोतका अनुसार घटना चर्चामा आएपछि ‘शिवसताक्षीका नगरप्रमुख मेघहाङ थोप्रा (रोशन) र उपप्रमुख नरमाया कार्कीले पनि पीडितको घरमा पुगेर समस्याबारे बुझेका छन् ।

के भन्छ प्रेस काउन्सिल ?

पत्रकार आचार संहिताको अनुगमन गर्ने नियामक निकाय प्रेस काउन्सिल नेपालले पनि यो घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालले यो घटनाको श्रव्य–दृश्य सामग्री पत्रकार आचारसंहिताको उल्लघंन मात्रै नभएर कानुनी हिसाबबाटै दण्डनीय रहेको बताए ।

खनाल खबरहबसँग कुरा गर्दै भन्छन्, ‘यस घटनामा एक नाबालक, मानसिक बिरामी महिला र जेष्ठ नागरिकको अधिकारको हनन भएको छ । एकैपटक तीन पक्ष अन्यायमा परेका छन् ।’

प्रेस काउन्सिलले त्यस्ता सामाग्री प्रशारण गर्ने सञ्चारमाध्यम तथा युट्युबरलाई कारवाहीको दायरामा ल्याउने तयारी गरिरहेको खनालले जानकारी दिए ।

बाल अधिकारकर्मीको चासो

यसैबीच, राष्ट्रिय बाल अधिकार परिषद नेपालका उपाध्यक्ष बमबहादुर बानियाँले कतिपय मूलधारका मिडियालेसमेत बाल गोपनीयताको बारेमा नबुझेको बताए ।

उनले खबरहबसँग भने, ‘अस्ति भर्खरै पत्रकार ऋषि धमलाले बालबालिकाको भिडियो सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई समेत प्रश्न गर्दै हाल्नुभएको थियो । परिषद्ले उहाँलाई मौखिकरुपमा चेतावनी दिपछि उहाँले अब त्यस्ता भिडियोबारे ख्याल गर्ने भनेर माफी माग्नुभएको थियो ।’

‘सञ्चारमाध्यमले बालअधिकारको सामान्य मर्मसमेत नबुझ्ने हो ?’ बानियाँ प्रश्न गर्छन्, ‘मूलधारका मिडिया भन्ने, ऐन कानुनसमेत थाहा छैन ?’

उनी अगाडि भन्छन्, ‘गौशाला–२६ को जस्तो गोपनीयता सबै मिडियाले सिक्नुपर्छ । कानुन विपरीत कार्य गर्ने मिडिया, व्यक्ति र सञ्चालक सबैलाई कारवाहीको दायरामा ल्याइनुपर्छ ।’

कुन–कुन सञ्चारमाध्यमले त्यस्तो कार्य गरेका छन्, हेरेर कारवाही अगाडि बढ्ने बानियाँले बताए ।

कानुनमा के छ ?

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ४ ले उनीहरुको पहिचानको अधिकार सुनिश्चित गरेको छ । जसमा पहिचानसहित नामाङकरण र जन्मदर्ताको हक छ । त्यस्तै दफा ११ ले गोपनियताको अधिकार सुरक्षित गरेको छ । उपदफा २ ले फोटो भिडियो सिर्जना गर्न नपाइने र प्रकाशन, प्रदर्शन कुनै पनि माध्यमबाट प्रवाह गर्न नपाइने व्यवस्था गरेको छ ।

त्यसैगरी दफा १८ मा राज्यको दायित्व अन्तर्गत वालवालिकाको विशेष संरक्षणको आवश्यकता भएकाको राज्यले आवश्यक व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।

साथै, दफा १९ ले बालबालिकाको हित प्रतिकूल नहुने गरी सुचना प्रकाशन वा प्रशारण गर्नु सञ्चार क्षेत्रको दायित्व हुनेछ । यस्ता कार्य गरेको पाइएमा व्यक्ति वा संस्था प्रमुखलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्मको जरिवाना तोकिएको छ ।

त्यसैगरी, करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ (ख) ले होस ठेगानमा नरहेका व्यक्तिसँग यौन सम्बन्धका लागि लिएको मञ्जुरीलाई मञ्जुरी नमानिने र त्यस्तो कार्य ‘जबरजस्ती करणी’ (बलात्कार) मानिने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ८ : १७ बजे

बुढासुब्बा गोल्डकपः ‘सडन डेथ’मा धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा

सुनसरी – धरान फुटबल क्लबलाई ‘सडन डेथ’मा ७–६ गोल अन्तरले

मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

ताप्लेजुङ – ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका

जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो

गोदावरी – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति

‘अनलाइन’ जुवामा संलग्न २४ जना पक्राउ

काठमाडौं – ‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन