काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकजना कोटधारी नेतालाई घप्लक्कै अँगालो हालेको तस्बिर शनिबार सार्वजनिक भयो । प्रचण्डको अँगालोमा बेरिएका ती व्यक्ति केपी ओलीजस्तै रहेछन् भन्दै कतिपय मानिसहरु एकछिन झुक्किए, त्यसपछि हाँसे ।
प्रचण्डसँग अँगालोमा बेरिने ती व्यक्ति थिए– माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका वागमती प्रदेश सदस्य कृष्णराज न्यौपाने ‘लभ्ली’ ।
प्रचण्डको हातबाट अबीरको टीको र सयपत्री फूलको माला लगाएर माओवादीमा प्रवेश गरेका न्यौपाने एकीकृत समाजवादी पार्टीबाट दुईपटक चितवनको कार्यवाहक अध्यक्षसमेत भइसकेका नेता हुन् ।
न्यौपानेसँगै चितवनकै अर्का नेता अरुण भण्डारी र अन्य केही कार्यकर्ताहरु पनि एकीकृत समाजवादी छाडेर माओवादीमा प्रवेश गरेका छन् ।
एकातर्फ माधव नेपालको पार्टीसँग प्रचण्डले ‘समाजवादी मोर्चा’ समेत बनाएका छन् । अर्कोतिर उनकै पार्टीबाट धमाधम नेताहरु आफ्नो दलमा भित्र्याउने रणनीति पनि प्रचण्डले लिएको शनिबारको घटनाले देखाएको छ ।
चितवनमा माधव नेपालको पार्टीलाई धक्का दिएर उत्साहित बनेका प्रचण्डले यो पनि घोषणा गरे कि एकदिन माधव नेपालजीसमेत माओवादीमा आउनुहुनेछ ।
माधव नेपाललाई सकस
नेकपा एमालेबाट फुटेर ०७८ भदै २ गते स्थापना भएको नेकपा एकीकृत समाजवादी पार्टी संकटमा पर्न लागेको हो त ? होइन भने नेता–कार्यकर्ताहरुले किन धमाधम माधव नेपालको साथ छाड्न थालेका होलान् ? यो प्रश्नको जवाफ भने एकीकृत समाजवादीभित्रैबाट खोज्नुपर्ने हुन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा गत असारमा सम्पन्न दशौँ महाधिवेशनबाट पार्टी अध्यक्ष माधव नेपालमाथि पार्टीभित्रैबाट प्रश्न उठ्न थालेको हो ।
महाधिवेशनमा दोस्रो तहका नेताले महासचिव घनश्याम भुसाललाई अध्यक्षका रुपमा अगाडि सार्न चाहेका थिए । भुसाललाई अर्का नेता झलनाथ खनालको पनि साथ थियो । हुन त नेता खनाल पनि अध्यक्षको दौडमा थिए । तर, भुसाललाई अगाडि सारेर उनी पछि हटेका थिए ।
तथापि महाधिवेशनमा तत्काल अर्काे विकल्प नभएको भन्दै सर्वसम्मतिमै माधव नेपाललाई अध्यक्ष चुनियो । अध्यक्ष मण्डलको नेतृत्वमा रहेका खनालले समेत माधव नेपालकै नाममा सहमति जनाए ।
नेकपा एमालेमा ०७९ को निर्वाचनपछि भूमिकाविहीन बनाइएपछि समाजवादीमा लागेका भुसाल पुनः महासचिव बने । अन्य पदाधिकारी भने सहमति र छलफलमा चुनिने गरी महाधिवेशन टुंगियो । दुई महिनापछि, भदौ १२ गते बाँकी १८ पदाधिकारी चुनिए । जसमध्ये वरिष्ठ उपाध्यक्षमा माधव नेपाल निकट राजेन्द्र पाण्डे सर्वसम्मत छानिए भने बाँकी १७ जना पदाधिकारीको निर्वाचन भयो ।
पदाधिकारीका लागि भएको चुनावमा चर्चित नेता, तत्कालीन सचिव रामकुमारी झाँक्री महिला उपाध्यक्षमा हारिन् । पूर्वउपाध्यक्ष जयन्ती राईले झाँक्रीलाई हराइन् ।
यस्तै, विरोध खतिवडा पनि पदाधिकारीमा हारे । जीवनराम श्रेष्ठ, डा.विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामचन्द्र झा, रामचन्द्र यादव, ललितबहादुर बस्नेत क्षेत्री, साध्यबहादुर भण्डारी, उर्वादत्त पन्त, बलराम सापकोटा, महेश रेग्मी, लक्ष्मण केसी, देउमान सम्वाहाङ्फे, नागेन्द्र चौधरी, अम्बर बहादुर थापा, लक्ष्मण पौडेल, शत्रुघन महतो र हरिप्रसाद पराजुली, निरुदेवी जैरु, वंशीधर मिश्र लगायतका घघडान नेताहरू हारे ।
हारेका नेतालाई विभागको जिम्मेवारी दिने भनिए पनि पार्टी आन्तरिक विवादमा फस्दा नेताहरूको कार्य विभाजन हुन नसकेको आरोप पार्टी अध्यक्ष नेपालले खेप्नुपर्यो ।
नेता नेपाल सत्तामुखी भएका कारण पार्टीको जिम्मेवारीमा नेताहरूलाई नपठाएर आफ्नो दुनो सोझ्याउन लागेको आरोपसमेत कतिपयले लगाए । त्यही बाहनामा जिल्ला तहका केही नेताहरूबाट पार्टी छाड्ने सिलसिला सुरु भयो ।
यही स्थितिमा मंसिर अन्तिम साता पार्टीको स्थायी कमिटी बैठक राखेर हारेका र जितेका सबै नेताहरुलाई जिम्मेवारी दिइयो । तर, त्यो जिम्मेवारी बाँडफाँट बाट समाजवादीका केही नेताहरू झन् असन्तुष्ट बने ।
केही समयअघि खबरहबसँगको कुराकानीमा नेता नेपालले आफू ‘आँट सिद्धान्त’ को पक्षपाती भएका कारण अरूले गलत कुरा गर्दैमा नथाक्ने तर आफू गलत नगर्ने बताएका थिए । उनले आफ्नो पार्टी रेल यात्रामा रहेकाले कोही चढ्ने, कोही ओर्लने स्वाभाविक भएको बताएका थिए ।
एकता टर्यो, पहिरो सुरु
यसबीचमा एकीकृत समाजवादी र माओवादी केन्द्रवीच पार्टी एकताको पनि चर्चा नचलेको होइन । तर, माओवादीसँग मिल्दा धेरै नेताहरु एमालेमा फर्कने डरका कारण माधव–झलनाथ दुबै नेता तत्काल माओवादीसँग एकता नगर्ने लाइनमा उभिए ।
त्यसो त एकीकृत समाजवादीका केही नेताहरुले एमालेमै फर्कन नखोजेका पनि होइनन् । तर, त्यसो गर्दा सांसद पद नै गुम्ने डरका कारण उनीहरु एमालेमा फर्कन सकेनन् । उता एमालेले पनि ‘माधव नेपालबाहेक अरुलाई लिने’ नीति अगाडि सार्यो ।
अन्ततः पार्टी–संगठन विस्तारले गति नलिने, एमालेसँग पनि एकता नहुने अनि माओवादीसँग पनि नमिल्ने स्थितिमा एकीकृत समाजवादीभित्र आन्तरिक पहिरो जान थालेको देखिन्छ । केही नेता कार्यकर्ताहरु एमालेतिर लाग्ने त केही माओवादीतिर जाने सिलसिला सुरु भएको छ । शनिकार चितवनमा प्रचण्डसँग भएको अंकमाल त्यसैको पछिल्लो उदाहरण हो ।
समाजवादी पार्टी र नेकपा माओवादीबीच तत्काल एकता नभए पनि सहकार्य गरेर जाने नीति समाजवादीको सचिवालय बैठकले लिएको छ । सोहीअनुसार माओवादी र पूर्वमाओवादीसहितको समाजवादी मोर्चामा एकीकृत समाजवादी पनि सहभागी बनेको छ । मोर्चाले यसैसाता प्रज्ञा प्रतिष्ठानमा मोर्चाले कार्यक्रम समेत आयोजना गरेको थियो ।
जनवर्गीय संगठनमा असन्तुष्टि
गत माघ ४ गते माधव नेपालका मान्छेले आफूलाई काम गर्न नदिएको भन्दै एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका नेताहरु एमालेमा प्रवेश गरे । अध्यक्ष विश्वमणि सुवेदी, महासचिव रामकुमार एलनसहितको टोली प्रेस चौतारीमा फर्कियो । त्यसअघि नै आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले नेपाल पत्रकार महासंघको महाधिवेशनताका प्रेस संगठन छाडिसकेका थिए ।
माधव नेपालको साथ छाडेका सुवेदी आफूहरूले संगठन विधि पद्धतिअनुसार चलाए पनि माधव नेपालका मान्छेले अनेक लाञ्छना लगाएर आफूलाई कारबाही गर्न लागेपछि आफूहरू निस्किएको बताउँछन् ।
उनले खबरसहबसँग भने, ‘मैले दुई–तीनपटक अध्यक्ष नेपाललाई भेटेर आफ्ना कुराहरु भनेको थिएँ । तर, अध्यक्षले वास्ता गर्नुभएन । त्यसपछि म संगठन छाड्न बाध्य भएँ ।’
एकीकृत समाजवादीनिकट युवा संघको संयोजकमा ०८० भदौ १० गते कृष्ण विक चयन भए । यसअघिका अध्यक्ष नरेश शाही प्रदेशसभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री भएपछि म्याग्दीका विकलाई युवा संघको संयोजक बनाइएको थियो । तर, यसमा पनि संगठनभित्र असन्तुष्टि देखिएको थियो ।
यही क्रममा १० औँ महाधिवेशनको मुखैमा युवा संघलाई लिएर माधव–झलनाथबीच टकराब सुरु भएको नेताहरु बताउँछन् । जेठ २६ गते युवा संघका माधव पक्षका सहसंयोजक नितेश पौडेलले झलनाथ पक्षका संयोजक कृष्ण विकेविरुद्ध समानान्तर गतिविधिको घोषणा गरे । उनले बबरमहलमा छुट्टै भेलासमेत गराए । यसबीचमा युवासँघको बैठक पनि बसेन । सम्मेलन पनि हुन सकेन ।
त्यस्तै, एकीकृत समाजवादीको विद्यार्थी संगठनमा पनि विवाद देखियो । ०८० भदौ १० गते सुदेश पराजुली विद्यार्थीको अध्यक्षबाट बिदा भएपछि राष्ट्रिय सम्मेलन गर्ने गरी आरती लामाले अध्यक्षको जिम्मेवारी पाएकी थिइन् । लामा अध्यक्ष भएपछि विभिन्न जिल्लाका सम्मेलन पनि भइरहेका थिए । तर, माघ दोस्रो साता बसेको पार्टीको सचिवालय बैठकले अचानक विद्यार्थी संगठन (अनेरास्ववियू) की अध्यक्ष लामा र युवा संघका अध्यक्ष विकलाई पदमुक्त गरिदियो ।
पार्टीद्वारा जारी अन्तरपार्टी निर्देशन–४ मा उनीहरू दुबैको जिम्मेवारी खोसिएको उल्लेख गरिएको सूचना माघ १५ गते बाहिरिएको थियो ।
पार्टीको केन्द्रीय सदस्य तथा भौगोलिक जिम्मेवारीसमेत पाएका कारण उनीहरू जिम्मेवारीमुक्त भएको सुर्कलरमा भनिएको छ ।
विद्यार्थी अध्यक्ष लामालाई पार्टीको केन्द्रीय सदस्यसँगै सर्लाहीको सह–इञ्चार्ज बनाइएको छ भने विकलाई म्याग्दी जिल्लामा जिम्मेवारी दिइएको छ । तर, अन्य नेताको हकमा भने पार्टीको केन्द्रीय सदस्य र भौगोलिक जिम्मेवारी दुबै कायम राखिएको उनीहरुको गुनासोसहित लामा र विकले पार्टी नेताहरूलाई लिखित उजुरी दिएका छन् ।
‘जिम्मेवारीबाट खोसिएको जानकारी अपानिबाट आयो । संगठनको बैठकसम्म राख्न पाइएन,’ बिकले खबरहबसँग भने, ‘एमालेले विधि र प्रक्रिया अनुसार चलेन भनेर फरक पार्टी निर्माण गरेका हौँ । यहाँ पनि पार्टी आफ्नै तालमा देखिएको छ ।’
अनेरास्यवियूबाट जिम्मेवारी खोसिएकी लामा पनि अन्य जिम्मेवारी पाउने व्यक्तिहरूको पद कायम रहेको तर आफूहरूलाई छानीछानी विभेदपूर्ण व्यवहार भएको बताउँछिन् ।
‘विद्यार्थीको सम्मेलन गरेर म बिदा हुने प्रकृयामा नै थिएँ । स्ववियु निर्वाचन पनि नजिकिएको छ’ उनले भनिन्, मैले सम्मेलनको तयारी गरेकी थिएँ । तर, बैठकसम्म नगरी जिम्मेवारीबाट हटाइएछ । सर्कुलर आउँदा छक्क परेँ ।’
पार्टीकै नेताहरु बेखबर
लामा र बिकलाई जनवर्गीय संगठनको जिम्मेवारीबाट हटाइएको बारे पार्टी सचिवालयका एक नेताले समेत आश्चर्य प्रकट गरे । उनले भने, ‘अन्तरपार्टी निर्देशन सबैलाई लागु हुन्छ भन्ने थियो तर दुईजनालाई मात्र जिम्मेवारी हटाइएछ । म पनि छक्क परेको छु । यो कुरा अब बस्ने केन्द्रीय कमिटी र सचिवालय बैठकमा उठ्छ ।’
ती नेताको दाबीअनुसार दुई नेताको जिम्मेवारी खोसिएको महासचिव भुसाललाई पनि थाहा छैन ।
उता, माधव नेपालले आफ्नो कार्यशैली नसुधारेको भन्दै झलनाथ खनाल पनि पछिल्लो समय रुष्ट बनेको नेताहरुको दाबी छ । महासचिव भुसाल पनि नेता नेपालको कार्यशैलीबाट सन्तुष्ट नरहेको स्रोतले बतायो ।
पछिल्लो समय नेपाल र खनालको सम्बन्धमा चिसोपन बढेको समाजवादीका कार्यकर्ताहरु बताउँछन् । विद्यार्थी इन्चार्जको जिम्मेवारी पाएकी रामकुमारी झाँक्री पनि नेपालसँग टाढिएको चर्चा छ । यस्तै, नेपाल निकट नेता मानिएका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा विजय पौडेल र केशवलाल श्रेष्ठ पनि माधव नेपालसँग रुष्ट बनेको स्रोतको दाबी छ ।
पार्टीको १० औं महाधिवेशन नै खारेज गर्नुपर्ने पक्षमा रहेका एकीकृत समाजवादीका दुई सांसद किसान श्रेष्ठ र प्रेम आले पनि माधव नेपालसँग खुसी छैनन् ।
तथापि, महासचिव भुसालले भने पार्टीमा कुनै विवाद नरहेको र बाहिर अनावश्यक हल्ला चलेको बताउँदै आएका छन् ।
प्रतिक्रिया