दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला « Khabarhub

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन व्यस्त छिन् । उमेरले ६१ वर्ष पुगेकी धनिसराले घर खर्चमा मद्दत पुगोस् भनेर केही आम्दानी हुने आशमा दुनाटपरी बनाउन सुरु गरेकी हुन् । वनमा खेर गएको सालको पातबाट जीविकोपार्जनका लागि दुनाटपरीका लागि लाफा बनाएर बिक्री गर्न थालेको उनले बताइन् ।

बगुवनकै केसरी सिञ्जालीले पनि हिजोआज सालको पातबाट दुनाटपरी गाँस्न थालेकी छिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले नुनतेलको जोहो गर्न भए पनि दुनाटपरी बनाउन सुरु गरेको केसरीले बताइन् ।

चारैतिरबाट नदी र जङ्गलले घेरिएको बगुवन गाउँमा आर्थिक उपार्जनको दिगो स्रोत नभएपछि स्थानीय महिला सालको पातबाट जीविकोपार्जनको उपाय खोज्न थालेका हुन् ।

ज्याला मजदुरी र कृषि कर्मबाट फुर्सदको समयलाई सदुपयोग गरी महिलाले घरायसी कामकाजसँगै दुनाटपरी बनाउने गरेका छन् । यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन् ।

वनबाट ल्याएको सालको पातबाट लाफा बनाएर केही दिन घाममा सुकाएपछि बिक्री गर्ने गरिएको छ । एक सयवटा टपरीको एक मुठा हुन्छ । एक मुठाको एक सय ५० रुपैयाँ प्राप्त हुने स्थानीयको भनाइ छ ।

आयआर्जनको अन्य विकल्प नभएपछि टपरी बनाएर भए पनि केही आम्दानीको उपाय खोजिएको दिनुढेगा मगरले बताइन् ।

भौगोलिक अवस्थितिका आधारमा विकट मानिएको बस्तीमा सरकारले केही अवसर सृजना गर्नुपर्ने दिनुको सुझाव छ । ‘हामीलाई केही सीपसँगै काम दिए हुन्थ्यो भन्ने लाग्छ, नारायणी नदीको डुबान, चितवन राष्ट्रिय निकुञ्जका जनावरको आक्रमण डरले गर्दा हामी सधैँ पीडित भएका छौँ’, उनले भनिन् ।

वनजङ्गलमा खेर गएको पातसँगसँगै पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्ने कार्यक्रममा जोडेर स्थानीय महिलालाई रोजगारी प्रदान गरिने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । विनयी जैविक मल उत्पादन उद्योग सञ्चालन गरिएकाले स्थानीयलाई सहज रोजगारी सृजना हुने अध्यक्ष गिरीको भनाइ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : ५६ बजे

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो