काठमाडौं- भगवान मिथ्या हुन सक्छ तर आमा सत्य हुन् अर्थात् आमा भगवानभन्दा माथि हुन् । संसारको सबैभन्दा पवित्र नाता आमा हो । निस्वार्थ प्रेम कसैले गर्छ भने, उनी आमा हुन् । नेपोलियन बोनापार्टले ‘मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु’ भनेर आमाको व्याख्या गरेका छन् । शास्त्रले पनि आमालाई पृथ्वीसँग तुलना गरेको छ ।
आमाले आफ्नो सन्तान बचाउनको लागि मृत्युसँग लडेको हामीले देखेका छौँ । मानिसमा मात्रै नभएर जनावरमासमेत त्यो दृश्य देख्न सकिन्छ । आफूमाथि आइपर्ने हरेक कष्ट सहन तयार हुन्छिन् आमा । तर, सन्तानमाथिको प्रहार उनलाई सह्य हुँदैन । कतिसम्म भने आफ्ना सन्तान कुट्ने पतिसेमत उनलाई दुस्मन लाग्छ ।
आमाको महत्व र आमा के हुन् भनेर शब्दमा उतार्न मुस्किल पर्छ । तर आमाहरूले नै स्वयं आफ्नै सन्तान मार्नेसम्म कसरी पुग्न सक्छन् ? पछिल्ला केही प्रतिनिधि घटना हेराैँ, जसले आमामाथि पनि प्रश्न तेर्स्याउन बाध्य पार्छ ।
शायद यही भएर कवि माधव प्रसाद घिमिरेले ‘पापिनी आमा’ लेखेका होलान् ।
घटना एक
केही दिन अगाडि धनुषामा एक आमाले आफ्ना तीन सन्तानलाई विष खुवाएर आफैँले पनि सेवन गरिन् । सहिद नगरपालिका–५ बासुदेवपट्टिमा गहुँमा राख्ने विषादी सन्तानलाई खुवाएर आमाले पनि खाइन् । जसको सेवनबाट तीन छोराछोरीको घटनास्थलमै मृत्यु भएको थियो । विष सेवनबाट गम्भीर भएकी आमा पविता साहलाई जनकपुरधामस्थित रामजानकी अस्पताल लगिएको थियो ।
अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो । उनी गर्भवतीसमेत थिइन् । शल्यक्रिया गरेर उनको गर्भबाट बच्चा सकुशल निकालिएको थियो । पविताको दश वर्षअघि सुशील साहसँग बिहे भएको थियो । सुशील राइस मिलमा ट्याक्टर चालकका रुपमा कार्यरत छन् । साथै, पविताको ससुरा नारायण साह सोही वडाका निर्वाचित वडा सदस्य हुन् । घटना भएलगत्तै पति सुशील साह सम्पर्क विहीन भएका थिए ।
अस्पतालमा परिवारका सदस्यहरू कोही पनि नआएपछि उपचारका लागि मन्जुरीनामा दिने मान्छे नभएर समस्या भएको थियो । गाउँको नातामा जेठान पर्नेसँग सहमति गराएपछि शल्यक्रिया गरेर बच्चा निकालिएको थियो । नवजात शिशुको अवस्था सामान्य रहे पनि आमाको चारदिनपछि मृत्यु भयो । ६ वर्षीय आदित्य साह, ४ वर्षीया आकृति साह र २ वर्षीया छोरी आरती साहको घटनास्थलमै मृत्यु भएको थियो ।
पारिवारिक विवादका कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो । पविताको बुबा रामचन्द्र साहले छोरीले रहरले नभई जबरजस्ती विष सेवन गराएर हत्या गरेको दाबी गरेका छन् । छोरीलाई विगतमा पनि कुटपिट गर्ने गरेको उनको आरोप छ ।

घटना दुई
त्यसैगरी राजविराजमा एक महिलाले आफूसहित नाबालक छोरालाई समेत विषपान गराएकी छिन् । विष सेवनबाट गम्भिर अवस्थामा पुगेका उनका ४ वर्षीय छोरा सौरभको उपचारको क्रममा मृत्यु भएको छ । आमाको अवस्था पनि गम्भिर रहेको छ । उनको उपचार नोवेल अस्पताल विराटनगरमा भइरहेको छ ।
चनौरा– १ घर भएका अनिल कुमार साफीको २५ वर्षीया श्रीमती काजलदेवी साफी हुन् । उनले किरा मार्ने विषादी आफू समेत छोरालाई पनि खुवाएकी थिइन् । विषले सिकिस्त छोरालाई उपचारका लागि स्थानीय गजेन्द्रनारायण सिंह अस्पताल पुर्याइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै विराटनगर स्थित नोवेल अस्पताल पुर्याइएको थियो तर, उपचारकै क्रममा बालको मृत्यु भयो । यस घटनामा पनि घरायसी विवाद देखिएको प्रहरीले जनाएको छ ।

घटना तीन
अर्को घटना बझाङमा पनि एक आमाले नाबालक दुई सन्तानसहित सेती नदीमा हाम फालेकी थिइन् । चैनपुर– ४ पिठालेक निवासी २६ वर्षीय खन्टी थापाले पानकोट पुल नजिकबाट २ बच्चा सहित बुधबार साँझ ७ बजे सेती नदीमा हाम फालेकी थिइन् । अढाइ वर्षीय छोरा निखिल थापाको जीवितै उद्धार गरिएको थियो ।
अर्को अढाई महिनाको शिशु र थापा नदीमा हराएका थिए । उनीहरु पछि मृत भेटिए । पिठ्यूँमा बोकेको अढाइ महिनाको शिशु र अढाई वर्षीय छोरा निखिलसहित खन्टीले नदीमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका थिए ।
एक आमाले यी घटना घटाउन सक्छिन् भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ । तर, यो वास्तविक हो । आफ्नै सन्तानको गला रेट्न एक आमाले कसरी सक्छिन् ? सन्तानको लागि आफ्नो प्राण बलिदान गर्न सक्ने आमाले यस्तो दुष्कर्म कसरी गर्न सक्छिन् ? यसको जवाफ खोज्नेतिर लागौँ ।
अत्यधिक प्रेमले पनि मानिसलाई अपराधको बाटोमा लैजान्छ : मनोविद् सनम पौडेल

आमाले माया नै गर्छन् भनेर थोपरिएको हुन्छ । बच्चा हुर्काउन सजिलो होइन । कहिलेकाहीँ अत्यधिक प्रेमले पनि मानिसलाई नकारात्मक बाटोतिर डोर्याउँछ । आफू नहुँदा बच्चाहरूलाई कसले हेर्छ ? कसले स्याहारसुसार गर्छ ? दुख पाउँछ, कसले खानपिन गराउँछ ? उनीहरूको भविष्य के होला ? भन्ने भयावहले आमाहरूले त्यस्तो कदम चालेको पाइएको छ । म छैन भने बच्चाको जिन्दगी बर्बाद हुन्छ भन्ने भावनाले प्रेरित गर्छ ।
आफू नभएपनि आफ्ना बच्चाहरूले दुख पाउँछन् भन्ने मनोविज्ञानले अपराध गरेको देखिन्छ । हामी मानव भनेको घरमा पालेको जनावरसँग लगाव राख्छौँ भने आफ्ना सन्ततिप्रतिको प्रेम त कति हुन्छ कति । प्रेमको परिभाषा सबै ठाउँ र परिस्थितिमा एकैनास हुन्न । प्रेम परिस्थिति बमोजिम भइदिन्छ ।
साना बच्चाको आमाहरूमा हर्मोन परिवर्तन भइरहेको हुन्छ । त्यसले चिडचिडाहट पैदा गर्छ । मनमा अनेक नकरात्मक कुराहरू खेल्ने हुन्छ । त्यो कुरा परिवार र श्रीमानले बुझ्नुपर्छ । तर, आमाप्रति समाजले जिम्मेवारी मात्रै थपिदिएको छ । उ प्रतिको कर्तव्य बुझिएको छैन ।
घटना हुनुभन्दा अगाडि आमाहरू धेरै घरेलु हिंसाको सिकार भएको पाइएको छ । श्रीमान् र परिवारको दबाब झेल्न नसकेर आत्महत्या गर्ने सोच आउँछ । त्यसपछि आफू नभएपछि सन्तानले पाउने दुख सम्झेर एकैपटक मर्ने भाव पैदा भएको देखिन्छ ।
सामूहिक मर्ने योजना अचानक हुँदैन । यसको लागि पहिलेदेखि तयारी भइरहेको हुन्छ । त्यसकारण परिवार नै घटनाको मुख्य जिम्मेवार हुन्छ । घटना घटाउनु अगाडि कति संकेत देखाइरहेको हुन्छ । त्यो कुरा परिवारले देख्ने हो ।
रक्सी खाने घरझगडा हुने, आर्थिक अभाव भएको परिवारमा यस्ता घटना भएका छन् । घरको मूली अर्थात् श्रीमानको कारण आमाहरूले जघन्य अपराधलाई बाटो बनाएका छन् । मानसिक स्वास्थ्यको बारेमा शिक्षित र सम्पन्न परिवारमा पनि सम्वाद हुँदैन । अझ सचेतना कम भएको परिवारमा झनै सम्वाद हुने सम्भावना हुँदैन । ढुङगाले बास पाउँछ, आमाले पाउँदैन भन्ने उखान छ । त्यस्तो जिम्मेवारी आमालाई मात्रै थोपरिन्छ ।
अहिले भर्खरै फैसला भएको छ । कार्यान्वयन हुने पाटो फितलो छ । जानकारी दिने पहुँच छैन । ओसीएमसीले पनि परामर्श दिन्छ । तर, कहाँ गएर र कसरी सेवा लिने भन्ने अधिकांशलाई थाहा छैन । सोसल सर्भिस युनिट भन्ने छ । तर, त्यहाँसम्म पुग्ने पहुँच छैन ।
प्रतिक्रिया