‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’ « Khabarhub

नेकपा एसमा विवाद

‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’

औचित्य सकिएको जबजबाट समाज अघि बढ्दैन


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले पार्टीका कुनै सदस्य या नेताले कसैले आदेश दिँदैमा पार्टी नछाड्ने बताएका छन्‌ ।

एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई लिएर खनाललाई पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी छाडेर जान भनेका थिए । नेपालको त्यस्तो अभिव्यक्तिप्रति खनालले शनिबार पत्रकार भेटघाट क्रममा प्रतिवाद गरेका हुन्‌ ।

खनालले भने, ‘मैले सुनेँ, मैले मनमा पनि गुनेँ । बडो दुःख लाग्यो । ३२ सालदेखि सँगै बसेको पार्टी, सँगै आएको नेताले कम्युनिष्ट पार्टीका नियमहरू, नीतिहरू, पद्धतिहरू, जनवादी केन्द्रीयताको सिद्धान्तहरू राम्रैगरी बुझेको हुनुपर्छ भन्ने मेरो अनुमान थियो ।’

अध्यक्षको पदमा भएका अध्यक्ष नेपालले विराटनगरमा एउटा पत्रकार सम्मेलन गरिरहेको बेलामा आफूलाई पार्टी छाडेर जान भनेको खनालले बताए ।

‘मेरो अन्तर्वार्ताबारे उहाँलाई कसैले केही सुनाइदियो होला या आफैँ सुन्नुभयो, थाहा छैन । सोधेको प्रश्नकै आधारमा ‘पार्टी छोड्‌’ भनेर उहाँले त्यहाँबाट आदेश दिनुभएको छ,’ खनालले भने, ‘उहाँले आदेश दिनेबित्तिकै कुनै पार्टीको सदस्यले या नेताले छोड्छ ? यही हो कुनै पार्टीको नेताको हैसियत ?’

नेपालको भनाइले आफूलाई निकै दुःख लागेको खनालले बताए । आफूले निकै भव्य नेताको रूपमा हेरे पनि नेपालबाट तल्लो स्तरको पेटिबुर्जुवा चिन्तन अभिव्यक्त भएको पनि खनालले दाबी गरे ।

‘एउटा नेताले कहिल्यै त्यस्तो अभिव्यक्त गर्दैन । माधवकुमार नेपालका मुखबाट यस्तो अभिव्यक्ति आउला भन्ने मेरो कहिल्यै आशै थिएन । तर त्यो अभिव्यक्ति गर्नुभएछ’ खनालले थपे ।

यदि आफूले बोलेका या लेखेका कुराले कतै केही समस्या खडा भए पनि पार्टी त ज्यूँदै रहेकाले बैठक बोलाएर छलफल र समाधान गर्दा हुने खनालले बताए ।

खनालले अगाडि भने, ‘पार्टीको बैठक बोलाउँदा हुन्छ, त्यो बैठकमा छलफल गर्दा हुन्छ, त्यो छलफलबाट समस्याहरूको समाधान गर्दा हुन्छ । बहस छलफल त हुन्छ । वर्गसङ्घर्षको अवस्थाबाट अघि बढिरहेको समाज छ, अनेक खालका विचारहरू छन्‌ । यस्तो अवस्थामा मानिसले फरक ढङ्गले विषय उठाउने र छलफल गर्ने अवस्था बन्छ । त्यस्ता कुरामा असाध्यै अधीर र अस्थिर भएर जथाभावी बोल्ने काम कम्युनिष्ट पार्टीको नेताले गर्‍यो भने त्यहाँभन्दा दुःख अर्को केही हुँदैन ।’

‘औचित्य सकिएको जबजबाट समाज अघि बढ्दैन’

नेकपा (एमाले) का पूर्वअध्यक्ष समेत रहेका खनालले सो पार्टीले निरन्तरता दिइरहेको जनताको बहुदलीय जनवाद (जबज) काे कार्यदिशाबाट अब क्रान्ति र समाज अघि बढ्न नसक्ने बताए ।

‘हामी जुनबेला त्यो पार्टी (एमाले) मा थियौँ, त्यतिखेर जबजकै अवस्था पनि थियो । त्यसबाट क्रमशः समाजवादी दिशातर्फ जानुपर्छ, २०६२/६३ मा जनवादी क्रान्ति गर्‍यौँ, पार्टीको नवौँ महाधिवेशनसम्म जबजलाई ल्याउने मान्छे म नै हुँ । दस्तावेज लेख्ने मान्छे मै हुँ’, खनालले भने, ‘त्यहाँसम्म पुग्दा हामीले के भन्यौँ भन्यौँ भने ६२/६३ को क्रान्तिले नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो, अब नेपालको क्रान्ति समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आयो । त्यसो हुनाले अबको समाजवादी क्रान्तिको कार्यक्रम फेरि जबज हुँदैन ।’

समाजवादी क्रान्तिको कार्यक्रम समाजवाद नै हुने उल्लेख गर्दै खनालले हिजो जनवादी क्रान्तिको रूपमा जननेता मदन भण्डारीले अघि सारेका कार्यक्रमिक स्वरुप भनेको बहुदलीय जनवाद भएको जनाए ।

‘त्यसो हुनाले त्यो क्रान्ति र युग नै सिद्धिसक्यो । युगले हामीलाई छाडेर गैसक्यो । हामी भने त्यही समातेर बसिराछौँ । समाज त त्यसरी अघि बढ्दैन । अहिले हामी समाजवादी क्रान्तिको युगमा भएकाले हामीले समाजवादी कार्यक्रम लिनु अनिवार्य छ’, खनालले थपे ।

‘एमाले हामीले नै बनायौँ, तर पछिल्लो नेतृत्वले दक्षिणपन्थी बाटो लियो’

पूर्वपार्टी एमालेप्रति मोह रहे/नरहेको सवालमा सोधिएको प्रश्नमा नेता खनालले उक्त पार्टी आफूहरूले नै बनाएको, तर पछिल्लो नेतृत्वले दक्षिणपन्थी बाटो लिएकाले समस्या भएको बताए ।

‘एमालेमा मोह हुने र नहुने कुरा होइन । हिजो हामीले बनाएको पार्टी हो त्यो । एक समयमा त्यो पार्टीले राम्रो काम गरेको छ’, खनालले भने, ‘त्यो कुराको मूल्याङ्कन भएकै छैन अहिले । नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै नेताको मूल्याङ्कन पनि भएको छैन र पार्टीको पनि मूल्याङ्कन भएको छैन । एक बेलामा नेकपा एमालले असाधारण काम गरेको छ । तर, एक समयमा पुगेपछि त्यसको नेतृत्वले दक्षिणपन्थी बाटो लियो । त्यो कारणले हामीले विद्रोह गर्नुपरेको हो ।’

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ५ : ५५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज