काठमाडौँ- संघीय सरकारको गत साउन २६ गतेको निर्णयअनुसार कोशी प्रदेशको सचिवका रुपमा सरूवा भएका एकजना कर्मचारी मन्त्रीले हाजिर गराउन नमान्दा जिम्मेवारीविहीन भएर बसेका छन्।
कोशी प्रदेशमा सरूवा पछि मुख्यमन्त्रीको कार्यालयले सचिव मिलन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालय खटाउने निर्णय गरेको थियो । तर मुख्यमन्त्री कार्यालयको निर्णयलाई अस्वीकार गर्दै मन्त्री भूपेन्द्र राईले आचार्यलाई हाजिर गराउन नमानेका हुन् ।
साउन २६ को संघीय सरकारको निर्णयअनुसार कोशी पुगेका सचिव आचार्य करिब २० दिनदेखि कामविहीन भएर मुख्यमन्त्रीको कार्यालयमा थन्किएर बसेका छन् ।
प्राविधिक सचिवका रुपमा रहेका आचार्यलाई आफ्नो मन्त्रालयमा खटाउने मुख्यमन्त्रीको कार्यालयको निर्णयलाई मन्त्री राईले अस्वीकार गर्दै सरकारको नेतृत्वलाई चुनौती दिएका हुन् ।
‘संघीय सरकारले कोशीमा पठाएपछि आचार्यलाई मुख्यमन्त्रीको कार्यालयबाट भौतिक पूर्वाधार मन्त्रालयमा खटाउने निर्णय भएको थियो’, स्रोतले भन्यो, ‘तर भौतिक मन्त्री राईले मुख्यमन्त्रीको उक्त निर्णयलाई अस्वीकार र आपत्ति व्यक्त गरेर सचिव आचार्यलाई हाजिर गराउनु भएन ।’
प्राविधिक सचिवको दरबन्दी भौतिक पूर्वाधार मन्त्रालयमा मात्रै खाली छ । तर आचार्यलाई त्यहाँ पठाउन खोज्दा मन्त्री राईले मानेका छैनन् ।
‘संघले पठाएका सचिव आचार्यलाई कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार भौतिकमा पठाइएको थियो । तर मुख्यमन्त्री कार्यालयले हाजिर गराउन पठाउँदा मन्त्री राईले रोकिदिए’, स्रोत भन्छ, ‘आचार्यसँगै संघबाट आएका सचिव डा. यदुचन्द्र घिमिरेको भने स्वास्थ्य मन्त्रालयमा पोस्टिङ भएर काम थालिसकेका छन् ।’
कोशीमा भौतिक पूर्वाधार स्वास्थ्य दुवै मन्त्रालय भूपेन्द्रले सम्हालेका छन् । तर एकजना सचिवलाई हाजिर हुन दिएका उनले अर्कालाई भने रोकेका हुन् ।
उक्त मन्त्रालयमा रहेका तत्कालीन सचिव अशोक साह साउन २६ गतेबाटै सरूवा भएर काठमाडौँमा गइसकेका छन् ।
अर्कातिर भौतिक मन्त्रालयअन्तर्गतका १४ वटा कार्यालयका डिभिजनल इन्जिनियरको सरूवामा समेत विवाद छ । ती कार्यालयका प्रमुख तोक्ने अधिकार मुख्यमन्त्रीको कार्यालयलाई दिइएको छ ।
तर ती कार्यालय प्रमुखको पनि पुरानो मिति राखेर सचिवको मिलेमतोमा मन्त्री राईले सरूवा गरिदिएको आरोप लागेको छ। मन्त्री राईले १४ पूर्वाधार कार्यालयका प्रमुखका रुपमा रहेका डीई पनि आफ्नो इच्छाअनुसा जहाँ भन्यो त्यहाँ सरूवा हुनुपर्ने अडान मुख्यमन्त्रीसँग राखेका छन् ।
१४ वटा जिल्लामा डीईको सरूवा पनि सेटिङमा गरेको आरोप मन्त्री राईमाथि लागेको छ । उनै मन्त्री राईले अहिले सचिव आचार्यलाई हाजिर हुन नदिएको कुराले कोशीमा कांग्रेस-एमाले गठबन्धनबीच खटपटको अवस्था उत्पन्न भएको छ ।
मुख्यमन्त्रीको कार्यालयको क्षेत्राधिकार मिचेर गरिएको ब्याकडेटको उक्त सरूवाले विवाद बढाएको छ । त्यहीकारण मुख्यमन्त्री हिक्मत कार्कीसँग भौतिक मन्त्री राईको सम्बन्ध पनि बिग्रिएको छ ।
कोशीमै कांग्रेसकै अर्का मन्त्रीले सोमबार सचिव सवार गाडीको चाबी नै खोसिदिएका थिए । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले सचिव डा. शरण पाण्डे चढ्ने सरकारी गाडीको चाबी खोसिदिएर अर्को विवाद सिर्जना गरेका छन् ।
कांग्रेसका मन्त्रीहरूसँग तनाव बढ्दै जाँदा मुख्यमन्त्री कार्की भने दिक्क बनेका छन् । कांग्रेससँगको सहमतिअनुसार एक वर्षमा मन्त्री फेर्ने भनिए पनि त्यसो हुन सकेको छैन । मन्त्रीहरूले समन्वय गर्नेभन्दा धेरै विवाद र किचलोमा पर्न थालेपछि मुख्यमन्त्री कार्कीलाई प्रदेश सरकार अघि बढाउनै मुस्किल भएको छ ।
मन्त्री राईले स्वास्थ्य र पूर्वाधार दुवै मन्त्रालय सम्हालेका छन् । पूर्वाधार मन्त्रालयमातहतका डीईहरू आफूले रोजेर पठाएपछि त्यहीअनुसार कोटेशन गरेर मन्त्री राईले काम लिन खोजेका छन् । उनले सम्बन्धित जिल्ला कार्यालयको बजेट कटाएर आफैँसँग राख्ने निर्णय गरेका छन् । यसो गर्दा आफूअनुकुलका कर्मचारीलाई डीई बनाएर पठाएपछि प्रदेशबाटै कोटेशन खुलाएर काम गर्न सके आर्थिक फाइदा हुने स्वार्थ पनि मन्त्री राईले देखेको स्रोत बताउँछ ।
‘मन्त्री राईले पूर्वाधार कार्यालयका सबै १४ जना डीई आफूअनुकुलका पठाएर कोटेशनमा काम लिन खोजेको देखिन्छ’, स्रोत भन्छन्, ‘उहाँले खोटाङको पालिका अध्यक्ष हुँदा जस्तै शैली मन्त्रालयमा पनि अपनाउनु भएको छ। कार्यकर्तालाई कोटेशनमा काम दिने योजनासहित डीई पनि त्यहीअनुसार खटाउन खोज्नु भएको हो।’
यसबारेमा मन्त्री राईसँग पटक पटक कोसिस गर्दा पनि सम्पर्क हुन सकेन । यद्यपि उनले विराटनगरस्थित सञ्चारकर्मीहरूसँग आफूले सचिव आचार्यलाई हाजिर गराउन रोकेको कुरा गलत भएको बताएका छन् ।
उनले पहिले संघले सिधै मन्त्रालयमा सचिव पठाउने गरेकोमा अहिले मुख्यमन्त्री कार्यालय हुँदै आउने गरेको बताए । उनले आफूले कसैलाई नरोकेको बताउँदै भौतिक मन्त्रालयमा कुनै सचिव जिम्मेवारी सम्हाल्न आउने जिकिर पनि स्थानीय सञ्चारकर्मीहरूसँग गरेका छन् ।
मन्त्री राईमाथि बजेट बनाउँदा गृहजिल्ला खोटाङका लागि एकलौटी गरेको आरोप पनि लाग्ने गरेको छ। पछिल्लो समय कोशीमा कांग्रेसका मन्त्रीहरूबीच टकराव बढ्दै जाँदा मुख्यमन्त्री कार्कीले भने अघि बढ्नै समस्या हुन थालेको गुनासो गरिरहेका छन् ।
प्रतिक्रिया