प्रमुख सल्लाहकार युनुसद्वारा बङ्गलादेशी सेनालाई चुनावअघि सुरक्षा सुनिश्चित गर्न निर्देशन | Khabarhub Khabarhub

प्रमुख सल्लाहकार युनुसद्वारा बङ्गलादेशी सेनालाई चुनावअघि सुरक्षा सुनिश्चित गर्न निर्देशन


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशका प्रमुख सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले आगामी १३औँ राष्ट्रिय संसद् चुनावको तयारीका क्रममा देशभरि शान्ति, सुरक्षा र स्थिरता कायम राख्न सशस्त्र फौजलाई विशेष निर्देशन दिएका छन् । आगामी फेब्रुअरीको मध्यमा हुने अपेक्षा गरिएको निर्वाचनलाई लक्षित गर्दै उनले सेनालाई व्यापक तयारीका साथ जिम्मेवारीपूर्वक खटिन आह्वान गरेका हुन् ।

शनिबार साँझ ढाकास्थित स्टेट गेस्ट हाउस जमुनामा आयोजित उच्चस्तरीय बैठकमा उनले सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना प्रमुख एडमिरल मोहम्मद नजमुल हसन र वायुसेनाका प्रमुख एयर चिफ मार्शल हसन महमुद खानसँग सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल गरेका थिए । सो बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार डा. खलीलुर रहमान पनि उपस्थित थिए ।

ढाका ट्रिब्युनका अनुसार प्राध्यापक युनुसले विगत १५ महिनादेखि राष्ट्रिय स्थिरता र कानून प्रवर्तनमा सेनाको उल्लेखनीय योगदानप्रति आभार व्यक्त गरे । उनले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउने सरकारको प्रतिबद्धतामाथि जोड दिँदै नागरिक प्रशासनसँग नजिकको सहकार्यमा सशस्त्र फौजले राष्ट्रव्यापी रूपमा सुरक्षित र सहज मतदान सुनिश्चित गर्नुपर्ने बताए ।

बैठकमा तीनै अङ्गका प्रमुखहरूले आफ्ना परिचालन योजनाबारे प्रमुख सल्लाहकारलाई जानकारी गराएका थिए । रिपोर्ट अनुसार देशभर करिब ९० हजार सेना, दुई हजार ५०० नौसेना र सयौँ वायुसेनाका जवानहरू चुनाव अवधिभर तैनाथ गरिने तयारी भइरहेको छ । प्रत्येक उपजिल्लामा सेनाको एक कम्पनी परिचालन गरिनेछ ।

सेना प्रमुखहरूले सो अवसरमा प्रमुख सल्लाहकारलाई नोभेम्बर २१ मा आयोजना हुने सशस्त्र सेना दिवस समारोहमा प्रमुख अतिथि रूपमा उपस्थित रहन निमन्त्रणा पनि दिएका छन् । यसअघि अक्टोबर २२ मा अमेरिकास्थित अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आआरआई) का प्रतिनिधिहरूले प्रमुख सल्लाहकार युनुससँग भेट गरी सन् २०२६ को फेब्रुअरीमा हुने आगामी चुनावका लागि कम्तीमा १० जना अन्तर्राष्ट्रिय पर्यवेक्षक पठाउने योजना सार्वजनिक गरेका थिए ।

ढाकास्थित स्टेट गेस्ट हाउस जमुनामा भएको सो बैठकबारे एक्समा युनुसले लेखेका थिए, “बैठकमा भ्रमणकारी प्रतिनिधिमण्डलले चुनावपूर्वको वातावरण, आवश्यक सुधार र पारदर्शी तथा शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय तथा घरेलु पर्यवेक्षकहरूको भूमिकाबारे विस्तृत छलफल गरियो ।” प्रतिनिधिमण्डलको नेतृत्व गरेका आइआरईका निर्देशक समितिका सदस्य क्रिस्टोफर जे. फस्नरले भने, “हामी फेब्रुअरीमा हुने निर्वाचनमा बलियो र विश्वसनीय अवलोकन सुनिश्चित गर्नेछौँ ।”

उनका अनुसार अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको उपस्थिति हिंसाको जोखिम घटाउने र जनस्तरमा निर्वाचनप्रतिको विश्वास बलियो बनाउने प्रमुख माध्यम हुनेछ । फस्नरले अघिल्ला निर्वाचनहरूसँग तुलना गर्दै यसपटकको राजनीतिक वातावरणमा देखिएको सुधारको प्रशंसा गरे । उनले भने, “अघिल्लो निर्वाचनको अनुभवबाट हामी अहिले सकारात्मक र आशाजनक वातावरण देख्न सकिरहेका छौँ, जुन साँच्चै राम्रो महसुस हुन्छ । यसपटकको चुनाव विगतको भन्दा धेरै व्यवस्थित र पारदर्शी हुने सङ्केतहरू देखिएका छन् ।”

आाइआरआई टोलीमा वरिष्ठ विश्लेषक लिसा कर्टिस, सेन्टर फर ए न्यु अमेरिकन सेक्युरिटी (सिएनएएस) की इन्डो–प्यासिफिक सुरक्षा कार्यक्रम निर्देशक जेसिका किगन, आइआरआईका प्राविधिक विशेषज्ञ स्टीभ सिमा र नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडिआई) का कार्यक्रम निर्देशक जामी स्पिकरम्यान पनि सहभागी थिए ।

यसअघि अगस्टमा प्रमुख सल्लाहकारको कार्यालयले निर्वाचन आयोगलाई पत्र पठाउँदै सन् २०२६ फेब्रुअरीमा रमजान सुरु हुनु अघि नै राष्ट्रिय संसद् निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीहरू समयमै पूरा गर्न अनुरोध गरेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ४ : ३६ बजे

जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण

सोलुखुम्बु– सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको

मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न

जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ

ट्याङ्कर चालकसहित चार जना पक्राउ

बागमती– नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ