धनगढी- महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मानका लागि दिइने ‘शी लिड्स आइकन अवार्ड’ घोषणा गरिएको छ ।
आयोजक संस्था शी लिड्स आइकन (कल्प) ले प्रधानमन्त्री केपीशर्मा ओलीको उपस्थितिमा विजेता तीनजनाको नाम घोषणा गरेको हो । जसमा बाजुराको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा पनि परेकी छन् ।
एक सय ४० जना आवेदकमध्ये २७ जनाबीच प्रतिस्पर्धी भएको थियो । प्राप्त आवेदनमध्ये कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिम प्रदेशबाट १५ महिला जनप्रतिनिधि सहभागी थिए ।
प्रतिस्पर्धाबाट बाजुराको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा, सिंगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी र बडिगाड गाउँपालिका, बागलुङकी अध्यक्ष गण्डकी थापा अधिकारीले ‘शी लिड्स आइकन अवार्ड’ जिते ।
तीनै जनालाई प्रधानमन्त्री केपीशर्मा ओलीले सम्मान एवम् प्रशंसा पत्र प्रदान गरे। आइकन घोषित उपाध्यक्षद्वय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । विजेता तीनमध्येकी सीता थापा तिनै व्यक्ति हुन्, जसले ५ वर्ष भारतको दिल्लीमा भाँडा माझेर राजनीति थालिइन् ।
२०५९ देखि ०६४ सालसम्म भारतको दिल्लीमा अरूको भाडा माझ्ने र भात पकाउने काम गरेपछि सीता दम्पती नेपाल फर्कियो । हाल उनी पालिकाको दोस्रो कार्यकाल उपाध्यक्ष पदमा कार्यरत छिन् । केही गर्ने सोच सीतामा सानैदेखि थियो, तर आर्थिक सङ्कटले थलिएको पारिवारिक अवस्थाले भारतमै भाँडा माझ्ने अवस्थामा पुर्यायो ।
भाँडा माझेर, लुगा धोएर र खाना पकाएर एक हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म पारिश्रमिक पाउँथिन्, सीता । उनका श्रीमान् ज्ञानबहादुर थापा पनि उनीसँगै मजदुरी गर्थे ।
उनको काम अरूको गाडी धुने थियो । त्यसबापत पैसा लिने गर्थे । गुजारा चलिरहेकै थियो । तर, केही गरौँ भन्ने सोच भएकी सीतालाई त्यतिमै सीमित हुनु थिएन । केही गर्न स्वदेश फर्किनुपर्ने दबाब श्रीमानलाई दिइरहेकी हुन्थिन् ।
विवाह भएको दोस्रो वर्ष पेट पाल्न दुवैजना भारत पसेका थिए । ५ वर्ष बिताएपछि उनले फेरि गाउँ फर्किएर राजनीतिमा सक्रिय हुने सल्लाह दिइन् ।
तर भनेजस्तो घर फर्किनु सीता दम्पतीलाई सहज थिएन । घरमा पनि के खाने, के गर्ने के गर्ने भन्ने चिन्ताले सताइरहन्थ्यो । पाँच वर्ष बिताएर, उनीहरु नेपाल फर्किए र सानो व्यापार सुरु गरे ।
श्रीमानले व्यापार चलाउन थाले सीतालाई भने व्यापारसँगै राजनीति तर्फ चासो बढ्दै गयो । प्रवासमा बस्दा समेत सीता राजनीतिका विषयमा रुची राख्ने गरेकी थिइन् ।
सीता सानै हुँदा बुवा बितेकाले आमाले हुर्काइन् । पढ्ने रुचि हुँदा हुँदै पनि त्यो बेला छोरीलाई पढाउन समाज र परिवार तयार हुँदैनथे । तर, दाजुहरूको कारणले भने उनले पढ्न पाइन् । आफ्नो सपना साकार गर्न पाइन् । गाउँमा नेपाली कांग्रेसको दबदबा थियो तर पनि थापाले एमाले रोजिन् । त्यो उनका श्रीमानको प्रभाव थियो ।
सुरुमा अनेरास्ववियुसँग आवद्ध भइन् । जुन सक्रियता र लगनशीलताले २०६९ सालमा एमाले बाजुराको वैकल्पिक जिल्ला कमिटी सदस्य बनिन् । विद्यार्थी राजनीतिबाटै प्रखर वक्ता उनलाई एमालेले २०७४ मा पहिलो पटक गौमुल गाउँपालिकाको उपाध्यक्षमा टिकट दियो । पार्टीलाई विश्वास गर्दै सजिलै जितिन्
दोस्रो पटक २०७९ मा पनि उनको जितको बाधक कोही बनेनन् । पहिलोभन्दा दोस्रो पटक झन् फराकिलो अन्तरले जितिन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन हुँदा पनि सीताले लोकप्रिय मत ल्याइन् । पालिकाका अध्यक्ष हरिबहादुर रोकाया पनि पहिलो र दोस्रो कार्यकाल निर्वाचित भएका हुन् ।
‘महिलालाई राजनीति गर्न सकस छ । पितृसत्तात्मक सोच अझै गाउँ-समाजमा व्याप्त छ । उनले त्यो चुनौती चिर्दै गएकी छन् । मोर्चाको कमाण्डर बन्न सक्ने, केही फरक गर्न सक्ने आँट सीतामा देखिन्छ । पुरुषसामु निर्धक्क बोल्न सक्ने, आफ्ना कुरा राख्नु सक्ने, नेता कार्यकर्ताको व्यवस्थापन कुशलता पनि सीतामा देखिन्छ ।
महिला इमानदार हुन्छन्, महिलाले नेतृत्व गरेका स्थानीय तहमा पनि राम्रो भएको दाबी सीताको छ । महिलाप्रतिको समाजको दृष्टिकोणबाट भने सीता दुखी छन् ।
‘संविधानमा व्यवस्था नभएको भए उपाध्यक्ष पदमा पनि महिलाको उपस्थिति हुँदैन थियो होला’, सीताले आशंकासहित भनिन् ।
राजनीतिमा लागेपछि परिवारलाई पर्याप्त समय दिन नसकिरहेको बताएकी सीताले परिवारकै साथ र सहयोगले सबै सफलता मिलेको सुनाइन् ।
‘मेरा श्रीमान् नै मेरो आदर्श र सहयोगी हुन् । उनकै सहयोगले नै अघि बढ्न सकिरहेको छु, भारतमा भाडा माझ्ने काम छोड्न श्रीमानले नमानेको भए, यहाँ हुँदैन थिएँ होला’, सीताले सुनाइन् ।
‘शी लिड्स आइकन’को उपाधिले हौसियकी सीताले २७ जनाभित्रै अटाउने कुरा पनि धेरै ठूलो ठानेकी थिइन् । ‘मेरो कर्मकै कारण तीनजनामा समेटिएर सम्मान पाएँ, यो जीवनै खुसी हो, यसको निरन्तरता मेरा लागि चुनौती हो, तर डटेरै अघि बढ्छु’, उनले सुनाइन् ।
दुई कार्यकाल उपाध्यक्ष भइसकेकी सीतालाई अब अध्यक्ष बन्ने रहर छ । ‘दुई कार्यकाल काम गरेको अनुभव र सीपले पनि अब नेतृत्वको जिम्मेवारी पाए, अध्यक्षको जिम्मेवारी सहजै सम्हाल्छु जस्तो लाग्छ’ उनले भनिन्, ‘त्यसको लागि जनता र पार्टीले विश्वास गर्नुपर्छ ।’
‘पहिलो कार्यकालमा घोषणापत्र अनुसार काम गरेको थिएँ । पार्टी र जनता दुवैले राम्रो मूल्याङ्कन गर्नुभएको रहेछ, दोस्रो पटक पनि टिकट पाएर जितेँ,’ उनले भनिन्, ‘विगतको बाँकी काम पूरा गर्नु नै पहिलो लक्ष्य हो ।’
आफ्नो कार्यकालमा महिला सहभागिता निकै उत्साहपूर्ण अवस्थामा रहेको उनले सुनाइन् ।
गौमुलमा उपभोक्ता समितिमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । ‘एक घर एक महिला क्याप्टेन, एक टोल एक महिला समूह, एक वडा एक महिला अधिकार मञ्च’ पालिकाकै नीतिमा छ । गौमुल काम र सुशासनका दृष्टीले जिल्लाकै नमुना पालिका हो ।
७५ प्रतिशत झै-झगडा र घरेलु हिंसा कम भएको उनले बताइन् । उँपालिकामा सुरु गरेको स्वास्थ्य शिविरबाट थुप्रैले स्वास्थ्य लाभ लिएका छन् । विद्यालयमा किशोरी मैत्री वातावरण बनाइएको छ ।
पहिले महिनावारी हुँदा विद्यालयमा नजाने किशोरीहरू अहिले विद्यालय छोड्दैनन् । ‘विद्यालयमै अहिले सेनेटरी प्याड पाइन्छ । अभिभावक शिक्षामार्फत् महिनावारीमा पनि विद्यालय जान लाग्नुपर्छ भनेर लागिरहेका छौँ । त्यसले विद्यार्थीको संख्यामा कमी आएको छैन’, उनले भनिन् ।
कु-संस्कार अन्त्य र मदिरा व्यवस्थापन गर्न पालिकाका जनप्रतिनिधिको ठूलो योगदान छ । ‘शी लिड्स आइकन’ विजेताको सम्मानले पालिकाको गौरव बढेको अध्यक्ष हरिबहादुर रोकायाले बताए । सामाजिक सञ्जालमा पनि सीता सम्मानप्रति सहानुभूति र बधाई दिने क्रम चलिरहेको छ ।
प्रतिक्रिया