किलमारको संघर्षको कथा, जसलाई अमेरिकाले झुक्किएर देश निकाला गर्‍यो « Khabarhub

किलमारको संघर्षको कथा, जसलाई अमेरिकाले झुक्किएर देश निकाला गर्‍यो

आपराधिक गिरोहबाट भागेर शरण लिन अमेरिका पुगे, गिरोहकै सदस्य भएको आरोपमा जेल परे



काठमाडौं– अमेरिकाको मेरिल्याण्ड राज्यस्थित प्रिन्स जर्ज काउन्टी बस्ने किलमार अरमान्डो अब्रेगो गार्सियाले ६ महिनाअघि मात्रै बाल्टिमोर शहरमा धातुको पाता बनाउने काम पाएका थिए । गत मार्च १२ बुधबारका दिन किलमारले दिउँसै आफ्नो काम सके ।

त्यसबेला उनका ५ वर्षे छोरा हजुरआमाको घरमा थिए । छोरालाई लिएर उनी आफ्नो घर फर्किँदै थिए ।

छोरालाई आफ्नो कारको पछाडि तिरको सिटमा राखेर घर फर्केका किलमारका लागि त्यो दिन कहिल्यै नबिर्सिने दिन बन्न गइरहेको थियो ।

फर्निचरको सामान बेच्ने आइकिया स्टोर उनी हिडेको बाटैमा पर्थ्यो । त्यस आइकिया स्टोरको पार्किङ क्षेत्रमा उनले नचिताएको घटना भयो ।

त्यसपछिका घटनाक्रमले उनको जीवन मात्रै होइन, अमेरिकी समाजलाई नै हल्लाउन गइरहेको थियो । त्यस घटना अहिले पनि अमेरिकी राजनीतिक तथा न्याय क्षेत्रमा तत्तातो बहसको विषय बनिरहेको छ ।

लोस नोगालेसको पुपुसास
२९ वर्षीय किलमार मध्य अमेरिकी मुलुक एल साल्भाडोरको राजधानी सान साल्भाडोरमा पर्ने लोस नोगालेस भन्ने ठाउँमा हुर्केका थिए । उनका बाबु स्थानीय प्रहरी सेवामा कार्यरत रहेर अवकाश भइसकेका थिए । उनकी आमा चाहिँ एल साल्भाडोरको लोकप्रिय परिकार ‘पुपुसास’ बेच्थिन् ।

उनका एक जना दाजु र दुई जना दिदीबहिनी थिए । पुपुसासको व्यापारमा उनको परिवारै लागेको थियो । सान साल्भाडोरमा रहँदा उनी आफ्ना दाजु सेजारसँगै पुपुसासका लागि सामान ल्याउने, पकाएर तयार पारिएको पुपुसास ग्राहककहाँ पुर्‍याउनेजस्ता काम गर्थे ।

सान साल्भाडोरमा ‘बारियो १८’ नाम गरेको स्थानीय आपराधिक गिरोह सक्रिय थियो । अब्रेगो गार्सिया परिवारको व्यापारमा त्यस गिरोहको आँखा लाग्यो । उनीहरुबाट गिरोहले ‘भाडा खर्च’ माग्न थाल्यो । गिरोहले पैसा नदिए सेजारलाई मार्ने अथवा आफ्नो गिरोहमा लैजाने धम्की दियो ।

उनको परिवारले गिरोहलाई पैसा दिन थाल्यो । सेजारलाई भने सुरक्षित भविष्यको खोजीमा अमेरिका पठाइयो ।

तैपनि गिरोहले दुःख दिन छाडेन । अब गिरोहको नजरमा किलमार परेका थिए । किलमार १२ वर्षको हुँदा उनका बाबुसँग गिरोहले ‘चाहेजति सबै’ पैसा नदिए किलमारलाई लैजाने धम्की दियो ।

गिरोहको धम्कीपछि उनको परिवार त्यहाँबाट टाढा बसाइ सर्‍यो । तैपनि गिरोहको धम्की रोकिएन । गिरोहले अब किलमारलाई मार्ने र उनका दिदीबहिनीलाई बलात्कार गर्ने धम्की दिन थालेको थियो । अब अब्रेगो गार्सिया परिवारले पुपुसास व्यवसाय बन्द गर्ने र किलमारलाई दाजु सेजारसँगै अमेरिका पठाउने निर्णय गर्‍यो ।

किलमारका बाबु पनि प्रहरी सेवामै काम गरेर अवकाश भएका थिए । एल साल्भाडोर प्रहरीमा कतिसम्म भ्रष्टाचार हुन्छ भन्ने उनले बुझेका थिए । कतिपय अवस्थामा प्रहरीले नै आपराधिक गिरोहको संरक्षण गर्ने गरेको उनले थाहा पाएको हुनुपर्छ ।

प्रहरीलाई खबर गरे गिरोहले अझ खतरनाक कदम चाल्नसक्ने ठानेर अब्रेगो गार्सिया परिवारले प्रहरीसँग कहिल्यै उजुरी गरेन । बरु देशै छाड्ने निर्णय गर्‍यो । अब अब्रेगो गार्सिया परिवार एल साल्भाडोरको छिमेकी मुलुक ग्वाटेमालामा बसाइँ सरेर गयो । बसाइँ सरेर ग्वाटेमाला पुगेपनि त्यस गिरोहले परिवारलाई दुःख दिन भने छाडेन ।

उता आपराधिक गिरोहको ज्यादतीबाट १६ वर्षको उमेरमै एल साल्भाडोरबाट भागेका किलमार अमेरिका प्रवेश गरेका थिए । सन् २०१२ को मार्च महिनाको दोस्रो साता अमेरिकाको टेक्सस राज्यको म्याकएलेन सीमा क्षेत्रबाट उनी अवैध रुपमा अमेरिका प्रवेश गरेका थिए ।

टेक्ससबाट उनी आफ्ना दाजु सेजार बस्दै आएको मेरिल्याण्ड राज्य पुगे । त्यसबेलासम्म सेजार अमेरिकी नागरिक बनिसकेका थिए । अमेरिका पुगेपछि किलमारले निर्माणसम्बन्धी काम भेटेका थिए ।

आइकियाको पार्किङ
५ वर्षे छोरालाई हजुरआमाको घरबाट लिएर जाँदै गरेका किलमारको गाडी केही प्रहरी अधिकारीले रोक्ने प्रयास गरेका थिए । किलमारले त्यसलाई नियमित ट्राफिक चेक होला भन्ने सोचेका थिए । उनले नजिकै रहेको आइकियाको पार्किङ क्षेत्रमा गाडी रोकेर कारको झ्यालको सिसा झारे ।

त्यसबेला उनले आफ्नी श्रीमती जेनिफर स्टेफानिया भास्केज सुरासँग टेलिफोनमा कुराकानी गरिरहेका थिए । एल साल्भाडोरमा जन्मे हुर्केकाले किलमार आत्मविश्वासका साथ अंग्रेजी बोल्न जान्दैनथे । त्यसैले जेनिफरले किलमारलाई आफ्नो फोन लाउडस्पिकर गर्न भनिन् ।

त्यसपछि प्रहरीले किलमारको मोबाइल खोसेर फोन काटे । त्यसको केही मिनेटपछि आफूलाई होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको अधिकारी बताउने व्यक्तिले जेनिफरलाई फोन गरेर १० मिनेटभित्र घटनास्थलमा आइपुगेर छोरालाई लैजान निर्देशन दिए । नत्र बाल संरक्षण सेवालाई उनको छोरा जिम्मा लगाउने उनीहरुको चेतावनी थियो ।

जेनिफर केही समयलगत्तै घटनास्थल पुगिन् । उनी त्यहाँ पुग्दा किलमारको हातमा हत्कडी लगाइएको थियो । किलमारले काम गर्ने बेला लगाउने जुत्ता र कम्मरपेटी खोलिएको थियो । उनी रोइरहेका थिए ।

घटनास्थलमा उनीहरुका छोरासँग दुई जना पुरुष र एक जना महिला प्रहरी अधिकारी थिए ।

प्रहरी अधिकारीले किलमारको ‘आप्रवासन अवस्था बदलिएको’ दाबी गरे र उनलाई त्यहाँबाट कतै टाढा लगे ।

त्यसपछि किलमारले जेनिफरलाई दुई पटक बाल्टिमोर आप्रवासन केन्द्र, दुई पटक लुइजियानाबाट र एक पटक टेक्ससबाट टेलिफोन गरेका थिए ।

किलमार पक्राउ परेको केही दिनपछि जेठाजु सेजारले जेनिफरलाई फोटो पठाउँछन् । त्यस फोटो एल साल्भाडोरको कुख्यात बन्दीगृह भित्र खिचिएको थियो । फोटोमा टाउकोमा हात राखेर घोसेमुन्टो लगाएका बन्दीहरु देखिन्थे । कसैको अनुहार पनि स्पष्ट देखिएको थिएन ।

तर, त्यो फोटोमा देखिएका एक जनाको टाउकोमा किलमारको टाउकोमा भएजस्तै खत थियो । त्यस मान्छेको ट्याटु पनि किलमारको जस्तै थियो । जेनिफरले त्यो मान्छेको ट्याटु जुम गरेर हेरिन् । त्यसपछि जेनिफरको मुटुमा पहिरो गयो । उनी किलमार नै थिए ।

जेनिफर
अमेरिका पुगेको ५ वर्षपछि अर्थात् सन् २०१६ तिर किलमार र जेनिफरको भेट हुन्छ । दन्त स्वास्थ्यको क्षेत्रमा काम गर्ने जेनिफरले यसअघि नै विवाह गरिसकेकी थिइन् ।

पहिलो विवाहबाट जेनिफरले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । सन् २०१४, जुलाई २३ मा जन्मेकी छोरी छारेरोगबाट पीडित छिन् भने सन् २०२४ को जुलाईयता उनी बेला बेला मुर्च्छा पर्छिन् ।

सन् २०१५, अक्टोबर २६ मा जन्मेका छोरालाई अटिजमको रोग छ । किलमार र जेनिफर सम्बन्धमा रहेको केही समयपछि सन् २०१८ मा उनी फेरि गर्भवती भएको थाहा हुन्छ ।

जेनिफर युटेरस डाइडेलिफ्स भनिने दुई पाठेघर भएको अवस्थाबाट पीडित छिन् । यस्तो अवस्थाका महिलाले धारण गरेको गर्भ जोखिमपूर्ण मानिन्छ । तैपनि चिकित्सकले उनीहरुको परिवारमा छोराको आगमन हुँदैछ भन्ने जानकारी दिन्छन् ।

त्यसबेला किलमारलाई कसैले नजिकैको ह्याट्सभिल भन्ने ठाउँमा रहेको ‘होम डिपो’ मा काम पाइन्छ कि भनेर जान सल्लाह दिएका हुन्छन् । सल्लाह मान्दै किलमार त्यहाँ जाने निर्णय गर्छन् । त्यस दिन उनी जेनिफरलाई काम गर्ने ठाउँमा छाडेर ह्याट्सभिल पुग्छन् ।

त्यसदिन जेनिफरले किलमारलाई सँगै घर जाने भन्दै ‘टेक्स्ट’ म्यासेज पठाएकी हुन्छिन् । उनको टेक्स्ट ‘सिन’ मात्रै हुन्छ । किलमार आउँदै आउँदैनन् । सँगै काम गर्ने साथीको गाडीमा जेनिफर घर फर्किन्छिन् ।

त्यस दिन बेलुकी ७ बजेसम्म पनि किलमार घर आइपुग्दैनन् । जेनिफर अब भने आत्तिन थाल्छिन् । उनले चिनेजति सबै किलमारका साथीलाई फोन गर्छिन् । ९ बजेतिर मात्रै उनले किलमार पक्राउ परेको थाहा पाउँछिन् । तर, उनी कुन जेलमा छन् भन्ने अझै थाहा हुँदैन ।

त्यसको भोलिपल्ट बिहान १० बजेतिर बल्ल किलमारले आप्रवासन तथा भन्सार प्रशासन (आईस) को हिरासतबाट किलमारले जेनिफरलाई फोन गर्छन् ।

किलमारलाई छुटाउन उनले एक जना वकिलको पनि साथ लिन्छिन् । किलमार छिट्टै जमानतमा रिहा हुने जेनिफरको अपेक्षा हुन्छ । तर, त्यो तत्काल सम्भव देखिँदैन । उनी त्यतिबेला छक्क पर्छिन् जब उनलाई किलमारविरुद्धको अभियोगबारे थाहा हुन्छ । किलमारलाई एमएस १३ भनिने मारा साल्भाट्रुचा १३ नामक आपराधिक गिरोहसँग आबद्ध भएको आरोपमा पक्राउ गरिएको हुन्छ ।

जेनिफरको सुत्केरी हुने दिन नजिकिँदै छ, श्रीमान् किलमार एमएस १३ गिरोहसँग आबद्ध भएको आरोपमा जेलमा छन् । घरमा दुई जना छोराछोरी कुनै पनि बेला बिरामी पर्नसक्छन् । यस्तो अवस्थामा कसैले के गरोस् ?

किलमार जेलमै रहेका बेला दुई जनाले विवाह गर्ने निर्णय गर्छन् । आईसको प्रशासनमातहत रहेको जेल र स्थानीय धर्मगुरुसँग समन्वय गरेर जेलमै उनीहरुले जुन २५, २०१९ मा विवाह गर्छन् । विवाह गर्दा उनीहरुले एक अर्काको औँलामा औँठी लगाउन पाउँदैनन् । जेलमा कार्यरत प्रहरी अधिकारीले नै जेनिफरको औँठी किलमार भएको ठाउँमा र किलमारको औँठी जेनिफर भएको ठाउँमा पुर्‍याइदिएका हुन्छन् ।

अवैध रुपमा अमेरिका प्रवेश गरेको अभियोगमा दोषी ठहर गर्दै किलमारलाई एल साल्भाडोर फर्काउने कि मानवीयताको आधारमा उनलाई अमेरिकामै बस्न दिने विषयमा अदालतमा सुनुवाइ शुरु हुन्छ । यसबारे अगस्ट ९, २०१९ का दिन अदालतमा ५ घण्टा बहस हुन्छ । तैपनि उनको मुद्दा अन्तिम किनारा लाग्दैन ।

किलमारको मुद्दामा बहस भएको दुई दिनपछि अर्थात् अगस्ट ११ का दिन जेनिफरले जटिल शल्यक्रियापछि छोरालाई जन्म दिन्छिन् ।

जेनिफरको तेस्रो सन्तानलाई पनि ‘माइक्रोटिया’ भन्ने समस्या भएको थाहा हुन्छ । जेनिफरले छोरा पाउने बेला किलमार जेलमै हुन्छन् । उनको एउटा कानले सुन्न सक्दैन । पछि उनलाई पनि अटिजम भएको पत्ता लाग्छ ।

१९ अक्टोबर २०१९ का दिन जेनिफरलाई खुशीको खबर सुनाउन वकिलले फोन गर्छिन् । वकिलका अनुसार न्यायाधीशले किलमारलाई विशेष दर्जा दिँदै अमेरिकामै बस्न दिइने ठहर गरेका हुन्छन् । त्यसपछि किलमार रिहा हुन्छन् । उनी अब परिवारलाई समय दिन थाल्छन् । जेनिफरसँगै फरक बौद्धिक क्षमता भएका तीन छोराछोरी हुर्काउन लागि पर्छन् ।

आतंककारी
मार्च १२ का दिन पक्राउ पर्ने किलमार एकजना प्रतिनिधि पात्र मात्रै हुन् । किलमार पक्राउ परेको तीन दिनपछि अर्थात् १५ मार्चका दिन उनी र अरु दुई सयभन्दा धेरै आप्रवासीलाई हतार हतार गरेर एल साल्भाडोरको कुख्यात जेलमा लगिएको थियो ।

उनीहरुमाथि आपराधिक गिरोहमा आबद्ध रहेको आरोप लगाइएको थियो । त्यस दिन अमेरिकाबाट तीन वटा हवाई उडानमार्फत आप्रवासीलाई एल साल्भाडोर लगिएको थियो । रोचक कुरा त के छ भने जतिबेला किलमारसहितका आप्रवासीलाई जहाजमा हालेर एल साल्भाडोर लगिँदै थियो, त्यसबेला उनीहरुलाई देश निकाला गर्न मिल्ने नमिल्ने विषयमा अदालतमा बहस भइरहेको थियो ।

त्यस बेला जिल्ला अदालतका न्यायाधीश जेम्स बोआसबर्गले उनीहरुलाई तत्काल निष्कासन नगर्न र आप्रवासीहरु हवाई जहाजमा रहेको भए त्यो जहाज तत्काल फर्काउन अल्पकालीन आदेश जारी गरेका थिए । तर, अदालतको आदेश काम आएन । सन् २०१९ मा अदालतले किलमारलाई विशेष दर्जा दिँदै अमेरिकामै बस्न दिइने अदालती फैसलाको औचित्य भएन ।

उनीहरुलाई एल साल्भाडोर पुर्‍याएरै छाडियो । गत जनवरी २० का दिन राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि डोनाल्ड ट्रम्पले १८ औँ शताब्दीको एउटा कानुन लागू गरेका छन् । सन् १७९८ मा पारित भएको ‘एलियन इनमी एक्ट’ को प्रावधान अनुसार अमेरिकामाथि आक्रमण गर्ने कुनै पनि देशका १४ वर्षमाथिका नागरिकलाई देश निकाला गर्न मिल्छ ।

यसै प्रावधानअनुसार ट्रम्पले ल्याटिन अमेरिकामा आधारित रहेर अमेरिकामा सक्रिय विभिन्न आपराधिक गिरोहलाई ‘आतंककारी संगठन’ को सूचीमा राख्ने घोषणा गरेका छन् । ट्रम्प प्रशासनले यसै कानुन अनुसार उनीहरुलाई देश निकाला गरेको दलिल दिन्छ ।

किलमारलाई एल साल्भाडोर लगेपछि जेनिफरले मेरिल्याण्डको अदालतमा उनलाई तत्काल स्वदेश फर्काउन माग गर्दै मुद्दा दायर गर्छिन् । मेरिल्याण्ड अदालतकी न्ययाधीश पाउला सिनिसले उनलाई एल साल्भाडोरबाट तत्काल घर फर्काउन आदेश दिएकी थिइन् । त्यो आदेशलाई सर्वोच्च अदालतले पनि सदर गर्‍यो ।

त्यसबेला ट्रम्प प्रशासनले ‘प्रशासनिक त्रुटि’ का कारण किलमारलाई एल साल्भाडोर पुर्‍याइएको जिकिर गरेको थियो ।

किलमारलाई अवैध रुपमा देश निकाला गरिएको घटना अमेरिकाभर बहसको विषय बनिरहेको छ । अहिले ट्रम्प प्रशासनले किलमारले आफूलाई कुटपिट गरेको आरोप लगाउँदै दिएको उजुरी, कुनै समय टेनिसी राज्यमा सवारी चेकजाँचका क्रममा किलमारलाई सोधपुछ गरिएको घटनाजस्ता उदाहरण दिएर उनी आपराधिक गिरोहको सदस्य रहेको दाबी गर्दै आएको छ ।

जेनिफरले आफूलाई किलमारले कुटपिट गरेको घटना अहिले साम्य भइसकेको र त्यो चर्चाको विषय नभएको बताइसकेकी छिन् ।

यो पनि-
अमेरिकाले देश निकाला गरेका आप्रवासीलाई किन लगिन्छ एल साल्भाडोर ?

किलमारलाई देश निकाला गरेको घटना चर्चाको चुलीमा रहेका बेला एल साल्भाडोरका राष्ट्रपति नइब बुकेले अमेरिका भ्रमणमा आएका थिए । राष्ट्रपति ट्रम्पसँगको भेटवार्ताका क्रममा बुकेलेलाई किलमारलाई अमेरिका फर्काउने विषयमा प्रश्न सोधिएको थियो । उनले त्यसबेला जवाफ दिएका थिए– ‘म एउटा आतंककारीलाई कसरी अमेरिकामा तस्करी गर्नसक्छु ?’

त्यसपछि मेरिल्याण्ड राज्यका डेमोक्र्याटिक सिनेटर क्रिस्टोफर भान होलेन जुनियर एल साल्भाडोर पुगेर किलमारसँग भेट गरेका थिए ।

अहिले पनि ट्रम्प प्रशासनले किलमारलाई अमेरिका फिर्ता गर्ने कुनै चाहना देखाएको छैन । हालै ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो सार्वजनिक गरेका थिए । त्यो फोटोमा एक जनाको औँलामा विभिन्न अक्षर र अंक लेखेको ट्याटु खोपेको देख्न सकिन्छ । त्यस फोटोमा भएका व्यक्तिको अनुहार देखाइएको छैन ।

अमेरिकी सञ्चार माध्यमका अनुसार उक्त फोटो सम्पादन गरेर ट्याटु थपिएको हो । केही दिनअघि ट्रम्पले एबीसी टेलिभिजनलाई अन्तरवार्ता दिएका थिए । त्यस अन्तरवार्तामा पत्रकार टेरी मोरानले पनि किलमारलाई अमेरिका फिर्ता गर्ने विषयमा ट्रम्पसँग प्रश्न सोधेका थिए ।

त्यस प्रश्नमा उनले किलमार एमएस १३ गिरोहको सदस्य रहेको दाबी दोहोर्‍याएका थिए । त्यस अन्तरवार्ताका क्रममा मोरानले ट्याटुमा देखाइएको फोटो सम्पादन गरिएको जिकिर गरेका थिए । तर, ट्रम्पले चाहिँ स्पष्टसँग एम एस १ र ३ लेखेको देखिएकाले उनी सो गिरोहको सदस्य रहेको दोहोर्‍याएका थिए ।

ट्रम्प प्रशासनले किलमारलाई तत्काल स्वदेश फर्काउने कुनै संकेत देखिएको छैन । बरु नयाँ नयाँ सबुत र प्रमाण पैदा गरेर उनलाई सधैँका लागि एल साल्भाडोरमै थन्क्याउने ट्रम्पको ध्येय देखिन्छ । यससँगै किलमार, जेनिफर, उनका तीन सन्तान र अमेरिकी न्याय क्षेत्रमाथि कठोर प्रश्न उब्जिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ११ : ४० बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट