सुनसरी – नेपाल सरकारको पुरातत्व विभागले नेपालमा लेख्य परम्परा र प्रयोग भइरहेका लिपिहरूमा सिरिजङ्गा लिपिको नाम फेरेर ‘किरात लिपि’ भनी सार्वजनिक गरेपछि बहस चलिरहेको छ ।
सामाजिक सञ्जालमा ‘सिरिजङ्गा लिपि र किरात लिपि के ?’ भन्ने विषयमा पक्ष/विपक्षमा बहस र तर्क/कुतर्क भइरहेको छ ।
बहस चर्किएको बेला थिन्दोलुङ खो?याहाङ वंशज सङ्घले औपचारिक रूपमा आफ्नो धारणा व्यक्त गरेको छ । सिरिजङ्गा लिपिमाथिको अतिक्रमणप्रति थिन्दोलुङ खो?याहाङ वंशज सङ्घ र मेन्याङ्बो कल्याणकारी केन्द्रीय समितिले घोर आपत्ति जनाउँदै परिवर्तित नाम तत्काल सच्याउन माग गरेका हुन् ।
थिन्दोलुङ खो?याहाङ वंशज सङ्घमा मेन्याङ्बो, आङ्बुहाङ, खिम्दिङ, फालेछुवा, खो?याहाङ र उसुक समाहित छन् ।
सङ्घका अध्यक्ष दीपक मेन्याङ्बो लिम्बूले धरानमा विज्ञप्ति जारी गर्दै किरात लिपिको इतिहास र अस्तित्व नै नभएका दावी गरेका छन् ।
यस्तो अवस्थामा लेख्य प्रचलनमा रहेको र याक्थुङ लिम्बू समुदायले परापूर्वकालदेखि आफ्नो बोली र भाषाको आधारमा प्रयोगमा ल्याइरहेको सिरिजङ्गा लिपिलाई किरात लिपि भन्दै अप्रमाणित नाम राखिनु सांस्कृतिक अतिक्रमण भन्दै उनले घोर विमति पनि जनाएका छन् ।
लिम्बूले खबरहबलाई भने, ‘विभिन्न दस्तावेज र पुराना कागजपत्र अनुसार याक्थुङ्वा वंशावली टिपोटमा भुइफुटुवा ताङ्साङहाङको पुस्तादेखि दोश्रो पुस्तामा सिरिजङगा र थेवेहाङको नाम पाइएका छन् । लिपिका निर्माणकर्ता सिरिङ्गाको जन्म ताप्लेजुङको याङवरक थुमको सिनामस्थित तेल्लोकमा सिंथेवे कुलमा वि.सं. १७६१ मा र उनको मृत्यु वि.सं. १७९८ मा भएको इतिहासकार इमानसिं चेम्जोङले उल्लेख गरेका छन् । हज्सन पाण्डुलिपिमा सिरिजङ्गा सिरिजंङ्गा आफैले लिपि बनाएर उतिबेलाको समाजमा याक्थुङ लिम्बू समुदायले उच्चारण गर्ने लवज अनुसारको अक्षर लेख्न र बोल्न सहज बनाएको तथ्य भेटिसकेको अवस्थामा यो विवाद उत्पन्न हुनुमा नेपाल सरकार दोषी ठहरिन्छ ।’
लिम्बूका अनुसार; सिक्किमका नवौं राजा थुतोव नामग्याल र रानी येशे डोल्माको लेखन र प्रकाशन रहेको ‘हिस्ट्री अफ सिक्किम’ (इ.सं. १९०९) पुस्तकमा सिरिजङ्गाले लिपि तयार गरेको, लिम्बू भाषा र मुन्धुम प्रचार गरेको विषयहरूलाई पर्याप्त स्थान दिइएको छ ।
यसैगरी बङ्गाली लेखक सरदचन्द्र दास (इ.सं. १८८८) मा लेखेको लेखोटमा उनै सिरिजङ्गाले लिम्बू लिपि पनि आविष्कार गरेको लेखेको पाइएको छ ।
सिरिजङ्गा र उनले बनाएको लिपिबारे इतिहासकार विद्धानहरू ब्रायन हज्सन, आर के स्प्रिङ, डा ए क्याम्पवेल, आर. बि. सुब्बा, इमानसिं चेम्जोङ, वैरागी काइला (तिलविक्रम नेम्बाङ), डा. रमेश ढुङ्गेल लगायतले पर्याप्त लेखिसकेका छन् ।
उनले भने, ‘ जसले सिरिजङ्गा लिपिको नाम परिवर्तन गर्यो, उसले त्यसो भए यसअघि पाइएका तथ्यहरू मिथ्या हो भन्न सक्नुपर्यो ।’
सङ्घले सिरिजङ्गा र उनले बनाएको लिपि कथित किराती जातीय भाषाले व्यक्त गर्ने व्याकरण, उच्चारण र लेख्य रूपमा उपयुक्त नहुँदा नहुँदै पछिल्लो समयमा केही वर्णहरू थपेर किराती लिपि नामाकरण गरिएकोमा पनि आपत्ति जनाएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘कसैलाई सिरिजङ्गा लिपि प्रयोग गर्न मन लागेको छ भने प्रयोग गरुन् । यसमा हाम्रो आपत्ति रत्तिभर छैन । तर सिरिजङ्गा लिपि भनेर प्रयोग गरुन्, ऐतिहासिक रुपमै सिरिजङ्गा लिपि भनेर आम जनसुमदायले स्वीकारेको र विभिन्न लेखोटमा दर्ज भइसकेको नामलाई किरात लिपि भनेर नामै परिवर्तन गर्ने अधिकार कसैलाई छैन । यो सच्चिनुपर्छ । सिरिजङ्गा र उनले बनाएको लिपिको इतिहासमाथि छेडखानी गर्ने छुट कसैलाई छैन ।’
विज्ञप्ति :

प्रतिक्रिया