काठमाडौं– तराई–मधेशकेन्द्रित दलहरूको संयुक्त मोर्चा ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ ले ‘वर्तमान राजनीतिक अवस्थाका सन्दर्भमा जनजागरण अभियान’ सुरु गरेको छ ।
सप्तरीको राजविराजमा बुधबार एक कार्यक्रमको आयोजना गरेर मोर्चाले मोर्चाघटक राष्ट्रिय मुक्ति पार्टी नेपालको समन्वयमा ‘वर्तमान राजनीतिक अवस्थाका सन्दर्भ मे जनजागरण अभियान’ सुरु गरेको हो ।
कार्यक्रमलाई लोकतान्त्रिक मोर्चाका घटक दलहरूका शीर्ष नेताहरूले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसीको जन्मनै संघर्ष गर्नका लागि भएको भन्दै सङ्घर्षबाट मधेशी पछि नहट्ने बताए ।
भूमिसम्बन्धी ऐनले मधेशीहरूलाई एकजुट भएर लड्न बाध्य बनाएको उनको भनाइ थियो । अध्यक्ष ठाकुरले भूमिसम्बन्धी ऐनलाई मधेशमै मधेशीलाई अल्पसङ्ख्यक बनाउने षड्यन्त्रका रूपमा चित्रण गरे ।
‘मधेशीलाई कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्पमात्रै छ,’ अध्यक्ष ठाकुरले भने ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेशको उब्जाउ भूमिलाई शासक वर्गले पहिलो चरणमा बक्सिस, बिर्ता, जागिरको रुपमा वितरण गरेको टिप्पणी गरे ।
दोश्रो चरणमा हदबन्दीको नाममा खोसेको र तेस्रो चरणमा पुनर्वास कम्पनीको नाममा विदेशीहरुलाई वन विनाश गरेर जमिन बाँडेको उनको भनाइ थियो ।
‘चौथो चरणमा कानुन बनाएर सुकुम्बासीको नाममा कार्यकर्तालाई जग्गा वितरण गरे,’ अध्यक्ष यादवले भने, ‘अहिले आएर पाँचौ चरणमा भूमि ऐन ल्याएर मधेशलाई मरुभूमि बनाउन खोजिएको छ ।’
यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनजागरण अभियानले सबैभन्दा पहिले सङ्घीय लोकतान्त्रिक मोर्चाकै नेता जाग्नुपर्नेमा जोड दिए । अहिलेको सत्ता गठबन्धन लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास भएको उनको टिप्पणी थियो ।
भूमिसम्बन्धी ऐन पास हुँदा मोर्चाका घटक दलको संसद्मा ‘पोजिसन’ के रह्यो भन्नेबारेमा प्रष्ट्याउनु पर्ने अध्यक्ष महतोको भनाइ थियो । ‘सारा मधेशी पार्टी एक भएरमात्रै नपुग्ने अवस्था छ,’ उनले भने, ‘आदिवासी जनजातिसहित सबै उत्पीडित जाति र समुदायहरू नमिलेसम्म अधिकार पाइनेवाला छैन ।’
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मोर्चालाई कमजोर बनाउने खेलमा घटक दलहरू कसैले बदमासी ग¥यो भने ‘दाना–पानी’ बन्द गर्न अगाडि आउनु पर्नेमा जोड दिए । राज्य सत्तालाई मधेश चाहिए पनि मधेशी नचाहिने टिप्पणी उनको थियो ।
भूमिसम्बन्धी विधेयक भूमिविहीन र सुकुम्बासीका लागि भन्दा पनि भू–माफियाका लागि ल्याइएको अध्यक्ष त्रिपाठीले आरोप लगाए । ‘यो तराई–मधेशलाई मरूभूमि बनाउन ल्याइएको हो,’ उनले भने ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले अहिलेको गठबन्धन सरकारले कुशासन र भ्रष्टाचार बढाएको बताए । आन्दोलनकारी माथि लगाइएको झुठा मुद्दा सरकारले फिर्ता लिनु पर्ने उनको माग थियो ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय कोषाध्यक्ष टीका लक्ष्मी चौधरीले नश्लीय शासनबाट देशले मुक्ति खोजेको बताए । ‘हामी सबै पार्टीहरू मिलेर सङ्घर्ष गर्ने हो भने मात्रै अधिकार प्राप्त हुन सक्छ,’ उनले भने ।
प्रतिक्रिया