भोजपुरे युवाले चलाए चाडपर्व केन्द्रित निःशुल्क सवारी सेवा | Khabarhub Khabarhub

भोजपुरे युवाले चलाए चाडपर्व केन्द्रित निःशुल्क सवारी सेवा


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरका संग्राम किराँतीलाई लाग्यो– यो दशैँमा केही नौलो समाजोपयोगी काम गरौँ । तर के गर्ने ? गुन्दागुन्दै दशैँ मनाउन माइती–मावली हिँडेकाहरू सवारी साधन नपाएर अलपत्र परेका दृश्य अनुहार अगाडि घुमे । कतै साना नानी चेपेका महिला त कतै अस्पतालबाट छुट्टी पाएका बिरामी बाआमा बिलखबन्दमा परेको उनैले देखे भोगेको अवस्था थियो । यो भन्दा पवित्र कर्म अरू हुन सक्दैन भन्ने निधोमा पुगेपछि निकटका साथीहरूलाई आफ्नो अवधारणा सुनाए । साथीहरूले सुन्नासाथ प्रस्ताव ‘ओके’ गरे ।  अभियानमा जीवन किराँती, बम किराँती, लीला बस्नेत, कोपिला राई समिका राई र साङ्गेहाङ राईले सघाउने प्रतिवद्धता जनाए ।

सोचेको एक दिन नबित्दै अभियानका सारथीहरू मैदानमा निस्किए । व्यक्तिगत सवारी साधन सेवामा समर्पित हुने अभियानले रातारात लोकप्रियता हासिल गर्‍याे  । उनीहरूले एक ठाउँबाट बीस किलोमिटरसम्म सेवा दिने नियम बनाए । त्यो गन्तव्यपछि अर्को स्वेच्छिक सेवा गर्न तत्पर चालक खडा हुन्थ्यो । अभियान थालेको दिन नै सामाजिक सञ्जालमा खबर छ्यापछ्याप्ती भयो । मानिसहरूले सत्कर्मको तारिफ गरेपछि अभियानमा जोडिन गाउँगाउँका युवा उत्साहित भए । आफ्नै इन्धन, सवारी साधन र सुरक्षाको कुनै परवाह नगरी युवा समूह सेवामा जुटिरह्यो । असुरक्षित बाटो, लगातारको झरी ख्याल नगरी युवाहरूले यात्रुलाई गन्तव्यमा पुर्‍याउने अभियानलाई तीव्रता दिएका छन् ।

‘थोरै समयमा हामीले पाएको लोकप्रियताले कर्ममा लाग्न उत्साहित गरेको छ । दशैँ, तिहारलगायतका महत्वपूर्ण पर्वभरि यो अभियानलाई निरन्तरता दिनेछौँ । यो कुनै भाइरल हुने अभियान नभएर विशुद्ध मानवतावादी सेवा हो । आफ्नो सवारी साधन र इन्धन खर्च गरेर यो सेवा सधैँ गर्न सकिन्न भन्ने कुरा हामीलाई थाहा छ । तर दशैँ तिहारमा मनोरञ्जनका नाममा तासजुवा खेल्दा पनि त पैसा खर्च हुन्छ नि । त्यसैलाई सेवामा लगाइएको हो ।’

दशैँको टीकाका दिनमा धेरैले यो सेवा लिएका छन् । अभियानमा जोडिन गाउँगाउँबाट युवाहरू सेवा खातिर उत्सुक देखिएपछि  अभियानकर्ताहरू अभियानलाई संस्थागत बनाउन प्रेरित देखिएका छन् । न सरकार, न निजीक्षेत्र कसैको पनि ध्यान नपुगेको तर आमनागरिकका लागि अत्यावश्यक यो सेवालाई निरन्तरता दिन सके आममानिस लाभान्वित हुने उनीहरूको बुझाइ छ ।

अभियानका संयोजक किराँती भन्छन्– ‘सेवा लिनेबाट हामी कुनै शुल्क असुल्दैनौँ । तर हाम्रो अभियान सकारात्मक ठानेर कसैले सहयोग गर्छ भने अस्वीकार गर्दैनौँ । अहिले नै कतिपयले इन्धन दिएर सहयोग गर्न थाल्नुभएको छ । त्यतिमात्र होइन, निजीक्षेत्रका संघसंस्थाहरूले सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ । अनुकूल अवस्था आयो भने यो सत्कर्मलाई निरन्तरता दिन हामी तत्पर छौँ ।’

अभियानकर्मीहरूले चाडपर्व केन्द्रित  निःशुल्क सवारी सेवालाई ‘दशैँ तिहार, चेलीलाई उपहार’को नाम दिएका छन् । जिल्लाको नगरपालिका क्षेत्रदेखि ट्याम्केमैयुङ, लेगुवाघाट, षडानन्द नगरपालिका, अरुण गाउँपालिका, पौवादुङ्मा गाउँपालिकासम्म निःशुल्क सवारी सेवा उपलब्ध गराइएको थियो ।

कतिपयले यो सेवालाई पठाओ सेवा ठानेर फोन गर्ने गरेको भन्दै अभियानका संयोजक किराँतीले आफूहरूले पैसा तिर्न नसक्ने, मानवीय हिसाबले अत्यन्त संवेदनशील मानिने वर्गलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

खोटाङका सञ्जयकुमार राईले अघिल्लो वर्ष सुरु गरेको यस्तै अभियानले जिल्लामा लोकप्रियता हासिल गरेको थियो । यो वर्षको दशैँमा ओखलढुङ्गा र सोलुखुम्बुमा समेत निःशुल्क सवारी विस्तार भएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ११ : ५२ बजे

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने