पुरानै घर फर्किने तयारीमा रामकुमारी, भन्छिन् : अध्यक्ष ओलीसँग कुरा भयो, प्रभावित छौँ | Khabarhub Khabarhub

पुरानै घर फर्किने तयारीमा रामकुमारी, भन्छिन् : अध्यक्ष ओलीसँग कुरा भयो, प्रभावित छौँ

किसान श्रेष्ठसहितका नेता पनि अब एमालेतिरै



काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पुरानै घर अर्थात् नेकपा एमालेमा फर्किने तयारी गरेकी छन् । त्यसका लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग बाक्लो संवाद गरिरहेकी छन् ।

सोमबार खबरहबसँग कुरा गर्दै झाँक्रीले आफू एमाले अध्यक्ष ओली र अन्य नेताहरूसँग छलफलमा रहेको कुरा स्वीकार गरेकी हुन् ।

समाजवादीका पूर्वसांसद एवम् नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले पनि आफू पुरानो घर एमालेमै फर्किने कुरामा अब द्विविधा नरहेको बताएका छन् ।

श्रेष्ठले आफूहरूसहित केही माथिल्लो तहका नेता एमालेमा फर्किने विषयमा संवाद भइहेको स्वीकारेका छन् ।

उनले खबरहबलाई भनेका छन्, ‘हामीलाई पुरानो घर (एमाले)मा फर्किन कुनै आपत्ति छैन । अध्यक्ष ओलीले सम्मानपूर्वक पुरानो घर फर्किनु भनिसक्नुभएको छ ।’

शुक्रबार नेकपा एकीकृत समाजवादीले माओवादी लगायतका आठ दलहरूसँग एकता गर्ने निर्णय गरेसँगै झाँक्री र श्रेष्ठ लगायत नेताहरू बाहिरिइसकेका छन् । उनीहरूले शनिबार अलग्गै भेला पनि गरिसकेका छन् ।

सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि माओवादी लगायत आठ दलसँगको एकतामा असहमत छन् । सम्मानित नेता खनाल एमाले अध्यक्ष ओलीको सम्पर्कमा रहे पनि भुसालको विषयमा भने झाँक्रीले पनि आशंका व्यक्त गरेकी छन् ।

खबरहबसँगको कुराकानीमा अहिले ओलीसँग खनाल संवादमै रहेको रामकुमारीले खुलाइन् । तर घनश्याम चाहिँ हुनुहुन्न भन्ने प्रश्नमा उनले भनिन्, ‘उहाँ हुनुहुन्न क्यारे ।’

रामकुमारी पनि वाम पार्टीहरू ध्रुवीकरण र एकीकरणकै पक्षमा छिन् । तर खुद्रा पसल खोलेर कम्युनिस्ट आन्दोलनलाई थप कमजोर बनाउने मनसायमा आफू नरहेको उनले उल्लेख गरिन्।

माधवसँग असहज सम्बन्ध

२०७८ भदौमा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी बनेको थियो। एकीकृत समाजवादी बनाउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेकी उनी तत्कालै सहरी विकास मन्त्री भइन् । तर पालो पुर्‍याउन अर्का सांसदलाई नेपालले सरकारमा लगेपछि दुईजनाको सम्बन्धमा दरार आएको नेताहरू बताउँछन् ।

२०७९ को निर्वाचनपछि उनी र माधव नेपालबीचको दूरी बढ्यो भने असन्तुष्टि पनि थप चुलियो ।

एमाले नफुट्दा नेपाल पक्षमा लागेर अध्यक्ष ओलीको खरो आलोचना गरेकी उनी अहिले पुरानै घरमा फर्किने बिन्दुमा छिन् ।

अहिले ओलीसँग संवादमा हुँदा उनी माधव नेपालको त्यसैगरी निन्दा गरिरहेकी छन् । उनी जेन–जी आन्दोलनपछि नेताहरू त्रास र संकटमा रहेको बेला सन्चो–बिसन्चो नसोधी पार्टी माओवादीसँग मिलाउन लागेको भन्दै माधव नेपालप्रति दुखेसो पोख्छिन् ।

हरेक संकटमा माधव नेपाललाई साथ दिए पनि उनले आफूलाई कहिल्यै नसम्झेकामा उनको गुनासो छ ।

‘माधव कमरेडले मलाई जहिले इग्नोर गर्नुभयो । संकटमा साथ दिँदा पनि उहाँको हुन सकिएन’, झाँक्रीले अगाडि भनिन्, ‘उहाँले लिस्ट बाँडेरै पार्टी निर्वाचनमा हराउनुभयो। आफू भने अवसरको खोजीमा लाग्नुभयो, अरूलाई वास्ता गर्नुभएन ।’

ओलीको प्रशंसा

सामाजिक सञ्जालमार्फत् ओलीले गत १४ कात्तिकमा पुरानो घर फर्किन एकीकृत समाजवादीका नेतालाई अपिल गरे। त्यो कुराले आफूहरू प्रभावित भएको झाँक्री बताउँछिन् ।

‘म संवादमै छु, अध्यक्षज्यूले तिमीहरूले बनाएको पार्टी हो । तिमीहरूको रगत, पसिना र जवानी खर्च भएको छ । आएर काम गर भन्नुभएको छ। हामीले सकारात्मक लिएका छौँ’, उनले भनिन्, ‘एमालेले हाम्रा लागि वार्ता कमिटी बनाओस्, फुली–बर्दी लगाएरै बोलाओस् भन्ने छैन । केपी कमरेडले जारी गरेको नोटले नै प्रभावित भएका छौँ, संवादमा छौँ ।’

झाँक्री र श्रेष्ठ फर्किने ढुक्क, खनालको टुङ्गो छैन

एमाले नेताहरू झाँक्री र श्रेष्ठ फर्किने बताउँछन् । शनिबार बसेको सचिवालय बैठकमा पनि ओलीले केही नेतासँग संवादमा भएको स्वीकारेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बताउँछिन् । शाक्यसँग पनि केही नेता संवादमा छन् । एमाले सचिव योगेश भट्टराई पनि एकीकृत समाजवादीका केही नेता आफूसँग संवादमा रहेको बताउँछन् ।

अहिले किसान र रामकुमारी एमाले नेता र अध्यक्ष ओलीसँग सिधा संवादमा छन् । ओलीसँग संवादमा रहेका अर्का नेता खनाल पनि एमालेमा फर्किने विषयमा सकारात्मक छन् तर, उनले उचित पदको अपेक्ष गरेका छन् ।

खबरहबसँगको कुराकानीमा झलनाथले एमालेमा जान ढोका बन्द नभएको बताएका थिए। शनिबारको एमाले सचिवालय बैठकमा ओलीले आफ्नो सम्पर्कमा रहेका केन्द्रदेखि तलसम्मका नेतालाई एमालेमा फर्काउन भनेका छन् ।

झाँक्रीलाई खबरहबका १० प्रश्‍न

यहाँ पुरानो घर फर्कने तयारीमा हुनुहुन्छ रे हो ?

घर फर्किने भन्दा पनि म वृहत् वाम ध्रुवीकरण र एकता गर्ने योजनामा छु । माधव कमरेडले जहिले इग्नोर गर्नुभयो । उहाँलाई संकटमा साथ दिँदा पनि उहाँको मान्छे भइएन । उहाँलाई साथ दिए उहाँले नै लिस्ट बाँडेर निर्वाचन हराउनुभयो । उहाँले आफ्ना पार्टीभित्रका मान्छे पनि नसमेट्ने, आफू मात्रै अवसर खोज्ने कुरा भयो । माओवादीमा पनि जनार्दन दाइलाई घाँडो बनाए । प्रचण्ड अरूका प्रिय भए । हामी पार्टीहरूको वृहत् पुनर्गठन गरेर धु्रवीकरणमा लाग्नुपर्‍थ्यो । अब खुद्रा दोकान थाप्ने होइन । वृहत् एकतामा जाने हो ।

एकताका लागि नयाँ खोल्ने की एमालेमा जाने ?

हामी एमालेमा फर्कियौँ भने पनि त्यो पनि वाम धु्रवीकरण नै भयो नि । तर माधव नेपालसँग गइन्नँ । ब्रह्माण्डमा पनि जनताको बहुदलीय जनवाद लागु गर्नुपर्छ भन्ने वामदेव कमरेडसँग पनि छलफल भइरहेको छ । अबको समाजवादी क्रान्ति कसरी सम्पन्न गर्नेबारे छलफल जारी छ । मलाई ८६, ८७ वर्षका चन्द्रदेव जोशीले फोन गरेर तपाईँले सही निर्णय गर्नुभयो, अब वाम आन्दोलन पुनर्गठन गरौँ भन्नुभयो । हामीलाई सबैले शुभेच्छाा दिइरहनुभएको छ । उहाँहरूको आग्रहलाई नजरअन्दाज गर्न मिल्दैन ।

किसान श्रेष्ठ, प्रेम आलेलगायतका नेताको एउटै टिम हुन्छ ?

हामीसँग त संविधान सभा सदस्य तथा केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नवराज पौडेल, चन्द्र लामा, कानुन व्ययवसायी साथीहरू, विद्यार्थी साथीहरू, किसान दाइ लगायत छौँ नि । चर्चामा आएका अरू नाम पनि छन् ।

अनि प्रेम आले ?

उहाँ हुनुहुन्न । उहाँको कुरा क्लियर हुन्छ । तर उहाँ हामीसँग जोडिने सम्भावना छ । उहाँसँग फोनमा कुरा भएको थियो । सकारात्मक हुनुहुन्छ । हामी जेन–जी आन्दोलनले ‘भिक्टिम’ भएर समस्यामा छौँ । उहाँ पनि पीडित हुनुभयो । यो जटिल अवस्थामा अध्यक्षले पार्टी एकीकरणको निर्णय ल्याएपछि नरमाइलो लाग्यो । को साथी कहाँ ? छ कस्तो छ । सन्चो बिसन्चो सोधिएन । पार्टी क्षतविक्षत भयो । हिरोसिमा र नागासाकीमा वम खसाउँदा पनि यस्तो क्षतविक्षत भएको थिएन होला । यो आन्दोलनको पार्टी विभाजनले त्यस्तो दुर्दशा भयो

उसो भए जनार्दन शर्मा, घनश्याम भुसाल, झलनाथ खनाल र यहाँहरूको एउटै टिम हुन्छ ?

जनार्दन दाइ र हाम्रो तत्काल एकता नहुन सक्छ । हेरौँ अब के गर्नुहुन्छ । अहिले वाम दोकान धेरै भएर आन्दोलन कमजोर भयो । यी सबै कुरा हेर्दा नयाँ ढङ्गले जानुपर्छ । तर चानचुने होइन, वृहत् पार्टी बनाएर जाने हो । साना दोकान खोलेर काम छैन । जेन–जीले साढे चार दशकदेखि पार्टीको केन्द्र र सत्तामा ब्रह्मलुट गरेका मान्छेलाई बिदा हुन भनेको हो ।

क्लियर भन्दा यहाँ एमालेमा फर्कने सम्भावना छ ?

हामी संवादमा छौँ । किनकि पार्टी अध्यक्षले तिमीहरूले बनाएको पार्टीको हो । तिम्रो रगत, पसिना र जवानी खर्च गरेर बनाएको पार्टी हो, आएर काम गर भन्नुभएको छ । अपिल जारी गरेर र केन्द्रीय कमिटी बैठकमा पनि भन्नुभएको छ । हामीले त्यो अपिललाई सकारात्मक लिएका छौँ । हामीमा घमन्ड छैन । एमालेले ठूलै वार्ता कमिटी बनाओस् । हामीलाई फुली–बर्दी लगाएका मान्छे बनाओस् । यो गरोस्, त्यो गरोस् केही छैन । ओली कमरेडले जारी गरेको नोटले प्रभावित गरेको छ । हामी संवादमा छौँ । टिममा पनि संवाद भइरहेको छ । पहिला एकीकृत समाजवादी सकिनुपर्छ अनि कुन बाटो लिने कुरा हुन्छ । झलनाथ खनाल कमरेड पनि संवादमा हुनुहुन्छ ।

एमालेले लान्छ त ?

अपिल नै गर्नुभएको छ त अध्यक्षले घर फर्क भनेर ।

घनश्याम भुसाल चाहिँ हुनुहुन्न ?

उहाँ पनि हुन त हुनुहुन्छ क्यारे । तर उहाँ पहिला माधव नेपाल र माओवादीसँग कुरा गरौँ भन्नुहुन्छ ।

एमाले अध्यक्ष ओलीले घर फर्क भनेपछि पनि संवाद भयो ?

कुरा भयो । यो त सामान्य कुरा हो नि । यो बेलामा भावना मिल्ने व्यक्तिहरूको कुरा हुनु स्वाभाविक हो ।

भेटेर गर्नुभयो कि फोनमा ?

भेट हाम्रा लागि अस्वभाविक होइन । भेट पनि भएको छ । हाम्रो कुरा भइरहेकै छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : ५४ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न