राष्ट्रिय महाधिवेशनका लागि ‘दुमी किरात राई’हरू खोटाङको खार्मीमा भेला « Khabarhub

राष्ट्रिय महाधिवेशनका लागि ‘दुमी किरात राई’हरू खोटाङको खार्मीमा भेला


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खोटाङ– देश तथा विदेशमा रहेका दुमी किरात राईहरू खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीमा भेला भएका छन् ।

दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ तथा हङकङ, अमेरिका र बेलायतमा बसोबास गर्ने दुमी किरात राईहरू खार्मीस्थित रुधालुङमा भेला भएका हुन् ।

‘पुर्ख्यौली ज्ञान, साझा पहिचान’ भन्ने नाराका साथ सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक तथा साङ्गाठानिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गर्ने आयोजक दुमी किरात राई फन्सीकीमका महासचिव तेजमाया मुरह दुमी राईले जानकारी दिइन् ।

किरात समुदायको महान चाड छीरीयाम्लो (उँधौली) को अवसर पारेर आयोजना गरिएको महाधिवेशनले एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना सचिव, एक कोषाध्यक्ष र एक जना सहकोषाध्यक्षसहित २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने जनाइएको छ ।

महाधिवेशनको औपचारिक उद्‌घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले ब्यानर वाचन गरेर तथा दुमी किरात राईहरूको नाग्रे कुबी (पित्रे धामी) ले तीन चुल्हा पुजेर गरेका छन् । महाधिवेशन उद्घाटनमा साकेला सिली, मारुनी नाच, कुबी तथा तयातङ्कुबाट मुन्दुमी बखान लगायतका कार्यक्रम प्रदर्शन गरिएको छ ।

उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख भट्टराईले खोटाङ किरात भूमि भएकाले नगरपालिकाको लेटर प्याडमा किरात लिपि समावेश गरिएको जानकारी दिए । ‘म भट्टराई परिवारमा जन्म लिए पनि किराती हुँ । हामीलाई किराती हुनुमा गर्व लाग्छ । त्यसैले नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा मुन्दुमी कुराहरू जोडेर गर्ने गरेका छौँ’, उनले भने, ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सम्पन्न गरिसकेका छौँ । विभिन्न ४० देशका ख्याति प्राप्त चित्रकारहरूले क्यानभासमा उतारेका चित्र सङ्कलन गरेर मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला सङ्ग्राहालय स्थापना गरेका छौँ । यसले किराती सभ्यतालाई विश्वभर चिनाउन मद्दत गरेको छ ।’

माझ किरात भनेर चिनिने खोटाङको खार्मीस्थित रुधालुङको जगत आधारभूत विद्यालयको प्राङ्गणमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनमा दुमी किरात राईहरूको वङ्शावलीसमेत विमोचन गरिएको छ ।

संस्कृतिविद् चतुरभक्त राईले सङ्कलन, लेखन तथा सम्पादन गरेको ९५० पृष्ठको वङ्शावलीमा दुमी किरात राईहरूको २२ पाछा तथा ११ सामायी समेटिएको छ ।

करिब ३२ वर्ष लगाएर तयार पारिएको दुमी किरात राईहरूको वङ्शावली सङ्कलन, लेखन तथा सम्पादन गर्नुहुने संस्कृतिविद् राईलाई फन्सीकीमले सफरी (फेटा) बाँधेर ताम्रपत्रसहित सम्मान गरेको छ ।

किरात राई संस्कार तथा संस्कृति झल्कने विभिन्न स्टल राखिएको महाधिवेशन कार्यक्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राई, साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्ष वीरकाजी राई, खार्मीका वडाध्यक्ष ईखबहादुर राई, जालपाका वडाध्यक्ष दानबहादुर राई, नेर्पाका वडाध्यक्ष माधव राई, किरात पुर्खा, संस्कृतिविद्, कुबी तथा तथा तयातङ्कु लगायतको उपस्थिति थियो ।

किरात यले सम्वत् (यल थो ५०८५) को अवसर पारेर आयोजना गरिएको राष्ट्रिय महाधिवेशनमा शुभकामना आदानप्रदान, सांस्कृतिक झाँकी प्रदर्शन तथा बुढापाकाबाट मुन्दुमी ज्ञानसमेत आदानप्रदान गरिने आयोजक दुमी किरात राई फन्सीकीमका केन्द्रीय अध्यक्ष डा. नेत्रमणि हलक्सु दुमी राईले जानकारी दिए ।

दुमी किरात राई समुदायले खोटाङको खार्मी, जालपा, बाक्सिला, सप्तेश्वर र माक्पालाई आफूहरुको उद्गम थलो मान्ने गरेका छन् । (रासस)

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १२ : ०५ बजे

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै

गण्डकी– गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका

एचआइभी सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या

चितवन– एचआइभी एड्स सङ्क्रमित खुल्दा र नखुल्दा दुवैमा समस्या हुने

रुसको मुद्रास्फीति वर्षको अन्त्यसम्म ६ प्रतिशतमा झर्ने : पुटिन

एजेन्सी– रुसको मुद्रास्फीति दर यस वर्षको अन्त्यसम्म करिब ६ प्रतिशतमा

ललितपुर महानगरपालिकाले मनायो ३४ औँ अन्तर्राष्ट्रिय दिवस (तस्बिरहरू) 

काठमाडौं– ‘अपाङ्गता समावेशी समाजको प्रतिवद्धता; सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने मूल

टोखा नगरपालिकामा विकास निर्माणले गति लिँदै

काठमाडौं– काठमाडौंको टोखा नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवस आयोजना गरी