अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक « Khabarhub

अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुपथ्र्यो । सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुने गर्दथे ।

यस वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो खचाखच हुन सकेन । नयाँ वर्षको दुई दिन पहिलेदेखि दुईदिन पछिसम्म होटलमा पर्यटकको राम्रो उपस्थिति हुने गर्दथ्यो । विगत १४ वर्षदेखि प्रत्यक्षरूपमा पर्यटन व्यवसाय लाग्नुभएका क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे आफूले पेसा अँगालेपछिको नयाँ वर्षमा सबैभन्दा कम पर्यटक यस वर्ष आएको बताउँछन् । व्यवसायीको भनाइमा यो वर्ष ८० प्रतिशतभन्दा बढी कोठा भरिएका थिएनन् ।

घिमिरेको भनाइमा सडक सञ्जालका कारण पर्यटकको आगमनमा कमी भएको हो । काठमाडौंबाट आउने पर्यटक दिनको समयमा राजमार्ग बन्द हुने भएकाले रोकिए । यस्तै पोखरा र बुटवलतर्फबाट आउनेहरू बाटो सहज नहुँदा आउन अनिच्छुक देखिए । घिमिरेले भने, ‘सडकसँगै आर्थिक मन्दी र यहाँ नयाँ कार्यक्रम नहुँदा पर्यटकको कमी भएको हुनुपर्छ ।’

केही दिन अगाडिसम्म हात्ती महोत्सव भए पनि नयाँ वर्षका दिन खासै ठूलो कार्यक्रम हुन सकेन । सौराहा क्षेत्रमा साँझमा घुमेर फर्किने आन्तरिक पर्यटकको सङ्ख्या राम्रै देखिए पनि होटलमा बस्नेहरूमा कमी आएको उनको भनाइ छ ।

होटल जङ्गल क्राउनका महाप्रबन्धक सन्तोष गिरीले बालबालिकाको परीक्षाको कारण पनि पारिवारिक घुमघाम कम भएको अनुमान गरेका छन् । कार्यक्रम राखिएका होटलमा पर्यटक भरिए पनि धेरै होटलले पाहुना कम भएको गुनासो गरेको उनले बताए । विगतका वर्षहरूको तुलनामा यस वर्ष पर्यटकमा कमी आएको उनको भनाइ छ ।

सौराहा आउने पर्यटकको मुख्य रोजाइ जङ्गल सफारी हुने गर्दछ । हात्ती सफारी गराउँदै आएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा नयाँ वर्षमा पनि पर्यटकको सङ्ख्यामा कमी आएको बताउँछन् ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले सडक सञ्जाल, आर्थिकमन्दी, बालबालिकाको परीक्षालगायतका कारण पर्यटकको कमी भएको बताए ।

सौराहामा एक सय ६० वटा होटल छन् । ती होटलमा छ हजार पाँच सय पर्यटक अटाउँछन् । असी प्रतिशत हाराहारी मात्रै भरिएको थपलियाको भनाइ छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १० : ३४ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न