काठमाडौं– नेकपा एमालेबाट ०७९ पुस २९ गते विद्रोह गरेका वौद्धिक वाम नेता घनश्याम भुसाल अहिले नेकपा एकीकृत समाजवादीका महासचिवको जिम्मेवारीमा छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी विस्तारै संकटमा पर्न थालेको र नेता–कार्यकर्ताहरु एमाले र माओवादीमा प्रवेश गर्न थालेको घटना क्रमले देखाइरहेका छन् । तर, महासचिव भुसाल भने यो परिघटनालाई सामान्य ठान्छन् ।
‘यो कुरा त्यत्रो ठूलो हैन । समाजको नयाँ शक्ति पार्टीमा थपिन्छ कि थपिँदैन भन्ने कुरा हाम्रा लागि बढी महत्त्वपूर्ण छ’ महासचिव भुसालले खबरहबसँगको कुराकानीमा भने, ‘हामी नयाँ अभियानबाट अपेक्षा गर्छौं कि पार्टीमा नयाँ शक्ति थपिने छ । नयाँ विचारहरू आकर्षित हुनेछन् । अब जनतामा गएरै पार्टी निर्माण गर्छाैं । यस विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएका छौँ ।’
गत असारमा सम्पन्न दसौँ महाधिवेशनपछि एकीकृत समाजवादीमा नेताहरूबीच मतभेद बढेका सामाचारहरु बाहिर आइरहेका छन् । तर, महासचिव भुसाल यसलाई स्वीकार्न तयार छैनन् । उनी पार्टीमा वैचारिक मतभेद हुनु सामान्य रहेको तर बाहिर अतिरञ्जित प्रचार गरिएको तर्क गर्छन् ।
यो पनि–
प्रचण्डले कार्यकर्तालाई अँगालो हाल्दा माधवलाई सकस
प्रस्तुत छ- एकीकृत समाजवादीभित्रको आन्तरिक अवस्थाबारे महासचिव भुसाललँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश–
एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल र तपाईबीच गञ्जागोल सुरु भएको हो ?
गञ्जागोल छैन । हामीले धेरै समस्याहरु समाधान गर्दै आएका छौँ । त्यो प्रकृयामा रहेका कतिपय समस्या समाधान गर्न बाँकी छन् र त्यसमा उठेका कतिपय प्रश्नहरु बाहिर अतिरञ्जित भएकार आएकाले पार्टी समस्याग्रस्तजस्तो देखिएको हो । तर, वास्तविकता के हो भने हामी क्रमशः अगाडि बढेका छौँ ।
अध्यक्ष र महासचिवको सम्बन्ध चिसिएको कुरा पनि अतिरञ्जित नै हो त ?
सम्बन्ध बिग्रेको भनेर जसरी बाहिर आएको छ, हाम्रो पार्टीभित्रको अवस्था त्यस्तो होइन । महाधिवेशनभन्दा अगाडि र पछि कतिपय थपिएका समस्याहरु समाधान गर्ने सन्दर्भमा विभिन्न विकल्पबारे छलफल हुनु स्वाभाविकै हो । कतिपय कुरामा मत भिन्नता हुनुलाई पनि मैले अस्वाभाविक ठानेको छैन । म महासचिव भएर मात्र भनेको हैन, मैले यसलाई कहिल्यै पनि अस्वाभाविक ठानेको छैन । यसलाई मैले कुनै वास्ता गरेको छैन । किनकि पार्टीभित्र त्यो तहमा समस्या छैन ।
मेरो र अध्यक्षको सम्बन्ध बिग्रेको छ भनेर बाहिर कसैले भनेका छन् भने यो कुरालाई मैले कुनै समस्याका रूपमा ठानेको छैन । पार्टी अगाडि बढ्दै गर्दा विचारमा मतभेद त हुन्छ नै । यसलाई मानिसहरूले अनेक तरिकाले व्याख्या गर्छन् । तर, कम्युनिस्ट पार्टीको नीति र सिद्धान्त बुझेकाहरुलाई यो सामान्य कुरा हो ।
तर पार्टी सचिवालय बैठकमा संगठनको आवश्यकता एकातिर, अध्यक्षको निर्णय अर्कातिर हुन्छ रे नि ?
यहाँले भनेको एउटा कुराचाहिँ स्वीकार गर्छु कि हामीसँग कार्यकर्ताका जे अपेक्षा छन्, हामीले जुन संकल्प गरेका हौँ, त्यसअनुसार हामीले प्रतिफल दिन सकेको छैन भन्ने कुरा साँचो हो । यो कुरा म मान्न तयार छु । दोस्रो कुरा, मैले जुनसुकै पार्टीको विषयमा कुरा गर्दा पनि यही कुरा हो । पार्टीमा पनि व्यक्ति भनेको व्यक्ति नै हो । त्यसका पनि सीमाहरू हुन्छन् ।
सङ्गठन यस्तो चिज हो, जसले हरेक व्यक्तिलाई सीमित गर्छ र एउटा व्यक्तित्व बनाउँछ । त्यसमा धेरैको प्रयत्न राम्रो बाटोतिर लैजाने भयो भने त्यो राम्रोतिर जान्छ । धेरैले त्यो प्रयत्न गर्न सकेनन् भने त्यो यथास्थितिमा रहन्छ र कहिलेकाहीँ पछाडि हट्छ । त्यसो हुनाले मैले मेरो क्षमतालाई पनि एउटा सिस्टम चलाउने प्रयत्न गर्ने हो । त्यसमा सिस्टम अप्ठेरोमा नपरोस् र पार्टीको एकता बचोस् भन्ने कुरा म जहिलेसम्म यो पार्टीमा छु, अहिलेसम्म यो मेरो जिम्मेवारी हो ।
मैले जे गर्दा पार्टीको सामान्य एकता बच्छ, पार्टीलाई फाइदा हुन्छ, त्यही गर्नुपर्छ । हामी भोलि कसरी अगाडि बढौँला भन्ने कुरालाई ध्यानमा राख्दै मैले थोरै बोल्नुपर्ने हुन्छ । कहिले मैले आफूलाई अलि बढी सीमित राख्नुपर्ने हुन्छ । यो कुरा जिम्मेवारीका हिसाबले मैले ठिकै गरेको छु जस्तो लाग्छ ।
पार्टीमा पछि आएको भनेर माधव समूहले यहाँलाई विश्वास नगरेको भन्ने पनि चर्चा छ नि ?
मसँग कसैले यस्तो व्यवहार गरेको छैन । यो कुरा मेरो अगाडि कसैले भनेको पनि छैन । बाहिर हल्ला भएको रहेछ । मसँग कुरा गर्दैनन् ।
कम्युनिस्ट पार्टी विस्तार, भविष्य र सिद्धान्त बनाउने कुरामा म कहिल्यै पछाडि हटेको छैन । कम्युनिस्ट पार्टीभित्रका गलत कुरा र त्यसको विरुद्धमा लड्ने कुरामा म सधँैभरि अग्रपंक्तिमा छु । सम्भवतः निरन्तर अग्रपंतिमा लडिरहेको म नै हो भन्ने कुरा देश दुनियाँलाई थाहा छ । यसले गर्दा मैले त्यो कुरा भनिरहनु पर्ने पनि हैन । मसँग कसैले अलि पछि आएको भनेर अगाडि आएर भन्न पनि सक्दैन । पछि आएको भनेर के फरक पर्छ र ? पर्दैन ।
यदि कम्युनिस्ट आन्दोलनमा विकृतिका रुपमा थोपोरिएका समस्याविरुद्ध लड्ने कुरामा ती धेरै मान्छे भन्दा म अगाडिदेखि नै लडिरहेको छु भन्ने कुरा सबैलाई थाहा छ । यसले गर्दा उनीहरू कसैले आएर मलाई यो कुरा भनेको छैन । अध्यक्ष (माधव नेपाल) ज्यूले त यस्तो कुरा सोच्नुहोला भनेर म विश्वास गर्दिनँ । उहाँलाई मेरो योगदान राम्रोसँग थाहा छ ।
भर्खरै बसेको सचिवालय बैठकले दोहोरो जिम्मेवारी भएका केही नेतालाई हटायो । तर, निर्णय आउँदा विद्यार्थी युवा संघका संयोजकमा मात्रै यो नीति लागू गरियो भन्ने गुनासो पनि सुनिएको छ नि ?
त्यस्तो हैन । सामान्यतः हामीले सुरुबाट नै युवा र विद्यार्थी संगठन राम्रोसँग चलाउन सकेनौं । यो अहिलेको समस्या हैन । पहिलेदेखि नै हामीले त्यसलाई राम्रोसँग चलाउन सकेनौं । युवाको सङ्गठन युवाले चलाउनुपर्छ । जुन वर्गको जनसंगठन हो, तिनीहरूलाई नै चलाउन दिनुपर्छ । त्यहाँ अरूले खेल्न थालेपछि समस्याहरू आउँछन् र आए पनि । बाहिरबाट अरूले बढी खेलेको हुनाले र अनावश्यक चासो राखेका कारण समस्या आएको हो । यी समस्या सधैं राखिरहन हुँदैन, अब समाधान गरेर जानुपर्छ भन्ने कुरा हो । समाधान गर्दा कोही साथीहरूले त्यसमा बढी सम्झौता गर्नुपर्ने स्थिति आएको छ । त्यो साँचो हो ।
सङ्गठन अगाडि बढ्नका लागि कतिपय साथीहरूले बढी सम्झौता गर्नुपर्छ भने पनि तयार हुनुहोस् भन्ने मेरो कुरा हो । हामी कतिपय साथीहरूलाई व्यक्तिगत रूपमा उचित नलाग्दा नलाग्दै पनि सङ्गठन र त्यसको भविष्यका लागि उहाँहरूलाई हामीले अलग–अलग जिम्मेवारी दिनुपर्ने अवस्था रहेको हो । त्यसबारे उहाँहरूसँग कुराकानी भएको छ र उहाँहरूले यो कुरा बुझ्नुभएको छ ।
अन्तरपार्टी निर्देशन (अपानि) बाट आउने निर्णय सचिवालयले गरेकै निर्णय हो कि पछाडि थपिएको ? किनभने, अरू नेताको दोहोरो जिम्मेवारी खोसिएन, विद्यार्थी र युवा संघका अध्यक्षहरुको मात्रै खोसिएछ, किन ?
अलग जिम्मेवारी दिएका साथीहरूले एकतिर काम गर्ने भन्ने निर्णय भएको हो । जहाँ जिम्मेवारी दिइएको छ, त्यो ठाउँमा गएर काम गर्ने कुरा हाम्रो कमिटीकै निर्णय हो । सामान्यतः अरू साथीहरूलाई पनि ज–जसलाई इन्चार्ज तोकिएको छ, उहाँहरूले आफ्नो जिम्मेवारी वा पद छोड्ने भनेका छौँ । यो प्रक्रियामै छ । अरू साथीहरूलाई पनि लागु हुन्छ । अब केन्द्रीय कमिटीको बैठक बस्दै छ । त्यसबाट पनि थप प्रष्ट भइन्छ ।
एकीकृत समाजवादी पार्टी स्थापना भएको दुई वर्ष बितिसक्दा पनि आधारभूत तहसम्म संगठन विस्तार हुन सकेको देखिँदैन । बरु उल्टै विवाद र निराशा बढेको देखिन्छ । यसरी त पार्टी कसरी अगाडि बढ्ला र ?
सामान्यतः विगतमा के भयो भने पार्टी विभाजनपछि संविधानको रक्षा र संसदको रक्षा गर्ने भनेर हामीले जुन नाराका साथ दुनियाँको ध्यान आकर्षित गरेका थियौँ । पछि स्थानीय निर्वाचनपछि त्यो मुद्दा पुरानो भयो । त्यसपछि हामी जनताका मुद्दा लिएर जनतामा जानुपर्ने थियो ।
तर, हामी कहिले कांग्रेसको त कहिले माओवादीको छत्रछायाँमा परेर प्रभावकारी तरिकाले जान सकेनौँ । अहिले हामी त्यो उत्तरदायित्व र गठबन्धनको दायित्वबाट मुक्त भएका छौँ । अब हामी जनतामा जनताका एजेन्डा लिएर जाने तयारीमा छौँ । अब हाम्रो कामलाई हेर्नुपर्छ भन्ने लाग्छ ।
जनतामा जाने के छ योजना ?
अब जनतामा गएरै पार्टी निर्माण गर्छाैं । जनताका मुद्दामा संघर्ष र अभियान गरेर पार्टी निर्माण गरौं भन्ने छलफल स्थायी कमिटीको बैठकमा भएको छ । यस विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएका छौँ । केन्द्रीय कमिटीले यो कुरालाई बहन गर्छ । त्यसपछि जनताका एजेन्डा लिएर जनतामा जान्छौं ।
तर, नेता–कार्यकर्ताहरु एमाले र माओवादीमा जान थालेका छन्, त्यो लहर रोकिन्छ त ?
एउटा कुरा त यो स्वतः रोकिन्छ । दोस्रो– यो रोकिन्छ, रोकिँदैन भन्ने त्यत्रो ठूलो विषय हैन । समाजको नयाँ शक्ति यसमा थपिन्छ कि थपिँदैन भन्ने कुरा हाम्रा लागि बढी महत्त्वपूर्ण छ । यो काम हामी नयाँ अभियानबाट अपेक्षा गर्छौं कि नयाँ शक्ति थपिने छ । नयाँ विचारहरू पार्टीमा आकर्षित हुनेछन् ।
माओवादीसँग पार्टी एकता हुँदैन ?
यो अहिले हाम्रो बहसको विषय छैन । पार्टी राम्रो बनाएर जाने हो । समाजवादी मोर्चाको नीति, सिद्धान्त र प्राथमिकता निर्धारण हुँदै जाला । तर, माओवादीसँग एकता अहिलेको प्राथमिकता हैन । समाजवादी मोर्चाको एकता र कम्युनिस्ट पार्टीको एकताका सन्दर्भमा हामी छलफल गर्न सकारात्मक छौँ । अन्य पार्टीका नेताहरू पनि हामीसँग सम्पर्कमै हुनुहुन्छ ।
वामदेव गौतमलाई भित्र्याउन सक्नुभएन नि ?
वामदेवजीलाई हामीले स्वागत गर्न खोजेको हो । जसरी हामीले स्वागत गर्न खोज्यौँ, यो कुरालाई उहाँले पूरा गर्नुभएन । कुरा स्पष्ट भएन । फेरि आउने, नआउने भन्ने कुरा त उहाँको इच्छा हो । उहाँ एमालेसँग बढी ढुक्क रहनुभयो । आफूले अडान राख्नुभएन । ओलीजीले उहाँलाई असली रूप देखाइदिनुभयो ।
अहिले पनि वार्तामै हुनुहुन्छ ?
सामान्य कुराकानी भइरहेको छ । हामीले के भनेका छौँ भने तपाईँहरूले यो सबै घटनालाई राजनीतिक रूपले मूल्यांकन गर्नुहोस् । त्यसपछि कुरा गरौंला । अडान त एउटै हुनुपर्छ नि । विचार त प्रस्ट हुनुपर्छ नि । नत्र त समस्या हुन्छ ।
प्रतिक्रिया