सुसुवा लिलिम याक्थुङ
याक्थुङ लिम्बूहरूको अध्यात्मिक ज्ञानलाई मुन्धुम भनिन्छ । याक्थुङ लिम्बूका देवारीहरू फेदाङमा, साम्बा र येबा/येमाहरूले गर्ने जन्मदेखि मृत्यु पर्यन्त संस्कारहरू नै मुन्धुम हो । मुन्धुम अनुसार याक्थुङ लिम्बूहरू “सुसुवा लिलिम याक्थुङहाङ” का सन्तान हुन् । मुन्धुमी पहिलो मानव मुजिङ्ना खेयङना हुन् । उनी हावाबाट गर्भवती भएकी थिइन् । उनका सन्तानलाई हावा बतासका सन्तान भनेर “सुसुवेङ लालावेङ” भनियो । अन्ततः सुसुवेङ लालावेङ नाम नै समय अन्तरालमा बोलचालका क्रममा “सुसुवा लिलिम” भएको हो । सुसुवा लिलिमका सन्तानहरूले खेती गरेर मानव वस्ती बसाएपछि “सुसुवा लिलिम याक्थुङहाङ” भनेर चिनिन थालिएका हुन् ।
अठारौं शताब्दीताका याक्थुङ लिम्बूहरूका पुर्खा सिरिजङ्गासिङ थेबेले याक्थुङ भाषामा लिपि चलाएका थिए । उक्त लिपिलाई सिरिजङ्गा लिपि भनिन्छ । सिरिजङ्गा लिपिमा भेटिएका लेखोटहरूमा सिरिजङ्गाले आफूलाई सुसुवा लिलिम याक्थुङहाङका सन्तान भनेर प्रस्तुत गरेका छन् । हज्शन सङ्कलनको खण्ड ८४ को पत्र २१८ मा सङ्कलित सिरिजङ्गा र उनका चेलाहरूले लेखेका लेखोटहरूमा “यकहक” अथवा याक्थुङको अर्थ “भैंफत्ता”/भुईँफुटुवा भनेर अर्थ्याइएको छ । भुईँफुटुवा भनेको ढुंगामाटोसँगै जन्मिएको भनिएको हो ।
मुन्धुम अनुसार सुसुवेङ लालावेङका थोसु मुक्कुमलुङ्मा, योसु फियामलुङमा, तुरेरे तुगेयाङ्मा र तुसाङलिमा चार श्रीमती थिए । मुक्कुमलुङ्मा र फियामलुङमाको कोखबाट सुच्छुरु सुहाम्फेबा र तेत्लारा लाहादोङ्नाको जन्म भयो । त्यस्तै तुगेयाङ्मा र तुसाङलिमाको कोखबाट थोसु साङदाङखेवा र .योसु लिङदाङखेवाको जन्म भयो ।
हाल ताप्लेजुङ जिल्लाको लेलेप स्थित लुङधुङ/हिरिलुङ हाप्ककापलुङमा सुसुवेङ लालावेङका आफ्नै सन्तानहरू सुच्छुरु सुहाम्फेबा र तेत्लारा लाहादोङनाबीच यौन सम्बन्ध भएपछि गाउँमा कलह र माहामारी फैलियो । उनीहरूको सम्बन्धलाई अवैध मान्दै गोब्रे च्याउमा ओत लाग्नेहरू, उन्यूका बोट ढाल्नेहरू, जुम्रालाई मासु काट्नेहरू र बाख्राको बडकिउँलामा भारी बिसाउनेहरू जुनघाम, ढुंगामाटो सँगै जन्मिएका आदिम लुङबोङ्बा खाम्बोङ्बाहरूले दण्डित गरे । उनीहरूका सन्तानहरूलाई बाँसको चाल्नीमा राखेर छानियो । चाल्नीमाथि परेकाहरू बाबु अथवा छुच्छुरु सुहाम्फेबाका भागमा परे ।
उनीहरू सुदुक्यु खेदुक्यु फेदाङ्मा, फुङजिरीफुङ्गाप्पो फेदाङ्मा, थिरि वसोफुङवा फेदाङमा, सिङसारा थेयाप्मि फेदाङमा, मुगाप्लुङ खागप्लुङ साम्बा, नेन्जिरि नेम्पत्थाङ साम्बा, साजुुुुुुुवेत् मुुदाङवेत् साम्बा, सिङदुमइङ फेत्लाइङ साम्बा र नाङगेत्छो फु?लुम साम्बा थिए । छुच्छुरु सुहाम्फेबा आफ्ना सन्तानसहित मुरिङला खारिङलामा निर्वासित भए । त्यस पश्चात उनलाई सोदुङहाङ लेप्मुहाङका नामबाट चिनिन थालियो भने उनीसँगै रहेका फेदाङ्मा, साम्बाहरूलाई पेगी फाङसाम भनियो ।
चाल्नीमुनि परेकाहरू आमा अथवा तेत्लारा लाहादोङङ्नाको भागमा परे । उनीहरू ताप्पेसो लुम्माहाङ, सगिमसो सङ्मिहाङ, नियारा थोक्चङहाङ, लालासो पाङ्बोहाङ, फुरुप्सो थेजङहाङ, खेच्चुवेत उप्पानहाङ, साःउन्दु उन्दुहाङ र सेच्छेरे सेनिहाङ थिए । उनीहरू सावा येत्हाङ अथवा आठजना प्रबुद्ध नागरिक थिए ।
तेत्लारा लाहादोङना आफ्ना आठ सन्तान सहित साँगो कोपिरक्मामै बसिन् । यिनी कालान्तरमा थिरि थामदेतलुङ भनेर कहलिए । उनी आफ्ना चाल्नीको बीचमा एक छोरी मान्छे सामेधुङ येप्मेधुङ अड्किएकी थिइन् । उनी सिभाक यामि अथवा येवा/येमाको गुरु पाइक्वा माइक्वा सामको रुपमा रहिन् । पेगी फाङसामहरूको कार्य सावा येहाङ गाउँमा आफ्ना पितृ/आत्माहरूलाई पुकारेर, समाजमा दुःख बिमार, अनिकाल, माहामारी, प्राकृतिक विपत्तीसँग सामना गुर्न थियो । सावा येहाङ गाउँमा बारम्बार आत्माले पिरोलेर दुःखविमार, माहामारी फैलिरहन्थ्यो । अन्तत, फेदाङमा र साम्बाले मात्र आत्माहरूलाई चित्त बुझाउन नसकेपछि सोदुङ लेप्मुहाङले याभोक्को याःसिरिङ जस्ता शक्तिशाली येवा/येमालाई सावा येंहाङ गाउँमा पठाए ।
यसरी सुसुवेङ लालावेङका सन्तानहरूलाई दण्डित गर्ने लुङबोङबा खामबोङबाहरू/भूमिपुत्रहरू नै अन्ततः समाजका गन्यमान्य, भद्रभलाद्मी तुत्तु तुम्याङ कहलिए । यसरी नै सावा येहाङ समाजमा तुत्तु तुम्याङहरूबाट न्याय सम्पादन गर्न थालियो । फेदाङमा, साम्बा, येबा/येमाको मुख्य कार्य सावा येहाङहरूको संरक्षण गर्नु थियो ।
लिम्बू/लिम्बुवान
तुत्तु तुम्याङहरू सावा. येहाङ गाउँमा चुम्लुङ /सभा/कचहरी राख्थे । दुबो छुवाएर, ढुंगा गाढेर न्याय निसाफ गर्थे । लिम्बू भाषामा ढुंगालाई “लुङ” भनिन्छ । दुबोलाई “साम्यो” भनिन्छ । दुबो छोएर आइन्दा यस्तो उस्तो गर्ने नगर्ने भनेर बाचा खानुलाई “साम्योकलुङ” भनिन्थ्यो । यस पश्चात साक्षी प्रमाणका लागि ढुंगा गाडिन्थ्यो । यस्ता ढुंगाका खाँबालाई “लुङबुङ” भनिन्थ्यो । हज्शनका सङकलनको खण्ड ८५ को पृष्ठ संख्या ४४ मा “दश लुङबुङ” लेखिएका कागजातहरू भेटिएका छन् । ठाउँठाउँका दशथरी लिम्बूहरूले ढुंगा गाढेर न्याय दिएकाले उनीहरूलाई “दश लुङबुङ” भनिएको हो ।

ताप्लेजुङ, लिबाङको चिनाबुङमा अदौमा लिबाङ लिम्बुका पुर्खाहरूले न्याय निसाफ गरेपछि गाडेको लुङबुङ ।
त्यस्तै मुकुन्द लुइँटेलले डिजिटाइजेशन गरेको इएपिडटबिएलडटयुके लिङ्कमा सेनकालीन विक्रम सम्वत १८२४ को कागज भेटिएको छ । उक्त कागजमा “दश लिम्बू” शब्दहरू परेका छन् । यसको मतलव याक्थुङ लिम्बुहरू सेन राजाहरूको सम्पर्कमा आएपछि सेनहरूले “लुङबुङ” गाडेर न्याय निरुपण गरिरहेका याक्थुङ लिम्बूहरूलाई “लुङबुङ” भनेर सम्बोधन गर्दा “लिम्बू” शब्दको व्युत्पत्ति भएको हो ।
शाह राजाहरूले लिम्बूहरूको माटोमा आनाको आधारमा तिरो लगाएपछि “लिम्बुवान” शब्दको पनि उद्भव भयो । गाउँघरमा यस्ता गाडिएका ढुंगाहरू आज पनि अस्तित्वमा भेटिन्छन् । वास्तवमा यस्ता ढुंगाका खाँबा अथवा “लुङबुङ” हरू हिजो याक्थुङ लिम्बूहरूको राज्य र शासनका प्रतिक हुन् ।
याक्थुङ लिम्बूजातिमा ढुंगा अथवा “लुङ” को ठूलो महत्व छ । लिम्बूहरूले आफ्नो उत्पत्ति थलोलाई “थामालुङ” भन्छन् । देवीदेवताको थान–थपनामा राख्न गाडिने ढुंगालाई “काम्याङलुङ” भनिन्छ । जमिनमाथिको स्वामित्वका लागि गाडिने ढुंगालाई “योपालुङ” भनिन्छ । साँध सीमाना छुट्याउन गाडिने ढुंगालाई “इन्दोलुङ” भनिन्छ । कचहरी डाक्न गाडिएको ढुंगालाई “चुम्लुङ” भनिन्छ । न्याय प्रदान गरिसकेपछि साक्षी प्रमाणका लागि गाडिएको ढुंगालाई “लुङबुङ” भनिन्छ । माइती चेलीबीच हाडनाता तोडिसकेपछि गाडिएको ढुंगालाई “काइलुङ” भन्छन् । छोरीचेलीको क्रिया सारेपछिको ढुंगालाई “मे?लुङ” भन्छन् । मनकामना पूरा भएपछि गाडिने ढुंगालाई “चो?लुङ” भनिन्छ । त्यस्तै मरेपछि चिहानमाथि गाडिने ढुंगालाई “सुत्लुङ” भनिन्छ ।
मुन्धुममा आत्माको स्थान
मुन्धुम झारफुकको मन्त्र मात्र नभएर सामाज विकासको इतिहास हो । लिम्बूका पूर्खाहरूले हिजो आफ्नो परिवार र समाज विकासका क्रममा प्रकृतिसँग सामना गर्न पर्दाका भोगाइहरूलाई आजसम्म पनि फेदाङमा साम्बा, येबा, येमाहरूले गर्ने जन्मदेखि मृत्यु पर्यन्त गरिने संस्कारहरूमा वंश, परिवार र समाजको दीर्घायु र समृद्धिका लागि र गाउँका ठूलाबडा/तुत्तु तुम्याङहरूले न्याय दिन गर्ने पैरवीहरूमा मुन्धुम फलाक्ने/खःमा वा गायन/ताःथक्मा गरिन्छ ।
गाउँघरमा आजसम्म पनि तुत्तु तुम्याङ, फेदाङ्मा, साम्बा, येबा/येमाहरूको अस्तित्व छ । सामान्यतया याक्थुङ लिम्बू भाषामा “साम्जिक मुन्धुम/मुन्धुम हाबेक” भन्ने गर्छौं । “साम” भनेको आत्मा हो । “जिक” भनेका आत्माका अंशहरू हुन्, जुन प्रकृतिमाथि विराजमान छन् । “हाबो” भनेको गिजा, दाँत हो । हाबोको मुखाकार क्रिया नै “हाबेक” हो । “मुम्मा” भनेको काम्नु/हल्लिनु हो । “थुक्मा” भनेको आत्मालाई प्रवेश गराएर बक्नु/फलाक्नु हो । फेदाङमा, साम्बा, येबा/येमाहरूले आफ्नो देहमा आत्मालाई प्रवेश गराएर काँपेर, बकेर मुन्धुम गर्छन् ।

फक्ताङलुङ/कुम्भकर्ण हिमालमा नाच्दै साम्बा रुद्रबहादुर तिलिङ ।
लिम्बूहरूमा विश्वास छ कि सिंगो प्रकृतिमाथि पुर्खाका आत्मा/सामको प्रभाव छ । आत्मा सिंगो प्रकृतिजस्तो खोला, ताल, पाहाड, हिमाल, ओढार, रुखपात, पशुपंक्षीमाथि बसेको हुन्छ । जस्तो कि हामीले मूलथलो/माङ्गेना यक पुकार्दा हाम्रो पहिलो पुर्खा/मिङस्रादेखि माथिको पुर्खा चाँहि माङ्गेना यक अथवा त्यो ओेढारमा बसेको आत्मा हो । त्यसकारण त्यो ओढार वा माङ्गेना यक पवित्र छ ।
जस्तो कि– कोही पानीमा डुबेर मर्छन् त येबा/देवारीले त्यो दुरात्मा/सोघाको आत्मा छेक्न/थुन्न पानीमै अथवा पोखरी, खोलामै गएर संस्कार गर्नु पर्छ । जस्तो कि– येबा/येमाहरूले पशुपंक्षी पुकारेर “सामु ए सिरे लक्फेक्से ” भनेर चिलराजलाई गुरु उठाउँछन् । अथवा, चिलमा पनि आत्मा बसेको छ भनेर बुझ्नपर्ने हुन्छ ।
वास्तवमा लिम्बुहरूले आफ्ना पुर्खाहरूलाई देवता/माङको स्थान दिन्छन् । त्यस्ता पुर्खाहरूको ब्रह्माण्ड निर्माण र मानवीय जीवन जीउनमा महत्वपूर्ण भुमिका भएको मानिन्छ । लिम्बूजातिमा भौतिक शरीर मरेर गए पनि आत्मा मर्दैन र त्यो आत्मा दर सन्तानहरूमा “साम्माङ” अथवा देहदेवका रुपमा अवतरण/उत्रिँदै जाने विश्वास छ । जस्तो– सृष्टि निर्माणकर्ता तागेरा निङ्वाफुमाङको आत्मा साम्माङ वा देहदेव युमाका रुपमा देखापर्नुलाई उदाहरणका रुपमा लिन सकिन्छ ।
युमादेवीलाई लिम्बूहरूले बीउ–बिजन चिन्न सिकाउने, खेती गर्न सिकाउने, कपासको खेती गरेर धागो निर्माण गरी तान बनेर कपडा बुन्न र लगाउन सिकाउने र संरक्षणकर्ता पुर्खाका रुपमा साम्माङ अथवा देहदेवका रुपमा मान्ने गर्छन् । माङहरू, जस्तो–तागेरा निङ्वाफुमाङ, पोरोक्मी यम्फामिमाङ शर्वशक्तिमान, सर्वव्यापी, संरक्षक र परोपकारी मात्र हुन्छन् । तर, साम्माङहरूको चित्त नबुझेमा विध्वंशकारी हुन्छन् । अथवा, साम्माङ च्याङको रुप लिन्छन् । कुईकुतापमाङ वा जंगली देवताको पनि छुट्टै स्थान हुन्छ । यिनीहरूको पनि चित्त नबुझेमा दुर्भाग्य सिर्जना गर्छन् ।
जीवित मान्छेहरूको सातोलाई “हाङसाम” भनिन्छ । सहज मृत्युवरण गरेका आत्माहरूलाई “थवासाम” भनिन्छ । असहज मृत्यु वरण गरेका आत्माहरूलाई सिःसाम हुन् । जस्तोः लडिमरेका सोघा, सुत्केरी हुन नसकेर मरेका सुगुप, मरिसकेपछि पशुपंक्षीले छोएका लेच्छाम र दाँत नउम्री मरेकाहरूको आत्मा ससिक, यी सबैलाई सिःसाम भनिन्छ । यस्ता आत्माहरूको पुकार गरेर चित्त बुझाउन पर्छ । चित्त बुझाउन सकेन भने यस्ता आत्माहरूले दुःखबिमार, बाढी पहिरो, खडेरी, अनिकाल र माहामारी निम्त्याउँछन् । यसकारण माङ, साम्माङ, कुईकुताप, सिसाम जस्ता दैविक र नराम्रा आत्माहरूको चित्त बुझाउन गरिने पुकार नै मुन्धुम हो ।
मुन्धुमका ज्ञाता
तुत्तु तुम्याङ, फेदाङ्मा, साम्बा, येबा/येमाहरूलाई मुन्धुमका ज्ञाता मानिन्छन् । तुम्याङहरूले विशेष गरी न्यायिक कार्य गर्छन् । फेदाङमा, साम्बा, येबा/येमाहरूले संस्कारिक कार्य गर्छन् । लिम्बू जातिमा जन्मनुअघि पेटपूजा (साप्पोक चोमेन) गरिन्छ । त्यसपछि जन्म (सावान्छिङ्मा) हुँदै मृत्यु (यगु चङ्सिमा) संस्कार गरिन्छ । मृत्युपछि पनि जीवित (हाङसाम) र मृतक (थबासाम) हरूबीचको सातो छुट्याउने (मुरुम इना सेम्मा) संस्कारहरू गरिन्छन् । असहज मृत्युवरण गरेका सिसामहरूका हकमा भने उनीहरूका सातोलाई छेक्के मात्र गरिन्छ ।
याक्थुङ लिम्बू जातिमा न्यायिक कार्यहरूमा मात्र नभएर सामाजिक संस्कारहरूमा पनि तुम्याङहरू भागेदार हुन्छन् । संस्कारहरू सम्पन्न गर्न फेदाङ्मा, साम्बा र येबा/येमाहरूलाई बोलाइंदा स्वागत गरिने (फाक्सारा लामलक) देखि उनीहरूले गरेका कार्यहरूको अनुगमन तुत्तु तुम्याङले गर्छन् । इष्टमित्र, पाहुना हरूको होस्ट गर्न (हेनामोमा) देखि गालीसराप बगाउने माङहुप वदेम्मा) सम्मका संस्कारहरू पनि तुम्याङले गर्नै पर्छ ।
फेदाङमा, साम्बा र येबा/येमाहरूले मुन्धुम र तान्त्रिक ज्ञानहरू जन्मजात जानेर आएका हुन्छन भत्रे परम्पराले गहिरो जरा गाडेको छ । फेदाङमा, साम्बा, येबा/येमाहरूमा आफ्ना गुरु (पाःइक्वा माःइक्वा साम) हरूबाटै सम्पूर्ण संस्कार हस्तान्तरित भएर आएको हुन्छ । उनीहरूले आफ्ना चेला (साःपेन्दि) हरूलाई जजमानी (याःभच्चा) मा जाँदा वर्षौंदेखि आफू सँगसँगै हिँडाएर, नचाएर, मुन्धुम फलाक्न लगाएर, सम्पूर्ण विधि—विधान सिकाएर (तिःम्सिङमा) गराउँछन् र आफ्ना चेला उतार्छन् (याःथरे येम्मा) ।
तुम्याङहरू प्रायः कचहरी सभामा देखिँदा टाउकोमा सेतो कपडाको फेटा, पागा बाँध्छन् । फेदाङमाहरूको त्यस्तो छुट्टै पोशाक पाइन्न । साम्बा र येबाको लगाउने लुगा एउटै हुन्छ भन्दा पनि हुन्छ ।
येबाहरू कपासले बुनेका भोटा–मेख्ला तेन्धाम–सिम्बो लगाउँछन् । मैना/लिगे वदो, डाँफे–मुनाल/सामदाङ्वा यामलाक्वा चराका कल्की बनाएर क्रस लगाउँछन् । कम्मरमा घण्टी/सिरिङ पङ्गे बाँध्छन् । पछाडिपट्टी कुममा सुनाखरीका डाँठको चोयाले बुनेको जाबे झोला/ओम्लारि पेत्तारी सुक्वा क्रस भिर्छन् । झोलामा बँदेलका दाह्रा/सेरा केङ पनि क्रस नै राखेर झुण्ड्याउँछन् ।
र्पका हड्डीमाला/सिङदुुम असेक पोना, मट्टीमाला/खाम्ब्रक्मा, सिमाला/लुङब्रक्मा र रातै, पँहेलै कान्धी/पाङ्वारी पन्छे घाँटीमा पहिरिन्छन् । लेकका विभिन्न जडिबुटी बिषमा/मासिङ र सुँगुरको साँढेको लिङ्गको जन्तर बुटी बनाउँछन् । थानमा बल्ने ढुंगा/अभोलुङ र दुम्सीका काँडाका मसिना बिटा/खाम्लुङ अइबुक्मा राख्छन् ।
येबाको पहिरनलाई येसामा भनिन्छ । येबाहरु कल्की क्रस लगाउँछन भने साम्बाहरू भर्टिकल लगाउँछन । जाबे झेला पनि ठाडो मात्र भिर्छन् ।
फेदाङमाहरूले सामान्यतया आफ्ना देउदेउतालाई घरभित्र रातोमाटोले लिपेर, केराका पात बिछ्याएर (तेत्ला लासो), बाँसका टुक्रा गाडेर (पेहेङ/तोङ्बा) र घर बाहिर भने माटोको ढिस्को उठाएर (खाम्बुच्चङ) मसिना ढुंगा गाडेर (काम्याङलुङ), स्याउली रोपेर (चमसिङ) थान थपना दिन्छन् ।
साम्बाले भने प्रायः कटुस (खेच्छिङसे नाम्भोयो) को एक लिङगो (खाम्लुङ केसिङ) गाड्छन र येबा/येमाहरूले भने दुई लिङ्गो (येगेसिङ याग्राङसिङ) गाड्छन् । वास्तवमा फेदाङमा र साम्बाहरूले आफ्ना पितृ र प्रकृति जगाउँदै परिवार र समाजमा दीर्घायु र समृद्धि (चाङ्घि थोबुन) निम्त्याउँछन् ।
येबा/येमाहरूले भने नराम्रा आत्माहरूको थुनछेक (थेप्मा) गरेर वंश/परिवारलाई दुर्घटना हुनबाट बचाउँछन् । यसदेखि बाहेक फेदाङ्मा, साम्बा, येमा/येबाहरूले विरामीका उपकारका लागि जडीबुटीदेखि जादु, टुनामुना र जन्तरका लागि पशुपंक्षीका अंग प्रत्यंगहरू पनि प्रयोग गरेको देखिन्छ ।
वास्तवमा फेदाङमा, साम्बा र येबा/येमाहरूले आ–आफ्ना पहिरन मार्फत मनमोहक र भयङ्कर स्वरूप धारण गरेर थाल (सामलिङ चेत्थ्या) बजाउँदै, घण्टी बजाउँदै, पशुपंक्षीहरूको नक्कल गर्दै, नाच्दै मन्त्रमुग्ध भएर पवित्र स्थान निर्माण गर्छन् । कुल पितृ, सिंगो आकाश, धर्ती जगाउँदै मुन्धुम वाचन गर्छन ।
उनीहरूले हिमाल, पहाड, ओढार, पोखरी, ओढार, खोलानाला, बोटबिरुवा र पशुपंक्षीहरूको एकाएक नामाकरण गर्छन् ।
म्बूजातिको प्रकृतिसँगको सम्बन्ध र भोगाइलाई पुकार्छन् । लिम्बूजातिको जनजीविका, सामाजिक विकास, र पर्यावरणीय ज्ञान र उर्जालाई पुनर्ताजकीकरण गर्छन् । उनीहरूले मन्त्रमुग्ध भएर मदहोसतामा चेतनालाई परिवर्तन गर्छन् र आत्माहरूलाई आङमा प्रवेश गराउँछन् र वातचित गर्छन् । भौतिक र अध्यात्मिक संसारको मध्यस्थता गर्दै घर, परिवार र समाजबीचका इष्र्या, डाही, गालीसराप, दुःख बिमार, मानसिक असन्तुलन र नकारात्मक उर्जाहरू हटाउनमा मनोवैज्ञानिक अन्तरदृष्टि प्रदान गर्छन् । वंश, परिवार र सिंगो समाजमा शान्ति, सुव्यवस्था, दीर्घायु र समृद्धि निम्त्याउँछन् ।
वास्तवमा मुन्धुम आस्था, विश्वाससँग मात्र सीमित नभएर जैविक ज्ञान, प्रथागत कानुन, सिपकला, श्रम र उत्पादनसँग सम्बन्धित छ, जुन लिम्बूजातिले नगरी/नमानी नहुने संस्कारिक कार्यहरू हुन् । यसकारण यो मुन्धुम याक्थुङ लिम्बूहरूको जीवन पद्घति हो ।

ताप्लेजुङको पालुङ लोदेन पोखरी ।
सामान र फेदाङमा, साम्बा, येबा/येमा
“सामान” शब्द मंगोलिया र साइबेरियामा बसोबास गर्ने तुङ्गुस जातिको इभेन्की परिवारबाट आएको हो । “सामान” को अर्थ हुन्छ “जान्नु” वा “गति लिनु” हो । “सामान” शब्दको सबैभन्दा पहिले प्रयोग सत्रौं शताब्दीका विश्वासी काजान क्याथेड्रलका प्रोटोपप आभाक्कुमले गरेका हुन् । उनले जार शासकहरू र धर्मभिरुहरूले चर्चमा गरेका सुधारहरूमा असहमति जनाएकाले उनलाई साइबेरिया र मंगोलियाको सीमामा निर्वासित गरियो । त्यहाँ उनले तुङगुसिक सामानहरूसँग विशेष गरी भविष्यवाणीलाई लिएर द्वन्द्वको सामना गर्न पर्यो । तर, उनले आफ्ना वृतान्तहरू रुसी भाषाबाट लेख्दा “सामान” शब्दले सिंगो युरोपभरि चर्चां पायो ।
समाज विकासका क्रममा पहिले फेदाङमा र साम्बालाई मात्र पेगी फाङसाम भनिए पनि फाङसाम भनेर येबा/येमालार्ई पनि भनिन्छ । फ्रान्सका पेरिस रिसर्च डाइरेक्टर फिलिप सेगान्तले लिम्बू फेदाङमा, साम्बा र येबा/येमालाई “सामान” भनेर सम्बोधन गरेको पाइन्छ ।
सेगान्त सन् १९६६ देखि सन् १९७१ सम्म दुई पटक हाल ताप्लेजुङ जिल्लाको लिबाङ गाउँमा आएका थिए । उनी तुम्पाङ्फे टोलको फेदाङमा अंगेक्मामा बसेका थिए । उनी अनुसन्धानका क्रममा तिब्बत नजिक तोक्पेगोलासम्म पुगेका देखिन्छन् । उनका अनुसन्धानात्मक लेखहरू लिम्बुका फेदाङमा, साम्बा र येबा/येमाहरूका बारेमा केन्द्रित रहेको देखिन्छ ।
उनको लेख सन् १९९६ (पहिलो प्रकाशन सन् १९७६) मा जोन. टि. हिच्कक र रेक्स एल जोन्सले संकलन गरेको पुस्तक “बिकमिङ अ प्रिस्टः एथ्नोग्राफिक नोट्स’ शीर्षकमा प्रकाशित भएको थियो । उनको पुस्तक फ्रेन्च भाषाबाट अंग्रेजीमा उल्था भएर सन् १९९६ मा “द डजिङ सामान (द लिम्बूज अफ इस्टर्न नेपाल) प्रकाशनमा आयो । सा“गाले उनका लेख र पुस्तकमा लिम्बूका फेदाङमा, साम्बा र येमा/येमाहरूलाई “सामान” भनेर सम्बोधन गरेका छन् । स्टेट युनिभर्सिटी, न्युयोर्कका सहप्राध्यापक रेक्स एल जोन्स र सिर्ली कुर्ज जोन्सले पनि लिम्बूका फेदाङ्मा, साम्बा र येबा/येमाहरूलाई अंग्रेजीमा उल्था गर्दा “सामान” नै भनेका छन् ।
तर, यसअघि लिम्बूका भाषा, इतिहास र संस्कृतिका बारेमा लेख्ने विदेशी लेखकहरू विलियम कर्कपेट्रिक सन् १९७५ सन् (पहिलो प्रकाशन सन् १८११), फ्रान्सिस बुकानन हामिल्टन सन् १९९० (पहिलो प्रकाशन सन् १८१९), ब्रायन हज्शन १९९२ (पहिलो प्रकाशन् १८८०) हरूले “सामान” शब्द प्रयोग गरेका छैनन् । आर्किबल काम्पबेल (सन् १८५५) र जोसेफ डाल्टन हुकर (सन् १८५५) ले लिम्बूका फेदाङमाहरूलाई “फेदाङ्बो” भनेका छन् ।
त्यस्तै इडेन भान्सिटार्ट (सन् १८९६) ले पनि फेदाङ्मा, साम्बा र येबा/येमाहरूलाई “फेदाङ्मा, साम्बा, येपमुन्धुम” भनेर सम्बोधन गरेका छन् । सिक्किमका माहाराजा थुतोब नामग्याल र माहारानी येशे डोल्माले लेखेको र काजी दुसाङदुपले अंग्रेजीमा उल्था गरेको बाइण्डिङमा मात्र पाइएको पुस्तक “हिष्ट्रि अफ सिक्किम” मा पनि लिम्बुका देवारीहरूलाई फेदाङपा, येबा, येमा भनिएको छ ।
वास्तवमा लिम्बूजातिको फेदाङमा, साम्बा, येमा/येमाहरूलाई तुङ्गुसिक सामानहरूसँग दाँज्न मिल्दैन । कुनै पनि जातिको संस्कृति स्वाभिाविक रुपले श्रेष्ठ र नीच हुंदैन । उनीहरूको आफ्नै ऐतिहासिक र सामाजिक सन्दर्भ हुन्छ । अरुको संस्कृतिको मापदण्डमा कसैको संस्कृतिको मूल्याङ्कन गरिन हुन्न ।
फेदाङ्मा, साम्बा, येमाहरूको मुन्धुमले सिंगो प्रकृतिलाई पवित्र र जीवित देख्छ । प्रत्येक तत्व बिरुवा, जनावार, नदी, पहाड, सूर्य, चन्द्रमा, आकाशमा चेतना भेट्छ । मानव संसार र प्राकृतिक/आध्यात्मिक संसारबीचको सेतुको रुपमा भूमिका निर्वाह गर्छन् । वास्तवमा यो समयमा मानिसहरू प्रकृतिसँग पुनः सम्बन्ध स्थापित गर्न र वातावरणीय समस्या समाधान खोज्न मुन्धुमी मान्यताहरूलाई अपनाउर्ने हुन्छ । जस्तो – मुन्धुम उत्तर अमेरिकी आदिवासी संस्कृतिहरूसँग मिल्दोजुल्दो देखिन्छ । जस्तो कि टोटेम ।
टोटेम भनेको प्रतिक/चिन्ह हो । टोटेमले पूर्वज र सामुहिक पहिचानलाई जोड्छ । जुन पशुपंक्षी वा प्राकृतिक तत्वसँग सम्बन्धित हुन्छ । टोटेमलाई लिम्बू भाषामा “कुगुसिङ” भन्न सकिन्छ । फेन्दुवा मादेन थरी लिम्बूहरूले भैंसीको मासु खाँदैनन् । मुन्धुम अनुसार युमा साम्माङले आफ्ना सन्तानहरूका साथ रहँदा वे?लासो फु?लासो पोखरी फुटेर जताततै पोखरी बनिएर बाटो छेक्छ । भैंसीले सिङले हानेर उक्त पोखरीहरू खोलेर बाटो बनाएकाले फेन्दुवा मादेनहरूले भैंसीले आफ्नो पुर्खाहरूको संरक्षण गरेको भनेर भैंसीको मासु खाँदैनन् । अथवा कुगुसिङ, टोटेमहरूले सुरक्षाको पनि मार्गदर्शन गर्छन् । तर, कुगुसिङलाई कुगुसिङ नै भन्न पर्छ र टोटेमलाई टोटेम नै भन्न पर्छ । फेदाङमा, साम्बा, येबा/येमालाई “सामान” भन्न थालियो भने फेदाङ्मा, साम्बा र येबा/येमा शब्दहरू नै हराउँछन् ।
त्यस्तै प्यासिफिक टापुहरूमा पाइएको टाबुको पनि चर्चा गर्न सकिन्छ । टाबु भनेको निषेध हो । निषेधको माध्यमबाट समाजमा स्थापित मापदण्डहरूको पालना हुन्छ । टाबुले सांस्कृतिक मुल्यहरूलाई कायम राख्छ । परम्परागत जीवनशैलीलाई नियमन गर्छ ।
खानपान, अनुष्ठान र पवित्र स्थान जस्ता व्यवहारका विषयमा निषेधको सङ्केत गर्छ । टाबुले सामाजिक संरचनामा सहयोग पु¥याउँछ । टाबु तोड्न निषेधको कारण बन्न सक्छ र कुनैपनि व्यक्तिलाई सामाजिक जिम्मेवारी वहन गर्न सहयोग पुर्याउँछ । पशुपंछी र वनस्पतिको विनाश गर्ने प्रक्रियालाई नियमन गर्दै वातावरण सन्तुलनमा सहयोग गर्छ । पुर्खाको ज्ञानलाई पिढिहरूमा हस्तान्तरण गर्छ । टाबुलाई लिम्बू भाषामा “चि?न” भन्न सकिन्छ । खेवा थरी लिम्बूका लागि कुखुरा वा पंक्षी निषेध हो । खेवा लिम्बूहरूले पंक्षी मात्र नखाँदा पनि पारिस्थितिक प्रणालीलाई बचाई राख्नमा मद्दत पुगेको छ भन्नु पर्ने हुन्छ ।
वास्तवमा मुन्धुमलाई ‘इपिस्टोमोलोजी’ भन्न सकिन्छ । मुन्धुमले सधैँ ज्ञान कसरी प्राप्त गर्न सकिन्छ भन्ने बाटो देखाउँछ । मुन्धुम अनुसार सिंगो प्रकृति र प्रकृतिसँगको मानवीय सम्बन्ध नै ज्ञानको स्रोत हो । मुन्धुम ‘रिटरिक्स’ पनि हो । ज्ञानलाई पिढीँहरूमा हस्तान्तरण गर्ने माध्यम भाषा हो । फेदाङ्बा, साम्बा, येबा/येमाहरूले आफ्ना सहयोगीहरू माङ्वानेबा, साङलाङगोबा, येगाप्सिबाहरूलाई थानमा राखेर मुन्धुम फलाकेर/गाएर नचाएर नाटकीय र मनोरञ्जनका साथ ज्ञानको हस्तान्तरण गर्ने गर्छन् ।
चो?लुङ प्राप्ति
याक्थुङ लिम्बुहरूको थरगत सेभाक्कुम हुन्छ । चो?लुङ प्राप्तिका लागि सेभाक्कुम पुकार्नु पर्छ । याक्थुङ लिम्बूले उत्पत्ति थलोलाई ‘थामालुङ’ भन्छन् । “मिङ्स्रा” भन्नाले पहिलो पुर्खा हो । पुर्खाहरू छुट्टिएपछिकालाई ‘पासिङ पादाङ’ भनिन्छ । पुर्खाहरू छुट्टिएर निर्माण भएको कर्मथलोलाई ‘फेच्चुवा यक’ भनिन्छ । ‘नाहाङमा यक’ चाँहि मर्यादासँग जोडिन्छ ।
कुनै यकको पुर्खाको सुरवीरताको नाम चलेछ भने उनको यकसँग अरुथरी लिम्बूहरू जोडिन पुग्छन् । जस्तो – सेनीहाङका सन्तानहरूमा ओजाहाङ लडाकु थिए । यतिसम्म कि उनलाई सबै लिम्बूहरू मिलेर सेनराजाहरूसँग गुहारी उनलाइ मोरङ राज्यमा लगेर नेल ठोकिएको थियो । योङहाङहरूको माङ्गेनायक च्याङथापु, तिमतिम्बो हो । ओजाहाङको वीरता र मर्यादाका कारण अरु प्नि विभिन्न थरी लिम्बूहरूले योङहाङवंशी लिम्बूको माङ्गेनायक च्याङथापुलाई माङ्गेना यक नभएर नाहाङमा यक मानेका हुन् । कसै लिम्बूहरूको उत्पत्ति थलो र कर्म थलो एकै पनि हुन सक्छ, नाहाङमा र फेच्चुवा यक एउटै हुन्छ ।

ताप्लेजुङको तोक्पेगोलामा फुलेको जटामासी/पाङबोक् कुनाताफुङ ।
पितृ (थवासाम) लाई सातो पुर्याउने ठाउँलाई ‘साम सामातेन’ भनिन्छ । नीति मान्ने वा मुन्धुम अनुसार संस्कार गर्दै ल्याएकाहरूले मृतकको दफन भएको दिन नै सामसामा गरेर सातो पुर्खा “थवासाम”लाई सुम्पनु पर्छ । स्मृति मान्ने वा हिन्दू स्मृति पनि मान्नेहरूले साम्दाखोङ राख्छन् । अथवा सुद्घाइँ गरेको दिन मात्र पितृलाई सातो दिन्छन् ।
थोसुमाली (मिवाखोले, मैवाखोले, तमोरखोले र कावेलीखोला र तमोरखोला तिरका याङरुपे) लिम्बूहरू सामसामा गर्छन् । योसुमाली (आठराई, फेदाप, चौबीसे, पान्थरे छथरे र काबेली वारीका याङरुपे) लिम्बूहरू साम्दाखोङ राख्छन् । गर्भवती स्त्रीहरूको पेटपुजा/साप्पोक चोमेन गर्दा सातो ल्याउने ठाउँलाई साम ‘सामलामातेन’ भनिन्छ । थोसुमाली लिम्बूहरू प्रायः सामलामा गर्न मिवाखोलाको सीर युमिक्मा वरक पोखरी जान्छन् र योसुमाली लिम्बूहरू पाँचथरको मौवाखोला, तमोरखोला र छथर ओख्रेको सागोक्मारि खोलाको त्रिवेणी सेगेक सुरुङमा जान्छन् ।
विशेष गरी तीनदिने तङसिङ (चिन्ता) राख्दा पहिलो दिन फेदाङ्माले घरभित्र (युमा, थेबा लगायत) र बाहिरका वन देउदेउता (कुइ कुताप) पुकार्छन् । दोस्रो दिन येबा/येमाहरूले आगोको सातो मारेर (मुक्कुम सेमि) इष्र्या, आँखीडाही मन्साउने (तिङदिङ नाहेन) देखि दुरात्मा (सोघा, सुगुप, लेच्छाम, ससिक यङदङ) हरू छेक्छन । र, तेस्रो दिन साम्बाले तङसिङ तक्मा गर्छन् ।
थवा, चो?लुङ चाङमा संस्कार अथवा उपकारीहरूको मनकामना पूरा गरिदिने कार्य सम्पन्न गर्छन् । अन्त्यमा (कतै सुरुमा र बीचमा पनि) जान अञ्जानमा गरेका गल्तीकार्यहरूको गालीसराप बगाएर (माङहुप वदेम्मा) पश्चताप गरी शुद्घीकरण हुने कार्य तुम्याङले गर्छन् ।
वास्तवमा याक्थुङ् लिम्बूहरूको ज्ञानको खोजी वा प्राप्ति चो?लुङ हो । हिजो पुर्खाहरूले बाँच्न पर्दा प्रकृतिसँग सामना गर्न पर्यो । ठूलठूला घटना घटे । ती भोगाइ नै संस्कारिक ज्ञानका रुपमा विद्यमान छन् । यस्ता महान प्राप्तिहरूलाई पुनर्ःताजकीकरण गराइरहने कार्य नै चो?लुङ चाङमा संस्कार हो ।
मुन्धुमअनुसार हिजो पोरोक्मी यम्फामीले जुन, घाम, ढुंगा, माटो, मनुष्य बनाए । र, मनुष्यका लागि अन्नका बीउबिजन बनाएर छरे । तर उम्रिएन । त पोरोक्मी यम्फामीले हाल आठराई तेह्रथुमको इवा हाडाका फाक्सेरा तिगेन्जङबासी लुङबोङबा खामबोङबाहरूसँग विशाल ढुंगाको छेलो मागे । साँधमा छेलो पुर्याउन नसकेमा मृत्यु रोज्न पर्ने सर्तमा पोरोक्मीले छेलो लिए । उनले हाल आठराईको इवा हाडाबाट आकाशमाथि लादोक नामदोक सुरुङमा (जुनघामको बस्ती) मा छेलो हाने ।
हानेको छेलोले फक्ताङलुङ/कुम्भकर्ण हिमालको पनि काँध झार्यो । जताततै साखोङलुङ खोङ्वाना तेम्बे (फक्ताङलुङको फेदी) मा वर्षात गराए । वास्तवमा यो घटना याक्थुङ् लिम्बूहरूको प्रकृतिसँग सामना गरेर बाँच्न पर्दा ठूलो प्राप्ति थियो । युमा साम्माङले आफ्ना सन्ततीहरूलाई ताप्लेजुङको तोक्पेगोलाको सिर सिङसादेन, सोदुङ वरक पोखरीदेखि पालुङ–मालुङ वरक, हुँदै तिप्ताला भञ्ज्याङ आसपासको वे?लासो फु?लासो पोखरीको किनारबाट आफ्ना सन्तानहरूलाई जीउन सिकाइन् ।
क्ताङलुङ/कुम्भकर्ण र केलाङ सि?लाङ कन्चनजङ्घा हिमालको आसपास तिम्बुङ पोखरी र खोलाहरूको सिरदेखि तीर र किनारबाट याक्थुङ सभ्यता सुरु गरिन् ।
वेत्लासो फुतलासो पोखरी फुटेपछिको ठूलो सङ्कट आइलाग्यो । मुस्किलले बस्ती औलतिर झर्यो । पोखरी फुट्नु, नदी, खोलाहरू सुक्नु, हिमालमा हिउँ पग्लिनु असुभ हुन् । तब, फेदाङ्मा, साम्बा, येबा/येमाहरूले मुन्धुम गरेर पोखरीमा पानी भरे । खोलामा माछा हाले । पोखरीमा पानी भरेर पाङबोकफुङ, जटामासी फूल, केन्जोफुङ/पदमचालफूल रोपेर हराभरा बनाएर चो?लुङ जगाए ।

ताप्लेजुङको साजुपोखरी आसपास फुलेको पदमचाल/केन्जोफुङ ।
युमाले लिङखिममा साओगे ओगेहाङ, सिगारा याभुङकेक्नाहरूलाई बीउ–बीजन चिनाइदिइन् र खेती गर्न सिकाइन् । मुक्कुमलुङमा, फियामलुङमाहरूलाई पदमलुङमामा रेशम उमारेर, फलाएर, धागो काटेर हातखुट्टा हल्लाई–हल्लाई तान बनेर कपडा बनाएर लगाउन सिकाइन् । यसकारण तरुणीहरूको चो?लुङ जगाउँदा/चाङ्मा तान बनेको चर्चा हुन्छ ।
तरुणहरूले फेयारी चेङचेङबामा फलाम पत्ता लगाएर काट्ने हतियार बनाए । साँध्न लगाए । अथवा, फलामको हतियारको आविष्कार गरे । यसकारण फेयारी चेङचेङ्बा तरुणहरूको चो?लुङ हो ।
लिम्बूका ठूलाबडाले ढुंगाका पर्खाल उठाएर, चौतारा बनाएर, ढुंगो गाढेर, दुबो छुवाएर साङसाङलुङ खालोनलुङमा न्याय दिन थाले । वास्तवमा यी सबै याक्थुङ लिम्बु सभ्यताका लागि महान कार्यका सुरुवात थिए । महान प्राप्ति अथवा चो?लुङ प्राप्ति थिए । वास्तवमा यस्ता माहान प्राप्तिहरूको पुःनताजकिकरण गरिरहनु नै चो?लुङ चाङ्मा संस्कार हो । लिम्बूहरूले चो?लुङ चाङ्मा गरेर सुस्वास्थ्य, दीर्घायु र समृद्धि प्राप्त गर्छन् ।

हज्शन सङ्कलनको खण्ड ८६ को पत्र संख्या १ मा सिरिजङ्गा आफैंले आफू सुसुवा लिलिम याक्थुङका सन्तान भएको भनेर लेखिएको लेखोट । याक्थुङ लिम्बूजातिको सिङथेबे परिवारमा ताप्लेजुङ जिल्लाको तेल्लोकमा सिरिजङ्गा जन्मिएका थिए । सिरिजङ्गाका बारेमा भेटिएका टिपोटहरूमा उनले आफ्नो याक्थुङ भाषा, अक्षर लेखेको भनेर स्प्ष्ट लेखिएको छ ।
सिक्किमका नवौं छोग्याल/राजा थुतोब नामग्याल र रानी येशे डोल्माले सन् १९०८ (वि सं १९६५) मा बाइन्डिङ गरेको पुस्तक “हिस्ट्री अफ सिक्किम” अनुसार, “पहिलो मुन्धुमी मानव मुजिङ्ना खेयङनाका सन्तानका रुपमा पुस्तौं–पुस्तौं पछि याङरुपमा सिरिजङ्गा जन्मिए । उनले आठ आफ्ना चेला बनाएर याक्थुङ भाषा सिरिजङ्गा लिपि बनाएर सिक्किम राजा र लामाहरूको विरुद्धमा लागे ।
उनको लामाहरूले विषालु धनुकाँणले हानेर चराको विष्टा मुखमा कोची प्राण लिएर खोलामा फ्यालिदिए । उतिबेला नेपालमा सिंह प्रताप राजा थिए ।” सिंह प्रताप भनेर गोर्खाका राजा पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह साहलाई भनिएको हो ।
रिजङ्गा प्रतापसिंह साहका समकालीन देखिन्छन् । याङरुप भनेर सिनाम ताप्लेजुङलाई भनिएको हो । सिरिजङ्गाको मृत्यू वि.सं १८३४ मा भएको पुष्ट हुन्छ ।

हज्शन सङ्कलनको खण्ड ८५ को र पृष्ठ संख्या ४४ भेटिएको “दशलुङबुङ” उल्लेख भएको याक्थुङ लिम्बू भाषा र सिरिजङ्गा लिपिमा याक्थुङ लिम्बुहरूको चारकिल्ला भूमि किटिएको कागज । ब्रिटिश नागरिक ब्रायन हग्टन हज्शन भारत र नेपालमा अध्ययन गर्ने प्रकृतिवादी र एथ्नोलोजिष्ट थिए । उनी पहिलोचोटि सन् १८२० (वि.सं १८७७) मा नेपालका लागि ब्रिटिश आवासीय दुत एडवार्ड गार्नरका एक्टिङ रेजिडेन्स/सहयोगी भएर आएका थिए ।
उनी सन् १८४५ (वि सं १९०२) देखि दार्जीलिङमा बसे । उनले संस्कृत, नेवारी, लिम्बू, राई, क्षेत्री लगायत विभिन्न जातजातिका इतिहास, भाषा, धर्म, संस्कार/संस्कृति र पशुपंक्षी, बोटविरुवाका बारेमा अध्ययन गरेका थिए ।
सै क्रममा उनले सिरिजङ्गाले याक्थुङ लिम्बू भाषामा लेखेका लेखोटहरू वर्तमान ताप्लेजुङ र पाँचथर जिल्लाका ऐतिहासिक ठाउँहरू र दार्जीलिङ–सिक्किमबाट जोभानसिं फागो, च्याङ्ग्रेसिङ फेदाङमा, हवल्दार रणध्वज, खरिदार जितमोहन मार्फत सङ्कलन गरेका थिए । उनका सङ्कलन दार्जीलिङ–कोलकाता हुँदै लण्डन पुर्याएर ब्रिटिश लाइब्रेरीमा राखियो, जसलाई हज्शन कलेक्शन भनिन्छ ।

मुकुन्द लुइँटेलले इएपिडटविएलडटयुके लिंकमा डिजिटाइजेशन गरेको “दश लिम्बु” लेखिएको विक्रम सम्बत १८२४ मा सेन राजाहरूका कारिन्दा जुत माहा देवानले लिम्बुहरूका नाममा जारी भएको कागज । उक्त कागजका बारेमा हाल अमेरिकामा बसोबास गर्दे आउनुभएका जोभिन कुरुम्भङले जानकारी दिनु भएको हो ।
तस्विरहरू : अर्जुनबाबु माबुहाङ
प्रतिक्रिया