ए सहर ! लैजा तेरो सिंहदरबार (भिडियोसहित) « Khabarhub

मेयरको कविता

ए सहर ! लैजा तेरो सिंहदरबार (भिडियोसहित)


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङको पहलमा तीन साताअघि चोलुङपार्कमा ‘कविता कन्सर्ट’को आयोजना गरिएको थियो । कार्यक्रममा चर्चित कवि तथा गीतकार श्रवण मुकारुङ प्रमुख अतिथि बनेका थिए।

उक्त कार्यक्रममा मेयर माबुहाङले स्वागत मन्तव्यका क्रममा आफ्नै कविता पाठ गरे । कवितामा उनले ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने भाष्यमाथि व्यंथ्य प्रहार गर्दै भने– लैजा तेरो सिंहदरबार । र, मलाई मेरो गाउँ फिर्ता दे ।

दुई कार्यकालसम्म स्थानीय तह प्रमुख बनेका माबुहाङले आफ्नो पालिकामा मौलिकतालाई जोगाउने प्रयास गरेका छन् ।

विकासका नाममा वातावरण विनास गर्न नहुने उनको मत छ । नाङ्गो डाँडाँमा पार्क र संग्रहालय बनाएर आन्तरिक पर्यटकलाई तान्न सफल बनेका मेयर माबुहाङको यो कविता देशभरिका सबै पालिका प्रमुखलाई सान्दर्भिक हुने ठानेर खबरहबले यहाँ प्रस्तुत गरेको छ–

कविता : ए सहर ! लैजा तेरो सिंहदरबार

  • अर्जुनबाबु माबुहाङ

ए सहर !
तेरो सहरमा
के छ हौ, त्यस्तो !
रंगि- विरंगी !
झिलमिल ! झिलमिल !
सुर्जेइ छेलिने गरी ।

०००
मेरा बाजे त
बित्ताले घाम नाप्थे ।
दुबो छुवाउँथे
ढुंगो गाड्थे
र छुट्याउँथे दूधको दूध, पानीको पानी ।
अनि छेक्थे चट्याङ
र पन्छाउँथे भुइँचालो ।

०००
मेरा बाबुहरुलेचाँहि
फालोट काटेर
घुम पुगेर नापेका थिए छाती ।
र, चढेका थिए पानीजहाज
राखेर चिसो फलाम सिरानीमा
पुगे घाम अस्ताउने ठाउँ

र हराएका थिए नेपोलियन र हिटलरहरुलाई ।

०००
फर्कन्थे ग्रिपस्याकमा बाह्रहाते कैस्सेट बोकेर
बाल्थे तीनटोटे टर्च कालो आकाशमा
र भन्थे;
फाईटरले धुँवा छोड्दा यस्तो हुन्छ ।

०००
ठोकेर दाँतमा सुन
बजार, हाट, डबलीमा
ङिच्च ङिच्च हाँस्दै
र, लगाउन खोज्थे पैकारी माया
र, धान नाच्थे
पालाम रेकर्ड गर्नेको धुइँचो त्यस्तै
‘सत्तागुरु साईली थाप्पु थ्यङ थ्यङ
चारी चोक्माफाल्ले केस्सा झ्यङ झ्यङ’ ।

०००
छेलो हान्दा हारिगयो भने
फलानी हान्दा जित्ति भएन भने
शीरै ढलीजाला कि
सात्तागुरु साइँलीको !

०००
यसरी सुनदन्ते साइलाहरुले
सत्तागुरु साइँलीहरुसँग
झोडा फाँडेर
ठट्टै ठट्टामा
जोसै जोसमा
बसाएका थिए सहर ।
तर
आज सुन्छु
सहर सुकिलो छ रे ।
सहर मुकिलो छ रे ।
अनि
कान समातेर
धुले पाटीमा कखरा फुटाइदिने
मेरा सचिव सरको पनि पेन्सन पाकेछ
उनी पनि सहरै झरे ।
मलाई जिन्दावाद भन्न लगाउने
मलाई मुर्दावाद भन्न सिकाउने
मेरा ठुटे नेताले पनि
स्वास्नी, छोराछोरी सबै सबै
झारेछ सहरै ।

०००

म सँगै खुबै चाकाचुली खेल्थ्यो स्याने ।
धाक लाउँथ्यो कि
म त पाहाडको छोरा हुँ

तर उसले पनि जीन्दगीको विमा गर्ने रे
झरेछ सहरै ।

०००
मै संगै खुबै भांडाकुटी खेल्थी सानी
भन्थी कि मलाई
न्याउली रोएको मन पर्छ
बादलुको धुम्टोमा लुक्न मन पर्छ
उ पनि
अलिकती चोली उधारेर
थोरै माथि गुन्यु उचालेर
झरी सहरै ।

०००
तैपनि
ए सहर
तर किन ?
मेरो वरपिपल, चौतारो
मेरो धर्मशाला, रोदिघर, चुम्लुङहिम
भत्काउँदै र बनाउँदैछस् फराकिला र चिल्ला लेन ।
र गुडाउँदैछस् विकार लोड गरिएका ट्रयाक्टरहरु
र मेरो अँगेनोमा डम्पिङ गर्दैछस् ।

०००
मेरा गाईबाख्रा चराउने हरेलो डाँडो
मेरो जुनेलो फलाउने पाखो
तेरो पिकनिक स्पोर्ट भो ।
तेरो भ्युटावर भो ।
मेरो कुवा, पँधेरो
र छङछङ बग्ने खोला, झरना
तेरो हाइड्रोपावर भो ।

०००
ए सहर !
अब कहिल्यै पनि मलाई
तैंले नसक्ने रहेछस्
नीलो आकाश देखाउन ।
मेरो सिकुवामा
तेरो सिंहदरवारको पोष्टर !
खै के-के लेखिएका छन् ।
हिजोदेखि
अस्तीदेखि ।
सेतो, रातो वादै वाद
भो, नसक्ने रहेछस्
कहिल्यै पनि मलाई बुझाउन ।

०००
ए सहर !
तेरो दुश्मनी त
मेरो गाउँसँग पो रहेछ, हगि !
भो, लैजा तेरो सिंहदरबार
र, फर्काइदे मेरो गाउँ ।

भिडियो –

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : २२ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक