एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा बिक्री « Khabarhub

एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा बिक्री


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा कृषि फार्मका सञ्चालक कविराज खनालले यस वर्ष मात्रै चार लाख ५० हजार रुपैयाँको सिप्लिकानका बिरुवा बेचेका छन् ।

विशेषगरी पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ, तर खनालले भने विगत पाँच वर्षयता यसको व्यावसायिक खेती गरी आम्दानी गरिरहेका छन् । 

परापूर्वकालदेखि नै च्यवन, गर्गजस्ता ऋषिमुनिहरूले यस वनस्पतिलाई शरीरको शुद्धीकरणसँगै ध्यानमा स्थिरता र दीर्घायु प्राप्तिका लागि उपयोग गर्ने गरेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

लोपोन्मुख अवस्थामा रहेको यस वनस्पतिको संरक्षणसँगै पुस्तौँसम्म यसको उपयोग होस् भन्ने सोचका साथ व्यावसायिक खेती गर्न थालेको खनालले बताए ।

कास्कीको रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र तनहुँको शुक्लागण्डकी,  भिमाद, बन्दीपुर, देवघाट आसपासका क्षेत्रहरू सिप्लिकान खेतीका लागि उपयुक्त रहेको बताउँदै उनले सङ्कटापन्न यस प्रजातिको वनस्पतिलाई संरक्षण गर्दै जनजनमा प्रयोग बढाउने उद्देश्य राखेको सुनाए ।

कोभिड–१९ महामारीपछि विगत पाँचदेखि आफू यस खेतीतर्फ लागेको खनालको भनाइ छ । ‘यसको व्यावसायिक खेती सुरु गरेको पाँच वर्षभन्दा बढी भयो । राम्रै उत्पादन भइरहेको छ । यस वर्ष मात्रै चार लाख ५० हजार रुपैयाँको बिरुवा बिक्री भएको छ’, उनले भने, ‘कास्कीको रुपा गाउँपालिकासहित देशका विभिन्न स्थानमा यहाँको बिरुवा पुग्ने गरेको छ । माग धान्नै सकेको छैन ।’

खनालले यस वर्ष मात्र नर्सरीमा १० हजार बिरुवा उत्पादन गरे पनि मागअनुसार अझै बिरुवा उत्पादन गर्न नसकिएको जानकारी दिए । छरछिमेक, इष्टमित्रलगायत कतिपय स्थानमा निःशुल्क बिरुवा प्रदान गर्ने गरेको उनले बताए । 

सिप्लिकानको प्रतिबिरुवा एक सयदेखि १५० रुपैयाँसम्म बिक्री भइरहेको छ । पछिल्ला वर्षमा यसको माग अत्यधिक बढ्दो क्रममा छ ।

‘पर्यावरणीय सन्तुलनसँगै यो वनस्पति स्वास्थ्यप्रद पनि छ । यसको महत्त्व प्रचारका साथै संरक्षण र बिस्तार आवश्यक छ । यसका लागि राज्यले पनि साथ र सहयोग गर्नुपर्छ’, खानलाले भने । 

उच्च रक्तचाप, सुगर, जन्डिस र मिर्गौलामा हुने पत्थरीलगायतका रोगका लागि औषधिका रूपमा सिप्लिकानको प्रयोग गर्ने गरिन्छ । यसलाई तत्कालका लागि तरकारी र अचार तथा लामो समयका लागि गुन्द्रुक बनाएर पनि खान सकिन्छ । 

खनालले आफ्नो फार्ममा सिप्लिकानसँगै कुरिलोखेती पनि गर्दै आउनुभएको छ । यहाँको उत्पादन शुक्लागण्डकी नगरपालिका–१ र २ का साथै पोखरा नगरपालिका–३२ बाट पनि बिक्री भइरहेको छ । आफ्नो फार्मबाट वार्षिक २० देखि २५ हजार कुरिलोका बिरुवा बिक्री भइरहेका उनले जानकारी दिए । 

स्वास्थ्यका लागि  उपयोगी कुरिलोको टुसालाई तरकारीका रूपमा बढी प्रयोग गरिन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न पौष्टिक तत्त्व पाइने र बच्चादेखि वृद्धसम्म सबैका लागि उपयोगी हुने खनालको भनाइ छ । 

खनालले पछिल्लो समय फार्ममा आउने वा बुझ्न चाहने जो कोहीलाई कुरिलो, सिप्लिकानलगायत खेतीका प्रविधि, उपयोगिता र बजारीकरणलगायत विषयमा जानकारी गराउँदै आएका छन् । उनको फार्म एउटा जीवन्त पाठशाला जस्तै बन्दै गएको छ । 

व्यावसायिक कृषिसँगै पत्रकारिता र शिक्षण पेसालाई सँगसँगै अघि बढाउनुभएका खनाल रेडियो नेपाल र आदर्श समाज राष्ट्रिय दैनिकमा संवाददाताका रूपमा समेत कार्यरत छन् । रासस
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  २ : ०८ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि