धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने पेशासँग जोडिन थालेका छन् । आधुनिक सीप र नयाँ प्रविधीको प्रयोगसँगै उनीहरु फेरि माटोका भाडाँकुडा बनाउने पेशामा जोडिन थालेका हुन् । पुरानै सीप र शैली प्रयोग गर्दा जीवन गुजारामै समस्या भएपछि उनीहरु पेशा नै छोड्न बाध्य थिए ।
‘कुमाल जातिको पुर्ख्यौली पेशा नै माटोका भाडाँ बनाउने हो । माटोका भाँडा बनाउने गाउँमा गएर बिक्री गर्ने पेशा हो, पुर्खाहरुले पनि त्यही गरे, हामीले पनि त्यही गर्यौ, तर बाँच्न मुस्कील भएपछि छोड्न बाध्य भयौं र पुर्खाको पेशा संकटमा पर्यो,’ स्थानीय प्रदेशी कुमालले बताए ।
प्रदेशी गाउँमा सबैभन्दा पछिसम्म माटोकै भाँडा बनाएर गुजारा गर्ने मध्ये एक हुन् । पुरानै सीप र शैलीले बनाएका भाँडाहरुको बजार माग पनि घट्यो । गाउँमा स्टील र पलाष्टिकका सामानहरुको प्रयोग बढेसँगै कुमालहरुको पेशा संकटमा परेको थियो । उनीहरुले समेत आफ्ना सन्तानलाई नयाँ पेशा व्यवसाय र वैदेशिक रोजगारमा जोडिसकेका छन् ।
पुर्खाको पेशा, बजारको माग र नयाँ प्रविधीको विकासले फेरि काममा जोडिन मन लागेको स्थानीय शेरे कुमालले बताए । उनीपनि लामो समय माटोका भाँडा बनाउने पेशामा सक्रिय थिए । तर गुजारा नै नचल्ने भएपछि त्यागेर भारत पुगेका थिए । नयाँ प्रविधी र सीप बारे ज्ञान पाएपछि जोडिन थालेको उनले बताए ।

बुढीगंगा नगरपालिकाले महिनादिन लामो तालिम सञ्चालन गरेको छ । बुढीगंगा सीप विकास तथा प्रशिक्षण केन्द्र र जिआइजेटको सयुक्त सहकार्यमा आधुनिक सीप विकास सम्बन्धी तालिम सञ्चालन गरिएको सीप विकास केन्द्रका प्रमुख महेशराज जैशीले जानकारी दिए ।
तालिम जेठ २१ देखि असार २० सम्म चलेको हो । ललितपुरबाट हरि पराजुली र गुल्मीबाट पदम मुखिया बोलाएर तालिम दिन लगाइएको छ । पालिकाले आफ्नै लगानीमा ४ वटा माटो प्रसोधन गर्ने मेसिन नै खरिद गरेको छ । संकटमा परेको पेशाको निरन्तरता र स्थानीयको स्वरोजगारका लागि माटोका भाँडा बनाउने तालिम सञ्चालन गरिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताए ।
नगर प्रमुख बाँनीयाँ स्वयम पनि कुमाल गाउँकै छिमेकी हुन् । परापूर्व कालबाटै कुमाल जातिले माटोका भाँडा बनाउने गरेका थिए । उनीहरुले हालका त्रिवेणी, बुढीगंगा, खप्तड छेडेदह सहीत बाजुराको सबैजसो भूगोलमा गएर भाडाँ विक्री गर्ने गरेका थिए । त्यो बेला उनीहरुलाई जीवन गुजारा गर्न भाँडा बनाएर विक्री गरेरै वापत पुग्थ्यो, पछि बजारमा अरु सस्तो समानको आपूर्ति भयो, र पेशा लोप भयो, त्यसको संरक्षण र स्थानीयको स्वरोजगारका लागि हामीले तालिम सुरु गरेका हौं, प्रमुख बाँनीयाले थपे ।
पहिलो चरणमा १५ जनालाई आधुनिक मेसिन चलाउने सीप र भाडा बनाउने सीप सिकाइएको छ । उनीहरुलाई नै तत्काल एडभान्स तहको तालिमका लागि पालिकाले नै काठमाडौं वा ललितपुर पठाउने निर्णय गरिसकेको छ । पालिकाको त्यो निर्णयमा तालिमका सहभागि तयार भएका छन् ।
आधुनिक सीप पाए, पेशालाई निरन्तरता दिने सोच बनाएको स्थानीय हिमाल कुमालले बताए । विदेश गएपनि यस्तै काम गर्नु पर्ने हो । त्यो भन्दा आफ्नै गाउँमा बस्न पाइने र सीप विकाउन पाइने भएपछि फेरि पुर्खेउली पेशामा जोडिन तयार भएको हिमालको भनाई छ । कुमालवाडामा २ सय बढी परिवारको बसोबास छ । ती मध्ये आधा बढी मात्रै पेशालाई निरन्तरता दिए आम्दानी पनि उत्पादन पनि राम्रै हुने देखिन्छ ।

हातले माटो मिच्नु पर्ने, दाउरामा माटो पोल्नु पर्ने, पुरानै सीप र शैलीले भाँडा उत्पादन गर्दापनि आकर्षक नदेखिने अवस्था थियो, मेसिन र तालिमको सीपले धेरै कुरा राम्रो गर्न सिकायो, अब सहज पनि राम्रो पनि हुने भन्छन्, नाथ कुमाल । स्टील र पलाष्टीकका भाडामध्ये माटोका भाँडा स्वस्थकर मानिन्छन् ।
एक महिने तालिमबाट पनि सहभागिले करुवा, पानस, गमला, जग, लोटा, घैला, दियो, औजार सेट सहीत उत्पादन गरेका छन् । माटोका भाँडाको पानी खाँदा किटाणु मर्ने, सिमल भए, भाँडोमै टाँसिने र पानी तातो वा चिसो जस्तो छ त्यही अवस्थामा रहीरहने विश्वास छ । गाउँमा अझै माटोका भाँडाहरुको प्रयोग जारी छ ।
उत्पादन र उपलब्ध नभएर मात्रै समस्या हो, नत्र माटोका भाँडा प्रयोग गर्नेहरु घट्नु भन्दा बढ्ने अवस्थामा छन् । छिमेकी जिल्ला अछाम र बझागमा समेत कुमाल जातिका पुर्खाले माटोका भाँडा विक्री गर्ने गन्थ्र्ये । माटो समेत बाह्विसकै भूगोलमा उपलब्ध हुने र मेसिनबाटै माटो मोच्न पाइने भएपछि उनीहरु पनि उत्साहीत छन् ।
हेर्दा समेत लोभलाग्ने भाँडाहरु उत्पादन गरिएको पाइयो, व्यवसायी रुपमा उत्पादन गर्न सके राम्रो आम्दानीको श्रोत बन्ने विश्वास उपप्रमुख माया कुँवरको छ । उसोत बुढीगंगा नगरपालिकाले प्रत्येक नागरिकलाई सीपयुक्त बनाउने नीति नै लिएको छ । उसको शैक्षिक योग्यता बाहेक कुनै न कुनै सीप सिकाउने नीति पालिकाको छ ।
दुई वर्षको अवधीमा ६ सय बढी युवाहरु सीपमा जोेडिसकेका छन् । यो वर्ष मात्रै ४ सय ५० बढीले सीप पाएको बुढीगंगा सीप तथा प्रशिक्षण विकास केन्द्रका प्रमुख महेशराज जैशीले जानकारी दिए ।
सवारी चालक देखि, अचार बनाउने तालिम, सीलाई कटाइ, कम्यूटर कक्षा तालिम सोडा सावुन हर्पीक बनाउने तालिम सहीतका बजारको मागका आधारमा युवाहरुलाई सीपको प्रमाण पत्र दिने र स्वरोजगार बनाउन प्रेरित गर्ने लक्ष्यमा पालिका छ ।
प्रतिक्रिया