काठमाडौं- मुलरद्वारा अनुवादित ‘द उपनिषद्’ मा एउटा प्रसङ्ग छ – जसलाई उनले ऋग्वेद (१.१६४.२०) बाट लिएर अनुवाद गरेका छन् । दुई चरा जो अविभाज्य साथीका रुपमा छन् । उनीहरू एउटै रूखको हाँगामा बसेका छन् । एउटाले मीठो फल खाइरहेको छ । अर्को हेरिरहेको छ । एउटा चरा हो जीव (खाने) र अर्को परमात्मा (नखाई हेरिरहने) । जीव कर्म र त्यसको फलसँग आशक्त छ । परमात्मा कर्मबाट मुक्त छ । जीव ‘भोगकर्ता’ हो । उसले कर्मको फल (सुख र पीडा) को ‘स्वाद’ लिन्छ । परमात्मामा कुनै आशक्ति छैन ।
चरा मानव सृष्टिसँग र अध्यात्मसँगै जोडिएर आएको छ । ऋग वेदमा चराहरूको प्रसङ्ग उल्लेख गरिएको छ । किराती/ याक्थुङ मुन्धुममा चराहरूको वर्णन पाइन्छ । हजारौँ वर्षअघिका शास्त्रले चराको प्रसङ्ग उल्लेख गरेकाले पुर्खाले चराको अध्ययन गरेका थिए भन्ने देखिन्छ ।
तर हाम्रो वर्तमान समाज चराप्रति चाख राखिरहेको छैन । वैज्ञानिक अध्ययन नभए पनि नागरिकको तहबाट हुने स्वीकारोक्ति घटिरहेको बताउँछन् चराविद् डा. हेमसागर बराल ।
‘हामीले चरालाई परापूर्व कालदेखि हेर्दै आएका छौँ । मानेका पनि छौँ । नेपाली संस्कार, संस्कृतिमा चरा पूज्य छ । चरालाई हेर्ने नेपालीको आफ्नै मौलिकता छ । चरासँग नेपालीको जीवन गाँसिएको छ । नेपालीको मौलिकतामा चरा घुसेका छन् । हजारौँ वर्ष अघिदेखि चरा र नेपाली संस्कृति संयोजित छ,’ डा. बराल भन्छन् ।
उनका अनुसार चरा अध्ययन भनेपछि साधारण मानिसको भन्दा विशेषज्ञ, फोटोग्राफरको बढी चासो र सक्रियता देखिन्छ । अहिले परिस्थिति फेरिएको छ । यो हुनु ठीकै हो । तर सर्वसाधारणले चराको विषय बिर्सेर गएको देखिन्छ । संस्कृति पनि लोप भएर जान्छ । चरासँगको मानवीय समीपताको विषय पनि संस्कृति लोप भएर गएजस्तै भइरहेको छ । ‘यसलाई बढाउनका लागि संस्था लागेका छन् । सरकारले पनि केहीकेही काम गरेको देखिन्छ,’ डा. बराल भन्छन् ।

कोशी टप्पुमा चरा
कोशी टप्पु र मध्यवर्ती क्षेत्र साथै चतराको नयाँ पुलसम्म चराको अध्ययन र अवलोकन गरिँदै आएको छ । कोशी टप्पुको विशेषता नै हो, नदीले बढी भाग ढाकेको छ । ‘वाइल्ड लाइफ रिजर्भ’ भनिएको छ तर नदीलाई संरक्षण गर्ने आरक्षजस्तो देखिन्छ ।
कोशी टप्पुमा पाँच समय बढी चरा अभिलेख भइसकेका छन् । यो क्षेत्रलाई चराको राजधानी भनेर बुझ्ने गरिएको छ । विशेष गरी यो क्षेत्रमा हिउँदे चराले भरिभराउ हुने गरेको छ । बर्खामा अहिले धेरैजसो रैथाने चरा हुन्छन् । कतिपय गृष्म आगन्तुक चरा छन् । जलमा आश्रित पानी चरा गृष्म आगन्तुक चरामा पर्दैनन् । यी रैथाने चरा हुन् । गृष्म आगन्तुक चरा धेरैजसो वनमा बस्ने अथवा खुला आकाशमा विचरण गर्ने हुन्छन् ।
यो समय वनमा आश्रित धेरै चराले बच्चा कोरली सकेकका हुन्छन् । कतिपय चरा बच्चालाई आहार खुवाउँदै हुर्काउँदै गरेको देखिन्छन् । पानी चराले अहिले बच्चा कोरल्दैछन् । केहीले भर्खर भर्खर सुरु पनि गर्दैछन् ।
‘कोशी टप्पु अङ्ग्रेजीमा एक आइल्याण्ड हो । यस्ता टापु/ टप्पु र यहाँका जमिनमा पानी चराले ठूलो सङ्ख्यामा बच्चा कोरली रहेको देख्न पाइन्छ,’ चराविद् डा. बराल भन्छन्, ‘विगतका वर्षमा हजारौँ सङ्ख्यामा बकुल्लाको प्रजनन हुने गर्थ्यो । हामीले ९० को दशकमा दशौं हजार चराको प्रजनन हुने गरेको अभिलेख राखेका थियौं । त्यसमध्ये पनि ब्लाक क्राउण्ड, नाइट हेरोन भनिने चरा राति बढी सक्रिय हुन्छन् ।’
धेरै चरा अहिले बच्चा हुर्काउनमा व्यस्त छन् । केही चरा बाहिरबाट पनि आएका छन् । गृष्म आगन्तुक चरा कोइली प्रजातिका छन् । यिनीहरूको सङ्ख्या धेरै छ । कोइली प्रजातिका धेरै चराले बर्खाको समयमा वृद्धि भएका कीरा फट्यांग्रा खाएर तिनीको सङ्ख्या कम गर्ने गरेको छ । किसानको साथीका रूपमा यी चराले काम गर्छन् ।

बर्खाको समय कोशी टप्पुमा चराको मातृवात्सल्य अवलोकन गर्ने स्वर्णिम समय हो । ‘कोशी टप्पुमा चराको वात्सल्यप्रेम अर्थात् बाबुआमाले बच्चा हुर्काउँदा कस्तो प्रेम गर्छन् भन्ने हेर्न उपयुक्त समय हो,’ चराविद् डा. बराल भन्छन्, ‘अहिले चराले बच्चालाई खुवाइरहेको देख्न सकिन्छ । चराका बचेरा आफैँ खान सक्ने अवस्थाका भए भने पनि उनीहरू आफ्नो प्रतिरक्षाका लागि अभ्यस्त भइसकेका हुँदैनन् । बाउआमाले कुनै खतरा आए डिफेन्ड गरेको अवस्था देख्न सकिन्छ । त्यसबाट बचेराले सीप आर्जन गर्छन् । यो बचेराको आत्मरक्षाको सीप सिक्ने समय पनि हो ।’
डा. बरालका अनुसार चराको अवस्था प्वाँखबाट चिन्न सकिन्छ । बच्चामा चहकिलो रङ्ग आइसक्नुपर्छ । कतिपय चरामा त्यो चहक आइसकेको हुँदैन । उनीहरू वयस्क अवस्थामा पुगेपछि उनीहरूमा रङ्ग परिवर्तन हुन्छ । चराको प्वाँख कसरी फेरिँदो रहेछ भनेर हेर्ने, बुझ्ने समय हो यो बेला । चराहरूको विकास क्रम हेर्ने उपयुक्त समयका रुपमा लिन सकिन्छ । धमिलो धमिलो प्वाँखबाट चहकिलो बन्ने प्रक्रिया अवलोकन गर्न सकिन्छ ।
रैथाने चरा र आगन्तुक गृष्मकालीन चरामा यतिबेला द्वन्द्व देखिँदैन । यो समयमा चराको सङ्ख्या कम हुने र खाना प्रशस्त हुने समय हो । विशेषगरी कीट–पतङ्ग खाएर जीवन निर्वाह गर्ने चराका लागि प्रशस्त खाना पाइन्छ । यतिबेला चरा मिलेर बसेको देखिन्छ ।
चराविद् डा. बराल भन्छन्, ‘आधारभूत रुपमा यो समय चराले उनीहरूका बचेरा कसरी हुर्काउँछन् यसको अध्ययन, अवलोकन गर्ने समय हो ।’

टप्पुमा जलवायु परिवर्तनको चुनौती
कोशी टप्पु नेपालको संरक्षित क्षेत्रमध्ये सबभन्दा संवेदनशील क्षेत्र हो । यसको भर्टिकल ग्रेडियन्ट (उचाई) ७५ देखि ९१ मिटरसम्म रहेको छ । यो धेरै कम ग्रेडियन्ट हो । जलवायु परिवर्तन अनुकूलनका लागि यो ग्रेडियन्ट एकदमै कम हो ।
‘अहिले हामी धेरैले जलवायु परिवर्तनको कुरा गर्छौं । टप्पुमा बाढी आए सबैतिर पुग्छ । धेरैजसो चरा त उड्लान्, उड्न नसक्ने छन् । जनावर जाने ठाउँ छैन, ’ डा. बराल भन्छन्, ‘कोशीटप्पुको विस्तार गर्नुपर्ने खाँचो छ । यसलाई विस्तार गरेर नदीको भूभाग ओगट्दै चतरासम्मै लैजानुपर्ने देखिन्छ । जबसम्म उत्तरमा चतरासम्म र दक्षिणमा कोशी ब्यारेजसम्म लगिन्न, यसको भविष्य सङ्कटमा परिरहने देखिन्छ ।’
चराविद् डा. बरालका अनुसार कोशी टप्पु चराका लागि नेपालका ४२ प्रसिद्ध ठाउँमध्ये एक हो । नेपालको पहिलो रामसारमा सूचीकृत सीमसार क्षेत्र हो ।
‘हालका वर्षमा बासस्थान बदलिँदै गएको छ । यसका धेरै कारण छन् । चराको सुरक्षा घटेको छ । आरक्ष मात्रले चरालाई जोगाएर राख्न गाह्रो हुन्छ,’ डा. बराल भन्छन्, ‘आरक्ष आसपासका पर्ती जग्गाहरू छन्, खेती किसानी भए चरा पनि बढ्दै जान्छन् । विकासका नाममा फ्याक्ट्री खोलिए चराको जीवनमा त्यसले दुर्घटना निम्त्याउँछ ।’

बर्खामा अफ्रिका र श्रीलङ्कादेखि कोशी टप्पु आइपुग्छन् चरा
हिउँदमा चराहरू बसाइँ सरेर आउँछन् । साइबेरिया, कीर्जिगस्तान, तान्जेनियालगायतका उत्तरी क्षेत्रमा अत्यधिक जाडो हुँदा त्यहाँका चराहरू जाडो छल्न कोशी टप्पुसम्म आइपुग्छन् । जाडोयाम सकिएपछि ती चराको फर्किन्छन् । त्यतिबेला उनीहरूको बच्चा कोरल्ने समय हुन्छ ।
गर्मी मौसममा दक्षिणबाट चरा उत्तरतर्फ आउँछन् । ती चरा बच्चा कोरल्ने उपयुक्त स्थानको खोजी गर्दै कोशी टप्पुसम्म आइपुग्छन् । ‘भारतको महाराष्ट्र, श्रीलङ्का, अफ्रिकालगायत मुलुकबाट कोशी टप्पुमा चरा आउने गरेका छन्,’ कोशीपन्छी समाजका पूर्वअध्यक्षसमेत रहेका नेचर गाइड तथा सिटिजन साइन्टिस्ट अनिस तिम्सिना भन्छन्, ‘बच्चा कोरलिसकेपछि दक्षिणबाट आउने चरा पनि फर्कने गरेका छन् ।’
कोशी टप्पुमा ९ प्रजातिका बकुल्ला छन् । यिनीहरू सामूहिक गुँड बनाएर प्रजनन प्रक्रिया अघि बढाउँछन् । ‘एउटै क्षेत्रमा वा एउटै रुखमा पनि १० देखि २० वटासम्म गुँड बनाएर बच्चा कोरली रहेका छन्,’ तिम्सिना भन्छन् ।
नेपालमा ९०२ प्रजातिका चरा अभिलेख छन् । कोशी टप्पुमा मात्रै ५३७ प्रजातिका चरा रेकर्ड भएका छन् । गत मे महिनामा नेपालका लागि नयाँ चरा रेकर्ड भयो । त्यो चराको रेकर्ड तिम्सिनाले नै गराए । नेपालभर चराको तथ्याङ्क ९०० पुग्दा उनले रेकर्ड गराएको चराको नाम छोटो पुच्छ्रे समुद्री चरा (सर्ट टेल्ड सिअर वाटर) अभिलेख भएको छ । तिम्सिनाका अनुसार समुद्रमा पाइने यो चरा कोशी नदी हुँदै टप्पुमा आइपुगेको थियो ।
विश्वमै दुर्लभ नेपालमा मात्र पाइने चरा पनि कोशी टप्पुमा पाइन्छ । सन फ्रान्कोलिन बर्ड (सीम तिथ्रा), बेङ्गाल फ्लोरिकन (खर मुजुर), ब्रिस्टल्ड ग्रास बर्ड (घाँसे चरी) उल्लेखनी छन् । पानी चरा मात्र गत जनवरीमा ६८ प्रजाति अभिलेख गरिएको थियो ।

बर्खामा चराको बासस्थान ?
घाँसे मैदानमा बस्ने चरालाई बाढी र बर्खाको अग्रिम जानकारी हुन्छ । यस्तो अवस्थामा उनीहरू सुरक्षित स्थानको खोजी गरी बस्छन् ।
‘बाढी आउन लाग्यो, भुइँचालो आउन लाग्यो भने चराहरूले अग्रिम जानकारी पाउँछन्’ सिटिजन साइन्टिस्ट तिम्सिना भन्छन्, ‘चराले सुरक्षित ठाउँको खोजी गर्छन् । तर अचानक हावाहुरी आउँदा भने यिनीहरूलाई जोखिम हुन्छ । गुँडहरू भत्किने, झर्ने, बच्चाहरू मर्ने सङ्कट आइपर्छ ।’
कोशी टप्पुमा आगन्तुक प्राय वन्यजन्तु र चरा हेरेर रमाउने गरेको तिम्सिना बताउँछन् । ‘कोही कोही जे देखे पनि रमाउँछन् । कोही आगन्तुक अध्ययन गरेर आउँछन् र त्यहीअनुसार चरा र वन्यजन्तु देखाउन अनुरोध गर्छन्,’ तिम्सिना भन्छन्, ‘बर्खाको समयमा चरा राम्रै देखिए पनि पानी परिरहने, घारी, झाडी बढेकाले आगन्तुक निकै नै कम आउँछन् । तर यो समय चराहरू हेर्ने र अध्ययन गर्ने उपयुक्त समय हो ।’

तस्बिर- कोशी बर्ड सोसाइटी
















प्रतिक्रिया