काठमाडौं– सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरूले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणदेखि बहुविवाहलाई वैधता दिन कानुन ल्याउन लागेको भन्दै चर्कोसँग आवाज उठाएका छन् ।
भिजिट भिसामा जाने नेपालीबाट गैरकानुनी रुपमा दैनिक ५० लाख रुपैयाँभन्दा बढीको असुली प्रकरण छानबिनका लागि संसदीय समिति माग गर्दै आएका प्रतिपक्षी दलहरू आफ्ना भनाइ राखेर बाहिरिएपछि नेपाली कांग्रेस आक्रामक देखियो ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै गत जेठ १३ गतेदेखि आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदनमा पुरानै अडान राखे ।
सभामुख देवराज घिमिरेले रास्वपाका तर्फबाट सांसद असिम साह र राप्रपाका तर्फबाट सांसद ध्रुवबहादुर प्रधानलाई बैठकको सुरुवातमै दुई–दुई मिनेट बोल्न दिए ।
सांसद साहले भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै नबिर्सिने दाबी गरे । उनले रास्वपाले भिजिट भिसा प्रकरण जनतालाई बिर्सिन नदिने जिकिर नै गरे । साहले गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणको फाइलबारे सभामुख घिमिरेमार्फत् प्रश्न सोधे ।

‘सभामुख महोदय, भिजिट भिसाका नाममा मानव तस्करहरूको फाइल कहाँ पुग्यो भनेर म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु,’ उनले भने, ‘जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ती नगर्नुहोला । बिर्सिने छैनन्, हामी कुनै हालतमा बिर्सिन दिने छैनौँ ।’
राप्रपा सांसद प्रधानले भिजिट भिसा समस्या नभएर नियतमै खराबी रहेको जिकिर गरे । ‘समस्या भिजिट भिसाको होइन, नियतको हो । भिजिट भिसामा त सबै जान्छन्,’ उनले भने, ‘श्रम मन्त्रालय, जसको थुप्रै संयन्त्रहरूले थुप्रैलाई विदेशमा पठाउने गरेका छन् । जसमार्फत् इमिग्रेसन (अध्यागमन) पनि जोडियो । जुन गृह मन्त्रालयअन्तर्गत छ ।’
राप्रपाले समाधान चाहेको प्रष्टीकरण पनि प्रधाननले दिए । ‘सम्माननीय सभामुख महोदय, हामी समाधान चाहन्छौँ । ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भइसकेको अवस्थामा त्यहाँबाट हुने छानबिन कस्तो हुन्छ ?,’ प्रधानले प्रश्न गरे, ‘त्यहीकारण हामीले न्यायिक आयोगको कुरा निकालिरहेका छौँ । न्यायिक छानबिन माग गरिरहेका छौँ ।’

बैठकमा उनले राप्रपालाई व्यवस्था र संविधानविरोधी भनेको भन्दै प्रधानमन्त्री केपी ओलीको भनाइप्रति खेद व्यक्त गरे ।
राप्रपाले संसदीय समिति माग गरेको जिकिरसहित प्रधानले भने, ‘जब कुनै ठाउँमा कमी–कमजोरी देखियो, हामी ३० लाख जनताको प्रतिनिधित्व गर्नेहरूबाट जब विरोध आयो । अनि राप्रपा र रास्वपालाई कार्यकारी प्रमुखबाटै व्यवस्था र संविधानविरोधी भन्नु अत्यत्न खेदजनक छ ।’
त्यसअघि बोलेका सांसद साहले पनि केही दिनअघि प्रधानमन्त्री ओलीले रास्वपालाई व्यवस्था र संसद् विरोधी भनेकोप्रति आपत्ति जनाए । ‘प्रधानमन्त्रीज्यूले केही दिनअघि रास्वपालाई व्यवस्था विरोधी र संसद्विरोधी भनिराख्दा मलाई गालिबको एउटा सायरी याद आयो । ‘‘उम्रभर गालिब यही भूल कर्ता रहा, धुल चेहेरे पे थि और आएना साफ करता रहा’, साहले अगाडि भने, ‘धुलो त ऐना हेर्ने तपाईंहरूकै मनित्रपरिषद्का सदस्यको अनुहारमा लागेको छ, अनि ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’
सांसद साहले पूर्वमन्त्री राजकुमार गुप्ताको ‘घुस डिल’को अडियो सार्वजनिक भए पनि उनीमाथि कारबाही नभएको भन्दै आपत्ति जनाए । उनले त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई संरक्षण गरिएको टिप्पणी गरे ।
‘यो कस्तो परम्परा हो, भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो । अनि राजीनामा दिएपछि सबै पखालियो ? राजीनामा भनेको त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगा स्नान पो भएछ,’ साहले भने, ‘तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइन बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई किन अदृष्य शक्तिको संरक्षण दिइरहेको छ ?’
सांसदद्वय साह र प्रधानले आ–आफ्नो दलका तर्फबाट धारणा राखिसकेपछि रास्वपा र राप्रपा सदन बहिष्कार गर्दै बाहिरिए । उनीहरू बाहिरिएपछि सत्ता साझेदार कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे सदनमा आक्रामक रूपमा प्रस्तुत भए ।
‘संसद्मा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाका नाममा मानव तस्कर गरियो भन्ने । भिजिट भिसा भनेको के मानव तस्करी हो ?,’ प्रमुख सचेतक घिमिरेले प्रश्न गरे, ‘भिजिट भिसामा बाहिर कतै पनि नजाने मान्छे को हुनुहुन्छ यहाँ ? कुन सांसद हुनुहुन्छ ? यो के भन्न खोजेको हो ?’
उनले रास्वपा र राप्रपामाथि ‘गोयबल्स शैली’मा झुटो प्रचार गरेर जनतालाई दिग्भ्रमित पारिरहेको आरोप लगाए । घिमिरेले भिजिट भिसाका नाममा दुबै दलले प्रतिनिधिसभालाई दुरुपयोग गरिरहेको समेत आरोप लगाए ।

‘गोयबल्स शैलीमा झुटो कुरो प्रचार गरेर आम जनतालाई दिग्भ्रमित पार्ने र संसद्लाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ, यो बन्द हुनुपर्छ,’ घिमिरेले भने, ‘नेपाली कांग्रेसको गम्भीर आपत्ति छ, सभामुख महोदय यसमा । यो प्रथालाई अब अन्त्य गरिएन भने संसद्को गरिमा पनि रहँदैन, महत्व पनि रहँदैन ।’
प्रमुख सचेतक घिमिरेले रास्वपा र राप्रपालाई संसद्मा उभिएर अरुलाई गाली गरेर बाहिरिने प्रवृत्ति रोक्न सुझावसमेत दिए । उनले आगामी दिनमा पुरानै नियत दोहोर्याए प्रतिवादमा उत्रिने चेतावनी पनि दिए ।
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद ठाकुर गैरेले रास्वपा र राप्रपालाई संसद् अवरुद्ध गर्ने वा बहिष्कार गर्ने अभ्यासले जनताका समस्या समाधान नहुने बताए । दुवै दलहरूलाई उनले संवाद, प्रतिवाद र सहमतिको माध्यम संसद् नै भएको स्मरण गराए ।
सांसद गैरेले जनताले चिताएका परिवर्तनहरू संसद्भित्रैबाट अघि बढ्नुपर्ने धारणा राखे । ‘संसद् वाद गर्ने ठाउँ हो, प्रतिवाद गर्ने ठाउँ हो, संवाद गर्ने ठाउँ हो, निकास निकाल्ने ठाउँ हो,’ उनले भने, ‘तर अहिले हामी उल्टो दिशामा गइरहेका छौँ । नीति निर्माणको थलोलाई निरन्तर आरोप–प्रत्यारोप र अवरोधले घेरेर जनताको हित हुँदैन ।’

गैह्रैले सभामुखलाई लाञ्चछना लगाउने र प्रधानमन्त्रीलाई आरोप लगाउने शैलीमा संसद् चलाउनु स्वस्थ अभ्यास नभएको बताए । संसद् सबैको साझा थलो भएकाले प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उनको जोड थियो ।
सांसद गैरेले सदनमार्फत् जनताका जीवनसँग जोडिएका विधेयकहरू अघि बढाउन ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरे । शिक्षा विधेयक, निजामती सेवा विधेयक, प्रहरी सेवा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू सरोकारवालासँग प्रतिबद्धता जनाए पनि समयमै पास हुन नसकेको उनले स्मरण गराए ।
सोमबारको बैठकमा सांसदहरूले बहुविवाहलाई मान्यता दिने गरी कानुन बन्न लागेको विषयमा सरकारको जवाफ माग गरे । बैठकको आकस्मिक समयमा सांसदहरूले बहुविवाहसम्बन्धी सम्भावित कानुनी मस्यौदालाई लिएर सरकारको जवाफ माग गरेका हुन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक चर्चा र सञ्चारमाध्यममा आएका समाचारप्रति सांसदहरूले आपत्ति जनाए ।
एमाले सांसद सुनिता बरालले बहुविवाह गैरकानुनी भएको र यसलाई मान्यता दिने कुनै पनि प्रयासलाई अस्वीकार्य ठहर गर्दै संसद्मा सरकारको स्पष्ट जवाफ माग गरिन् ।

‘समाजमा महिलाहिंसाको दर उच्च छ । यस्तो संवेदनशील विषयमा कानुन निर्माणको प्रक्रिया गम्भीर र जिम्मेवार ढङ्गले हुनुपर्छ,’ उनले भनिन् ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)की सांसद रुपा सो.शी (चौधरी)ले बहुविवाहको विषयको सत्यताका बारेमा प्रश्न उठाइन् । ‘महिलाहरू आज पनि आफ्नो अधिकारका लागि संघर्षरत छन्,’ उनले भनिन्, ‘त्यही बेला बहुविवाहलाई वैधानिकता दिने विषय आउनु गम्भीर विषय हो ।’

कांग्रेस सांसद रमा कोइरालाले बहुविवाहसम्बन्धी कानुनी मस्यौदा संसद्मा आइनपुग्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चा हुनु आफैँमा चिन्ताको विषय भएको बताइन् । उनले विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रालयले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
बहुविवाहसम्बन्धी विवादसँगै सदनमा किसानका समस्या पनि प्रमुख रूपमा उठाइएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले तराई–मधेस क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गरिए पनि किसानहरूले राहत महसुस नगरेको बताए ।
‘सिँचाइ अभाव, पुराना डिप ट्युवबेल बिग्रिएर काम नलाग्ने हुनु, सिँचाइका लागि पर्याप्त विद्युत् पूर्वाधार अभाव, मलखाद अभावजस्ता समस्याले किसान बिचल्लीमा छन्,’ उनले भने ।
कांग्रेस सांसद इश्वरी न्यौपानेले सरकारले सहुलियतमा रासायनिक मल दिने भनिए पनि किसानको हातसम्म नपुगेको गुनासो गरिन् । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रञ्जुकुमारी झाले तराईलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको र यस वर्ष अन्न उत्पादनमा गिरावट आउने देखिएको बताइन् ।
तराई क्षेत्रमा पानीको अभाव हुन नदिने दीर्घकालीन समाधानका लागि चुरे संरक्षण र प्रभावकारी सिँचाइ आयोजना निर्माण जरुरी रहेको उनले बताइन् ।

एमाले सांसद ज्वालाकुमारी साहले वीर अस्पतालमा चिकित्सकको सेवा सुविधा अपुग रहेको, लामो समयदेखि दरबन्दी नबढेको र चिकित्सकहरू न्यून सेवा सुविधाको भरमा सेवा दिइरहेको विषय सदनमा उठाइन् ।
माओवादी केन्द्रका सांसदद्वय रामकुमार राई र सांसद ज्ञानु बस्नेत सुवेदीले सवारी दुर्घटनाको संख्या बढ्दै गएको विषयमा चिन्ता व्यक्त गर्दै सवारीसाधनको प्राविधिक परीक्षण र सडक सुधारको माग गरे ।
नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले बाराको सिमरा क्षेत्रका उद्योगहरूबाट निस्कने रासायनिक फोहरले स्वास्थ्य, पशुचौपाया र बालीमा असर पारिरहेको बताउँदै तत्काल व्यवस्थापनको माग गरे ।
एमाले सांसद विजुला रायमाझीले अर्घाखाँचीमा बाँदर र बँदेलले बाली नष्ट गरिरहेको विषय उठाउँदै यसको स्थायी समाधान खोज्न सदनमार्फत् सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया