कोशी नदीका सिकारी : आफ्नै नम्बरी जग्गामा बगेको कोशीबाट निकाल्छन् काठ-दाउरा | Khabarhub Khabarhub

कोशी नदीका सिकारी : आफ्नै नम्बरी जग्गामा बगेको कोशीबाट निकाल्छन् काठ-दाउरा


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

धरान – वीरबहादुर माझी (६०) वराहक्षेत्र-६ सुनसरी स्थित कोशी किनारका दहत्तर बहत्तर (दरियाबुर्ती) सिकारी । हिउँदमा डुङ्गा तार्ने, माछा मार्ने र बर्खामा कोशी नदीले बगाउँदै ल्याएका काठपात (दहत्तर बहत्तर) सङ्कलन गर्ने उनको मुख्य पेशा ।

दाउरा सङ्कलन गर्दै ५ किलोमिटर लामो डुङ्गाको यात्रा गर्दै ठाकुरबारी किनारमा आइपुगेका उनले वारिबाटै हातका इशाराले श्रीलङ्का टप्पु देखाए ।

‘बाउबाजेले जोडेको ४ बिघा जग्गा खायो, जातैले पाको कोशीकै कमाइ खाइरहेका छौँ,’ वीरबहादुरले भने, ‘दाउरा लकडी पनि खोज्ने, माछा पनि मार्ने, कोशीमै जन्मिएँ, कोशीमै जाने ।’

कोशी नदीलाई आफ्नो देउता, अन्नदाता, जिउने आधार मान्ने माझी समुदायका पाका वीरबहादुरले अरु पेशा जानेनन् । खुट्टा लाग्ने भएदेखि कोशीमै काम गरे । ‘छोरा देश विदेश छन्, यी आफू कोशीमै छु ।’ पृष्ठभूमिमा डुब्न लागेको घाम, घामको प्रकाशमा कोशीको बाफले इन्द्रेणी बनाउँदा वीरबहादुरको अट्टहास कोशीको आवाजमा मिसिइरहेको थियो ।

कोशीसँग पौंठेजोरी !

वीरबहादुर जस्तै कोशी नदीमा माझी समुदायका अधिकांश युवा बर्खामा दहत्तर बहत्तर सङ्कलन गर्छन् । माझी समुदाय मात्र होइन । कोशी नदीमा आश्रित चन्द्रवंशी, कविरथ, मण्डल, यादव, मुखिया, बहरदारलगायतका समुदाय व्यावसायिक रूपमै कोशीमा बग्दै आउने काठपात बटुल्छन् र बिक्री गर्छन् ।

कोशी नदीमा हरेक वर्ष आउने भेल बाढीले किनाराका मान्छेलाई विपदसँगै अवसरसमेत सिर्जना गर्छ । वराहक्षेत्र नगरपालिकाका खेती योग्य हजारौं बिघा जमिन कटानको मारमा पर्छ । बर्खामा यहाँका स्थानीय बाढीको त्रासमा बाँच्नुपर्छ । तर यही त्रासदीपूर्ण  भेल बाढीले वर्षभरिका लागि इन्धनको जोहो पनि गरिदिन्छ । व्यावसायिका लागि इलम बनिदिन्छ ।

बाढीमा बग्दै आएका दरियाबुर्ती अर्थात् काठपात दाउरा सङ्कलन स्थानीय विपन्न नागरिकको रोजीरोटीको बाटो बन्ने गरेको छ । त्यसो त यो भेलबाढीमा पौँठेजोरी खेल्दै काठपात मुढा सङ्कलन गर्नु मृत्युको मुखबाट गाँस खोस्नु जस्तै हो । यही भेलबाढीमा रोजगारी खोज्नेले ज्यान पनि गुमाउनु परेको दुःखद अवस्था पनि छ ।

बराहक्षेत्र मन्दिरदेखि कोशी ब्यारेजसम्म नदी किनारामा बसोबास गर्नेको बर्खाको दैनिकी काठ दाउरा सङ्कलन गर्दै बित्छ । यही काठदाउराले वर्षभर चुलो बल्छ । यही बग्दै आएको काठ दाउरा आर्थिक उपार्जनको माध्यम पनि बन्छ ।

विगत ४० वर्षदेखि कोशीमा दाउरा सङ्कलन गर्दै आएका वीरबहादुर माझीले यो साता दुई ट्याक्टर दाउरा सङ्कलन गरे । प्रति ट्याक्टर ७-८ हजार रुपैयाँसम्ममा काठदाउरा बिक्री हुने गरेको छ ।

कोशीले बगाउँदै ल्याएका दाउरा किनारामा ल्याउन सजिलो छैन । ६० कटेका वीरबहादुर यो उमेरमा जोखिम मोल्न चाहँदैनन् । उमेरमा बाकटे हानेरै ठुल्ठुला रूख पाखा लाउँथे । अब बर्खामा बसिबियाँलो मात्रै ।

बिहानै उनी किनारामा बाँधेको डुङ्गा फुकाउँछन् । कोशी नदीको एक चक्कर लगाउँछन् । पुनः किनारामा फर्किएर बग्दै आउने काठपात हेर्छन् । ठूला मुढा तान्न आँट पुगे प्रयास गर्छन्, नभए सानातिना मुढामै चित्त बुझाउँछन् ।

वीरबहादुर जस्तै राजाबासका भुजन मुखिया (५०) कोशी नदीका दहत्तर बहत्तर सिकारी हुन् । कोशीको भेलमा पौँठेजोरी खेल्दै काठ-दाउरा निकाल्छन् ।

दाउरा निकाल्ने तीसौं वर्षको अनुभव छ उनीसँग, कोशीमा बग्ने काठपात मात्र होइन, कोशी पनि आफ्नै नम्बरी हो भन्ने उनलाई लाग्छ । उनको १० बिघा जग्गाबाटै कोशी बगेको छ ।

१६ वर्षको उमेरदेखि उनी कोशी नदीबाट दाउरा निकाल्ने काम गर्दै आएका छन् । ज्यान माया मारेर जीविकोपार्जनका लागि काम गर्नु पर्ने उनी बताउँछन् । ‘कोशीमा दाउरा सङ्कलन गर्न सजिलो छैन । बग्दै आएका काठ सिला खोजेर नाउमा हाल्नुपर्छ । कतिबेला जोखिम हुन्छ ठेगान हुँदैन ।’ भुजन भन्छन्, ‘कोशीमा काम गरिरहन्छौ, बर्खामा मात्रै हो जोखिम हुने अचानक कोशी उर्लेर आयो भने छालले डुबायो भनेमात्र खतरा छ, अरुबेला केही डर छैन ।’

कयौँ पटक बर्खामा उनको नाउ डुबेको छ । बर्खामा काठपात सङ्कलनसँगै उनले तारघाट ठेक्का लिने काम समेत गर्दै आएका छन् । ‘पहाडतिर पहिरो गयो भने त दाउरा आउँछ, यसपालि बाढी पनि ठूलो आएन, दाउरा पनि धेरै भएन ।’ उनी भन्छन् ।

 दाउरा सङ्कलन गर्नेहरू भुजनसँगै १३ जनाको समूह छ । धेरै स्थानीय निजी खपतका लागि दाउरा सङ्कलन गर्छन् भने भुजनको समूह भने व्यवसायिक सङ्कलक हुन् । उनीहरू सङ्कलित दाउरा बिक्री गर्छन् । तीन वटा परम्परागत डुङ्गाको प्रयोग गर्दै उनीहरू काठदाउरा सङ्कलनको काममा लागेका छन् ।

कोशीका दहतर बहतर सङ्कलन गर्दा सरकार, वन, प्रहरी प्रशासन कसैको पनि हस्तक्षेप नरहेको भुजन बताउँछन् । ‘हामी राजस्व पनि तिर्दैनौँ, हाम्रो नम्बरी जग्गा हो ।’ कोशी नदीमा गाडिएका विद्युतको ठूला हाइटेन्सन लाइन औंल्याउँदै भुजन भन्छन्, ‘कसैको माइको दाल गल्दैन । त्यो पोल गाडिएको ठाउँमा मेरो १० बिघाको पलोट छ, नम्बरी ।’ 

आफ्नै नम्बरी जग्गामा कोशी कुदिरहेको दृढतापूर्वक बताउँदै भुजन भन्छन्, ‘बाउको पालाको जग्गा हो, बहीखाता सबै छ ।’

धेरैजसो उत्तिसका काठ बग्दै आउँछन् । काठदाउरा खरिद गर्ने मान्छे राजाबासमै आउँछन् । यो बर्खामा एक लाख रुपैयाँ सम्म कमाइ गर्ने भुजनको लक्ष्य छ ।

दहत्तर बहत्तर ठेक्कामा वनको हस्तक्षेप

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाउँपालिका तथा नगरपालिकाको अधिकार तोकेको छ । पालिकाको एकल अधिकार संविधानको अनुसूची-८ मा उल्लेख छ ।

ऐनको दफा ११ (६) ले ढुङ्गा, गिट्टी, बालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुङ्गा आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर सङ्कलन गर्न सक्ने अधिकार स्थानीय सरकारलाई दिएको छ ।

स्थानीय सरकार र प्रदेश सरकारको कानून बाझिँदा स्थानीय तहले राजस्वको दायरा बढाउन सकेका छैनन् । स्थानीय सरकारलाई दिइएको अधिकार प्रयोग गरी वराहक्षेत्र नगरपालिकाले आव २०७५-७६ र आव २०७६-७७ मा क्रमशः दहत्तर बहत्तर ठेक्का बापत ६७ हजार रुपैयाँ र ५० हजार रुपैयाँ सङ्कलन गरेको थियो ।

वराहक्षेत्र नगरपालिकाका लेखा अधिकृत वीरेन्द्र साहका अनुसार स्थानीय सरकार र प्रदेश सरकारको कानून बाझिएपछि नगरले दहत्तर बहत्तर ठेक्का लगाउन छाडेको छ ।

कोशी प्रदेश वन ऐनले ‘वन क्षेत्र’ भन्नाले निजी स्वामित्वको हक भोगको र प्रचलित कानूनले अन्यथा व्यवस्था गरेको बाहेकको वन सिमाना लगाइएको वा नलगाइएको वनले घेरिएको वा वन भित्र रहेको घाँसे मैदान, खर्क, हिउँले ढाकेको वा नढाकेको नाङ्गो पहाड, बाटो, पोखरी, ताल तलैया, सिमसार, नदी, खोलानाला, बगर, पर्ती वा ऐलानी जग्गाले ओगटेको क्षेत्र सम्झनुपर्छ सो शब्दले यस ऐन वा प्रचलित कानून बमोजिम वनक्षेत्रको रुपमा परिभाषित गरिएको क्षेत्र समेतलाई जनाउँछ ।’ 

प्रदेश वनको परिभाषा र वन कर्मचारीको हस्तक्षेपका कारण कोशीमा बगेर गएका काठपात भने स्थानीय सरकारको आम्दानीको बाटो बन्न सकेको छैन भने प्रदेश वन कार्यालयले समेत ठेक्का लगाउन सकेको छैन ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १२ : ४३ बजे

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी 

काठमाडौं– एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलबीच साझेदारी

‘डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी’

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन

सञ्चार मन्त्रालय भन्छ : निष्क्रिय गरिएका सामाजिक सञ्जाल सूचीकरण गराएमा खुल्छन्

काठमाडौँ- सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने निर्णय

रणवीर सिंहसहित डन ३ मा अमिताभ बच्चन र शाहरुख खानको सम्भावित प्रवेश

काठमाडौं– बलिउडका चर्चित निर्देशक फरहान अख्तरले निर्देशन गर्ने बहुप्रतिक्षित फिल्म

एडिबीको सहयोगमा बडिमालिकामा पदमार्ग निर्माण गरिँदै

दोधारा चाँदनी– सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र बडिमालिकामा एसियाली विकास