तरकारी खेतीबाट वार्षिक तीन लाख बचत « Khabarhub

तरकारी खेतीबाट वार्षिक तीन लाख बचत


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-८ नौखरीका किसान महादेव चौधरीले दुई दशकदेखि निरन्तर तरकारीखेतीमार्फत जीविकोपार्जन गर्दै आएका छन् । सामान्य लेखपढ गर्न पनि गरेका चौधरी अहिले गाउँका एक सफल व्यवसायिक किसानका रूपमा परिचित छन्। कमैया प्रथा अन्त्य भएसँगै सरकारले पुनःस्थापनाका क्रममा उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा उनले तरकारीखेती सुरु गरेका हुन्।

पछि थप १० कठ्ठा जग्गा भाडामा लिएर खेती विस्तार गरेको चौधरीले बताए। अहिले उनको बारीमा लौका, फर्सी, काँक्रो, करेलालगायत मौसमी तरकारी उत्पादन भइरहेका छन् । मौसमी तथा र बेमौसमी दुवै किसिमका तरकारीखेती हुने उनको भनाइ छ ।

चौधरीले काउली, गोलभेँडा, भण्टा, खुर्सानी, आलु, बोडीलगायत खेती गरिरहेको बताउँदै तरकारीका बेर्ना पनि बिक्री गरी आम्दानी लिइरहेको उल्लेख गरे। 

‘बाल्यकालमा जमिन्दारको बाख्रा र गोरु चराउन थालेँ, ठूला भएपछि कमैया बसेर हलो जोत्न थालेँ, विद्यालय कस्तो हुन्छ थाहै भएन’, उनले भने, ‘दातृ निकायले सञ्चालन गरेको कृषि तालिममा सहभागी हुने अवसर पाएपछि जीवनमा परिवर्तन आएको हो । तालिममा पाएको ज्ञानले तरकारीखेतीलाई व्यवस्थित रूपमा सुरु गरेको हुँ ।’

तरकारीखेतीबाट जीविकोपार्जन भइरहेको भन्दै उनले वार्षिक तीन लाख बचत हुने जनाए। चौधरीले यहीँ आम्दानीले परिवारको सम्पूर्ण खर्च सञ्चालन भइरहेको बताए। उनले भने, ‘जीविकोपार्जनका लागि अरुको मुख ताक्नुपरेको छैन, खेतीकै आम्दानीबाट सहज रूपमा परिवार पाल्न सकिएको छ ।’

कमैया बस्दा विवाह गरेका चौधरीलाई परिवार पाल्ने ठूलो चुनौती थियो । तरकारीखेतीलाई आधार बनाएर उनले जीवनलाई नयाँ मार्ग दिए। 

‘यसकै आम्दानीबाट पक्की घर निर्माण गरेका छौँ । छोराका लागि अटो खरिद गरेर दिएको छु । सोही अटोमार्फत बजारसम्म तरकारी ढुवानी गर्ने र भाडामा काम भइरहेको छ’, उनले भने।

खेतीका लागि चौधरीले सरकारबाट अनुदानमा पावरटिलर प्राप्त गरे। सिँचाइ सुविधा बढाउन बोरिङ राखेको बताउँदै उनले यसले खेती उत्पादनमा सहयोग पुगेको धारणा राखे । 

‘तरकारीखेतीमा मेहनत गरे पनि कहिलेकाहीँ भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्छ’, उनले भने, ‘भारतबाट सस्तो तरकारी आउँदा लागत पनि नउठ्ने गरी बेच्नुपर्ने अवस्था आउँछ ।’ यसले किसानलाई निरुत्साहित बनाउने गरेको उनको दुखेसो छ ।

अग्र्यानिक उत्पादनमा जोड दिएर बजारमा छुट्टै पहिचान कायम गर्ने लक्ष्य बनाएको चौधरीको भनाइ छ । उनलाई अहिले गाउँमा ‘मिहिनेती किसान’ भनेर चिन्छन् । उनी खेतीमा मात्रै सीमित नभई गाउँलेलाई आधुनिक कृषि पद्दति अपनाउन प्रेरित पनि गर्दै आएका छन् । 

स्थानीय  किसान विपदराम चौधरीले भने, ‘महादेवले गरेको मेहनत हामी सबैका लागि प्रेरणा हो । खेतीबाटै जीवन धान्न सकिन्छ भन्ने प्रेरणा उनबाटै लिएर हामी पनि तरकारीखेतीमा आबद्ध भएका छौँ ।’ 

दुई दशकअघि जमिन्दारको गोरु चराउने काममा सीमित रहेका चौधरी आज आफ्नो मेहनत, लगनशीलता र निरन्तरताले सफल व्यवसायिक किसान बनेका स्थानीय जगरनाथ चौधरीले बताए।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : ५५ बजे

हटेन रसुवागढीको हैरानी : नेपाली कन्टेनर चालकले चीन प्रवेश अनुमति पाएनन्

काठमाडौं- रसुवा नाका हुँदै चीनको केरुङबाट सामान ढुवानी गर्नेबारे नेपाल

निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न, केन्द्रीय परिचालन कमिटी माघ २२ मा बस्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक

निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादर मगरले स्वच्छ, निष्पक्ष र

मंगलबारबाट सक्रिय हुँदै रवि, पहिलो चरण चितवन जाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा