जनतालाई चामल चाहिएको छ, दर्शन ख्वाएर काम छैन : सुदन किराँती | Khabarhub Khabarhub

अन्तर्वार्ता

जनतालाई चामल चाहिएको छ, दर्शन ख्वाएर काम छैन : सुदन किराँती

पार्टी खोल्ने नाममा असली बुढाको पेडा पसल नबन्ने



काठमाडौं– सुदन किराँती नेकपा माओवादी केन्द्रका वैचारिक युवा नेताका रूपमा परिचित छन्। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईलाई २०७९ को निर्वाचनमा भोजपुरबाट हराउँदै सांसद भएका किराँती पहिलो पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए। किराँतीले सुरुवातदेखि नै माओवादी पुनर्गठन र पुस्तान्तरण हुनुपर्ने माग उठाउँदै आएका थिए । 

प्रचण्डले गरेका हरेक गल्तीमाथि खरो रूपमा उत्रिएर प्रतिवाद गर्ने गरेका किराँती जनार्दनका बलियो सारथि मानिन्छन्। माओवादीका तत्कालीन सचिव राम कार्कीका समेत विश्वासिला पात्र रहेका  किराँतीले नेकपा माओवादी केन्द्रसहित आठ दलले पार्टी एकता गर्ने विषयमा निरन्तर असहमति जनाउँदै आएका छन्। 

खबरहबसँगको कुराकानीमा उनी जनताले अस्वीकार गरेको प्रविधि रक्षाका निम्ति भएको एकता स्वीकार नभएको बताउँछन् । जनताले बुझ्ने मुद्दा भएको पार्टी निर्माण गर्ने बताउँदै माओवादी नेता प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत स्वार्थी समूहले गरेको गठजोडमा आफू कुनै पनि हालतमा सामेल नहुने, यो गठबन्धन नभएर विघटन भएको तर्क गर्छन् । 

माओवादी नै बनाएर जानुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामीलाई  बरमझियाको असली बुढाको पेडा पसल हुनु छैन । हामीलाई जनता र अहिले अहिले देशमा देखिएको राष्ट्रको समस्या समाधान गर्ने विचार शक्ति र अभियान चाहिएको छ, पार्टी दोस्रो कुरा हो ।’

किराँती पछिल्लो समय नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरूसँग छलफल भइरहेको स्वीकार गर्छन् । तर एउटै पार्टी बनाएर जाने अथवा नयाँ अभियान घोषणा गर्ने विषयमा भने  निर्णय भई नसकेको बताउँछन् । 

किराँतीसँग पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

पार्टी एकतामा विरोध जनाउँदै आउनुभएको छ, कसरी अगाडि बढ्नुहुन्छ ?

कुनै पनि हालतमा एकतामा जाँदैनौं । हामी किसान मजदुरको पक्षमा पार्टी पुनर्गठन गर्छौं ।

यो सुदनको घुर्क्याइ हो, दुईचार दिनपछि फर्कन्छ भन्दा रहेछन् नि ? 

मेरो लडाइँ एक आचरण बोली एउटा, व्यवहार अर्को होइन । यो प्रवृत्तिको विरुद्धमा निरन्तर लड्छु । मैले जे बोलिरहेको छु , रेकर्ड गर्नुहोला । मेरो व्यवहार त्यही हुन्छ । म कुनै पनि हालतमा अहिलेको अपरिपक्व  र पदको लागि गरेको एकतामा सामेल हुन्न । म बरु एक्लै लड्छु तर जनताको रगत पसिना खान्न ।  स्वार्थी बन्दिन । निरन्तर जनताको आवाज बन्नेछु । एकताका नाममा जनतालाई झुक्क्याउने खेलमा सामेल हुन्न ।

यहाँ, जनार्दन शर्मा, राम कार्की एउटै बाटोमा हुनुहुन्छ हैन ?

अहिलेको समय नेपालीको सबैभन्दा ठूलो साझा शत्रु गरिबी, भ्रष्टाचार र अशिक्षालाई मानेर निर्क्योल गर्ने समय हो जस्तो लाग्छ । उनीहरू पनि हामीसँग रहन्छन् ।

माथिका तीन नेता जुनसुकै परिस्थितिमा सँगै रहन्छन् भनेर कसरी भन्न सक्नुहुन्छ ?

म फरक छैन । तर उहाँले हामीले उठाएका मुद्दालाई ओझेल पार्न खोज्नुभयो भने ठिक हुँदैन । मुद्दामा अहिलेसम्म हाम्रो लय मिलेको छ । बुद्धि ज्ञान आर्जन गरेर देशको लागि सेवा गर्छु भनेर बसेका सबै व्यक्तिहरू यो अभियानमा सरिक हुनुहुनेछ । यसैका निम्ति अपिल पनि गर्छु ।

एकीकृत समाजवादीबाट असन्तुष्ट पक्ष घनश्याम भुसाल, नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवसँग पनि कुरा भइरहेको छ ?

हो । मुद्दा  मिल्ने जति सबैसँग छलफल भएको छ । एकता पनि हुन  सक्छ । तर जसरी बाहिर एकता भयो भनेर  प्रचार भएको छ, त्यो होइन । कुरा मात्र भएको छ । उहाँहरू पनि हामीसँग सकारात्मक हुनुहुन्छ । हामी पनि सकारात्मक छौँ । तर जनताले बुझ्ने मुद्दा हुनुपर्छ । 

जनताको आवश्यकताको मुद्दा हुनुपर्छ । जनतालाई चामल चाहिएको छ । हामी दर्शन खुवाएर हिँड्ने पार्टी जनताले चाहँदैनन् , मन पराउँदैनन् । हामीले यस्तो चाहेको पनि होइन । आजबाट ढोका खुलेको छ । संवाद जारी छ । विचार मिल्ने सबै मिलाएर दिशामा जान्छौँ ।

आठ वटा पार्टी मिल्नु त राम्रो कुरा होइन र, किन विरोधमा उत्रिनु भएको ? 

कुन आठ पार्टी ? मैले त दलको नाम पनि त्यही विज्ञप्तिमा पढेँ ।  रातारात पार्टी गठन गरेर आठ वटा बनाए कि ? नेपाली समाजमा गतिविधि गरेको भए त चिनिनु पर्ने हो आठ दल । यो एकता, विचार, राजनीति, नीति,कार्यक्रम, संगठन शैलीमा एकता होइन । यो एकता जनताले अस्वीकार गरेको तत्त्व प्रवृत्ति रक्षा कवचको निम्ति भएको हो । 

स्वार्थ समूहले गराएको एकता र स्वार्थ समूहको गराएको गठजोड भएकाले यो एकता होइन विघटन हो । पद र स्वार्थ अनि जनता झुक्क्याउन गरेको एकतामा हामी नजाने हो। अब जनता झुक्क्याउन सम्भव छैन । उनीहरू सचेत भएका छन् ।

यहाँहरू सबैलाई सामेल गराउन गर्नुपर्ने के हो ?

यो एकता रोकेर पार्टीलाई जनताको भावनाको आधारमा रूपान्तरण गर्ने । आफूले गल्ती गरेको घटनाप्रति जनतासँग माफी माग्ने र जीवनशैलीदेखि हाम्रो संगठन हाम्रो कार्यक्रम विचारमा नै हामी रूपान्तरित भएको सन्देश दिन सक्ने स्थितिमा मात्र त्यहाँ सोच्न सकिन्छ । हामी अहिले पनि जहाँको त्यहीँ छौँ । छोडेर उहाँहरू जानुभएको हो । हामी पुरानै ठाउँमा छौँ ।

माओवादी पार्टी नै अगाडि बढाउने हो ?

हामी छलफलमा छौँ । सम्पूर्ण प्रगतिशील शक्तिहरू राष्ट्रिय अभियानमा जोडिनुपर्छ । हाम्रो शत्रु गरिबी, भ्रष्टाचार र शिक्षालाई बनाउनुपर्छ ।

अन्तिममा ठ्याकै भन्दा नयाँ पार्टी आउँछ कि माओवादी नै अगाडि बढ्छ  ? 

अब हामीलाई बरमझियाको असली बुढो बाजेको पेडा पसल हो भनेर एक सय २५ वटा पार्टीमा २६ वटा थप्नु छैन । हामीलाई जनता र अहिले देखिएको राष्ट्रको समस्यालाई समाधान गर्ने विचार शक्ति र अभियान चाहिएको छ । पार्टी दोस्रो विषय हो । 

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ४ : ०३ बजे

तोडफोड र आगजनीमा आफ्ना सदस्यको संलग्नता प्रमाणित भए एमालेले कारबाही गर्ने

काठमाडौं- नेकपा एमालेले गएको भदौ २३ र २४ गतेको जेनजी

एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर सार्वजनिक

काठमाडौँ- एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका