काठमाडौं – नेवार समुदायको परम्परागत संस्कृतिमा योमरी पुन्ही एक विशेष पर्वको रूपमा मानिन्छ। विशेष गरी खेती गर्ने ज्यापु समुदायले नयाँ अन्नको उपभोग गर्नको लागि यस दिनलाई शुभ साइत मान्ने गर्छन्। यस पर्वलाई नयाँ अन्न न्वागीका लागि सुरु गर्ने पूर्णिमाका दिनको रूपमा पनि लिइन्छ। योमरी पुन्ही नेपाल संवत्का अनुसार नयाँ वर्षको दोस्रो महिना थिंलाको पहिलो पूर्णिमामा अर्थात् धान्यपूर्णिमाका दिन मनाइन्छ।
यस दिन नेवार समुदायले योमरीलाई कुवेर, अन्नपूर्णदेवी र गणेशको प्रतीक मान्दै पूजा गर्ने परम्परा छ। धान, अन्नका भकारीमा योमरी चढाइएपछि त्यसलाई प्रसादको रूपमा खानाले घरमा अन्नको अभाव नहुने विश्वास छ। योमरी बनाउँदा कुवेर, गणेश, लक्ष्मी, महादेव, पार्वती, ज्यापु र ज्यापुनीको आकृति बनाई अन्नका भकारी, ढुकुटी र भण्डार कोठामा राखेर मात्र खाने चलन छ। योमरी बनाउँदा नाङ्लो, सुकुन्दा, कुचो, पानस, कछुवा आदि मूर्ति र सानो सानो पात आकारको योमरी बनाएर पूजा गरी चढाउने गरिन्छ ।
योमरी बनाउँदा कुवेर, गणेश, लक्ष्मी, महादेव, पार्वती, ज्यापु र ज्यापुनीको आकृति बनाई अन्नका भकारी, ढुकुटी र भण्डार कोठामा राखेर मात्र खाने चलन छ।
योमरी पुन्हीको दिन छोटो दिनको अन्त्य र लामो दिनको सुरुवातको संकेतका रूपमा पनि लिइन्छ। नेवार संस्कृतिमा यस दिन विभिन्न देवीदेवताको पूजाआराधना गरिन्छ र यसले धन, सम्पत्ति र बुद्धि प्राप्त हुने विश्वास रहेको छ।
योमरीको महत्त्व
नेपाल भाषामा यु को अर्थ मनपर्ने र मरि को अर्थ रोटी हुन्छ। यसमा चामलको पिठो, चाकु, तिल र घिउ प्रयोग हुने हुँदा स्वादमा विशेषता आउँछ। यसलाई पञ्चतत्त्वको प्रतीकका रूपमा पनि लिने परम्परा छ। चामलको पिठोलाई धरती, चाकुलाई अग्नि, पानीलाइ जल, खाली ठाउँलाई आकाश, र तिललाई वायुको रूपमा लिइन्छ।
योमरी नेवार समुदायमा जन्म संस्कृतिसँग पनि जोडिएको छ। बालबालिकाको सुस्वास्थ्य र दीर्घायुको कामनामा यसलाई सगुनका रूपमा खुवाइन्छ। १२ वर्षभन्दा कम उमेरका बच्चाको जन्मदिनमा योमरीको माला लगाएर पूजा गर्ने चलन छ। जोडी वर्षमा जन्मदिन मनाउँदा योमरी अनिवार्य हुन्छ। नेवार समुदायमा गर्भवती छोरीलाई माइतीबाट दही, चिउरा खुवाउन जाँदा १०८ वटा योमरी सगुनका रूपमा लैजाने परम्परा छ।
नयाँ मन्दिर वा घर बनाउँदा योमरी अनिवार्य मानिन्छ । मन्दिरमा नयाँ ध्वजापताका चढाउँदा धुरीबाट पूजा गरेर योमरी खसाल्ने चलन अझै छ। आजकाल योमरी पर्व मुख्यतः खुसियाली र मीठो खाने उद्देश्यले मनाइन्छ। यसलाई ज्यापु दिवस मात्र होइन, कृषकहरूको दिवसको रूपमा पनि लिने उपयुक्त हुन्छ।
नयाँ मन्दिर वा घर बनाउँदा योमरी अनिवार्य मानिन्छ । मन्दिरमा नयाँ ध्वजापताका चढाउँदा धुरीबाट पूजा गरेर योमरी खसाल्ने चलन अझै छ।
कसरी बनाउने योमरी ?
सबैभन्दा पहिले नयाँ धानको चामलबाट पिठो बनाइन्छ। गिलो डल्लो तयार गरेपछि त्यसमा चाकु वा सक्खरको मिश्रण तयार गरिन्छ। चाकुमा तिल मिसाएर घिउसहित पकाइन्छ। गिलो पिठोको डल्लोलाई प्वाल पारेर भित्र चाकु र खुवा राखेर बन्द गरिन्छ। खुवाको योमरी बनाउँदा पिठोको डल्लोमा दूधबाट बनाइएको खुवा राखिन्छ। तयार योमरीलाई उमालेको पानीको बाफमा करिब १० मिनेट पकाएर खाने गरिन्छ।
सांस्कृतिक मनोरञ्जन, देउसी–भैलो र गीत
यःमरि पुन्ही अर्थात् धान्य पूर्णिमाको साँझ नेवारी समुदायका टोल टोलमा देउसी, भैलो खेले जसरी केटाकेटी, युवायुवती जम्मा भएर योमरी माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो। योमरी माग्ने गीत निकै चर्चित छ :
थाबले यागु यःमरी छग ति स्य
व्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
न्यग व्यूसा काय् वुई छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूम्ह ल्यासेचा, मव्यूम्ह बुरीचा
कुरी कुरी
नेपालीमा भन्नु पर्दा : दुई माना देऊ, चार माना देऊ, यस वर्षको योमरी एउटा देऊ, दिएमा तरुनी नदिएमा सितीकुती, दुईवटा दिए छोरा, एउटा दिए छोरी जन्मिन्छ, जसरी दिए पनि चुली पारेर देऊ, योमरी मीठो त्यसभित्र चाकु दिए तरुनी, नदिए बूढी, कुरी कुरी।
योमरी पुन्हीसँग सम्बन्धित मिथक
योमरी पुन्हीसँग सम्बन्धित नेवारी समुदायमा एउटा ऐतिहासिक मिथक छ । जसअनुसार पाञ्चाल देशमा सुचन्द्र नाम गरेका महाजन सपरिवार व्यापार कर्म गरी बस्दथे। उनीहरू निकै धनी, दानी र उपकारी थिए । एक पटक धनसम्पत्तिका देवता मानिने कुवेरलाई ती सम्पत्तिको परोपकार र दान, धर्म प्रतिको विश्वास जाँच्न मन लागेछ ।
कुवेरले आफ्नो रूप परिवर्तन गरेर दुखी र दरिद्रको भेषमा सुचन्द्रको घरमा परीक्षा लिन गएछन् । उनले त्यस घरमा गएर भिक्षा माग्न थालेछन्। आँगनमा दीन हीन अवस्थाको एउटा मानिस आएर भिक्षा मागेको देखेपछि सुचन्द्रकी पत्नीमा दया जागेछ ।
उनले मीठा मीठा खानेकुरो दिएर त्यस भिखारीको निकै स्वागत सत्कार गरिन्। यो व्यवहारबाट प्रसन्न भएर कुवेरले आफ्नो सक्कली रूपको दर्शन दिएछन्। सुचन्द्रकी पत्नीलाई ज्ञान प्रदान गरेर अन्त ध्यान भएछन् ।
धनका देवता कुवेरले प्रदान गरेको सद्बुद्धि र अर्तीअनुसार सुचन्द्रकी पत्नीले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको योमरी बनाउन सिकिन् । उनले योमरीकै कुवेर बनाई अन्न राख्ने भकारीभित्र राखिछन् ।
अनि कुवेरले प्रदान गरेको बिमिरोलाई पनि त्यहीँ विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गरिन् । त्यसपछि उनले अन्न, धन र यःमरि दान गरिन्। यसरी कुवेरको आराधना र पूजा गरेकाले त्यसको प्रभावले सुचन्द्रको घरमा धनसम्पत्तिको वृद्धि हुन गएको किंवदन्ती छ। त्यसै बेलादेखि धान्यपूर्णिमाका दिन यामरि बनाएर कुवेर र लक्ष्मीको पूजा गरी पर्व मनाउने चलन चलेको विश्वास नेवारी समुदायमा छ ।
ज्यापू दिवस : उपत्यकाका श्रम, पहिचान र इतिहासको सम्मान
योमरी पुन्हीको दिन ज्यापू दिवस पनि मनाइछ। ज्यापू दिवस काठमाडौं उपत्यकाका परम्परागत कृषक समुदाय ज्यापूहरूको श्रम, मिहिनेत र सांस्कृतिक पहिचानको सम्मानमा मनाइन्छ। यस पर्वलाई नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बिउँ भन्ने अर्थमा व्याख्या गरिएको छ, जसले देखाउँछ कि निरन्तर खेती–किसानीमा संलग्न हुने परिश्रमी र मिहिनेती जीवन शैली नै ज्यापू संस्कृतिको आधार हो।
ज्यापू संस्कृतिको संरक्षण र प्रोत्साहनका लागि विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो।
ज्यापू संस्कृतिको संरक्षण र प्रोत्साहनका लागि विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो। त्यसपछि प्रत्येक वर्ष नेवार समुदायका मानिसहरू यस दिन आफ्नो टोल–टोलबाट धिमे, झ्याली, बासुरी जस्ता परम्परागत बाजासहित र्याली निकाल्छन्। उनीहरूले आफ्नो परम्परागत भेष–भूषामा सजिएर गाउँ–सहरमा र्यालीमा सहभागिता जनाउँछन्, जसले समुदायको ऐतिहासिक योगदान, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई प्रस्ट देखाउँछ।
ज्यापू दिवस केवल उत्सव मात्र होइन । यो कृषक जीवनशैली, परिश्रम र सांस्कृतिक धरोहरलाई नयाँ पुस्तासम्म पुर्याउने अवसर हो। यसले उपत्यकाका किसान समुदायको योगदानलाई सम्मान गर्दै, समाजमा पहिचान र गौरवको अनुभूति जगाउँछ।













प्रतिक्रिया