धनगढी– सुदूरपश्चिममा शुक्रबार एकै दिन प्रहरीले १३ जना युवालाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले सुदूरपश्चिमको तीन जिल्ला उनीहरूलाई पक्राउ गरेको हो ।
कैलालीबाट १० जना, कञ्चनपुरबाट १ जना र डडेलधुराबाट २ जना गरी १३ जनालाई एकै दिन लागूऔषधसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिएका छन् ।
खराब संगत र परिवारको बेवास्ताका कारण लागूऔषधको दलदलमा युवाहरू फस्दै गएको जानकारहरू बताउँछन् । एकै दिन १३ जना युवाहरू पक्राउ पर्नु राम्रो सन्देश नभएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम त्यसैमा कैलाली र कञ्चनपुर लागूऔषधको अखडा बन्दै गएको देखिन्छ ।
खुला सिमानाका र भारतीय बजारको प्रभाव प्रमुख कारण देखिए पनि युवाहरूमा बढ्दो तनाव, बेरोजगार समस्या र खराब संगतले भूमिका खेलेको छ । साउन यता ६ महिनाको अवधिमा मात्रै ४ सय ३४ जना युवाहरू लागूऔषधमा संलग्न भएकै कारण पक्राउ परेका छन् । भने यी मध्ये २ सय ९१ जनाले मुद्दा खेपिरहेका छन् ।
पक्राउ परेकामध्ये सबैभन्दा बढी कैलालीका छन् । कञ्चनपुर र दार्चुलामा पनि बढी देखिन्छन् । यी तीनवटै भारतसँग जोडिएका जिल्ला हुन् । ६ महिनाको अवधिमा कैलालीमा मात्रै २ सय ९८ जना पक्राउ परेका छन् । कञ्चनपुरमा ९२ जना र दार्चुलामा १६ जना छन् ।
त्यसपछि क्रमशः डडेलधुरा ७ जना, अछाम ६ जना, बैतडी ६ जना, बाजुरा ५ जना, बझाङ ४ जना पक्राउ परेका छन् । डोटीमा भने लागूऔषधकै कारण कोही पक्राउ परेको तथ्यांक प्रदेश प्रहरी कार्यालयसँग छैन ।
पक्राउ परेकामध्ये अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका रहेको प्रहरीले बताएको छ । विद्यालय उमेर समूहका युवाहरू नै बढी संलग्न देखिएको प्रहरी उपरीक्षक कार्कीले बताएका छन् । पक्राउ परेका २२ जना महिला छन् । जसमा एकजना भारतीय नागरिक पनि छन् ।
गत वर्षको तुलनामा यो वर्ष लागुऔषध ओसारपसार बढ्दो क्रममा देखिएको छ । गत वर्ष १२ महिनाको अवधिमा ७ सय ९६ जना पक्राउ गरिएकामध्ये ५ सय ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
पक्राउ पर्नेहरूबाट चरेश, गाँजा र हेरोइन बरामद हुने गरेको प्रहरी विवरणमा छ । सुदूरपश्चिमका पहाडी जिल्लामा चरेश र गाँजा बोकेका युवाहरू बढी पक्राउ पर्ने गरेका छन् । तराईका जिल्लामा हेरोइन भेटिने गरेको छ । यो सबै भारतबाटै निर्यात हुने गरेको प्रहरी उपरीक्षक नवराज कार्कीले बताएका छन् । खुलानाका प्रमुख समस्या भए पनि परिवारको नियन्त्रण बाहिरका युवाहरूले जोखिम निम्त्याएको देखिन्छ ।
प्रहरीले ६ महिनाको अवधिमा ५६ किलो गाँजा, ३ सय ५७ ग्राह चरेश र ४ सय ९८ ग्राम हिरोइन बरामद गरेको छ । बाजुरा जिल्लामा समेत भारतबाट लुकाएर लिएको खैरो हिरोइनसहित १ जना माथि मुद्दा चलिरहेको छ । लागूऔषधमा संलग्न युवाहरूले आफूसँगै आफन्त, नजिकका साथीलाई समेत खुवाएर र लत बसाई जीवन बर्बाद पार्ने गरेको देखिन्छ ।
सामाजिक रूपमा सबैको साथ र सहयोगले मात्र कुलतमा लागेकालाई सही बाटोमा ल्याउन सकिने प्रहरी अधिकारीहरू बताउँछन् । ‘यो दिनप्रतिदिन बढिरहेको देखिन्छ, नियन्त्रणमा प्रहरी एक्लैको प्रयास मात्रै सम्भव छैन, समाज, परिवार र सबै जिम्मेवार हुनु पर्छ’, प्रहरी उपरीक्षक नवराज कार्की भन्छन् ।
युवा पक्राउको क्रमलाई हेर्दा सुदूरपश्चिम लागूऔषध प्रयोगकर्ता र कारोबारीको हटस्पट बन्दै गएको छ । विशेषगरी कैलाली र कञ्चनपुरमा लागुऔषध प्रयोगकर्ता र कारोबारी बढिरहेका छन् । सुदूर पहाडमा पनि यसको प्रभाव उत्तिकै छ । तर यसको नियन्त्रणमा प्रहरी सफल हुन सकेको छैन ।
उसो त कानुनी अड्चन पनि छ । लागूऔषधसम्बन्धी कानुनले प्रयोगकर्तालाई बढीमा ९० दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । त्यसपछि सुधार केन्द्र पठाउनुपर्ने प्रावधान भए पनि नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको देखिँदैन । यता सबै प्रयोगकर्ता सुधार केन्द्रमा जाने गरेका छैनन् ।
प्रहरी नियन्त्रणबाट छुटेकाहरू पुनः लागूऔषध प्रयोगमा नै संलग्न हुन थालेपछि नियन्त्रणमा चुनौती देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
विशेष गरी खैरो हेरोइन, नाइट्रभेट लगायतका लागूऔषध भारतबाट आयात हुने गरेका छन् । गाँजा र चरेश नेपालकै बाजुरा, बझाङ, दार्चुला लगायत जिल्लामा पाइने गरेको छ ।
लागुऔषधकै कारण धेरैका परिवार भत्किएका, घरबार बिग्रिएका र पारिवारिक रूपमा तनाव बढेको अवस्था छ । केही गर्ने जोश जाँगर भएकै युवाहरूले भविष्य बर्बाद पारिरहेका छन् । लागूऔषधको लत बसेपछि छुटाउनै मुस्किल पर्ने भएकाले धन र स्वास्थ्य दुवैमा असर परेको छ ।
प्रतिक्रिया