बिराटनगर- नेकपा एमालेसँग सम्बन्ध विच्छेद भएका डा. भीम रावल दुई दिनयता ‘मातृभूमि जागरण अभियान’ लिएर मोरङ–सुनसरीको भ्रमणमा निस्किए । यसक्रममा राजावादीले रावलसँग गरेको भेटलाई लिएर काठमाडौंमा पनि यो विषयले चर्चा पायो । बिराटनगरमा दुर्गा प्रसाईका कार्यकर्ताबाट स्वागत ग्रहण गरेका रावलले इटहरीमा ‘राजावादी’हरूसँग थप भेटघाट गरे ।
एमालेका पूर्वनेता रावलले आफ्नो अभियानमा राजावादीहरूलाई पनि समेट्न लागेका हुन् त ? यस्तो प्रश्न गर्दा रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामा राजेन्द्र लिङदेनका लागि हलोमा भोट मागेको प्रशंग कोट्याए । रावलले अगाडि भने, ‘केपी ओलीजीले, जतिबेला हामी गणतन्त्रको आन्दोलन गर्दै थियौं, तुलसी गिरीसँग गोप्य बार्ता गरेर हिँडेको होइन ?’
आफ्नो देशभक्तिपूर्ण आन्दोलनमा जुनसुकै वादीले साथ दिए पनि त्यसलाई अन्यथा भन्न नमिल्ने रावलको तर्क छ ।
यसै सन्दर्भमा बिराटनगरबाट खबरहबका लागि ध्रुव भट्टराईले रावलसँग गरेको कुराकानीको सम्पादित अंश पढौं–
एमालेबाट बाहिरिएपछि अहिले कस्तो महसुस गरिरहनुभएको छ ?
एमालेमा मैले पाँच दशकको अवधिमा यो पार्टीको विस्तार, संरक्षणमा विभिन्न भूमिकामा महत्वपूर्ण काम गरेँ । उल्टो मलाई निरंकुश शैलीमा सदस्यबाट निष्काशन गरियो । मलाई के महशुस भयो भने नेकपा एमालेको नेतृत्वमा जुन मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद भन्ने थियो, त्यसको रंग उडेछ । र, यो पूर्णरुपमा बाको मात्र वा बामालेमा परिणत भएछ भन्ने लाग्यो । यसबाट मलाई दुःखपनि लाग्यो।
एमालेले त तपाईंले लगाएको आरोपलाई माओवादी अध्यक्षको कपीपेष्ट भनेको छ नि
यो हास्यास्पद तर्क हो । जतिबेला प्रचण्डजी र केपी शर्मा ओलीले एकअर्काविरुद्ध आरोप–प्रत्यारोप गरेको स्थिति थियो, त्यो पछिका त मैले दर्जनौं घटना देखेको छु । पहिला बोलेको कुरा कपी–पेष्ट भयो भन्नु योभन्दा हास्यास्पद तर्क के हुन्छ ? किन यस्तो तर्क आयो भने मैले यति अकाट्य तथ्यहरू अघि सारेको छु,उहाँहरुले त्यसको कुनै जवाफ दिन सक्ने स्थिति छैन ।
देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गर्नु भएको छ, त्यो भनेको के हो ?
यो भनेको नेपालको संविधानमा नेपाललाई राष्ट्रिय हितलाई सर्बोपरी राख्ने कुरा हो । कम्युनिष्ट पार्टीले २००६ सालदेखि एउटा स्वाधीन र स्वतन्त्र निर्णय गर्नेदेखि सीमा रक्षा गर्ने, राष्ट्रिय अर्थतन्त्र राष्ट्रिय संस्कृतिको रक्षा गर्दै जनताको हकहितका लागि काम गर्ने जुन घोषित नीतिहरू लिएको थियो, त्यसलाई कार्यान्वय गर्ने कुरा हो । अरु देशले जसरी आफ्नो सार्वभौम सत्ताको संरक्षण गर्दै मुलुकको हितका लागि काम गर्छन्, हामीले पनि त्यही गर्नुपर्छ भन्ने हो ।
‘मातृभूमि जागरण अभियान’को शिलशिलामा पूर्व आउनुभएको छ । मोरङ र सुनसरीको दुई दिने बसाइका क्रममा तपाईले राजवादीहरूसँग पनि भेट गर्नुभयो ? यसलाई कसरी बुझ्ने ? राजावादीलाई समेत जोडेर वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयास गर्न खोज्नु भएको हो ?
गणतन्त्र नभई राजतन्त्रको वकालत गरिरहेकासँग तपाईको विचार मिल्छ ?
तपाईंले कुन विचार सोध्नुभयो ? विचार त धेरै हुन्छन । तर, म के कुरासँग सहमत हुन्छु भने यो देशको सार्वभौम सत्तालाई बलियो बनाउने, भ्रष्टाचारीहरूलाई कार्बाही गर्ने, देशको स्वतन्त्रतालाई बलियो बनाउने, जनताको आर्थिक स्थितिलाई माथि उठाउने, जनताको हित र अधिकारलाई बलियो बनाउने, यी कुराहरू जसले गरे पनि हामीले नमानु पर्ने के छ र ?
हिजो ०५१/०५२ को बेला मनमोहन अधिकारीले तत्कालीन राजा वीरेन्द्रका अगाडि लगेर सपथ लिएको हैन ? केपी ओलीले गृहमन्त्री हुँदा सपथ गरेको हैन ? अनि केपी ओलीजीले जतिबेला हामी गणतन्त्रको आन्दोलन गर्दै थियौं, तुलसी गिरीसँग गोप्य बार्ता गरेर हिँडेको होइन ? हामीले त्यस्तो गरेका छौँ र ?
त्यसकारण, जब मातृभूमि जागरण अभियान सशक्त रुपमा अगाडि बढाएपछि सबै पार्टीका देशभक्तहरू यहाँ जोडिन्छन् कि भनेर डरले गरेको कुप्रचार हो, यसको कुनै पनि अर्थ छैन ।
तपाईं एकीकृत समाजवादीका नेताहरूसँग पनि हिँड्नु हुन्छ, राजवादीसँग पनि भेट्नुहुन्छ, यो कस्तो अभियान हो तपाईको ? के सन्देश दिन खोज्नुभएको हो ?
होइन, अघि नै मैले भनेँ नि तपाईंलाई, नेपाली कांग्रेसदेखि नेकपा एमाले सबै पार्टीका हेर्नुहोस् न, व्यक्तिगत रुपमा त उहाँहरूले पनि राजावादीहरूसँग संगत गरेको तथ्य दिइसकें मैले । अब हिजो को राजावादी थियो, को के समाजवादी थियो भन्ने कुरा त भएन नि । जसले पनि म देशभक्त हो, म तपाईको अभियानमा तपाईसँग निकट छु भनेपछि त उहाँहरू देशभक्त मान्छेहरूसँग मैले संगत नगर्नु भन्ने के छ र ? कोही मान्छे तपाईको विचार मान्दैनौँ, मेरो विचार मान्नुपर्छ भनेर त आएका छैनन् नि । तपाईले जुन देशभक्तिको झण्डा उठाउनुभएको छ, जुन विगतको पृष्टभूमि छ, त्यो राम्रो छ, हामी साथ दिन्छौं भनेपछि नेपाली जनता कसैको छाप लागेका हुन्छन् र ?
शनिबार इटहरीमा राजावादी निकटहरूसँगको भेटमा तपाईले ०६२/०६३ को आन्दोलनमा गणतन्त्र, धर्मनिरपेक्षताको एजेण्डा थिएन भन्नुभयो । त्यसो भए यी एजेण्डा कसले घुसायो त ?
हो, यो थिएन । म त आन्दोलनकारी हो नि । त्यतिबेला के थियो भने जुन प्रकारको शासन थोपरिएको थियो, त्यसलाई हटाउने र पहिलेजस्तै सामान्य अवस्थाको शासन प्रणाली पुनःस्थापना गर्ने भन्ने थियो । तर, पछि गएर आन्दोलनले गति लियो र यी कुराहरू पछि थपिएका हुन् । यो सबैलाई थाहा छँदैछ ।
संघीयताको कुरा यस्तै थियो । गिरिजाप्रसाद कोइरालाले त्यतिबेला मधेशी जनअधिकार फोरमसँग सम्झौता गरेको त प्रष्टै देखिन्छ । त्यतिबेला जो व्यक्ति प्रधानमन्त्री थिए, जो पार्टीका प्रमुखहरू थिए, उनैले निर्णय गर्न सक्थे । अरु कसले गणतन्त्र, धर्मनिरपेक्षताको एजेण्डा घुसाउँछन् ? त्यो त उनीहरूले नै घुसाए । अरुको हातमा त अधिकार नै थिएन नि ।
०६२/०६३ आन्दोलन चलिरहँदा माओवादीको चाहिँ गणतन्त्र, धर्मनिरपेक्षताको एजेण्डा थियो । तर, जो शान्तिपूर्ण आन्दोलनमा थिए, नेकपा एमाले लगायतका पार्टीहरूको कार्यसूचीमा त्यो थिएन ।
तपाईं अभियानको शिलशिलामा देश दौडाहामा हुनुहुन्छ, नयाँ पार्टी ०८४ अघि नै खोल्ने हो ?
मैले अहिले मेची–महाकाली अभियान गरेको होइन । यो अभियानले झट्ट हेर्दा त्यो अर्थ पनि दिन्छ । मेचीबाट शुरु गरेर हिँड्दै गरेको भन्ने होला, त्यस्तो हैन । जहाँ–जहाँ मानिसहरूलाई संगठित गर्न पर्छ, जहाँ–जहाँ साथीहरूले तयारी गर्नुहुन्छ, त्यहाँ बैठक गर्नुपर्ने हुन्छ । जहाँ–जहाँ मानिसलाई तत्काल अभियानमा जोडनुपर्ने हुन्छ, त्यहाँ– त्यहाँ जाने हो ।
दोस्रो कुरा– जहाँसम्म आगामी निर्वाचनको कुरा छ, यो देशको राजनीति अहिलेकै अवस्थामा रह्यो भने स्थानीय चुनावदेखि आम निर्वाचनसम्म एउटा सशक्त विकल्प दिनुपर्छ भन्ने मेरो कुरा हो ।
पार्टीको कुरा गर्ने तर जनताले कहाँ मत हाल्ने स्पष्ट नै नहुने, एउटालाई हाल्यो, स्वतः अर्कोलाई जाने, यसरी संविधानको भावना विपरीत जुन राजनीतिक दलका नेताहरूले गलत काम गरिरहेका छन्, तिनीहरूका विरुद्ध सशक्त विकल्प स्थानीय र आम निर्वाचनमा पनि दिनुपर्छ भन्ने मेरो मान्यता हो । देशभरिका देशभक्त जन समुदायहरूले साथ दिएर एउटा सशक्त शक्ति निर्माण गर्यो भने त्यसले देशलाई विकल्प दिन्छ र चुनावमा पनि जान सकिन्छ ।
को हुनुहुँदो रहेछ राजावादी पक्ष ? मलाई त थाहा नै भएन । म त यहाँ (बिराटनगर) आएँ, यहाँ आएपछि कोही नेपाल कम्युनिष्टपार्टी एकीकृत समाजवादीका साथीहरू हुनुहुन्छ, हिजोदेखि नै मसँग हुनुहुन्थ्यो । कोही नेकपा एमालेका साथीहरू हुुनुहुन्छ । एमालेका नेता कार्यकर्ताले तपाईलाई पार्टीले अत्याचार गर्यो भन्दै आउनु भएको छ । उहाँहरू मेरै कार्यकर्ता हो, हिजो मसँगै हुनुहुन्थ्यो ।
अब कोही यहाँ बुद्धिजीविहरू हुनुहुन्छ, यो देशको भलो होस् भन्नेहरू हुनुहुन्छ । कोही दुर्गा प्रसाईंको अभियानमा जोडिएर यो देशमा बेथिति भयो, अब यस्तो हुनु हुँदैन भन्नेहरू हुनुहन्छ, उहाँहरूलाई पनि मैले देखेको छु । कोही नागरिक बचाऊ अभियान भन्नेहरू हुनुहुन्छ, उहाँहरूलाई पनि देखेको छु । अब जुनसुकै देशभक्तले, विभिन्न समुह र दलमा रहेका व्यक्तिहरूले तपाईंको देशभक्ति अभियान राम्रो छ भनेर भन्नुको अर्थ त झन् देशको सर्वोपरी हितमा फराकिलो तरिकाले सोचेर मसँग जो पनि हिँड्न सक्ने रहेछन् देखाउँछ नि ।
त्यसो भए राजावादी पक्षलाई जोडेर वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्न खोज्नु भएको हो त ?
राजावादी शक्ति हो र ? समाजवादी, नेकपा एमाले अनि जो व्यक्तिहरू हिजो दुर्गा प्रयासलाई समर्थन गरे, ती सबै राजावादी हुन् ? त्यसकारण त्यसरी अर्थ लगाउन मिल्छजस्तो मलाई लाग्दैन । जोसुकै वादी भए पनि यदि देशभक्त हुन् र यो राष्ट्रका समस्या सामाधान गर्न अगाडि बढ्छन् भने देशभक्तहरूले एक ठाउँमा आउन नमिल्ने ? पद बाँडीचुँडी खानेले चाहिँ अँगालो मारेर जहिले पनि यो देशलाई लुटनु पर्ने ? विदेशी सामु घुँडा टेकेर यो देशको अस्तित्व समाप्त पारिरहनु पर्ने ? यो त कसरी हुन्छ ?
विगतमा दुर्गा प्रसाईले नै झापाको एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर अभियान सुरु गरेका थिए । उनै प्रसाईको अभियानमा जोडिएका व्यक्तिहरू तपाईसँगको बाक्लो भेटघाटमा हुनुहुन्छ नि त ?
खै बाक्लो भेटघाट ? तपाईंलाई एउटा कुरा भनौं, नेपाली काग्रेससँग मिलेर केपी ओलीले किन प्रधानमन्त्री खाएको ? महन्थ ठाकुरसँग मिलेर किन खाएको ? हिजो राजेन्द्र लिङ्देनलाई झापा ३ नम्बर क्षेत्रमा किन सघाएको ? डम्बर गिरी (एमालेका) त्यस्तो सशक्त उम्मेदवारलाई टिकट नदिएर राजेन्द्र लिङ्देनलाई हलोमा भोट किन हाल्न लगाएको ? अनि मलाई आरोप लगाउनुको केही अर्थ छ ?
होला, केही व्यक्ति दुर्गा प्रसाईको अभियानमा जोडिएका होलान् । कोहीले राजावादी त्यहाँ ल्याए होलान् । तर, ती जनता देशभक्त नेतृत्व देखेपछि नेतृत्वको साथमा लाग्न सक्छन् नि । लाग्न सक्दैनन् र ?
अब जहाँसम्म शक्तिहरू यताउता जानेकुरा छ, केपी शर्मा ओलीले हिजो बनाएका प्रतिनिधिसभाका सदस्यहरू को– को कहाँ थिए ? अस्ति मात्र सार्बजनिक गराएका मान्छे हेर्नुस त । एक नम्बरमा हेर्नुस् त उदाहरणमा एकनाथ ढकाल । अनि म एउटा देशभक्तिपूर्णरुपमा अगाडि जाउँ भनेपछि हिजो जोसुकै जहाँसुकै लागुन् । ती सबैले अब वास्तवमा देशभक्तिमा लाग्नुपर्छ भन्दाखेरि यस्तो तर्क दिनुको म कुनै औचित्य देख्दिनँ ।
प्रतिक्रिया