७० देशमा गाँजा निर्मित लुगा पुर्‍याउने ऐडीको आक्रोश-‘अधिक कर लगाउनु अपराध’ | Khabarhub Khabarhub

७० देशमा गाँजा निर्मित लुगा पुर्‍याउने ऐडीको आक्रोश-‘अधिक कर लगाउनु अपराध’



बझाङ सुनिकोटीका गणेश ऐडी एकदिन मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबार पुगे। अधिकांश मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालय रहेको यो मुलुककै केन्द्रविन्दु हो। तीन करोड जनताको सपना, जपना रहेको यो ठाउँ राजनीति गर्ने र सरकारी जागिरेका लागि चारधाम हो। त्यसकारण पनि सिंहदरबार चर्चित छ।

सरकारको शीर्ष नेतृत्व रहेको सिंहदरबारभित्र पुरै देश देखिएला भन्ने ऐडीको विश्वास त्यतिबेला तोडियो, जतिबेला कुर्सीमा आसीन सबै मानिस विदेशी पहिरनमा ठाँटिएका थिए। मन्त्रीदेखि कर्मचारी, आगन्तुकदेखि सबै विदेशी पहिरनमा थिए। अझ रोचक अर्को के थियो भने–सिंहदरबारमा बेच्न राखिएका चिया र बिस्कुटसमेत विदेशी ब्राण्डका थिए। नेपालको समुन्नत विकास कसरी गर्ने ? भनेर छलफल हुने सिंहदरबार आफैँ विदेशी उत्पादनले पालितपोषित रहेछ।

विगत २८ वर्षदेखि स्थानीय उत्पादन भाङबाट विभिन्न सामान बनाएर बिक्री गर्दै आएका ऐडीलाई सिंहदरबारको उपभोक्ता देखेर दया लाग्यो। उनीहरु नेपाली उत्पादनको प्रवर्द्धनमा लाग्दैनन् भने अरु को लाग्छ ? स्थानीय उत्पादन प्रयोग नगरी नेपाल बनाउन सकिन्छ ? उनी सरकारसँग प्रश्न गर्छन्।

२०६४ सादेखि काठमाडौं बूढानीलकण्ठमा तीन वटा कारखाना स्थापना गरेर ऐडीले २ सय ५० बढीलाई रोजगार दिएका छन्। यस्तै अर्को कारखाना इटहरीमा छ। दाजुभाइका चार छोराछोरीले उक्त कारखाना हाँकिरहेका छन्। उनको कारखानामा भाङबाट विभिन्न सामाग्री उत्पादन हुन्छ। उनले टिकटकमा आफ्ना उत्पादनको विज्ञापन गरिरहेका छन्।

विज्ञापन गर्दा बेला–बेला सरकारको कार्यशैलीप्रतिको असन्तुष्टि पनि उनले पोखिरहेका हुन्छन्। उनको विज्ञापन गर्ने शैली पनि निकै राम्रो छ। दुई वर्षअघि आफूले भाङकै विषयमा सेक्रेट टेक्नीकल रिसर्च युनिर्भसीटी क्यानडाबाट विद्यावारिधि गरेको दाबी गर्छन्। उनै ऐरीसँग खबरहबले उनका उत्पादन, बजारीकरणको बारेमा बुझ्ने प्रयास गरेको छ।

२८ वर्षदेखि गाँजा र भाङबाट विभिन्न वस्तु उत्पादन गर्दै आए। त्यसको अध्ययनसँगै उत्पादन गर्दै गए। बजार राम्रो देखेपछि यसैको प्रवद्र्धनमा जुटे। नेपालमा विस्तृत अध्ययन अपूर्ण भएपछि क्यानडास्थित विश्वविद्यालयमा अध्ययन गरे। नेपालबाटै अनलाइन अध्ययन गर्ने अवसर थियो। यसै विषयमा विज्ञता हासिल गरे।

पहिले एक दुई सामान उत्पादनबाट सुरु भएको यात्रा आज २५ बढी सामान उत्पादन हुन्छ। नेपाल कल्चरल हेम्प कम्पनी दर्ता गरेर व्यावसायिक रुपमा लागे। यो सबै अध्ययनबाट सम्भव भएको हो। नेपालकै गाउँ ठाउँ हिमाली क्षेत्रमा उत्पादन हुने गाँजाका उत्पादनहरुको बारेमा धेरै पढे। गाँजा कसरी उमारिन्छ ? त्यसको खेती कसरी गर्ने ? कुन ठाउँमा कुन जातका गाँजा छन् ? लगायत यसका प्रजातिको बारेमा पढे।

नेपालमा तीन प्रकारका गाँजा छन्। त्यसको प्रजाति एक सय ११ छन्। गाँजालाई सरकारले अवैध मानेको छ। त्यसकारण उत्पादन सबै भाङबाट बनेका छन्। भाङ गाँजाको एक प्रजाति हो। जसको खेती नेपालमा वैधानिक छ। मैले कुनै पनि वस्तु लागूपदार्थबाट उत्पादन गरेको छैन। टेट्रा हाइड्रो क्यानाविनोन (टीएससी) फ्री आइटमबाट उत्पादन हुन्छ।

सबैलाई गाँजा भनेर पुकारिन्छ। तर गाँजामा पनि विभिन्न प्रजाति छन्। हामीले गरेको गाँजा अन्तर्गतको भाङबाट उत्पादित वस्तु हुन्। भाङको रेसा, फल, पात र डाठबाट यी सबै कुरा उत्पादन हुन्छन्। लाइसेन्स लिएर भाङको उत्पादन गर्न पाइन्छ। हामी गाँजाको उत्पादन गर्दैनौ। गाँजा अवैधानिक छ तर भाँङ वैधानिक छ। भाङमा लागूपदार्थको तत्त्व छैन।

खानेकुरामा तेल, अचार, चाउमिन, बिस्कुट, चियापत्ती लगायतका छन्। त्यस्तै लगाउने कुरामा लुगा जस्तै ओढ्ने ओछ्याउने, पर्दा लगायत महिला पुरुष र बच्चादेखि वयस्क र वृद्धसम्मलाई हुने सबै छन्। जुत्तामोजा छन्। शरीर मालिस गर्ने तेल छन्।

हामी संयुक्त परिवारमा छौँ। मेरा दाइहरु यो काममा लाग्नु भएन। व्यवसायमा छोरालाई अगाडि सारेको छु। हामी दाजुभाइका चार सन्तानले चारवटा कारखाना सञ्चालन गरिरहेका छन्। धागो कारखाना, कपडा कारखाना, गार्मेन्ट कारखाना र रंग कारखाना छन्। हामी परिवारका सदस्यसहित अन्य दुई सय ५० जनालाई प्रत्यक्ष रोजगार दिएका छौँ। वर्षको चार करोडको लेखाजोखा छ।

यसको कच्चा पदार्थ सबै नेपालमै उत्पादन हुन्छ। बरु नेपालले भारतमासमेत कच्चा पदार्थ निर्यात गरिरहेको छ। रुकुम, रोल्पा, बझाङ, दार्चुला, पर्वत, म्याग्दी, सिन्धुपाल्चोक लगायत नेपालका ५२ जिल्लामा भाङको खेती हुन्छ। पहाडी जिल्लामा प्राय यसको खेती हुन्छ। कृषकहरु लाभान्वित भएर यसको उत्पादन बढाइरहेका छन्।

अमेरिका, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, स्पेन, कोलम्बिया, भारत लगायत विश्वको ७० देशमा निर्यात हुन्छ। ऐडीले बझाङबाट भाङको उत्पादन सुरु गरे। तर बजारलाई ठूलो परिमाण चाहिएको थियो। त्यसको लागि २०६४ मा काठमाडौँ आएर उद्योग नै स्थापना गरे। कारखाना नै स्थापना गर्दा सात करोडको लगानी गरेको हो। अहिले करौडौंमा पुगेको छ। त्यो कमाउँदै जोड्दै प्राप्त भएको हो। अनुदान मागेको छैन।

मलाई अनुदान चाहिदैन। बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरेको हो। कमाउँदै तिर्दै गरेको छु। आफ्नै बलबुँताले गरिरहेको छु। सरकारलाई कर तिर्ने हो, अनुदान मागेर बस्ने होइन। तर सरकारले पनि आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह गरेको हुनुपर्छ।

भाङबाट निर्मित कपडाको महत्त्व
मेडिसिन कपडा हो। यो एन्टिबायोट्रिक कपडा हो। गर्मीमा चिसो र चिसोमा तातो बनाउँछ। शरीरमा कुनै किसिमको संक्रमण हुन दिँदैन। शरीरको खराब पानी सोस्छ। कपासको लुगाको दाँजोमा यसलाई राख्नै मिल्दैन। सचेतनाको अभावमा सबैमा यसको पहुँच पु-याउन सकिरहेको छैन। यसको प्रचारप्रसार गर्ने हो भने बजारको कल्पनै गर्न नसकिने उनको भनाइ छ।

फेसनको लागि बनाइएको भन्दा पनि स्वास्थ्यको लागि बनाइएको हो। तर युवापुस्तालाई मध्यनजर गर्दै फेसनवेल लुगाहरु उत्पादन भएका छन्। लगाउँदा चिटिक्क परेको लुगा लगाउन मन पराउनु मानिसको स्वभाव हो। त्यसको मध्यनजर गर्दै फेसन तथा युग सुहाउँदो लुगाको उत्पादनमा हामीले जोड दिँदै जानेछौं। बजारमा उपलब्ध कपासको लुगाको दाँजोमा १० प्रतिशत महङ्गो छ।

नेपालले माग धान्न नसक्ने गरी माग हुन्छ। यसको असीमित बजार छ। हाम्रो अधिकांश बिरामी भान्साबाट आउँछ। अर्थात् हामीले खाने खानाबाटै रोगहरु आइरहेको छ। डाक्टरले पनि भान्सा सुधा-यो भने धेरै रोगबाट बच्न सकिने बताउँछन्।

त्यसैगरी भाङका खानेकुराहरुमा पनि हरेकको आ-आफ्नो महत्त्व छ। अल्सर, क्यान्सर, ग्यास्ट्रिक, कब्जियत, ब्लड सर्कुलेसनको समस्या, सेता–राता रक्तकोष बन्नमा समस्या हुन दिँदैन। भाङको दाना र पातको सेवनले घातक रोग लाग्न दिँदैन। यसबाट ४२ वटा रोगको उपचार हुन्छ।

उद्यमीप्रति सरकारको वक्रदृष्टि
युवा विदेशिएका छन्। नेपालमा उद्योगधन्दा खोल्ने वातावरण नै छैन। सहज वातावरण भएका देशमा युवा पलायन भइरहेका छन्। राजनीतिक खिचातानीले नागरिक मारमा परेका छन्। सरकारको सहयोग प्राप्त उद्योग सबै धरासायी छन्। उद्योग निजीस्तरबाट सञ्चालन भएकै राम्रो हो। तर सरकारको काम भनेको उद्योगीको लागि उचित वातावरण बनाइदिने हो। ‘अडिट कति महङ्गो छ। त्यो सस्तो बनाइदिनुप-यो’, उनले भने। अडिट बुझाउन, कर तिर्न जाँदासमेत घुस दिनुपर्ने स्थिति छ। कम्पनी दर्ता गर्न असहज छ। त्यसमाथि धेरै समय लगाइन्छ। उद्योग खोल्छु भन्दा बैंकबाट ऋण लिन समस्या छ। घर बनाउन ऋण दिइन्छ, व्यवसाय गर्छु भन्दा पत्याउँदैन।

अन्तर्राष्ट्रिय कम्पनीको उत्पादन र ह्याण्डीक्राफ्टको सामानमा बराबर १३ प्रतिशत भ्याट छ। यो ठीक नभएको उनको भनाइ छ। हातबाट उत्पादित सामग्रीमा दुई प्रतिशत बढी भ्याट लिनु हुँदैनथ्यो। यी विषय सरकारले नीति निमार्णमै उल्लेख गरे सहज हुने र यस्ता उद्योग अझ फस्टाउने उनको भनाइ छ।

सामाजिक सञ्जाल प्रयोग गर्न जाने व्यापारै-व्यापार
अहिलेको आम नागरिक फेसबुक, टिकटक र युटुबमा छन्। मानिस जता छन्, त्यतै विज्ञापन गर्नुपर्यो। यो निकै सान्दर्भिक रहेछ। निःशुल्क आफ्नो उत्पादनको विज्ञापन गर्न पाइन्छ। टिभी पत्रिकामा विज्ञापन गर्न निकै महङ्गो छ। उनीहरु हामी जस्ता साना व्यवसायीको लागि उपलब्ध पनि हुँदैनन्। साना व्यवसायीका लागि सामाजिक सञ्जाल उपयुक्त भएको उनको ठहर छ।

सामाजिक सञ्जालबाट प्रचार गर्दा सहजै आम उपभोक्तासम्म पुग्छ। त्यसकारण मेरो अनलाइन बजार निकै फस्टाएको छ। नेपाली अल्छी छन्। तुरुन्त पैसा हुने काम चाहिएको छ। तर सीप छैन। १० घण्टा सामाजिक सञ्जालमा समय बिताएर बसेका छन्। सञ्जालकै प्रयोग गरेर आम्दानी हुने काम गरेका छन् भने त ठीकै छ। तर नाचेको गाएको, गालीगलौज हेरेर युवाले के पाउछ ? उनले प्रश्न गरे।

अर्र्काको भिडियोमा गएर प्रतिक्रिया दिएर बसेर के पाइन्छ ? बोल्न मात्रै जान्ने अरु छैन। अरुले भन्दा मैले के राम्रो गर्न सक्छु ? भन्नेतिर लाग्नुपर्छ। पर्खाल लगाउने मिस्त्रीले दिनको तीन हजार कमाउँछ। गार्मेन्टस्मा राम्रो कटिङ गर्नेले दिनको चार हजार आम्दानी गर्छ। कोही छ त यो काम गर्न तयार ? अहँ छैन। तर बसीबसी लाखको तलब चाहिएको छ। बसेर पनि कमाउन सकिएला। तर सीप के हो ? यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ।

‘हातमात्रै लिएर आएर हुँदैन, हातमा सीप हुनुपर्छ। युवाले सीप विकासमा जोड दिए जागिर खोज्दै हिँड्नु पर्दैन। सरकारले जागिर दिएन भनेर डिप्रेसनमा पनि जानु पर्दैन’, उनले भने।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : ५३ बजे

कालीगण्डकीमा बेपत्ता बालको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो 

काठमाडौं– म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा

प्याब्सनको गैरकानुनी माग : अग्रिम जानकारी नदिई वाणिज्य विभाग अनुगमनमा नआओस्

काठमाडौं– निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन (प्याब्सन) ले अग्रिम

जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार

काठमाडौं– संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् शहरी

संसदमा गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, धर्म वा आस्थासँग नजोडौँ 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट

काठमाडौं- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न