काठमाडौं–काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले उपमेयर सुनिता डंगोलसँग आपसी समन्वय धेरै फितलो भएको भन्दै गुनासो गरेका छन् ।
मंगलबार योजना, अनुगमन तथा मूल्यांकन एकाइले आयोजना गरेको अनुगमन प्रतिवेदनमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै आपसी समन्वय नभएको भन्दै डंगोलसँग गुनासो गरेको छन् ।
आपसी संवाद र समन्वय हुन नसक्दा सम्पदा र भौतिक पूर्वाधार क्षेत्रका योजना समयमा सम्पन्न हुन नसक्ने अवस्था आएको सम्पदा तथा भौतिक पूर्वाधार अनुगमन टोलीका संयोजक आर्किटेक्ट बाबुराम भट्टराईले डंगोलसँग गुनासो गरेका छन् ।
‘कतिपय ठाउँमा स्थानीय विवादका कारण सम्पन्न योजनाको संरक्षणमा समस्या देखिएको छ ।’ भट्टराईले भन, ‘सम्पदा क्षेत्रमा सरोकारवाला र गुठीयारका बिचमा एक मत छैन । पूर्वाधार क्षेत्रमा साझेदारहरुले आफै काम गरिरहेका छन् । आपसी समन्वय धेरै फितलो छ ।’
योजनाको मूल्याङ्कनमा परामर्शदाताले, भौतिक योजनाको डिजाइन गर्दा वातावरणीय पक्ष, सामाजिक पक्ष तथा कार्यान्वयन योजना एकै साथ निर्माण गर्न पारागन इन्जिनियरिङ कन्सलटेन्सी एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक नारायण रिजालले छलफलमा सुझाव दिएका थिए ।
कम्प्युटरमा राखिएको सफ्टवेयरले सम्पन्न काम र यसका नतिजाका विषयमा तथ्यांक विश्लेषण गरेर निष्कर्ष दिने प्रणाली विकास गर्न सकिएमा स्वतः अनुगमन हुन सक्ने सहरी योजना आयोगका सदस्य डा। सुरज काफ्लेले उपमेयर डंगोलसामु सुझाव राखेका थिए ।
‘अनुगमन टोलीका सदस्यलाई आफ्नो भूमिका स्पष्ट हुनुपर्छ । आन्तरिक समन्वयलाई बलियो बनाउनुपर्छ ।’ काफ्लेले भने ।
साँघुरा गल्लीहरूमा सम्भावित आगलागीका घटना व्यवस्थापन गर्न राखिएका फायर हाइड्रेन्ड राख्ने काम निर्धारित समयभित्र सम्पन्न गर्न सके आवतजावत गर्न कम असहज हुने विपद व्यवस्थापन तथा वातावरण अनुगमन टोलीका संयोजक सरस्वती मानन्धरले बताइन् । फोहरलाई स्रोतमा वर्गीकरण गर्नुपर्ने मानन्धरको भनाई थियो ।
कानुनी दोहोरोपनाले स्वास्थ्य क्षेत्रका अनुगमन नियमन जटिल भएको स्वास्थ्य विभागका प्रमुख दीपक केसी उपमेयर डंगोल सामु गुनासो राखेका थिए ।
अन्तरक्रियाका सहरी योजना आयोगका सदस्यहरूको संयोजकत्वमा गठित अनुगमन टोली र विभागको संयोजनमा भएका अनुगमनका विषयमा प्रस्तुतीकरण भएका थिए ।
स्वास्थ्य क्षेत्रको अनुगमन नियमन कसले गर्ने, कसरी गर्ने भन्ने विषयमा कानुनबाट निर्दिष्ट गर्नु पर्ने अवस्था रहेको केसीको भनाई थियो ।
कार्यान्वयनमा ल्याइएका योजनाहरूको गुणस्तर कायम गराउने, कार्य सञ्चालन समयको पालना गराउने र प्रभाव लेखाजोखा गरेर आगामी योजनालाई लागत प्रभावी बनाएको अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा सुवेदी लामिछाने बताइन् ।
अनुगमनका क्रममा दिइएका निर्देशन तथा सुधारका लागि सुझावका कारण आएको परिवर्तन महसुस योग्य हुनुपर्ने डंगोलको भनाई थियो ।
योजना तर्जुमा गर्दागर्दै कार्यान्वयन योजना बनाउने, योजना कार्यान्वयन थाल्दैदेखिका चरणहरूमा अनुगमन गर्ने, कार्य सञ्चालनका लागि आन्तरिक संवाद बढाउने, अभिलेखन र प्रतिवेदनलाई महत्व दिने प्रणालीको विकास गरेर गुणस्तर सुधारलाई संस्थागत गर्दै लगिने डंगोलले प्रतिबद्धता गरिन् ।
‘भौतिक पूर्वाधारसँग सम्बन्धित डिजाइन बनाउँदा आकाशे पानी पुनभरण, हरियाली प्रवर्धनलगायत वातावरणीय पक्षमा ध्यान दिनुहोला’, विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै डंगोलले भनिन्, ‘क्षेत्रगत रूपमा देखिएका समस्यालाई मासिक प्रतिवेदनका रूपमा दस्ताबेज बनाइ छलफलमा ल्याएर त्यसका आधारमा समाधान खोज्दै अगाडि बढ्नुपर्छ ।’
त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारीले नियमित र आकस्मिक अनुगमन बराबरी गर्नु पर्नेमा जोड दिएका थिए ।
‘निर्माण सम्पन्न भइसकेको योजना हेर्न जाँदा, हेर्नुबाहेक केही हुँदैन । कार्यान्वयनको चरणमा रहेको योजनामा सुधार गराउन सकिन्छ ।’ राजभण्डारीले भने ।
महानगरमा उपप्रमुख डंगोलको संयोजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्यांकन समिति छ । महानगरपालिकाका दायित्व र क्षेत्रलाई ३ भागमा बाँडेर सहरी योजना आयोगका सदस्यहरूको संयोजकत्वमा ३ वटा अनुगमन टोली गठन गरिएको छ ।
उक्त विभागहरूले आफू मातहतका कार्यालय र कामको अनुगमन गर्ने गरेका छन् ।
प्रतिक्रिया