हुलाकी मार्गमा माओवादीका ५० दिन : आत्मसमीक्षा गर्दै, जनगुनासा टिप्दै | Khabarhub Khabarhub

हुलाकी मार्गमा माओवादीका ५० दिन : आत्मसमीक्षा गर्दै, जनगुनासा टिप्दै



माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ फागुन १२ गते झापाको कचनकबलबाट सुरु गर्‍यो । मुख्य एजेण्डा थियो– तराई मधेसका जनताका गुनासा र समस्या सुन्ने । ५० दिनको यो अभियान कञ्चनपुरको महेन्द्रनगर पुगेर वैशाख १७ गते सकियो । २० जिल्लाका जनतासँग साक्षात्कार गरी समस्या दस्ताबेजीकरण गरेको माओवादीले आफू एजेण्डाविमुख भएकामा आत्मसमीक्षा गर्‍यो । यो यात्राले माओवादीले प्रशस्तै पृष्ठपोषण, पार्टी रूपान्तरण र एजेन्डामा स्पष्टता प्राप्त गर्‍यो ।

काठमाडौं– ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ को नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । अध्यक्ष नेतृत्वको यात्रालाई महत्वका साथ हेरिएको थियो । अभियानमा पार्टी पदाधिकारी, प्रदेश इञ्चार्ज, जिल्लाका नेताको उपस्थित रह्यो । हुलाकी राजमार्ग केन्द्रित अभियानमा माओवादीले जिल्ला जिल्लामा सभा गर्‍यो । सहिद परिवार र जनताका घरमा पुगेर समस्या सुन्यो । स्थानीय पहिरन र परिकारलाई नेताहरूले प्राथमिकता दिए ।

‘देश अनुसारको भेस’ भनेजस्तै त्यस्तै देखिए नेताहरू । भाले बासेदेखि राति अबेरसम्म जनतासँगै रहे नेता । तराई मधेसका जनतालाई पार्टीले कम महत्त्व दिएको समीक्षा गरे । आन्दोलनको एउटा झल्को थियो यो अभियान ।

माओवादी केन्द्रले चैत ७ गते अभियान सक्ने सेड्युल बनाएका थियो । बीचमा राजावादीको आन्दोलन र स्ववियु निर्वाचनले स्थगित भयो । पुनः सुरु भएको अभियानमा नेता निरन्तर खटे । जनताका कुरा सुने ।

‘उहाँहरू हामीप्रति निकै आशावादी हुनुहुँदो रहेछ,’ पार्टी उपाध्यक्ष पम्फा भुसालले खबरहबलाई भनिन, ‘यो अभियानले हाम्रो पार्टीलाई रूपान्तरण र एजेन्डामा स्पष्ट हुँदै जाने पाठ दिएको छ, जनतातर्फ फर्कने बाटो देखाएको छ ।’

भुसालले भनेजस्तै माओवादीले उपेक्षा गर्दै आएको तराई मधेसले माओवादीलाई सच्चिन र जनमुखी हुने पृष्ठपोषण प्रदान गर्‍यो । जनताको काम गर्न सुझाव दियो । पटक–पटक सरकारमा जाँदा पनि तराई–मधेसका जनताको माग पूरा नगरेको भन्दै जनताले आक्रोश व्यक्त गरे ।

‘तराईका २० जिल्लामा हामीले जनतासँग भिजेर त्यहाँका समस्या सुन्ने र दस्ताबेजीकरण गर्ने काम गरेका छौँ, पार्टी अध्यक्ष स्वयम् यो कार्यक्रममा उपस्थित भएकाले उहाँहरूले एकदमै उत्साहित भएर समस्या र कुरा राख्नुभएको छ,’ माओवादी उपमहासचिव शक्ति बस्नेतले खबरहबलाई भने, ‘माओवादी साँच्चिकै उत्पीडित र सर्वहारा वर्गको पार्टी बन्नुपर्छ भनेर सुझाव दिनुभएको छ, स्थानीयसँगै खाँदै, बस्दै अन्तर्क्रिया गरेका हामीले साँच्चिकै ठूलो काम गरेछौँ, तराई मधेस केन्द्रित जनतासँग जोडिन ढिलो गरेछौँ भन्ने महसुस भयो ।’

प्रचण्डको आत्मालोचना, ओलीलाई गाली

०७९ को निर्वाचनपछि १९ महिना सरकारको नेतृत्व सम्हालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ०८१ असार ३० गतेबाट प्रमुख प्रतिपक्षी दलको नेता छन् ।

१९ महिना सरकारमा रहँदा जनतातिर फर्किएर पनि नहेरेका उनले कहिले कांग्रेस त कहिले एमालेसँग काँध मिलाएर नेतृत्वमा रहे । तर, प्रचण्डले सरकारबाट निस्कने बित्तिकै जनतासँग जोडिन पार्टीबाट सुझाव पाएका थिए । त्यसपछि उनी कहिले सहिद परिवार भेट्न कहिले जिल्लाका नेताहरू भेट्न भन्दै देश दौडाहामा छन् ।

यही उद्देश्यअनुसार तराई मधेसका २० जिल्ला र ६ प्रदेश घुमेका प्रचण्डले जनताको भावनाविपरीत सत्तायात्रा गरेकामा आत्मसमीक्षा गरे । वाम एकताको आसमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास गरेर जनताको भावनाविपरीत काम गरेको भन्दै प्रचण्डले जनतासँग माफी मागे ।

०७४ को वामएकतामा आफू इमानदार हुँदाहुँदै पनि एमाले अध्यक्ष ओलीले बेइमानी गरेकाले समस्या उत्पन्न भएको प्रचण्डले जनताले बताए । उनले यतिमात्र भनेनन् ।

सभाहरूमा गठबन्धन जोगाउन दायाँबायाँ नीति भएका पार्टीसँग सहकार्य गरेको भन्दै आत्मालोचना गरे । हरेक राजनीतिक परिस्थितिलाई सामना गरेका प्रचण्डले जनतासँग माफ माग्नसमेत भ्याए ।

उनले सहिदका सपना पूरा गर्ने वचन समेत दिए । ओली सरकार अवैधानिक र अलोकप्रिय बन्दै गएकाले सरकार तलमाथि हुने सङ्केत देखेको दाबी गरे । प्रचण्डले आफू सरकारमा जान लालायित नभएको तर परिस्थितिले नै सरकारमा जाने माहोल बन्न लागेको बताए ।

प्रचण्डले माओवादी जहिल्यै उत्पीडित, दलित, विभेदमा पारिएका सिमानाकाका नागरिकको साथमा रहेको बताए । तर विभिन्न शक्तिको जालझेलले भावनात्मक रूपमा जोडिन नपाएको स्पष्ट पारे । उनी आफैंले यसको निर्मम समीक्षा गरेको सुनाए ।

हुलाकी राजमार्गमा निष्प्रभावी जनमत, बढ्दो आशा

हुलाकी राजमार्गमा पर्ने जिल्लाहरूमा माओवादीको संगठन कमजोर रहेको नेताहरू नै स्वीकार गर्छन् । ०६४ पछिको निर्वाचनको विश्लेषण गर्दा यो क्षेत्रमा माओवादीको प्रभाव खासै देखिँदैन । यो पटक माओवादी त्यहाँ पुगेर कति प्रभाव पार्न सफल भएको छ, त्यो त ०८४ को निर्वाचनले देखाउला । तर नेताहरू भने आगामी निर्वाचनमा यो क्षेत्रबाट माओवादीले राम्रो साथ पाउने विश्वास गर्छन् ।

माओवादी महासचिव देव गुरुङका अनुसार हुलाकी राजमार्गको अभियानले माओवादीलाई पार्टी रूपान्तरण गर्न र फेरि पहिलो शक्ति बन्ने बाटो दिएको दाबी गर्छन् । यो अभियानले जनतामा माओवादी पार्टीप्रतिको बुझाइलाई एकीकृत गर्ने प्रयास गरेको उनको दाबी छ ।

‘प्राध्यापक, शिक्षक, व्यावसायी, बुद्धिजीवी, किसान, मजदुर, अल्पसङख्यक र महिलासँग पनि हामीले प्रत्यक्ष कुराकानी गरेका थियौँ । उहाँँहरूले अति नै विश्वास गरेर आफ्ना समस्याहरू राख्नुभएको छ,’ नेता गुरुङले खबरहबलाई भने, ‘उहाँहरूले तपाईँहरू हाम्रा समस्या सुनेर समाधान गर्ने प्रयत्न गर्नुहोस् हामी तपाईँहरूको साथमा छौँ भन्नुभएको छ । जनतासँगको हाम्रो अभियानले उहाँहरूमा उत्साह जागेको छ । हामीले पनि आत्मसमीक्षा गरेर उहाँहरूको समस्यालाई उजागर गर्ने छौँ ।’

पदाधिकारी बैठकको म्याण्डेड : यो सरकार आफैँ ढल्छ, आलोचना गर्नुपर्दैन

०६४ मा पहिलो पटक संसदीय राजनीतिमा आएको माओवादी पहिलो दल भएको थियो । त्यसपछि निरन्तर ओरालो यात्रामा छ । अहिले चौंथो दल हो माओवादी केन्द्र ।

अभियानमा ओलीको आलोचना गरेका प्रचण्डलाई आइतबार बसेको माओवादी पदाधिकारी बैठकमा नेताहरूले सरकारको आलोचना नगर्न र सरकार ढाल्ने विषयमा बोल्दै नभिड्न सुझाव दिएका छन् ।

‘यो सरकार आफैँ ढल्छ । हामीले बोल्नु पर्दैन । यही कुरा भएको छ ।’ बैठकबारे जानकारी दिँदै एक पदाधिकारीले भने, ‘हामीले सरकारको आलोचना नगर्न र नगर्ने छलफल समेत गरेका छौँ । अध्यक्षलाई पनि यही सुझाव दियौँ ।’

‘गठबन्धनमा जाँदा एजेण्डा भुत्ते भएछन्’

हुलाकी राजमार्ग अभियानमा हिँडेका उपमहासचिव शक्ति बस्नेत एकपटक फेरि राष्ट्रिय राजनीतिमा माओवादीको आवश्यकता महसुश सबैले गरेको बताउँछन् ।

‘मुख्य कुरा फेरि एकपटक माओवादीलाई अवसर प्रदान गर्नुपर्छ भन्ने जनताको मनोविज्ञान रहेछ । यो अभियानले माओवादी आफैंलाई आफ्ना कमजोरी आफैंले बदल्न र रूपान्तरण गर्न सहयोगी बनेको छ,’ बस्नेतले खबरहबसँग भने, ‘लामो समय हामी गठबन्धनको प्रक्रियामा गुज्रिँदा पार्टीका आफ्ना एजेण्डा भुत्ते भएछन् । राजनीतिक एजेण्डा खरो रूपमा उठाउन नसक्नु कमजोरी भएको छ । हामी आफैंले महसुश गरेका छौँ । नियमित रूपमा जनतासँगको भेटघाट र संवाद टुटेको रहेछ । यो हाम्रो कमजोरी थाहा भयो ।’

अभियानका क्रममा पार्टीका कुरा जनतासामु पुर्‍याउने कुरामा पनि ‘ग्याप’ भएको बस्नेत महसुश गर्छन् । जनताका भावना ल्याएर पार्टीको नीति बनाउने कुरामा पनि आफूहरू कमजोरी देखिएको स्वीकार गर्छन् ।

‘लामो समय गठबन्धनको प्रकृयामा रहँदा पार्टी र सरकारको पनि नीति तथा कार्यक्रम उस्तै भएछन् । माओवादीका पहिचान र एजेन्डा ओझेलमा परेका रहेछन् ।’ बस्नेतले थपे, ‘यो चिन्ता र सुझावलाई पार्टीले महसुस गरेको छ । एजेन्डाभन्दा फरक हुन गएको हामीलाई पनि महसुस भयो ।’

यता पार्टी सचिव राम कार्की पनि जनताको पार्टीले जनतासँगको संवाद र सहकार्य टुटाएको बताउँछन् । यही कारण पनि जनतामा निराशा भएकाले अभियानले आशा जगाएको दाबी गर्छन् ।

‘जनता र पार्टीको सम्पर्कको ‘साइकल’ टुटेको थियो । हामीले यसलाई ‘री’ गरेका छौँ । पार्टी भुत्ते भएको थियो अब तिखारिएको छ,’ कार्कीले भने, ‘पार्टीले कहिले कुन परिस्थितिमा के निर्णय गरेको छ भन्ने कुराको जानकारी समेत जनतालाई दिन सकिएको रहेनछ । यो गम्भीर कुरा हो ।’

दस्ताबेज बनाएर अर्थमा बुझाउने तयारी

अभियानको समीक्षा गर्न आइतबार माओवादी पदाधिकारीको बैठक राखिएको सचिव कार्कीले बताए । बैठकले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’को समीक्षा गर्दै आएका सुझाव र देखिएका समस्यालाई दस्ताबेजीकरण गरेर पार्टीको नीति बनाउने छलफल भएको छ ।

माओवादी केन्द्रका अर्का सचिव देवेन्द्र पौडेलका अनुसार आइतबारको बैठकले विकास निर्माणसँग सम्बन्धित ज्ञापन–पत्रहरूको दस्तावेजीकरण गरेर अर्थ मन्त्रालयलाई बुझाउने निर्णय भएको छ ।

उनले भने, ‘आएका सुझावलाई आत्मसमीक्षा गर्ने निर्णय भएको छ । पार्टीको नीतिमा पनि यी सुझाव समेटिन्छन् । विकास निर्माणसँग सम्बन्धित ज्ञापन–पत्रलाई दस्ताबेज बनाएर अर्थ मन्त्रालयमा बुझाउने निर्णय भएको छ ।’

फेरि अभियान

०८० भदौ १७ देखि चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाएको माओवादीले त्यो बेला पनि प्रतिवेदन बनाएको थियो । लगत्तै फागुन १ देखि काठमाडौंको प्रज्ञा भवनमा भएको विधान सम्मेलनमा त्यसबेला सरकारमा भएको माओवादीसँग कार्यकर्ताका थुप्रै गुनासा थिए ।

सत्तामुखी भएको, सशस्त्र द्वन्द्वपीडितलाई बेवास्ता गरेको, सहिद परिवारलाई अन्देखा गरेको कार्यकर्ताको आक्रोश थियो ।
०८१ वैशाख १० गते बारा १, चितवन २ र तनहुँ १ मा भएको उपनिर्वाचनमा माओवादी कमजोर देखिए पनि प्रतिपक्षीमा भएपछि ०८१ मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचनमा भने पार्टीले जनताको राम्रो साथ पाएको थियो । उपनिर्वाचन भएका ४२ मध्ये माओवादीले १० स्थानमा जित निकाल्यो । त्यसपछि अभियान बोकेर पार्टी तराई–मधेस पसेको हो ।

जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने माओवादी केन्द्रले आइतबार निर्णय गरेको सचिव पौडेलको भनाइ छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ४८ बजे

पहिलोपटक उद्योगी व्यवसायीसँग छलफलमा बालेन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पहिलोपटक उद्योगी व्यवसायीहरूसँग

इरानी टोलीले जित्यो प्रथम लायन्स कपको उपाधि 

पोखरा – नेपाल पुलिस क्लबलाई हराउँदै इरानी टोलीले पोखरामा भएको

कांग्रेस छाडेर राजा फर्काउन हिँडेका खेमराज सेढाईं बैठकस्थलबाटै पक्राउ, तीनकुने घटनामा संलग्न भएको आरोप

काठमाडौं- दुई वर्षअघि नेपाली कांग्रेस छाडेर राजसंस्था पुनःस्थापना अभियानमा लागेका

अर्थविद् गौचनको प्रश्न : ऋण काढेर मध्यम र उच्च वर्गलाई भत्ता कहिलेसम्म?

काठमाडौं– अर्थविद डा. विश्वास गौचनले सरकारले ऋण काढेर मध्यम र

यी हुन् पोप फ्रान्सिसका सम्भावित १६ उत्तराधिकारी

एजेन्सी– कुनै पनि आधिकारिक प्रचार अभियान वा उम्मेदवारहरूको सूची नभएको