नझुकिनुस् रंगीचंगी जंगली च्याउले लिन्छ ज्यान | Khabarhub Khabarhub

नझुकिनुस् रंगीचंगी जंगली च्याउले लिन्छ ज्यान

सचेतनामा सरकार चुक्यो, रोकिएन जनको क्षति


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गएको जेठ ११ गते आइतबार विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको मृत्यु भयो । माङसेबुङ गाउँपालिका-५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको मृत्यु भएको हो । त्यसको एक साता नबित्दै फेरि अछाममा तीन बालबालिका विषाक्त च्याउकै कारण बिरामी परेको समाचार सुनियो । यी घटना त उदाहरण मात्रै हुन् । नेपालमा वर्षेनी जंगली विषालु च्याउकै कारण २० देखि ३० बढीको मृत्यु हुने गरेको तथ्याङ्क रहेको विज्ञ बताउँछन् । तर यसको यकिन तथ्याङ्क भने सरकारसंग छैन ।

वर्षायाममा घर वरपरका कान्ला, बारीतिर प्रशस्त मात्रामा हेर्दा आकर्षक लाग्ने खालका च्याउहरु उम्रिने र कुन च्याउ खान मिल्ने हुन् भन्ने जानकारी नभई खानाले यस्ता घटना हुने गरेको वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग अन्तर्गतको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाका अनुसन्धान अधिकृत राजेन्द्र आचार्यले बताए ।

उनका अनुसार च्याउका कारण कतिको मृत्यु हुन्छ ? कति बिरामी हुन्छन् भन्ने तथ्याङ्क प्रयोगशालासँग छैन । जनचेतना जगाउन भन्दै एक पटक पोखरामा सचेतना कार्यक्रम बाहेक विषालु च्याउको प्रयोगबाट हुने मानवीय क्षति रोक्न अन्य कुनै कार्यक्रम नभएको उनले बताए ।

त्यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले विषालु च्याउबारे जनचेतनामूलक पम्पलेट छाप्ने बाहेक अन्य कुनै काम नगरेको बताएको छ ।

नेपालमा पाइन्छन् १३ सय प्रजातिका जंगली च्याउ
वनस्पति विभागको तथ्याङ्कअनुसार नेपालमा करिब १३ सय प्रजातिका जंगली च्याउ पाइन्छन् ।

फाइल फोटो

तीमध्ये करिब सय वटा विषालु हुन्छन् । विश्वमै अति विषालु मानिएका मध्येका च्याउ पनि नेपालमा पाइने गरेका विज्ञ बताउँछन् । जंगली च्याउमध्ये करिब १ सय ६० प्रजातिका च्याउ खान मिल्ने हुन्छन् । तिनमा प्रोटिनदेखि क्यान्सरको जोखिम कम गर्न सक्ने खालका गुण हुने गरेका विज्ञको भनाइ छ ।

परम्परागत रुपमै खाँदै आएको भएर त्यही आधारमा देशका धेरैजसो भेगमा पहिलेदेखि नै जंगली च्याउ खाँदै आएका छन् । तर कहिलेकाहीँ झुक्किएर नखाने च्याउ पनि पर्छ । यसमा हामीले जति नै सचेतना अपनाए पनि उपभोक्ताहरु सचेत नभएसम्म यस्ता घटना दोहोरिरहने अनुसन्धान अधिकृत आचार्यले बताए ।

विषालु च्याउ चिन्ने तरिका
तल फेदमा कचौरा जस्तो आकार भएको च्याउ धेरै विषालु हुने आचार्यले बताए । त्यस्तै हेर्दा रंगीचंगी आकर्षक देखिने, छुँदा रंग परिवर्तन हुने, डाँठमा औंठीजस्तो आकार भएका च्याउ विषालु हुने भएकाले नखान उनको सुझाव छ।

त्यस्तै सामान्यतया किरा लाग्ने च्याउ विषालु हुँदैन भन्ने मान्यता छ । त्यसैलाई मात्रै आधार बनाएर जथाभावी च्याउ खान नहुने उनी बताउँछन् । विषालु च्याउ खाएपछि बान्ता, झाडापखाला हुने, टाउको दुख्ने, रिंगटा लाग्ने लक्षण देखिने गर्दछन् । यस्ता लक्षण देखिने बित्तिकै चिकित्सक कहाँ जान विज्ञ सुझाउँछन् ।

च्याउको विषयको सिधा असर कलेजोमा पर्ने र त्यसपछि पित्तमा पुगेर नयाँ तत्वको निर्माण संगै मिर्गौलाको काम गर्ने क्षमता घटाएर कलेजो र मिर्गौला फेल भएर मृत्यु हुने चिकित्सक बताउँछन् ।

विषालु च्याउका कारण हुने मृत्यु रोक्न के गर्ने ?
वरिष्ठ च्याउ विज्ञ डा. महेशविक्रम अधिकारी भन्छन्- सबैभन्दा पहिले त सचेतना नै यसबाट बच्ने मुख्य उपाय हो ।
जसका लागि सरकारले पनि घटना भएका ठाउँमा गएर कस्तो च्याउ खाएर मृत्यु भएको हो ? भन्ने विषयमा आवश्यक अनुसन्धान गरी जनचेतना फैलाउन जरुरी छ । तर सरकारले अहिलेसम्म यसबारेमा कुनै अनुसन्धान नै नगरेको उनले बताए।

वर्षेनी धेरै जनाको मृत्यु हुने गरे पनि सरकारले यसलाई गम्भिरतासाथ नलिएको यस क्षेत्रका विज्ञहरु बताउँछन् । विज्ञका अनुसार सर्पदंशको उपचारको जस्तो एण्टिडोज विषालु च्याउको पनि बनाउनुपर्ने हो । तर यसबारेमा नेपालमा कुनै तयारी नै भएको पाइँदैन । जसका कारण धेरैले अकालमा ज्यान गुमाउनु परेको छ ।

विभिन्न सञ्चारमाध्यम र स्वास्थ्य संस्थाको रेकर्डलाई आधार मान्ने हो भने वर्षेनी २० देखि ३० जनाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ ।

च्याउ स्वास्थ्यका लागि फाइदाजनक
च्याउ स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। नेपालमा पनि च्याउ खाने चलन बढ्दै गएको छ। कुनै समय ‘कहिले बाहुनले च्याउ खाएको थियो र ? स्वाद थाहा पाओस् ।’ भन्ने उखानलाई पनि चिर्दै सबैको भान्सामा च्याउको तरकारीले स्थान बनाइरहेको छ। घरको भान्सादेखि होटल रिसोर्टमा च्याउका परिकारप्रति रुचि बढेको देखिन्छ। माछा मासु नखानेका लागि च्याउ एक महत्त्वपूर्ण विकल्पको रूपमा उपयोग भएको पाइन्छ।

सहरमा तरकारी बजारबाट च्याउ किनेर ल्याउने प्रचलन भए पनि गाउँघरमा पसलबाट च्याउ किन्नुको सट्टामा कतिपयले जंगलबाट ल्याउने गर्दछन् । यस्तो अवस्थामा धेरै पटक विषालु च्याउका कारण मृत्युको खबर आउने गर्छ। धेरैले च्याउ खाएकै कारण अकालमा ज्यान गुमाउनुपरेको हामीले सुन्दै आएका छौँ। वर्षा सुरु भएसँगै यसवर्ष पनि धेरै जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा विषालु च्याउ सेवन गर्दा हरेक वर्ष औसतमा २० देखि ३० जनाभन्दा बढीले ज्यान गुमाउने गरेका तथ्यांक रहेको विज्ञ बताउँछन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : ०२ बजे

अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै

घोडाघोडी– भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनर्स्थापनाको काम सुरु भएको

पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसकेको छ : झलनाथ खनाल 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा

यस्तो देखियो तरुण दलको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै

नेपाली टोलीलाई बलियो बनाउँदै लैजान्छु : प्रशिक्षक प्याट्रिक डे वाइल्ड

काठमाडौं– राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिक डे वाइल्डले

गण्डकीमा प्रशासनिक संरचना पुनरावलोकन समितिले प्रतिवेदन बुझायो

पोखरा– गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा