विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती  | Khabarhub Khabarhub

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती 


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका– ६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजीमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुगेका थिए । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा नेपाल फर्किए ।

मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचत गरेका सरोज स्वदेश फर्किएपछि पुनः विदेश नजाने निचोडमा पुगे । अर्काको देशमा आफूले पाएको दुःख सम्झेर पुनः विदेश नफर्कने निर्णयमा पुगेका सरोजले गाउँ फर्किएर व्यावसायिक बङ्गुर फार्म सञ्चालन गरे ।

सुरुमा बङ्गुरले राम्रो उत्पादन दिँदै थियो । व्यावसायिक बङ्गुर पालनमा निकै उत्साहित बनेका सरोज आफूले उत्पादन गरेका बङ्गुर बिक्री नभएपछि छोटो समयमै निरुत्साहित बने । बङ्गुरपालनबाट करिब १८ लाख रुपैयाँ घाटा बेहोर्नु पर्‍याे ।

ठूलो लगानीमा सुरु गरेको बङ्गुरपालन व्यवसाय छाडेर सरोज पुनः बाख्रापालनमा लागे । बाख्रापालनका लागि जनशक्ति अभाव भएपछि त्यसलाई पनि छाडेका सरोजले सम्भावनाको खोजी गर्न भने छाडेनन् ।

गाउँमै केही गर्ने उद्देश्यसहित सम्भावनाका खोजी गरिरहेका सरोजले ६ वर्षअघि एउटा युट्युब च्यानलमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती गर्ने विधिसम्बन्धी दिइएको जानकारी राम्ररी हेरे । गाउँमै बसेर केही गर्ने हुटहुटीमा छटपटाइरहेका सरोज त्यो युट्युब च्यानलकै माध्यमबाट भारतको हैदरावादसम्म पुगेर ड्रागन फ्रुटखेती गर्ने विधिसम्बन्धी हप्ता दिनको तालिम लिए ।

तालिम लिएकै ठाउँबाट २५० वटा ड्रागन फ्रुटका बिरुवा खरिद गरी साथमै लिएर आफ्नो घर हौँचुर फर्किए । घरमा आएर पाखो बारीमा ड्रागन रोपे । अहिले ती बिरुवालाई मदर प्लान्ट (आमा बोट)को रूपमा विकास गर्दै त्यसैबाट बर्सेनि नयाँ बिरुवा उत्पादन गरेर विस्तार गरेका छन् ।

सुरुमा २५० वटा बिरुवा ल्याएर व्यावसायिक खेती थालेका सरोजको फार्ममा अहिले दुई हजार ७०० वटा ड्रागन फ्रुटका बोट छन् । सरोजको फार्मभरि अहिले राताम्मे भएर फलेका ड्रागन फ्रुट टिप्ने दोस्रो लट (चरण)को सिजन (समय) सुरु भएको छ ।

तीन वर्षअघिदेखि उत्पादन दिन थालेको फार्मबाट गत वर्ष दुई हजार केजी बिक्री भएको थियो । बर्सेनि उत्पादन वृद्धि हुँदै गएको फार्ममा यस वर्ष तीन हजार केजीभन्दा बढी ड्रागन फ्रुट उत्पादन हुने अनुमान गरिएको सरोजले जानकारी दिए ।

एउटा बोटबाट सरदर २५ केजी उत्पादन हुन थालेको फार्मबाटै प्रतिकेजी ३०० रुपैयाँमा बिक्री गर्दा ६ लाख रुपैयाँ सङ्कलन भएको सरोजले जानकारी दिए । करिब २० रोपनी पाखो बारीमा लगाइएको ड्रागन फ्रुट खरिद गर्नका लागि ग्राहक सरोजको घरैसम्म पुग्ने गरेका छन् ।

ड्रागन फ्रुटमा औषधीय गुण हुने र नेपालको लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको सरोजले बताए । कृषि पेसामा फाइदा हुँदैन भन्ने भनाइलाई गलत सावित गर्दै सरोज व्यावसायिक ड्रागन फ्रुटखेतीमा रमाएका छन् ।

एक छोरा र एक छोरीकी बुबा सरोजलाई श्रीमती कौशिला लिम्बूले सहयोग गर्दै आएकी छिन् । झापाको गोमेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय लिएर स्नातकसम्म अध्ययन गरेका सरोजले २०७६ सालबाट गाउँमा आएर ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गरेका हुन् ।

ड्रागन फ्रुट फूल फुलेको ३५–४५औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १०–१५ दिनसम्म नबिग्रिने सरोजले बताए । सरोजले ड्रागन फ्रुटखेतीका लागि १८ लाख रुपैयाँ लगानी गरिसकेको बताए ।

व्यावसायिक कृषि पेसामा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवद्र्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदान दिने वातावरण मिलाउनुपर्नेमा उनको जोड छ ।

सामान्य अनुदानले कृषि क्षेत्रको प्रवद्र्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न सरकारलाई सरोजको आग्रह छ । (रासस)

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ९ : ३५ बजे

चाँगुनारायणमा दर्शनार्थीको घुइँचो

भक्तपुर– यहाँस्थित चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ

ऊर्जा मन्त्री भन्छन्- भारततिर ८ सय मेगावाट बिजुली गइरहेको छ, ट्रिपिङले दु:ख दियो, लोडसेडिङ कहीँ छैन

काठमाडौं– पछिल्लो समय चितवनसहितका स्थानमा लोडसेडिङ भएको समाचार आइरहेका छन्

भक्तपुरमा यसरी मनाइयो नागपञ्चमी (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी

सुक्खाग्रस्त समस्या समाधान गर्न अन्तर्राष्ट्रिय संस्थाहरू सक्रिय

जनकपुर– सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपश्चात् अन्तर्राष्ट्रिय संस्थाको छाता

जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध

जुम्ला– जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ ।