तेलङ्गना राज्यप्रमुखले नेपालीमा मन्तव्य दिँदै भने- ‘ढाकाटोपी लाउने देख्दा परिवारजस्तै लाग्छ’ | Khabarhub Khabarhub

यात्रा डायरी

तेलङ्गना राज्यप्रमुखले नेपालीमा मन्तव्य दिँदै भने- ‘ढाकाटोपी लाउने देख्दा परिवारजस्तै लाग्छ’



केही दिन अगाडि काठमाडौंबाट दिल्ली हुँदै भारतको हैदरावाद पुगेँ। नेपालबाट दिल्ली पुग्नुभन्दा दिल्लीबाट हैदरावादको दुरी टाढा रहेछ। नेपालबाट दिल्ली १:३० मिनेट लाग्यो । दिल्लीबाट हैदरावाद २:२० मिनेटको हवाइ यात्रा रहेछ। यो यात्रा भारत सरकार अन्तर्गत तेलङगना राज्यस्थित डा. एमसीआर एचआरडी मानव संसाधन विकास संस्थानद्धारा सञ्चालित आइटीईसी तालिम कार्यक्रम अन्तर्गत ‘पत्रकारिता तथा जनसम्पर्क समिति’ सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा सहभागीको निम्तो थियो ।

भारत दक्षिण एसियामा अवस्थित एक विशाल देश हो। यो विश्वको सातौं ठूलो भू-भाग रहेको छ। जनसंख्याको हिसाबले पहिलो स्थानमा पर्छ । १४४ करोडको आवादी रहेको छ। त्यसैमध्ये हालसालै दक्षिण-मध्य भागमा अवस्थित हैदरावाद पुग्ने अवसर जुट्यो ।

यो तेलङगना राज्यको राजधानी हो। हैदरावादको वरिपरि पहाड, स-साना ढुंगे पहाड र झरना छन्। सहरको बीच भागबाट मुसी नदी बग्दछ। जसले सहरलाई दुई भागमा विभाजन गरेको छ । अर्को विशेषता यहाँको माटो ग्रेनाइट प्रकारको छ। जुन निर्माणको लागि निकै उपयुक्त मानिन्छ। साथै हैदरावाद आइटी हबको लागि निकै प्रसिद्ध रहेछ।

यो एक सेमिनारमात्रै थिएन। भ्रमण, अवलोकन, सांस्कृतिक कार्यक्रम, योगा, स्विमिङ लगायत विभिन्न माध्यमबाट सिकाइ गर्ने अवसर थियो । हैददरावाद पुगेसँगै मलाई त्यहाँको बहुसांस्कृतिक र बहुभाषिक स्वरुप प्रत्यक्षरुपमा अनुभव गर्ने अवसर मिल्यो ।

‘गोलकण्डा फोर्ट’

प्रकृतिले संरचित गरेको मलाई कुनै पनि ठाउँ मन पर्छ। अझ त्यहाँ घुमेको ठाउँमध्ये ‘गोलकण्डा फोर्ट’ निकै मनमोहक र ऐतिहासिक लाग्यो । यो काकतीय वंशद्धारा १३ औं शताब्दीमा निर्माण गरिएको रहेछ। यहाँ हरेक साँझ ‘लाइट एण्ड साउण्ड शो’ आयोजना हुने रहेछ। जसले किल्लाको इतिहास जीवन्त रुपमा प्रस्तुत गर्छ ।

इतिहासलाई कसरी सुरक्षित राख्नुपर्छ भन्ने ज्वलन्त उदाहरण लाग्यो मलाई- गोलकण्डा। सन्ततिलाई विकास मात्रै होइन, इतिहास पनि सुरक्षित दिनुपर्छ भन्ने कुरा त्यहाँ देख्न सकिन्थ्यो । र अर्को पाटो पर्यटक भित्र्याउन पनि इतिहास जीवित राख्नु निकै आवश्यक छ ।

त्यसैगरी रामाप्पा मन्दिर, रामालिङ्गेश्वर मन्दिर सँगै हैदरावाद सिटी, प्रहरी कार्यालय, टीजीआईसीसीसी भ्रमणको अवसर जुट्यो। ट्राफिक व्यवस्थापनको लागि अत्याधुनिक प्रविधि प्रयोग गरिएको रहेछ । तर सडकमा अधिकांश बाइक तथा स्कुटर चालकले हेलमेट प्रयोग नगरेको देखियो। फोनमा कुरा गर्दै सवारी चलाएको पनि देखियो ।

ट्राफिक नियम कानुन मात्रै नभएर अनुशासनको विषय
हामीले प्रहरी अधिकृतसँग सोध्यौं- ‘यत्तिका सीसीक्यामेरा सडकमा जडान गर्दा पनि किन ट्राफिक नियम उल्लंघन गर्छन् ? जरिवाना वा कारवाही गर्नुहुन्न ?’ अधिकृतले जवाफमा भनेका थिए – ‘हेलमेट नलगाउने, सवारी चलाउँदा फोनमा कुरा गर्ने, लेन मिच्ने सबैलाई कारवाही हुन्छ। जरिवाना पनि तिराउँछौँ । ट्राफिक नियम कानुन मात्रै नभएर अनुशासनको विषय भएको हुँदा केहीले अनुशासन भंग गर्ने गर्छन् ।’

इन्स्टिच्युटले आयोजना गरेका शैक्षिक भ्रमण अन्तर्गत हामीले हैदरावाद प्रमुख धार्मिक स्थल, ऐतिहासिक संग्रहालय, बिरला विज्ञान संग्रहालय, शिक्षण संस्था र टी- हब जस्तो प्रमुख आइटी हबहरुको अवलोकन गर्ने अवसर पायौँ। स्थानीय सांस्कृतिक विविधता र समावेशी सामाजिक संरचना झन् नजिकबाट अवलोकनको सुयोग जु-यो।

टी- हब

त्यसपछि अर्को हामी टि-वर्कस पुग्यौँ। यो भारतकै सबैभन्दा ठूलो हार्डवेयर प्रोटोटाइपिङ संस्था हो । सरकार र निजी साझेदारीमा सञ्चालित रहेको छ । जसको उद्देश्य नवप्रवर्तन, प्रविधि र हार्डवेयर निर्माणमा प्रवद्र्धन गर्नु हो । उद्योग, शिक्षा र सरकारबीचको सहकार्यलाई बढाउँदै हैदरावादलाई भारतको ‘इनोभेसन राजधानी’ बनाउने प्राथमिकताको साथ तेलङगना सरकार अगाडी बढेको छ ।

‘रामोजी फिल्म सीटी’

अर्को अविष्मरणीय ‘रामोजी फिल्म सिटी’ प्रत्यक्ष अवलोकन गर्न पाइयो। चर्चित हलिउड, बलिउडदेखि तेल्लगु चलचित्रहरुको छायांकन हुने स्थल। विश्वको एक मात्र सबैभन्दा ठूलो फिल्म सिटी हो। जसले ‘गिनिज बुक’ मा नाम लेखाउन सफल रहेको छ ।

उक्त सेमिनारमा दक्षिण, दक्षिण अफ्रिका र दक्षिण अमेरिका लगायत १४ देशका पत्रकार तथा सरकारी प्रतिनिधिको सहभागिता थियो । सेमिनारमा सहभागी भएर विभिन्न मुलुकका सहभागीसँग आपसी चिनजान, अनुभूति आदान प्रदान र सौहार्द बाँड्ने दुर्लभ सुयोग थियो त्यो ।

तेलेगु लोकनृत्य

भारत सांस्कृतिक रुपमा निकै समृद्ध देश हो। हामीले त्यहाँ तेलेगु लोकनृत्य देख्न पाइयो । कथक नृत्य कथावाचन, लम्बाडी नृत्य र पेरिनी शिव ताण्डवम लगायत विविध स्थानीय सांस्कृतिक प्रस्तुति थियो । मुस्लिम नवाब र मुगलकालको प्रभावले हैदरावादमा कथक नृत्य निकै लोकप्रिय रहेछ ।

भारत र नेपालबीचको सम्बन्ध

भारत र नेपालबीच कूटनीति यावत समस्या छन् । तिनी समस्या कूटनीति स्तरबाटै समाधान हुनुपर्छ। तर हामी छिमेकी दुई देशबीचको सम्बन्ध राजनीति भन्दा सामाजिक, सांस्कृतिक र ऐतिहासिक रुपमा सदियौंदेखि जोडिएको सम्बन्ध हो । जो आज पनि यथावत नै छ । यसपटकको शैक्षिक कार्यक्रममार्फत भारतले नेपालसँगको सम्बन्ध प्रगाढ रहेको दर्शाएको छ ।

यसपटकको शैक्षिक सेमिनारले नेपाल- भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशामा योगदान पुर्याएको छ। अध्ययन, अवलोकन र आपसी संवादको माध्यमबाट हामीले नजिकबाट बुझ्न सक्यौ कि छिमेकीबीचको सम्बन्ध सधै सहकार्य र समझदारीमा आधारित हुन आवश्यक छ ।

भारतीय प्रतिष्ठित शैक्षिक संस्था डा. एमसीआर एचआरडी द्वारा सञ्चालित १५ दिने पत्रकारिता तथा पब्लिक रिलेसन सम्बन्धी सेमिनारमा अध्ययन, अवलोकन र आ-आफ्नो देशका अनुभव साट्ने राम्रो मौका मिल्यो ।

नेपाली ढाका टोपीको प्रशंसा

समापन समारोहमा हैदरावादस्थित तेलङ्गना राज्यप्रमुख (गभर्नर) डा. जिष्णुदेव वर्माको प्रमुख आतिथ्य रह्यो। उहाँले नेपाली भाषामै नेपाली विद्यार्थीलाई सम्बोधन गर्नुभयो । हाम्रो लागि त्यहाँ भन्दा बढी सम्मान र गौरवको विषय अरु के हुन सक्थ्यो ? साथै, उहाँले नेपाली ढाका टोपी लगाएको मानिस देख्दा परिवारको सदस्य जस्तो लाग्ने भनेपछि तालीले सेमिनार हल गुञ्जिएको थियो ।

हामी नेपाली प्रतिनिधीले गभर्नरलाई ढाका टोपी लगाइदिएर सम्मान गर्यौ। गभर्नरलाई मात्रै नभएर हरेक प्रोफेसरलाई पनि हामीले ढाका टोपी मार्फत सम्मान व्यक्त ग-यौं ।

यस यात्राले व्यक्तिगत र व्यावसायिक रुपमा निकै समृद्ध अनुभव दिलायो। भविष्यमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले पत्रकारिता र जनसम्पर्कको क्षेत्रमा अझ गहिरो दृष्टिकोण विकास गर्न सघाउ पुर्याउने विश्वास लिन सकिन्छ ।

यो सेमिनारले मलाई नयाँ ज्ञान मात्र दिएको छैन। आत्मविश्लेषण र आत्मविश्वास पनि थपिदिएको छ। यस अवसरका लागि भारतको परराष्ट्र मन्त्रालय, भारतीय दुतावास र डा. एमसीआर एचआरडी परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

साथै अन्तिममा कानुन तथा जनप्रशासन केन्द्रका प्रमुख तथा प्राध्यापक डा. माधवी राभुलापति, विषय विभागका डा. सुरेसकुमार कोन्दोजु र सेमिनार इन्चार्ज फैयाज मेहदी मोहम्मद लगायत सम्पूर्ण टिमलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ११ : ३४ बजे

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला