मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित | Khabarhub Khabarhub

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुख्खा छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ ।

खेत जोतिए पनि पानीको अभावले रोपाइँ थाल्न नसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा छन् । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि मधेसमा भने अझै पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।

सिरहाको लहान नगरपालिका– २३ का किसान रामकुमार यादव भन्छन्– ‘समयमै बर्खा नहुँदा रोपाइँ नै गर्न पाइएन । खेत जोतेर बीउ तयार पारेको धेरै भइसक्यो, तर न पानी पर्‍याे, न मल पाइयो । अब पानी परेपछि मात्रै खेतमा काम अघि बढ्छ ।’

उनका अनुसार, यसपटक असार सुरु भएदेखि नै वर्षा कमजोर रहेकाले खेत सुकेको छ । बोरिङ गर्ने सुविधा नभएकाले आकाशे पानीकै भर पर्नुपरेको छ । ‘अहिले रोपाइँको सबैभन्दा संवेदनशील समय हो, तर बजारमा डिएपी मल पाइँदैन । मल नहुँदा बीउ छर्ने समयमा धानलाई बढ्न आवश्यक पोषण दिन सकिन्न । यसले उत्पादनमा ठूलो असर गर्छ,’ उनले दुःखेसो गरे ।

आकाशे पानीकै भरमा किसान
तराईका धेरैजसो जिल्लाजस्तै सिरहाका किसान पनि आजसम्म सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकाशे पानीमा भर पर्न विवश छन् ।

कृषि ज्ञान केन्द्र, सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार, जिल्लामा कूल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन रहेकामा हालसम्म मात्र १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

यदि चाँडै पर्याप्त पानी नपरे बाँकी रोपाइँ ढिलो हुने र यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने कृषि विज्ञहरूको भनाइ छ । तर, मौसमविद्हरूका अनुसार मधेसका सबै स्थानमा मनसुन पूर्ण रूपमा सक्रिय हुन अझै केही दिन लाग्नेछ ।

डिएपी मलको अभाव
पानी मात्र होइन, रोपाइँको अर्को बाधक बनेको छ, रासायनिक मल अभाव । कृषि सामग्री कम्पनी लिमिटेड, लहानका प्रबन्धक दीपक पौडेलका अनुसार, रोपाइँका लागि आवश्यक पर्ने पाँच हजार मेट्रिक टन डिएपी मलमध्ये हालसम्म मात्र आठ सय २५ मेट्रिक टन मात्र आपूर्ति भएको छ ।

डिएपी मलको अन्तर्राष्ट्रिय मूल्य वृद्धि र टेन्डर घाटाको डरका कारण मल आपूर्तिमा ढिलाइ भएको प्रबन्धक पौडेलको भनाइ छ । युरिया र पोटास भने कार्यालयमा पर्याप्त रहेको उनले जानकारी दिए ।

समयमै रोपाइँ सम्पन्न भए आगामी बाली गहुँ, तोरी, सागसब्जीलगायतमा पनि राम्रो प्रभाव पर्ने नेपाल राष्ट्रिय कृषक समूह सिरहाका अध्यक्ष प्रदीप सिंह दनुवारको भनाइ छ ।

सरकारले समयमै मल आपूर्ति र दीर्घकालीन सिँचाइ समाधानमा ध्यान नदिए किसानको वर्षभरको मेहनत खेर जाने खतरा बढ्दै गएको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १२ : २१ बजे

चाँगुनारायणमा दर्शनार्थीको घुइँचो

भक्तपुर– यहाँस्थित चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ

ऊर्जा मन्त्री भन्छन्- भारततिर ८ सय मेगावाट बिजुली गइरहेको छ, ट्रिपिङले दु:ख दियो, लोडसेडिङ कहीँ छैन

काठमाडौं– पछिल्लो समय चितवनसहितका स्थानमा लोडसेडिङ भएको समाचार आइरहेका छन्

भक्तपुरमा यसरी मनाइयो नागपञ्चमी (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी

सुक्खाग्रस्त समस्या समाधान गर्न अन्तर्राष्ट्रिय संस्थाहरू सक्रिय

जनकपुर– सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपश्चात् अन्तर्राष्ट्रिय संस्थाको छाता

जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध

जुम्ला– जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ ।