इजरायली बन्धकको भिडियो सार्वजनिक भएपछि परिवार चिन्तित, युद्धविराम गर्न दबाब | Khabarhub Khabarhub

इजरायली बन्धकको भिडियो सार्वजनिक भएपछि परिवार चिन्तित, युद्धविराम गर्न दबाब


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाजा क्षेत्रमा सक्रिय लडाकु समूह हमास र प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) ले इजरायली बन्दीको भिडियो सार्वजनिक गरेपछि चिन्ता र आक्रोश निम्त्याएको छ । भिडियो सार्वजनिक भएपछि बन्धकको परिवार चिन्तित बनेका छन् भने इजरायलमाथि युद्धविराम गर्न दबाब पैदा भएको छ ।

हमास र पीआईजेले गत साता दुई बन्धकको भिडियो सार्वजनिक गरेका थिए । गत बिहीबार पीआईजेले आफ्नो कब्जामा रहेका इजरायली नागरिक २१ वर्षीय रोम ब्रास्लाभ्स्कीको ६ मिनेट लामो भिडियो जारी गरेको थियो । त्यसैगरी, हमासले पनि गत शनिबार अर्का इजरायली नागरिक २४ वर्षीय एभ्यातार डेभिडको भिडियो सार्वजनिक गरेको थियो ।

भिडियोमा दुबै बन्धक धेरै दुब्लाएको र कुपोषित देखिन्छ । उनीहरुको शरीर सुकेर करङ र हाडछाला मात्रै बाँकी रहेको देखिन्छ । उनीहरुको आँखा गाडिएका छन् । उनीहरुको अनुहारमा थकान र भोकमरीको स्पष्ट असर देखिन्छ । उनीहरु भयवित देखिन्छन् । उनीहरुलाई बोल्न पनि कठिन भइरहेको प्रतीत हुन्छ ।

भिडियोमा देखिएअनुसार डेभिडलाई कुनै अज्ञात सुरुङमा राखिएको छ । उनले आफू धेरै दिनदेखि सीमित खानेकुरा र पानीको भरमा भोकै बसेको बताएका छन् । त्यसैगरी, ब्रास्लाभ्स्कीको अवस्था पनि उस्तै छ । पीआईजेले ब्रास्लाभ्स्कीसँगको सम्पर्क टुटेको केही दिनअघि उक्त भिडियो खिचेको जनाएको छ । हाल ब्रास्लाभ्स्की र उनलाई बन्धक बनाउने लडाकुसँग सम्पर्क टुटेका कारण उनको अवस्था अज्ञात रहेको पीआईजेले उल्लेख गरेको छ ।

प्यालेस्टाइनी लडाकु समूहले जारी गरेका यी भिडियोलाई मनोवैज्ञानिक युद्धको हतियारका रुपमा हेरिएको छ । विगत लामो समयदेखि गाजा क्षेत्रमा एकोहोरो आक्रमण गर्दै आएको इजरायललाई युद्धविरामका लागि बाध्य पार्न लडाकु समूहले यस्तो भिडियो सार्वजनिक गरेको विश्लेषण गरिएको छ । आतंककारी समूहको प्रचार हुने र आफूहरुको भावनामा ठेस लाग्ने भन्दै पीडितका परिवारले उनीहरुको भिडियोको पूर्ण र सार्वजनिक प्रसारण नगरिदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन् ।

ब्रास्लाभ्स्कीको परिवारले भिडियोको सानो अंश मात्रै सार्वजनिक गर्न अनुमति दिएको छ । परिवारले यो भिडियोमा ‘रोमलाई भाँचिएको’ अवस्थामा देखिएको भन्दै इजरायल सरकार र अन्तर्राष्ट्रिय नेताहरूसमक्ष उनको रिहाइका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।

त्यसैगरी, डेभिडको परिवारले हमासमाथि ‘बन्धकलाई जानाजान भोकमरीमा राखेको’ आरोप लगाएको छ । तर, हमासले भने यस्तो आरोपको खण्डन गरेको छ । हमासले आफूहरुले खाने खाना नै बन्धकलाई दिइने गरेको भन्दै आफूहरु पनि लामो समयदेखि भोकै बस्नुपरेको टिप्पणी गरेको छ ।

हमासको सैन्य समूह अल–कसाम ब्रिगेड्सका प्रवक्ता अबु उबेइदाको भनाइ टर्किस समाचार संस्था अनादोलुले सार्वजनिक गरेको छ । आफ्नो बयानमा अबु उबेइदाले भनेका छन्, ‘हामीले बन्धकहरूलाई हाम्रा लडाकुहरू र गाजाका जनताले खाने खाना नै दिन्छौँ । गाजामा खाद्य सङ्कटको मुख्य कारण इजरायली नाकाबन्दी हो । इजरायलले गाजामा सहायता सामग्रीको प्रवेशलाई रोकेको छ ।’ त्यसैगरी, हमासको राजनीतिक ब्यूरोका सदस्य इज्जत अल–राशिकले पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा भोकमरीको नीति अपनाएर बन्धक र गाजावासीको जीवन जोखिममा पारेको आरोप लगाएका छन् ।

हुनपनि हाल गाजामा चलिरहेको युद्धका कारण मानवीय सङ्कट अझ भयावह बन्दै गइरहेको छ । संयुक्त राष्ट्रसङ्घ र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गाजामा ‘भयावह भोकमरी’ को चेतावनी दिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले इजरायली नाकाबन्दीका कारण गाजामा मानवीय सहायता प्रवेशमा गम्भीर अवरोध सिर्जना गरेको आरोप लगाएका छन् ।

उनीहरुका अनुसार इजरायलले गाजामा खानेकुरा, पानी र औषधिको आपूर्तिमा कडाइ गर्दै आएको छ । यसबाट लाखौँ प्यालेस्टिनीहरूको जीवन जोखिममा परेको छ । यता, इजरायलले यी आरोपहरू अस्वीकार गर्दै हमासले सहायता सामग्री लुकाएको र आफ्ना लडाकुहरूका लागि प्रयोग गरेको दाबी गरेको छ ।

डब्ल्यूएचओका अनुसार गत महिना मात्रै गाजाका ५ हजारभन्दा धेरै बालबालिका कुपोषणको उपचारका लागि अस्पताल भर्ना भएका छन् । हमासद्वारा गाजामा सञ्चालित स्वास्थ्य मन्त्रालयले जारी युद्धका कारण ९३ बालबालिकासहित १ सय ७५ जनाको भोकमरी र जलवियोजनका कारण ज्यान गएको जनाएको छ ।

यी भिडियोले इजरायलमा ठूलो आक्रोश निम्त्याएको छ । इजरायलमा हजारौँ मानिसहरूले तेल अभिभ र जेरुसेलम शहरमा विशाल प्रदर्शनको आयोजना गरेका छन् । प्रदर्शनकारीहरूले नेतन्याहुको सरकारमाथि युद्धलाई प्राथमिकता दिएर बन्धकहरूको जीवन जोखिममा पारेको आरोप लगाएका छन् ।

यसैबीच, इजरायलका सयौँ सेवानिवृत्त इजरायली सुरक्षा अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गाजामा युद्ध अन्त्य गर्न सहयोग गरिदिन आग्रह गरेका छन् । सुरुमा हमासविरुद्ध न्यायपूर्ण रक्षात्मक युद्ध सञ्चालन गरिएको भएपनि हाल युद्ध न्याय विपरित गएको इजरायली जासुसी निकाय शिन बेट सुरक्षा सेवाका पूर्व निर्देशक अमी अयालोनले बताएका छन् ।

शिन बेट र मोसाद जासुसी एजेन्सीका पूर्व प्रमुखसहित ५ सय ५० जनाले उक्त पत्रमा हस्ताक्षर गरेका छन् । पत्रमा प्रधानमन्त्री नेतान्याहूलाई युद्धविरामका लागि नेतृत्व गरिदिनका लागि ट्रम्पलाई आह्वान गरिएको छ ।

उता, इजरायली नेतन्याहूले भने हमास र पीआईजेले ‘अकल्पनीय क्रूरता’ देखाएको भन्दै निन्दा गरेका छन् । आइतबार अन्तर्राष्ट्रिय रेड क्रस समितिका क्षेत्रीय प्रमुख जुलियन लेरिसनसँगको भेटमा उनले बन्धकहरूको अवस्थालाई लिएर आफूलाई ‘गहिरो धक्का’ लागेको टिप्पणी गरेका थिए । उनले रेड क्रसलाई बन्धकहरूलाई तत्काल खाना, पानी, र चिकित्सा सहायता उपलब्ध गराउन आग्रह गरे । नेतन्याहुले भने, ‘हमासको क्रूरताले हामीलाई बन्धक रिहाइको महत्वबारे अझ प्रष्ट पारेको छ । हामी उनीहरूलाई घर फर्काउन हरसम्भव प्रयास गर्नेछौँ ।’

सोमबार भने हमासले इजरायलसँग नयाँ प्रस्ताव अघि सारेको छ । उसले यदि इजरायलले हवाई आक्रमण रोकेर गाजामा स्थायी मानवीय सहायता मार्ग खोलेमा बन्धकहरूलाई सहायता उपलब्ध गराउन रेड क्रसलाई अनुमति दिने बताएको छ । यो प्रस्तावले युद्धविराम वार्तालाई नयाँ गति दिन सक्ने अपेक्षा गरिएको छ । यद्यपि हालसम्म यस्ता वार्ताहरू बारम्बार असफल भएका छन् ।
भिडियोलाई लिएर अन्तर्राष्ट्रिय नेताहरुले पनि प्रतिक्रिया दिएका छन् ।

अन्तर्राष्ट्रिय रेड क्रस समितिले भिडियोमा देखिएको अवस्थामा बन्धकहरूको जीवन जोखिममा पर्ने जनाएको छ । रेड क्रसले आफ्ना सहायताकर्मीलाई तत्काल बन्धकहरुसम्म पहुँच दिन हमाससँग माग गरेको छ । रेड क्रसका क्षेत्रीय प्रमुख लेरिसनले भने, ‘हामी बन्धकहरूको अवस्थालाई लिएर अत्यन्त चिन्तित छौँ । उनीहरूलाई तत्काल चिकित्सा र मानवीय सहायता आवश्यक छ ।’

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि यी भिडियोको निन्दा गरेका छन् । म्याक्रोनले भनेका छन्, ‘हमासको यो क्रूरता अस्वीकार्य छ । बन्धकहरूको रिहाइ र गाजामा मानवीय सहायता सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्छ ।’ केही समयअघि मात्रै फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय गरेको थियो ।

जर्मन चान्सलर फ्रेडरिख मर्जले पनि युद्धविराम र बन्धक रिहाइका लागि वार्ताको आवश्यकता औँल्याएका छन् । त्यसैगरी, अमेरिकी विदेश मन्त्रालयले पनि बन्धकहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै इजरायल र हमास दुवैलाई युद्धविराम वार्तामा लचकता अपनाउन आग्रह गरेको छ । यद्यपि, अमेरिकी र इजरायली वार्ताकारहरूले हालैका वार्ताहरू असफल हुनुको दोष हमासलाई दिँदै आएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : १२ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन