काठमाडौं- संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’बारे भएको छेडखानी छानबिनका लागि बनेको जीवन परियार नेतृत्वको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ।
२९ दिन लामो छानबिनपछि तयार गरिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाइएको छ। सभामुखले प्राप्त गरेपछि प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ र समिति सभापति जीवन परियारले जवाफसमेत दिएका छन्।
छानबिनको क्रममा राज्य व्यवस्था तथा सुशासन समितिका विभिन्न सदस्यहरूले समितिमा आफ्ना धारणा राखेका थिए। उनीहरूले विधेयकमा भएको त्रुटिलाई भ्रष्टाचार, षड्यन्त्र र सुनियोजित कार्यका रूपमा व्याख्या गरेका छन्।
के भने सांसदहरूले ?
विश्वप्रकाश शर्मा (नेपाली कांग्रेस)
उनले यो वदमासीलाई नियतवश भन्नलाई अझै पनि राष्ट्रिय सभा बाँकी रहेको बताएका छन् । ‘यो कार्य जानाजानी गरिएको हो। घोर आपत्तिजनक र दण्डनीय छ’, उनले समितिसँग भनेका छन्, ‘असावधानी, थकान वा जानकारीको कमीले गरिएको काम होइन। अब संसदीय प्रक्रियाले आफू सक्षम छ भन्ने प्रमाण दिनुपर्छ।’
उनले राष्ट्रिय सभा बाँकी हुँदा हुँदै गरिएको बदमासी क्षम्य नहुने बताए । उनलेमानवीय गल्ती भनेर उम्कने ठाउँ नभएको बताउँदै यसमा संलग्नलाई दण्डित गरिनुपर्ने बताएका छन् ।
पदम गिरी (नेकपा एमाले)
नेकपा एमालेका सांसद पदम गिरीले नेपालको संसदमा यो पहिलो लज्जास्पद काम भएको समितिलाई बताएका छन् ।
‘यो नेपाल संसदको पहिलो लज्जास्पद काम हो। यो सुनियोजित र जानीजानी गरिएको गम्भीर त्रुटि हो’, उनले भनेका छन्, ‘जसले प्रतिवेदनमा हस्ताक्षर गर्यो उसले जिम्मेवारी लिनुपर्छ। यो समितिमा बस्न उहाँहरूलाई मिल्दैन। जिम्मेवारीको पहिलो पंक्तिमा सभापति र सचिव छन्।’
यसको मुख्य जिम्मेवार फ्रन्टलाइनमा सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा रहेको उनले बताएका छन् । ‘नैतिकरूपमा राज्य व्यवस्था तथा सुशासन समिति र सांसदसमेत जिम्मेवार हुनु पर्छ’, उनले भनेका छन् ।
वासुदेव घिमिरे (नेकपा एमाले)
एमाले सांसद घिमिरेले समितिलाई आफ्नो भनाइ दिने क्रममा प्रतिनिधिसभामा पेश गर्नुअघि पढ्न नदिइएको बताएका छन् ।
‘संसद्लाई नै आँच आउने काम भएको छ। सभापतिले नपढी नबुझी गर्नु भएको भन्ने लाग्दैन। यो सामान्य गल्ती होइन, तोडमोड भएको छ। यसलाई मानवीय त्रुटि मान्न सकिँदैन। यो अपराध हो, भ्रष्टाचार हो’, उनले भनेका छन् ।
उनले प्रतिनिधि सभामा पेस हुनु अगाडि पढ्न पाउनु पर्छ भनेको कुरा पनि नसुनिएको बताए । ‘अन्तिम ड्राफ्ट अरू विधेयकको पनि देखाइने गरिएको छैन। सभापतिले नपढी नबुझी गर्नु भएको भन्ने लाग्दैन’, उनले भनेका छन्, ‘यो सामान्य खालको घटना होइन तोडमोड भएको छ।’
चित्रबहादुर केसी (राष्ट्रिय जनमोर्चा)
राजमो अध्यक्षसमेत रहेका चित्रबहादुर केसीले अहिलेको जमानामा इमान्दर मान्छे प्रायः नभेटिने बताएका छन् ।
‘सभापतिलाई हामिले विश्वास गर्ने कि नगर्ने ? यो विषयमा छलछाम भएको छ’, उनले भनेका छन्, ‘यो विकृति विसंगति हो। सामान्य कर्मचारीले गरेको हो भन्ने लाग्दैन यो त जिम्मेवार व्यक्तिबाट भएको षड्यन्त्र र बदमासी हो ।’

प्रतिक्रिया