यी हुन् विश्वमा सबैभन्दा धेरै प्रतिबन्धमा परेका १० सामाजिक सञ्जाल | Khabarhub Khabarhub

यी हुन् विश्वमा सबैभन्दा धेरै प्रतिबन्धमा परेका १० सामाजिक सञ्जाल



काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । निर्धारित समयमा दर्ता हुन नआएपछि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । यससँगै अब नेपालमा आधिकारिक रुपमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द भएका छन् । नेपालमा भाइबर, टिकटक, विटक र निम्बजजस्ता सामाजिक सञ्जाल सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरण प्रक्रियामा छन् ।

उता धेरै प्रयोगकर्ता व्यस्त रहने फेसबुक, इस्न्टाग्राम, एक्स, (ट्वीटर) र ह्वाट्सएप सहितका सामाजिक सञ्जाल सूचीकरण प्रक्रियामा आएका छैनन् । यद्यपि हालै फेसबुक र ह्वाट्सएपको माउ कम्पनी मेटा दर्ता प्रक्रियामा औपचारिक रुपमा आएको छैन ।

यसअघि भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । तर त्यसलाई बेवास्ता गरेपछि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि पनि सरकारसँग सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको अनुभव छ । यसअघि सरकारले ०८० कात्तिक महिनामा सामाजिक सञ्जाल टिकटकमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

त्यसबेला सामाजिक सद्भाव बिगारेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । तर, बन्द भएको १० महिनापछि अर्थात् ०८१ भदौमा पुनः फुकुवा गरेको थियो । त्यसको दुई महिनापछि औपचारिक रुपमा टिकटक नेपालमा दर्ता भएको थियो ।

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने नेपाल एकमात्र मुलुक होइन । विश्वका विभिन्न मुलुकले विभिन्न सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएका छन् । संसारका विभिन्न मुलुकले टिकटक, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, एक्सजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएका छन् ।

यसरी सामाजिक सञ्जालमा प्रतिबन्ध गर्ने देशमा उत्तर कोरिया, चीन, रुस, इरानजस्ता अधिनायकवादी तथा तानाशाही शासन व्यवस्था रहेका मुलुक छन् ।

१. टिकटक

छोटा भिडियो शेयर गर्न मिल्ने सामाजिक सञ्जाल टिकटक संसारभर लोकप्रिय छ । विश्वभर यो एपका प्रयोगकर्ता १ अर्ब ५० करोडदेखि १ अर्ब ७५ करोड आसपास रहेको ठानिन्छ । बाइटडान्सको स्वामित्वमा रहेको यो सामाजिक सञ्जाल धेरै देशमा प्रतिबन्धित छ । हाल अफगानिस्तान, उत्तर कोरिया, तुर्कमेनिस्तान, भारत, इरान, सोमालियामा यो सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेको छ । त्यसैगरी, अमेरिका, युरोपेली मुलुक र अन्य कतिपय देशमा सरकारी विद्युतीय उपकरणमा टिकटकको प्रयोगमाथि बन्देज लगाइएको छ ।

२. फेसबुक

फेसबुक संसारकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल एप्लिकेसन हो । यो एप अमेरिकी सञ्चार उद्यमी मार्क जुकरबर्गको मेटा कम्पनीको उत्पादन हो । विश्वभर यसका तीन अर्बभन्दा धेरै प्रयोगकर्ता छन् । यो एप पनि उत्तर कोरिया, म्यान्मार, तुर्कमेनिस्तानजस्ता देशमा प्रतिबन्धित छ । सन् २००९ को जुलाई महिनामा सिन्जियाङ प्रान्तमा दंगा भएपछि चीनले फेसबुकमाथि प्रतिबन्ध लगाएको थियो । त्यसैगरी, रुस र इरानले पनि पश्चिमा प्रभाव रोक्न भन्दै फेसबुकमाथि प्रतिबन्ध लगाएका छन् ।

३. इन्स्टाग्राम

इन्स्टाग्राम पनि संसारमा सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालमध्ये एक हो । यो एप पनि मेटाकै स्वामित्वमा रहेको छ । यसका प्रयोगकर्ता २ अर्ब ११ करोडभन्दा धेरै छन् । फोटो पोस्ट गर्न मिल्ने यो एप पनि उत्तर कोरिया, म्यान्मार, तुर्कमेनिस्तान, उज्बेकिस्तान, रुस, इरानजस्ता देशमा प्रतिबन्धित छ । चीनले सन् २००९ मै यो एपमाथि प्रतिबन्ध लगाएको थियो । इरानले सन् २०१८ र म्यान्मारले सन् २०२१ मा र रुसले सन् २०२२ मा यो एपमाथि प्रतिबन्ध लगाएका थिए ।

४. एक्स (ट्विटर)

माइक्रोब्लगिङ साइट एक्स पनि विश्वमा ज्यादै लोकप्रिय छ । यद्यपि यसका प्रयोगकर्ता भने फेसबुक र इन्स्टाग्रामभन्दा कम छन्। एक्स विश्वका धनाढ्य एलोन मस्कको स्वामित्वमा छ । यो एपका कुल प्रयोगकर्ता ६१ करोड छन् । मस्कले खरिद गरेपछि सन् २०२३ मा ट्विटरको नाम फेरेर एक्स राखिएको थियो । यो एप पनि चीन, इरान, म्यान्मार, उत्तर कोरिया, रुस र भेनेजुएलाजस्ता देशमा प्रतिबन्धित छ ।

५. यूट्युब

भिडियो शेयरिङ साइट युट्यूब पनि विश्लको लोकप्रिय सञ्जाल हो । विश्वभर यो एपका प्रयोगकर्ता दुई अर्ब ५० करोडभन्दा धेरै छन् । यो एप अमेरिकी सञ्चार उद्योग गुगलको मातहतमा रहेको छ । यो एप पनि रुस, चीन, तुर्कमेनिस्तान, इरानजस्ता देशमा प्रतिबन्ध लगाइएको छ । यसअघि ब्राजिल, इरेट्रिया, अर्मेनियाजस्ता देशले पनि केही समयका लागि यो एपमाथि बन्देज लगाएका थिए ।

६. ह्वाट्सएप

म्यासेजिङ एप ह्वाट्सएप पनि मेटाकै स्वामित्वमा छ । यो एप विश्वमा निकै लोकप्रिय छ । यसका कुल प्रयोगकर्ता दुई अर्ब ५० करोड छन् । यो एपमाथि म्यान्मार, इरान, तुर्कमेनिस्तान, चीन, उत्तर कोरियाजस्ता देशमा प्रतिबन्ध लगाइएको छ । त्यसबाहेक यूएई, कतारजस्ता मध्यपूर्वका देशमा पनि ह्वाट्सएपमार्फत अडियो र भिडियो कल गर्न नमिल्ने प्रबन्ध गरिएको छ । टेलिकम कम्पनीको आम्दानीमा असर पर्ने भन्दै मध्यपूर्वमा ह्वाट्सएपको फिचरमाथि बन्देज लगाइएको हो ।

७ टेलिग्राम

म्यासेजिङ एप टेलिग्राम रुसका सञ्चार उद्यमी निकोलाई र पाभेल डुरोभ दाजुभाइले स्थापना गरेका हुन् । टेलिग्रामलाई संसारमै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको सामाजिक सञ्जाल मानिन्छ । हाल विश्वभर ९५ करोड टेलिग्राम प्रयोगकर्ता छन् । टेलिग्राम पनि उत्तर कोरिया, तुर्कमेनिस्तान, भियतनाम, चीनजस्ता देशमा प्रतिबन्ध लगाइएको छ । त्यसबाहेक यूएई, ओमन, कतारजस्ता मध्यपूर्वका देशले पनि टेलिग्रामको भ्वाइस र भिडियो कल गर्ने फिचर बन्देज लगाएका छन् ।

८. रेडिट

कुनै विषयमा खुला बहसका लागि मञ्चका रुपमा स्थापित रेडिट पनि विश्वमा लोकप्रिय एप हो । सन् २००५ मा अमेरिकामा स्थापना भएको रेडिट युवापुस्तामाझ निकै लोकप्रिय छ । यो एपका प्रयोगकर्ता १ अर्बभन्दा धेरै छन् । यो एप पनि उत्तर कोरिया, चीन र इरानजस्ता देशमा प्रतिबन्धित छ । त्यसैगरी, इण्डोनेशियाका कतिपय इन्टरनेट सेवा प्रदायकले यो एपको पहुँचमा बन्देज लगाएका छन् ।

९. ट्विच

लाइभ स्ट्रिमिङ प्लेटफर्मका रुपमा स्थापित ट्विच जेफ बेजोसको अमेजन कम्पनीको स्वामित्वमा छ । प्रायः भिडियो गेमको स्ट्रिमिङ हुने भएकाले यो सामाजिक सञ्जाल गेमरमाझ लोकप्रिय छ । विश्वभर यसका कुल प्रयोगकर्ता २४ करोड छन् । चीन, उत्तर कोरिया, इरानजस्ता देशमा ट्विचमाथि प्रतिबन्ध लगाइएको छ । यसअघि सन् २०२१ मा जुवासम्बन्धी नियम उल्लङ्घन गरेको भन्दै स्लोभाकियाले पनि ट्विचमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि केही समयपछि स्लोभाकियामा यो प्रतिबन्ध फुकुवा गरिएको थियो ।

१०. स्न्यापच्याट

फोटो, भिडियो र स्टोरी शेयर गर्न मिल्ने स्न्यापच्याट पनि युवापुस्तामाझ लोकप्रिय छ । विश्वभर यो एपका ८५ करोड प्रयोगकर्ता छन् । यो एपमाथि चीन, उत्तर कोरिया, क्युबा, रुसजस्ता देशले प्रतिबन्ध लगाएका छन् । पश्चिमा मुलुकको प्रभाव रोक्नका लागि ती देशले यो एपमाथि प्रतिबन्ध लगाएको जनाइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ११ : २२ बजे

हमासले रिहा गर्ने २० बन्धकको नाम सार्वजनिक : विपिन जोशी छैनन्

काठमाडौं – हमासले रिहा गर्ने २० बन्धकको नाम सार्वजनिक भएको

धानको बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका- ८ का किसान बुद्धिराम चौधरी गुणस्तरीय

प्रचण्डको घरमा पैसा लुकाएको प्रचार गर्ने पूर्व एआईजीविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं – गलत प्रचार गरेको आरोपमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक

पर्सामा  महिलाको नाममा ३६३ घरेलु उद्योग सञ्चालन

पर्सा– सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग

बर्दियाका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

बर्दिया– अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला