अदालतको फैसलाअघि थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनले अचानक देश छाडे | Khabarhub Khabarhub

अदालतको फैसलाअघि थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनले अचानक देश छाडे


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

बैङ्कक- थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले बिहीबार अनपेक्षित रूपमा देश छाडेका छन् । उनले देश छाडेको पाँच दिनपछि अदालतले उनलाई नयाँ जेल सजाय सुनाउन सक्नेछ ।

उनको प्रस्थान छोरी पेटोङ्टार्न सिनावात्रालाई संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट हटाएको एक हप्तापछि भएको हो । अदालतले पेटोङ्टार्नलाई कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग राजनीतिक सम्झौतासम्बन्धी फोनकलका कारण नैतिकता उल्लङ्घनमा दोषी ठहर गरेको थियो ।

पेटोङ्टार्नको उत्तराधिकारी चयनका लागि शुक्रबार संसद्मा मतदान हुने तय थियो । धेरैले यसलाई थाक्सिनको दुई दशकभन्दा लामो राजनीतिक प्रभावको अन्त्यको सङ्केतको रूपमा हेरेका छन् । यस अवधिमा उनीविरुद्ध थुप्रै मुद्दा दर्ता भए पनि उनले जेलमा लामो समय बिताएका छैनन् ।

बैङ्ककको डन मुयाङ विमानस्थलमा थाक्सिनले अध्यागमन अधिकारीलाई आफ्नो निजी जेट सिङ्गापुरतर्फ जाने बताए । प्रहरीले पुष्टि गरेअनुसार उनीमाथि कुनै गिरफ्तारी वारेन्ट वा रोक आदेश नभएकाले ७ बजेपछि विमानलाई उडान अनुमति दिइयो ।

तर एपीले विश्लेषण गरेको फ्लाइट–ट्र्याकिङ डाटाले उनको बोम्बार्डियर बीडी–७०० जेट सिङ्गापुरतर्फ गएको देखिए पनि अचानक पश्चिम फर्केर दुईपटक घुमी भारततर्फ अघि बढेको देखाएको छ ।

थाक्सिनले एक्समा उनी मेडिकल चेकअपका लागि सिङ्गापुर जान लागेको तर थाई अध्यागमन प्रक्रियाले दुई घण्टा ढिलाइ गरेको लेखेका छन् । सेलेटार विमानस्थलको राति १० बजेपछि बन्द हुने नियमका कारण विमान अवतरण गर्न नसक्ने भएपछि उनले मार्ग परिवर्तन गरी दुबई जाने निर्णय गरेको बताए ।

थाक्सिन सन् २००८ मा सुरु भएको स्व–निर्वासन अवधिमा दुबईमै बस्दै आएका थिए । उनले त्यहाँ आफ्ना नियमित चिकित्सकहरू रहेको उल्लेख गरे ।

उनको यो यात्राले सम्भावित जेल सजाय टार्ने प्रयास भएको शङ्का जन्माएको छ । तर उनले मङ्गलबार अदालतमा उपस्थित हुन थाइल्यान्ड फर्किने इच्छा प्रकट गरेका छन् ।

थाक्सिन सन् २००१ देखि सन् २००६ मा सैनिक कूले अपदस्थ नभएसम्म प्रधानमन्त्री थिए । सन् २००८ मा संक्षिप्त रूपमा थाइल्यान्ड फर्किए पनि भ्रष्टाचार मुद्दाको फैसला अघि उनी फेरि विदेश गए ।

भ्रष्टाचार, शक्तिको दुरुपयोग र राजतन्त्रप्रति अनादरका आरोपमा उनलाई निर्वासन गरिएको थियो । सन् २०२३ मा उनले फर्केर भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा आठ वर्षको सजाय भोग्नुपर्ने थियो । तर स्वास्थ्य कारण जेलको सट्टा पुलिस जनरल अस्पतालमा राखिए । पछि राजा महा भाजिरालोङ्गकोर्नले सजाय एक वर्षमा घटाइदिए र उनी छ महिनापछि प्यारोलमा रिहा भए ।

विशेष उपचार पाएको आरोपबीच मङ्गलबारको सर्वोच्च अदालतको फैसला निर्णायक हुने मानिएको छ । अदालतले सुधार विभागले उनको मुद्दा कानूनअनुसार सम्हालेको वा नसम्हालेको भन्ने ठहर गर्नेछ । यदि थाक्सिन प्रत्यक्ष संलग्न ठहर भए भने नयाँ जेल सजाय सम्भावित छ ।

पद छाडेयता थाक्सिनले मुद्दाहरूलाई राजनीतिक प्रेरित भनेका छन् । गत महिना उनलाई शाही मानहानि (लेसे–माजेस्टे) आरोपबाट मुक्त गरिएको थियो । उक्त आरोपले उनलाई १५ वर्षको जेल सजाय दिन सक्थ्यो ।

उनकी बहिनी, यिङलक सिनावात्रा सन् २०१७ मा अपदस्थ भएपछि पनि दुबईमा निर्वासनमा छिन् र अनुपस्थितिमा दोषी ठहर भएकी छिन् ।

दुबई, संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो सहर, राजनीतिक वा कानूनी चुनौती भोगेका नेताहरूको आश्रयस्थल रहँदै आएको छ ।

त्यहाँ पाकिस्तानी जनरल परवेज मुशर्रफले समेत बसोबास गरेका थिए । मुशर्रफले सन् १९९९ मा कू गरी सत्ता कब्जा गरेका थिए र पछि अफगान युद्धमा अमेरिका पक्षमा उभिएका थिए ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १ : ५४ बजे

एमालेको झोलामा के छ ?

काठमाडौं– नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा शुरु

एमालेका संगठित सदस्य : सबैभन्दा धेरै धनुषा, सबैभन्दा कम मनाङ 

काठमाडौं– मधेश प्रदेशको धनुषा जिल्लामा नेकपा (एमाले) को पकड सबैभन्दा

एमालेको निष्कर्ष : राजावादीको गणतन्त्र उल्ट्याउने प्रयास पूर्ण विफल

गोदावरी- नेकपा (एमाले)ले आफ्नो प्रतिबद्धता र परिणामलाई प्रतिवेदनमा उल्लेख गर्दै

एमालेको परराष्ट्र नीति : सबैसँग मित्रता, कसैसँग शत्रुता छैन

गोदावरी ललितपुर– नेकपा (एमाले)ले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने

एमालेका संगठित सदस्य साढे ६ लाखभन्दा बढी

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) का देशभित्र र देशबाहिर