जैविक विविधता जोगाउन प्यारा तालको संरक्षण गरिँदै | Khabarhub Khabarhub

जैविक विविधता जोगाउन प्यारा तालको संरक्षण गरिँदै


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीसँगै सिमाना जोडिएको कञ्चनपुरको पुर्नवास नगरपालिका–८ र वडा नं ९ मा अवस्थित ‘प्यारा’ ताल प्राकृतिक सौन्दर्यताले हराभरा र भरिपूर्ण छ । जैविक विविधताको दृष्टिकोणले पनि तालको छुट्टै महत्त्व छ  । 

सदावहार जलाशययुक्त तालको छ किलोमिटर लम्बाइ, सरदर ७० मिटर चौडाइ र १५ फिट गहिराइ रहेको छ । तालमा विश्वमै दुर्लभ मानिएको जलचर प्राणी ओद (मांशाहारी प्राणी), दक्षिण एसियामै दुर्लभ मानिएको पहेंलोधुरे प्रजातिको कछुवा, गोही, जलकपुरसँगै ३५ प्रजातिका माछा रहेका छन् । 

योसँगै खोज र अनुसन्धान हुन नसकेका थुप्रै यस्ता संरक्षण गर्नुपर्ने जलचर र उभयचर प्राणीको बासस्थान यो तालमा छ । राज्यका सरोकारवाला निकायको पहुँचभन्दा टाढा रहेका कारणले ओझेलमा परेको तालको संरक्षण तथा संवर्द्धनका लागि सुरुमा नागरिकस्तरबाट नै केही गर्न सकिन्छ भन्ने उद्देश्यले ताल संरक्षणको अभियानमा जुटेको प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दिपेन्द्र बस्नेतले जानकारी दिए ।

तालको प्रचारप्रसार नभएको र महत्वकाबारेमा जानकारी नपाएकैले स्थानीयबाट यो तालको अतिक्रमण भइरहेको अध्यक्ष बस्नेतले बताए । मानवको बढी चहलपहललगायत विभिन्न कारणले गर्दा जलचर प्राणीको अस्तित्व सङ्कटमा पर्ने अवस्थालाई मध्यनजर गर्दै पर्यटन प्रवर्द्धनका माध्यमबाट तालको संरक्षणमा एउटा राज्यको ध्यान केन्द्रित गर्ने अभिप्रायले २०८० असार २० गतेदेखि ताल संरक्षणको अभियानमा जुटेको उनले बताए ।

यसरी अभियान सुरु भएसँगै सुरुआती चरणमा ताल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने हेतुले स्वस्फूर्त रूपमा नागरिकस्तरबाट आर्थिक सहयोग जुटेको थियो । 

सोही अभियानस्वरुप ताल परिसरमा अहिले विभिन्न दुर्लभ जलचर प्राणीहरू ओद, पहेंलोधुरे कछुवा, जलकपुर माछाका साथै जरायो र गोहीका प्रतिमा निर्माण गरिएका छन् । त्यस्तै मयुर, पाठेबाघ र सिम कुखुराको प्रतिमा निर्माणको काम पनि अगाडि बढेको अध्यक्ष बस्नेतले बताए  ।

तालको संरक्षण तथा प्रवर्द्धनका लागि भनेर गत आव २०८१/८२ मा सङ्घीय सरकारको रु ९० लाख रकम विनियोजन गरिएको थियो । उक्त रकम पुर्नवास नगरपालिकामार्फत बोलपत्र आह्वान गर्दा रु ७३ लाखमा टेन्डर भई तटबन्धको निर्माण सुरु गरिएको उनले जानकारी दिए ।

उनका अनुसार ११० मिटर लम्बाइ तटबन्ध निर्माणको काम सुरु भएसँगै ८५ मिटर तटबन्धको काम भइसकेको छ । करिब २५ मिटर तटबन्ध निर्माणको काम बन्न बाँकी छ । ताल परिसरमा माटो फिलिङ गर्नुका साथै एउटा सभाहलसमेत निर्माण गरिएको छ ।

ताललाई पर्यटनको केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले तालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको बताइएको छ । 

जैविक हिसाबले महत्त्वपूर्ण मानिएको प्यारा तालको संरक्षण तथा प्रवर्द्धन, यसको प्रचारप्रसारका साथै आन्तरिक पर्यटकलाई आकर्षक हुनेखालको संरचना निर्माण गर्न सके सुदूरपश्चिममै एउटा पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ ।

छिमेकी मुलुक भारतसँग भूभाग जोडिएको उक्त तालको राज्यस्तरबाट समयमै संरक्षण तथा संवर्द्धन गर्नमा ध्यान गएन भने ताल संरक्षणमा असर पर्न सक्ने सोही क्षेत्रका स्थानीय जानकारहरूको भनाइ छ । रासस

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  २ : ३४ बजे

इन्द्रजात्राको पूर्वसन्ध्यामा लाखे आजुको नाँच (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रामा काठमाडौंको मजिपा लाखे आजु (शान्त भैरव) को नृत्य

खेलकुद क्षेत्रको विकासका लागि आक्रामक ढंगले हस्तक्षेप गर्न आवश्यक छ : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको

बेकोको साथमा ‘परम्परा खुसीयाली, ब्लिसफुल दशैं यसपाली’

काठमाडौं– दशैं-तिहारको अवसरमा बेकोले उपभोक्ताहरूका लागि आकर्षक अफर ल्याएको छ

नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल सुरु, २३ दिनसम्म उपत्यका उत्सवमय हुने

काठमाडौं– नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल–२०२५’ शुक्रबारदेखि सुरु

एमाले अध्यक्ष ओलीले टेरेनन् प्रधानमन्त्री ओलीको प्रतिबन्ध, फेसबुक र ह्वाट्स एप चलाएको चलायै

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका अध्यक्ष ओलीबीच