जयपुर– रङ्गीन बजार र ऐतिहासिक दरबारका लागि प्रसिद्ध जयपुरको छेउमा रहेको एक औद्योगिक परिसर अहिले भारतको सौर्य उद्योगलाई चीनसँग प्रतिस्पर्धामा अघि बढाउने केन्द्र बनेको छ ।
विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतले आफ्नो बढ्दो घरेलु ऊर्जा माग पूरा गर्न र चीनसँग बजार हिस्सामा जुध्न सौर्य प्रविधिमा ठूलो लगानी गरिरहेको छ ।
कर छुट प्राप्त विशेष क्षेत्रमा रिन्यु कम्पनीको कारखानाले वार्षिक चार गिगावाट बिजुली उत्पादन गर्न सक्ने मोड्युल उत्पादन गर्छ । यो करिब २५ लाख घरधुरीलाई आवश्यक ऊर्जासँग बराबर छ ।
दुई वर्षमै एक हजार जनालाई रोजगारी दिने यो उद्योग भारतको तीव्र सौर्य वृद्धिको प्रतीक बनेको छ । गत आर्थिक वर्षमै भारतको सौर्य कम्पोनेन्ट उत्पादन क्षमता दोब्बरभन्दा बढी बढेको थियो ।
“स्वच्छ ऊर्जामा प्रत्यक्ष योगदान दिन पाउनु खुसीको कुरा हो”, रिन्युकी इन्जिनियर मोनिशाले भनिन् ।
तर भारतलाई अझै चीनसँग जुध्न कठिनाइ छ । चीनले विश्वकै ८० प्रतिशतभन्दा बढी सौर्य कम्पोनेन्ट उत्पादन गर्छ र भारतका धेरै निर्माताहरू त्यसकै आपूर्तिमा निर्भर छन् । यता, प्रमुख बजार अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयअनुसार भारतीय सामानमा ५० प्रतिशत कर लगाएको छ ।
यद्यपि भारतको घरेलु मागले यो दबाब कम गर्ने विश्लेषकहरूको भनाइ छ । हालै अमेरिकामा भारतले उत्पादन गरेको प्यानलमध्ये करिब एक तिहाइ बेचिएको थियो । त्यस आम्दानीले भारतीय कम्पनीहरूलाई आपूर्ति श्रृङ्खला अद्यावधिक गर्न मद्दत गरेको छ ।
“भारतजस्तो ठूलो बजारले आफ्नै मोड्युल अवशोषित गर्न सक्छ, हामी निर्यातमा मात्र निर्भर रहनु पर्दैन”, ऊर्जा विश्लेषक चरिथ कोन्डाले भने ।
हैदराबादको भेगा सोलार जस्तै कम्पनीहरूले पनि कोभिड–१९ पछि निर्यातभन्दा घरेलु बजारमा ध्यान दिन थालेका छन् । “पहिले ९० प्रतिशत निर्यात हुन्थ्यो, अहिले ९० प्रतिशत बिक्री भारतमै हुन्छ”, कम्पनी निर्देशक विनय किसाराले भने ।
भारतले स्वच्छ ऊर्जामा महत्त्वाकांक्षी लक्ष्य राखेको छ । सन् २०३० सम्म पाँच सय गिगावाट नवीकरणीय ऊर्जा पुर्याउने योजनाअनुसार अहिले एक सय ७० गिगावाट बराबरका परियोजना पाइपलाइनमा छन् ।
सरकारी प्रोत्साहन, आयातमा प्रतिबन्ध र अनिवार्य घरेलु खरिद नीतिले उद्योगलाई गति दिएको रिन्युका अध्यक्ष सञ्जय वर्गीसले बताए ।
यद्यपि भारत अझै चीनबाट कच्चा माल आयातमै निर्भर छ । यस वर्षको पहिलो त्रैमासिकमा मात्र एक अर्ब ३० करोड डलर बराबरका सौर्य सेल र मोड्युल आयात गरियो, तर यो गत वर्षको तुलनामा एक तिहाइभन्दा कम हो । विश्लेषकहरूले सन् २०३० सम्म भारतले प्रायः सबै सामग्री उत्पादन गर्ने तर पोलिसिलिकन मात्र आयात गर्नुपर्ने अनुमान गरेका छन् ।
मार्चमा सकिएको आर्थिक वर्षमा भारतको सौर्य मोड्युल उत्पादन क्षमता दोब्बर भएर ७४ गिगावाट पुगेको छ भने सेल उत्पादन नौ गिगावाटबाट २५ गिगावाटमा तीन गुणा बढेको छ ।
भारतमा आवश्यक खानी र प्रशोधन पूर्वाधार अझै अपुग भए पनि सरकारले खनिज उत्पादन र प्रशोधनमा पहल गरिरहेको छ ।
राष्ट्रिय सौर्य ऊर्जा महासङ्घका शुभाङ पारेखका अनुसार आपूर्ति शृङ्खला अझै विकास हुँदैछ, तर आगामी वर्षहरू नै भारतको क्षमता कति टाढासम्म पुग्छ भन्ने निर्णायक हुनेछन् ।
प्रतिक्रिया