काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विपदको बेला जनसेवामा खटिन सरकारलाई आग्रह गरेका छन् ।
केही दिनदेखिको लगातारको वर्षाले देशमा ठूलो जनधनको क्षति भएकाले यस्तो अवस्थामा सबै तहका सरकारहरू, नागरिक समाज र सम्पूर्ण पक्षले जनसेवामा खटिन आग्रह गरेका हुन् ।
साथै प्राकृतिक प्रकोपको जोखिम अझै नटरेकाले संयमित हुन पनि आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत केही दिनदेखि मुलुकभर अविरल वर्षा भइरहेकाले अझै प्राकृतिक प्रकोपको बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनेका छन् ।
उनले विपद र दुर्घटनामा परेर ज्यान गुमाएकाहरुप्रति दुख व्यक्त गरे । साथै, घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
उनले भनेका छन्, ‘मुलुकमा अप्रत्याशित रूपले सिर्जना गरिएको विध्वंसको पीडा कम हुन नपाउँदै फेरि केही दिन देखि मुलुकै भर अविरल वर्षा भइरहेको छ । त्यसले देशैभर बाढी र डरलाग्दो पहिरोको विनाश सृजना भइरहेको छ, कैयौँ घर खेत बगेका वा पुरिएका छन्, तराई क्षेत्रमा डुबानको समस्या सिर्जना भएको छ । पहाडी क्षेत्रमा बाढी र पहिरोको पीडाबाट जनताको ठूलो सङ्ख्या घरबारविहीन बनेका छन र अहिले सम्म ४ दर्जन भन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ । कैयौँ बेपत्ता समेत भएका छन् । राजमार्ग तथा सडकहरू क्षतिग्रस्त भएका छन । यसरी सिङ्गो देश नै वर्षा, बाढी र पहिरोको प्रकोपले आक्रान्त बनेको छ, ठुलो सङ्ख्यामा जनधनको क्षति भएको छ र जनता बिल्लिबाठ बनिरहेका छन् । यस्तो अवस्थामा म सबभन्दा पहिले विपद र दुर्घटनामा परेर ज्यान गुमाउने सबै आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र उहाँहरूका शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु । साथै, घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
अझै पनि प्राकृतिक प्रकोपको जोखिम टरेको छैन, त्यसैले उच्च सतर्कता र सावधानी अपनाउनु अनिवार्य छ । यस्तो अवस्थामा जनता र राष्ट्रप्रति संवेदनशील रहेका सबै राजनीतिक पार्टीहरू, जङ्गी र निजामती प्रशासन, सबै तहका सरकारहरू र विशेष गरेर स्थानीय सरकारहरू, नागरिक समाज र सम्पूर्ण पक्षलाई जनता र राष्ट्रले भोगिरहेको यो आपत र विपतको बेलामा युद्ध स्तरमा जनताको सेवामा उत्रिन आह्वान गर्दछु । साथै, मृतकका परिवारलाई आवश्यक राहत दिन, बाढी र पहिरो पीडितहरूलाई उद्धार गर्न, आवश्यक ठाउँमा अविलम्व राहत सुविधाहरू पुर्याउन, औषधि उपचारको प्रबन्ध गर्न र जन जीवनलाई सामान्य अवस्थामा फर्काउन म सरकारसग जोडदार माग गर्दछु ।













प्रतिक्रिया