विपत्तिमा जब सरकार जागा बस्यो, नागरिक सुते….. | Khabarhub Khabarhub

विपत्तिमा जब सरकार जागा बस्यो, नागरिक सुते…..


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

जब प्रकोपको सामना गर्नुपर्ने घडी आउँछ, त्यतिबेला मुख ताक्ने पहिलो र अन्तिम स्रोत भनेकै सरकार हो । सरकारी संयन्त्रको ढाडस पनि पीडितका लागि बाँच्ने आधार बन्छ । हेलिकोप्टरबाट निरीक्षण गर्ने यसअघिका अभ्यास विपरीत यसपल्टको विपत्तिमा सरकारबाट प्राप्त सदाशयताको आमनागरिकले प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा अधिकांशको प्रतिक्रिया छ- ‘आपतमा सरकार भेटियो’ ।

कतिपय जेन जी आन्दोलनमा सुरक्षाकर्मीको तेजोबध गरिएको घटनाप्रति कटाक्ष गर्दै आपतमा सुरक्षाकर्मीले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै भनेका छन्– सुरक्षाकर्मीको महत्व बुझ्यौ होला नि तिनीहरूलाई भाला हानेर मार्नेहरुले ।

अरु त अरु यसअघि सत्तामा रहेका कांग्रेस, एमाले, माओवादीका समर्थकले समेत सुरक्षाकर्मी र सरकारले क्षति हुनुअघि नै अपनाएको होशियारीको खुलेर समर्थन गरेका छन् । हुँदाहुँदा सभामुख देवराज घिमिरेले पनि विपद्मा सरकारी संयन्त्रको क्रियाशीलताको सरहाना गरेका छन् । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको भूमिकाको प्रशंसा गर्दै मानवतावाद राजनीतिभन्दा धेरै माथि हुने भएकाले बर्दीविनाको सुरक्षाकर्मी सम्झिएर उद्धारमा जुट्न आव्हान गरेका छन् । 

 केही समय अगाडिसम्म मौसम पूर्वानुमान महाशाखाको सूचना भरपर्दो थिएन । आज पानी पर्छ भनेको दिन घाम लाग्थ्यो । मौसम सफा रहने भनेको दिन मुसलधारे पानी पथ्र्यो । तर महाशाखाले उच्च प्रविधि भित्र्याएपछि पछिल्लो वर्ष दिँदै आएको सूचना अधिकांश मिल्ने गरेको छ । 

महाशाखाको चेतावनीलाई सरकारी संयन्त्रदेखि नागरिकहरूले समेत वेवास्ता गर्दा बर्खामा ठूलो जनधनको क्षति बेहोर्नुपरेको थियो । तर अन्तरिम सरकारले मौसम पूर्वानुमान महाशाखाको चेतावनीलाई गम्भीरतापूर्वक लिएका कारण यो बर्खामा ठूलो क्षति हुनबाट जोगिएको छ । 

सरकारले भयङ्कर ठूलो काम गरेको होइन । तर ठूला राजमार्गसहित सबैतिर बेलैमा सवारी आवतजावतमा रोक लगायो । नागरिकलाई पनि घरमै रहन आग्रह गर्यो । मानवीय दुर्घटना हुने स्थितिबाट जोगिन सतर्कता अपनाउन अपील गर्यो । जसको कारण पछिल्ला वर्षको तुलनामा विपत व्यवस्थापनमा सरकारले आफ्नो भूमिका देखायो । 

आम नागरिकले विपदमा सरकार सक्रिय रहँदा आफूहरू निदाउन सकेको भनेर प्रशंसा गरेका छन् । केहीले सरकार भएको पहिलोपटक महसूस गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । त्यसैगरी केहीले नागरिकको सुरक्षा सरकारको नियमित प्रक्रिया भएको टिप्पणी गरेका छन् ।

  लेखक तथा साहित्य पोस्टका सम्पादक अश्विनी कोइराला लेख्छन्–म काठमाडौ मूलपानीको मनोहरा खोलाको छेउमा बस्छु । हरेक वर्ष दुई तीन दिन यस्तै वर्षा हुन्छ । पानीको सतह बढेपछि अब के हुने हो भन्ने डर भइरहन्छ । टोलका मान्छे रातभर जागा भएर आफ्नो सुरक्षा आफैं गर्नुपर्छ । 

तर यसपटक रातभर हामीसँग सरकारको पनि उपस्थिति  थियो । केही परे हामी छौँ भनेर सबै कुरा तयार अवस्थामा छ भनेर खबर आइरहेको थियो । घर छाड्नु परे हामीलाई राख्ने ठाउँको बन्दोबस्त छ भनेर सूचना पनि आइरहेको थियो । 

३ बजेतिर म सुतेँ । अहिले थाहा पाएँ सरकार रातभर जागा थियो । सरकार छ भन्ने महसुस गराउनु ठूलो कुरा हो । यो उमेरमा पहिलोपटक त्यो अनुभूति गरेको छु । 

धन्यवाद सरकार।
कोइरालाकै विचारमा सहमत जनाउदै हिमाल संरक्षण अभियन्ता श्रवण शर्मा लेख्छन्– हो सर, नेपालमा सरकारको यो तहको सक्रियता र संवेदनशिलता यस अघि देखिएको थिएन । पोहोर सालका प्रधानमन्त्रीले मैले पानी पारेको, मैले बाढी ल्याएको, मैले पैरो लाएको हो ? भन्दै च्याँठिएका थिए । प्रधानमन्त्री, कुलमान र ओमप्रकाश अर्यालको काम प्रशंसनीय छ, मानवीय छ उत्तरदायी छ । स्यालुट देम । 

पत्रकार मनहरि तिमल्सिना सामाजिक सञ्जालमा लेख्छन्– ‘अघिल्लो वर्ष पनि देशमा सरकार थियो । नख्खु खोलाले नागरिक बगाउँदा गृहमन्त्री भन्दै थिए–‘हेलिकोप्टरका लागि भिजिबिलिटी नै पुगेन । आँखैअगाडि राजधानीमा दर्जनौँको ज्यान गएको थियो । विदेश भ्रमणमा रहेका प्रधानमन्त्री ओली एयरपोर्टमा ओर्लेर भन्दै थिए– ‘यो सरकारले ल्याइदिएको बाढी हो ? यस्तो भइरहन्छ, सामान्य हो ।’

निर्वाचनको कार्यादेशसहित गठन भएको यसपटकको सरकार चाहिँ जिम्मेवार देखिएको छ । सरकार भन्दैछ- ‘बाढी पहिरोको जोखिम भए खबर गर्नू, हामी हेलिकोप्टर पठाउँछौँ ।’

सीता खरेल लेख्छिन्– अहिलेको ६ महिनाको अन्तरिम सरकारले यसरी जनतालाई अनुभूति हुनेगरि काम गर्दा ती दुई तिहाइको खलनायकलाई कति पोल्या होला ?

मोहित ढकाल लेख्छन्– यो अन्तरिम सरकारले ठुल्ठुला परिणाम ल्याओस् या नल्याओस्, तर आउँदो चुनावमा जनताले कस्तो मान्छे लाई भोट दिने र राम्रो सरकार भनेको के हो भन्ने अनुभव भने पक्कै गराउने जस्तो छ ।

सन्तोष भण्डारी लेख्छन्– हामी सम्पन्न मुलुक जस्तोरिसोर्सफुल छैनौँ भन्ने जनताले पनि बुझेका छन् । उनीहरूले केवल इमानदार प्रयत्न मागिरहेका थिए । जुन अहिलेको सरकारले महसुस गराएको छ ।

पूर्व पत्रकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपाने लेख्छन्– विपद्का बेला सरकार देखियो, सुनियो । यो प्रशंसा होइन सच्चाइ हो । यति भन्दा कोही नमात्तिनु, नआत्तिनु । गदगद नहुनु, डाह नगर्नु । राम्रो गर्दा विगतमा पनि राम्रै भनिएको हो भविष्यमा समेत भनिन्छ । खराब गर्दा आलोचना गरिन्छ नै । 

त्यसैगरी, पूर्व प्रहरी अधिकृत मोहन थापा लेख्छन्– हो । यसरी सत्य कुरा राख्न सक्नु, विवेकशील र इमानदार हुनु हो । दासहरू सत्य देख्दैनन, लेख्दैनन्, पढ्दैनन् । गत वर्स केपी ओली र रमेश लेखकको दुई तिहाइ सरकारले सुन्य सतर्कता हुँदा २०० नागरिकको ज्यान गयो, यो वर्ष सुशीला कार्की नेतृत्व को सरकारले देशमा सरकार भएको नागरिकलाई अनुभूति दिलायो । सरकार को यो राम्रो पक्ष हो । 

धन्यवाद सरकार ।
जेबी जिसी लेख्छन्– हामीलाई धेरै कुरा चाहिएकै छैन बस् आपत विपत पर्दा होस या सरकारी सेवा लिँदा देशमा अरु कोही नभएपनि नेपाल र नेपालीको लागि नेपाल सरकार छ भन्ने अनुभुति मात्र पनि सरकारले दिलाउन सके हरेक नेपाली गर्वका यो देशमा बस्नेछन् र बस्ने मात्र होइन । 

त्यो खालको सरकारलाई आपत पर्दा जुरुक्क काँधमा बोक्ने छन् । त्यसैले कार्यकर्ता, आई आफ्ना खुसी पार्ने तिर होइन जनता खुसी बनाउने तर्फ सोच राखौ । सरकारी सेवा लिदाँ होस या गाउँ समाजमा फुई लाउदा त्यो मान्छेले कुनै पार्टीको झोला बोकेकै हुनुपर्ने नहोस् ।

नागरिकको योग्यता पार्टीको लेबी र सदस्यताले निर्धारण नगरोस्, गरोस् त उस्को नेपालको नागरिकता र अहिलेससम्म हासिल गरेका योग्यता, क्षमता र अनुभवले निर्धारण गरोस्, जसको कारण सही मान्छे सही ठाउँमा पुगोस् ।

हाम्रा गाउँघरतिर विकासका आयोजनाहरू पावर र पहुँचको आधारमा नहोस्, त्यो ठाउँमा बस्ने जनताको आवश्यकता को आधारमा होस, जसकारण जनताको पसिनाको पैसा कसैको कमाउ धन्दा नबनोस् ।

हामीलाई निष्पक्ष कानुन र प्रणाली बनाइदेऊ बाँकी दुखमा सुखमा त जनताले गरिरहन्छन् । सरकार अभिभावक हो । सरकारले जनताप्रति निष्पक्ष अभिभावकत्व ग्रहण गरेको दिन यो देश स्वर्ण युगमा प्रवेश गर्न कसैले कसैलाई बेकुफ बनाउने भाषण दिनुपर्ने छैन ।

वैदेशिक रोजगारको क्रममा दुबईमा बस्दै आएका दनकबहादुर लेख्छन्– जनमुखी सरकार भनेको यही होला नि ।

सँगै हिँड्ने सबै साथी हुँदैनन् बरु लडेको बेला हात दिने साथी हुन्छ जो काम अन्तरिम सरकारले गरिरहेको छ। विपद व्यवस्थापनमा सरकार छ भन्ने कुरा जनतालाई महसुस भयो । प्राकृतिक प्रकोपमा बाँचौँ र बचाऊँ। जोखिमयुक्त ठाउँबाट सुरक्षित स्थानमा सरौँ । 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ३ : ५२ बजे

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, आगामी महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक

कोशी प्रदेशका केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कोप्चे–बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा (मोटरबोट)

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय