फिल्म : परान
शीर्ष कलाकार – नीर शाह
मुख्य कलाकार : महेश त्रिपाठी, प्रवीण खतिवडा, केकी अधिकारी, अञ्जना बराइली, पूजा चन्द, बुद्धि तामाङ र मदनकृष्ण श्रेष्ठ
कथा तथा निर्देशन : दीपक आचार्य ‘काकु’
पटकथा तथा संवाद : यम थापा
छायाँकार : शिवराम श्रेष्ठ
सम्पाद : मित्र डी गुरुङ
‘सहर केन्द्रित बसाइँ र वैदेशिक रोजगारीले गाउँ रित्तिने जोखिम छ । गाउँमा वृद्ध–वृद्धा मात्रै छन् । उनीहरू घर छोडेका सन्तान फर्किने आशमा छन् ।’
डेब्यू निर्देशक दीपक आचार्य ‘काकु’को फिल्म ‘परान’मा यही यथार्थमा बनेको छ ।
फिल्मका शीर्ष पात्र नीर शाह कुनै बेला जिम्बल हुन्छन् । उनकै कोणबाट कथा भनिएको छ । पत्नीको भूमिकामा पूजा चन्द छिन्।
नीर शाहको बिहान पूजा पाठबाट सुरु हुन्छ । उनलाई गाउँकै प्रिय व्यक्तिका रुपमा देखाएको छ । दयालु स्वभाव उनको प्रमुख गुण हो । गाउँमा निस्कँदा केटाकेटी ‘मिश्री बा’ भन्दै झुम्मिन्छन् । दिउँसो चोकमा आफ्नै उमेरका साथी–भाइसँग तासमा रुमलिने उनको दैनिकी हुन्छ ।

यस दम्पतीका तीन भाइ छोरा हुन्छन् । जेठो सुब्रत आचार्य विदेश हुन्छन् । माइलो प्रवीण खतिवडा काठमाडौंमा व्यवसायी हुन्छन् । नायिका केकी अधिकारी प्रवीणको श्रीमतीको भूमिकामा छिन् ।
महेश त्रिपाठी र अञ्जना बराइली कान्छो छोरा–बुहारी हुन्छन् । महेश जेटीए बनेर गाउँमै कुखुरा फार्म खोलेर बसेका हुन्छन् । अञ्जना गाउँकै स्कुलको शिक्षिका हुन्छिन् ।
फिल्ममा अर्को बिर्सन नसक्ने पात्र बुद्धि तामाङ हुन् । जो नीर शाहकै घरमा ‘गोठालो’ बसेका हुन्छन् । उनले बोल्न नसक्ने व्यक्तिको चरित्र निर्वाह गरेका छन् । नीर शाह आफ्नो छोरा जीवनको उत्तरार्द्धमा कान्छो छोरो आफूसँगै रहोस् भन्ने इच्छा राख्छन् । कान्छोलाई डीभी पर्छ । ऊ बुवाको चाहना विपरीत विदेश जाने हिम्मत गर्दैन । श्रीमतीको अमेरिका जाने जिद्दीसामु बोल्ड डिसिजन गर्न सक्दैन । फिल्ममको मध्यान्तर यही विषयमा केन्द्रित छ ।
महेशले बुवालाई डीभी परेको थाहा दिन्छन् वा दिँदैनन् ? उनी विदेश जान्छन् वा जाँदैनन् ? महेशको जोडीले अमेरिका जाने कस्तो प्रयास गर्छन् ? उनीहरू विदेश जान सफल हुन्छन् वा हुँदैनन् ? त्यो थाहा पाउन पूरा फिल्म हेर्नुपर्छ ।
पहिलो हाफ बुवाछोराको सम्बन्धमै केन्द्रित छ । छोराको खुसीका लागि बुवाले थाहै नदिई केसम्म गर्छन् ? छोराको परिस्थितिलाई कसरी बुझ्छन् भन्ने कुरा पहिलो हाफमा देखाइको छ ।
यो परिस्थितिलाई निर्देशक आचार्यले सरल प्रस्तुतिका साथ गहन ढंगले प्रस्तुत गरेका छन् । यो फिल्म हेर्दा धेरै दर्शकको आँखामा आँसु भरिने पहिलो सिन यही हो । अर्थात्, ‘शब्दमा व्यक्त नहुने बुवाको छोराप्रतिको प्रेम’ले दर्शकको मन गाँठो पार्छ ।
दोस्रो हाफमा नीर शाह माइलो छोरा प्रवीणलाई गाउँ फर्काउन काठमाडौं आउँछन् । छोरो घर, गाडी जोडेर आफ्नै व्यवसायमा मस्त देख्छन् ।
छोरा–बुहारी भने बुवा–आमालाई काठमाडौंमा राख्न लागिरहन्छन् । सकेसम्म सहज वातावरण बनाउँछन् । उनको गाउँकै परिवेश काठमाडौंमा खोज्ने नीर शाह एउटा घटनाले गाउँ फर्कन बाध्य हुन्छन् । त्यसै पनि उनी सहरमा उनी रम्न सक्दैनन् ।
बुवालाई सकेको गर्दा पनि सहर राख्न नसकेपछि आमाको काखमा माइलो छोरो रोएको दृश्य भावुक बनाउने छ ।
सन्तानको साथ पाउँदा बुवाको आत्माबल कत्ति उच्च हुन्छ र बुढ्यौलीसँग कसरी जुध्न सक्षम हुन्छन् भन्ने पाटो मदनकृष्ण श्रेष्ठको चरित्रमार्फत देखाइएको छ ।

सन्तानले साथमा नहुँदा बुवा–आमाको जीवन कसरी उजाड बन्छ भन्ने पाटो नीर शाहको चरित्रबाट देखाइएको छ ।
समग्रमा फिल्मले बुढेसकाल लागेका बुबाका लागि छोरो भनेको ‘औषधि’ हो भनेर देखाउन खोजेको छ । बुढेसकालका साथ दिने छोरा बुवाका लागि छोरालाई परानको विम्ब देखाइएको छ ।
यो विम्बलाई क्लाइमेक्समा देखाइएको छ । यसबारे धेरै थोरै बढी चर्चा गर्दा क्लाइमेक्स खुल्ने जोखिम हुन्छ । यति चाहिँ खुलाए– फिल्मको ‘स्याड इन्डिङ’ छ ।
कमजोर पक्ष
समग्रमा फिल्म सुस्त छ । पात्र स्थापित गर्ने निर्देशकले लामो स्क्रिन टाइम खर्चिएका छन् । बीचका केही दृश्य लामो हुँदा दर्शकको मन विकेन्द्रिकृत हुन सक्ने स्थान भेटिन्छ ।
दोस्रो हाफमा ‘मिश्री बा’ र बालबालिकाको साक्षात्कारको दृश्य निर्देशकले रचानात्मक र छोटो स्क्रिन टाइममा चुस्त रुपले देखाउने स्थान भेटिन्छ । क्लाइमेक्स हेर्न पर्खिएका दर्शकले यो दृश्यले फिल्म झन् सुस्त बनाएको महसुस गर्न सक्छन् ।
छोरासँगको दृश्यमा मात्रै नीर शाहको संवाद सटिक र गहन छन् । अन्य पात्रसँगको साक्षात्कारमा उनको त्यति बोल्ड संवादमा बोल्दैनन् ।

क्लाइमेक्सको सुरुवाती दृश्यमा नीर शाहले निरीह निर्णय लिन्छन् । छोराहरुलाई गाउँ फर्काउने अठोटमा हिँडेका उनी किन त्यस्तो निर्णयमा पुग्छन् ? यो आश्चर्य लाग्दो नै छ । यसको ठोस जवाफ पनि पाइँदैन । उनी निर्णय लिन बाध्यकारी हुनुपर्ने कठिन अवस्था छैन ।
छोरा र छोरी समान हुन् । तर, यो फिल्ममा बुवालाई छोराको महत्त्व मात्रै देखाइएको छ । फिल्ममा छोरीको अस्तित्व नै छैन । सामाजिक कथामा बनेको पारिवारिक फिल्ममा छोरी स्थान किन नदिएको होला ?
आधुनिक समयमा विकासको पूर्वाधारले संगठित नभएको गाउँमा सन्तानलाई नीर शाह किन राख्न चाहन्छन् ? यसको पनि ठोस जवाफ पनि फिल्ममा छैन । उनी सुझबुझ भएकै व्यक्तित्व भएकाले यो प्रश्न उठ्छ ।

बलियो पक्ष
फिल्मले देखाउन खोजेको कथा अहिलेको अवस्थामा अधिकांश नेपालीको घरघरको हो । यो फिल्म हेर्ने दर्शकलाई वृद्ध बुवा–आमाले सन्तानबाट के खोज्छन् भन्ने प्रष्ट पार्छ ।
सबै कलाकार अभिनय अब्बल छ । बुद्धि (माने) ले नबोलेरै धेरै कुरा भनेका छन् । उनको अभिनय फिल्मको अर्को मजबुत पाटो हो ।
नीर शाह ओजिलो बोली र अग्लो कद भएका सम्पन्न परिवारको बुवाको भूमिकामा छन् । उनी भावुक भएको र भावुक संवाद बोलेको पनि सुहाएको छ ।
‘परान’ जस्ता सुस्त गतिका फिल्महरु डबिङमा चिप्लिन्छन् । यो फिल्म बचेको छ ।
ब्याकग्राउन्ड म्युजिक मध्यम नै छ । आवश्यकता अनुसार नै प्रयोग भएको छ । कतै बढी र कम भएको महसुस हुँदैन । फिल्मको कथा कतै भड्किएको छैन ।
प्रि–क्लाइमेक्समा सहायक पात्र मदनकृष्णको चरित्रलाई केन्द्रमा राखिएको छ । त्यसपछि फिल्मले गति लिन्छ । क्लाइमेक्ससम्म फिल्मले गति लिएको छ ।
फिल्मको मुख्य सन्दिर्भका संवाद उत्कृष्ट सटिक छन् । भावुक बनाउन अनावश्यक भावुक शब्द जोडिएका छैनन् । कुनै पनि संवाद ‘बढी भो’ भन्ने छैन । कान बिजाउने छैन ।
क्यामेरामेनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । एक दुई स्थानमा निर्देशकको क्रिएसन गज्जबको देखिन्छ । जस्तो पहिलो हाफको अन्त्यमा महेश गाडी चढेर हिँड्दा रूख ढलेको दृश्य देखिन्छ । यसलाई निर्देशकले अशुभको बिम्बको रुपमा प्रस्तुत गरेका हुन् । फिल्मका केही स्थानमा उनको यस्तो क्रिएटिभिटी हेर्न पाइन्छ ।
कस्तो छ फिल्म ?
फिल्मको समग्रमा राम्रो बनेको छ । औसतभन्दा माथि छ ।
ग्रामीण परिवेश बुझेका व्यक्तिलाई यो फिल्मले झन् भावुक बनाउन सक्छ ।
यतिको फिल्म ‘पैसा असुल’ नै हो । कथालाई पर्दामा उतार्दा निर्देशक आचनार्यले ‘परान’ भरेका छन् । अनि बनेको छ ‘परान’ ।
तथापि, पहिलो हाफको मध्य र दोस्रो हाफमको मध्य तिर दर्शकले फिल्म अलि लामो बनेको महसुस गर्न सक्छन् ।













प्रतिक्रिया