कञ्चनपुर– सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन् ।
अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरूले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलैजाँदा किसानहरू समस्यामा परेका हुन् । किसानले हिउँदे बाली लगाउने समय भइसक्दा समेत सहकारीहरू मल लिन नआएको कृषि सामग्री कम्पनी कञ्चनपुरका प्रमुख हेमराज जोशीले जानकारी दिए ।
रासायनिक मल वितरणका लागि कृषि सामग्री केन्द्रमा दर्ता भएका सहकारीले असोज मसान्तसम्ममा नवीकरण गरेर १० दिनभित्र कोटाको रासायनिक मल लगिसक्नुपर्ने प्रावधान भए पनि हालसम्म सहकारीहरू नवीकरण गर्नसमेत नआएको उनको भनाइ छ ।
‘यहाँ मल वितरणका लागि १५४ वटा सहकारी दर्ता भएका छन् जसमध्ये असोज मसान्तसम्म २० वटा सहकारीले मात्रै नवीकरण गरेका छन्’, कार्यालय प्रमुख जोशीले भने, ‘सहकारीहरू समयमा मल नलग्दा समस्या भएको छ ।’
उनले कञ्चनपुरमा रासायनिक मल अभाव नरहेको बताउँदै सहकारीले समयमा मल नलग्दा किसान समस्यामा पर्ने गरेको बताए ।
हाल कञ्चनपुरका नौ वटा स्थानीय तहमा कोटाअनुसार सहकारीलाई मल वितरण गरिँदै आएको छ ।
उनका अनुसार हालसम्म ५०० मेट्रिकटन डिएपी वितरण भइसकेको छ । एक हजार १०० मेट्रिकटन डिएपी मौज्दात छ । त्यसैगरी युरिया ५०० मेट्रिकटन वितरण भइसकेको छ भने ३०० मेट्रिकटन गोदाममा मौज्दात रहेको छ । अहिले पनि रासायनिक मल आउनेक्रम जारी रहेकाले मलको अभाव नहुने कृषि सामग्री केन्द्रले जनाएको छ । (रासस)













प्रतिक्रिया