बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन « Khabarhub

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको छ ।

पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरबास सञ्चालन भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना श्रेष्ठको घरमा होमस्टे सुरु भएको समूहका अध्यक्ष सीता खत्रीले जानकारी दिए ।

‘गाउँमा आउने पाहुनालाई पारिवारिक वातावरणमा बसोबासको व्यवस्था मिलाउने उद्देश्यले घरबास सुरु गरेका हौँ’, उनले भने, ‘पर्यटकको चाप बढेपछि थप घरहरूमा पनि होमस्टे सञ्चालन गर्ने योजना छ ।’

पाहुना राख्नका लागि होमस्टे सञ्चालकले घरमा छुट्टै कोठा बनाएका छन् । खाट, बेड, विस्तार र शौचालयलाई व्यवस्थित गरेका छन् । एउटा घरमा एकदेखि दुईवटा कोठामा पाहुनाका लागि व्यवस्था गरिएको छ । घरका कोठाबाटै हिमाल देख्न सकिन्छ ।

तोरीपानी प्रकृति र संस्कृतिका साथै जैविक विविधता र ऐतिहासिक हिसाबले पनि महत्त्वपूर्ण छ । विभिन्न जातजातिको मिश्रित बसोबास छ । उनीहरूको संस्कार, रहनसहन र ग्रामीण जीवनशैलीमा रमाउन सकिन्छ । पाहुनालाई स्थानीय गौरीया गुडुरा जातको धानको भात, कोदो र फापरको पीठोको ढिँडो तथा रोटी, टिमुरको चटनी, लोकल कुखुरा, खसीको मासु, दूध, दहीका परिकारको स्वाद चखाइने होमस्टे सञ्चालक युव गिरीले बताए । 

‘गाउँमै उत्पादन भएको खाद्यान्न, तरकारी, फलफूल र पशुजन्य उत्पादनको परिकारको स्वाद चखाउँछौँ’, उनले भने, ‘पर्यटकले यानीमाया, पञ्चेबाजा र भजनमा नाच्न पाउँछन् ।’

पाहुनाका लागि होमस्टे सञ्चालकहरूले आफैँ तरकारीखेती, कुखुरा र गाईभैंसीपालन गरेका छन् ।

तोरीपानी मसलेदार फल टिमुरको पकेट क्षेत्र हो । टिमुरको चटनी सयपत्री होमस्टेको विशेष परिकार हो । फर्कँदा पाहुनालाई टिमुर, भटमास र भागो कोसेली दिने गरिएको होमस्टे सञ्चालक जमुना श्रेष्ठले बताए। एक हजार ५०० खर्चमा एक रात बास बस्न सकिन्छ ।

होमस्टे सञ्चालनका लागि इको हिमालय संस्थाले तालिम र पूर्वाधार निर्माणमा सहयोग गरेको छ । संस्थाका निर्देशक नारायण ढकालले प्रतिघर रु ७० हजार बराबरको सामग्री र समूहलाई दुई लाख सहयोग गरेको जानकारी दिए । इको हिमालयले तोरीपानीमा टिमुरखेती विस्तार, गुणस्तर सुधार र बजारीकरणमा सहयोग गर्दै आएको छ ।

समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा अवस्थित तोरीपानीको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी हिमशृङ्खला देखिन्छ । सूर्योदय र सूर्यास्तको समयमा हिमालको मनमोहक दृश्य देखिन्छ । 

बेनी बजारदेखि नौ किलोमिटर उत्तरतर्फ रहेको तोरीपानीमा बेनीदेखि करिब ३० मिनेट सवारीसाधनमा यात्रा गरेपछि पुगिन्छ । बेनीदेखि अर्थुङ्गे, जामुनाखर्क हुँदै किराखोरसम्म पाँच किलोमिटर सडक पक्की छ । किराखोरदेखि नेप्टेचौर जोड्ने करिब दुई किलोमिटर सडक कालोपत्र भइरहेको छ । नेप्टेचौरदेखि तोरीपानी जोड्ने थप दुई किलोमिटर सडक ग्राभेल गर्न पूर्वाधार निर्माणाधीन अवस्थामा छ ।

तोरीपानीको शिरमा पर्यटकीयस्थल टोड्के, ऐतिहासिकस्थल ढोलथान दरबार, धार्मिकस्थल पछै छन् । ढोलथानामा बाइसेचौबिसे राज्यका पालामा बर्खायामको राजधानी थियो । दरबारका भग्नावशेष अझै देख्न सकिन्छ । 

तोरीपानी हुँदै पैदलयात्रा र सडकको प्रयोग गरेर बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जान सकिन्छ । फेदीमा मुक्तिक्षेत्रको प्रवेशद्धारका रूपमा परिचित गलेश्वर शिवालय मन्दिर छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ६ : ४२ बजे

अलग्गै कसरतमा शेखर, फरक योजनासहित कांग्रेसभित्र रणनीति बनाउन सक्रिय

काठमाडौं- नेपाली कांग्रेसमा संस्थापन र तत्कालीन सभापति शरेबहादुर देउवा पक्षबीचको

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर- ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी

सुकुम्वासीको अधिकारका लागि आन्दोलन घोषणा, जेठ ७ देखि देशव्यापी आमहड्ताल गर्ने चेतावनी

काठमाडौं- भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गर्न

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्धि : डब्ल्यूएचओ

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व